बलियो राष्ट्रवादी शक्ति निर्माण गरेरै छोड्छुः कमल थापा
२७ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले बलियो राष्ट्रवादी शक्ति निर्माण गरेरै छाड्ने बताएका छन् ।
शनिवार पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पृथ्वीनारायण शाहको मार्गदर्शन अनुसार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने बताए ।
उनले भने, ‘राष्ट्रनिर्माताले राष्ट्रिय एकीकरण गर्नुको साथसाथै राज्यका सञ्चालनको निमित्त आर्थिक, सामाजिक, कूटनैतिक विषयमा जुन महत्वपूर्ण मार्गदर्शन अहिले पनि सान्दर्भिक छ । हामी सबैले चिन्तन, मनन गर्नुपर्छ । एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गरेर छोड्छु ।’
त्यसका लागि अध्यक्ष थापाले विचार, सिद्धान्त मिल्नेसँग पार्टी एकता गर्ने पनि बताए । अनलाइनखबरसँगको अन्तर्वार्ताको क्रममा पनि थापाले राजेन्द्र लिङ्देनले चाहे एक हप्तामै पार्टी एकता हुने अभिव्यक्ति दिएका थिए ।
राप्रपाको अध्यक्षमा लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा नेपाल गठन गरेका थिए।