#समाचार

दावा अर्थात् फुल्चोकीमा हराउने यात्रीको उद्धारक – Online Khabar

२७ पुस, काठमाडौं । घना जंगलभित्र हराइयो भने कति कठिन हुन्छ, सोच्दा मात्रै पनि कहाली लाग्छ । काठमाडौं नजिकैको फुल्चोकी डाँडा घुम्न जानेहरू जंगलभित्रै हराइरहन्छन् । मोबाइलको गुगल म्यापले बाटो भेट्न सक्दैन । प्रहरीले यात्रीलाई भेट्टाउन सक्दैनन् ।

यो वर्ष झैं हरेक वर्ष फुल्चोकीमा हराउनेहरूको समाचार आइरहन्छ । २०७६ माघको यस्तै एक दिन तीन विद्यार्थीको लागि फुल्चोकी यात्रा जीवन र मृत्युको खेलमा परिणत हुन पुग्यो ।

शनिबारको दिन थियो । काभ्रे, काठमाडौं र ललितपुरका उत्साही विद्यार्थी हाइकिङको लागि फुल्चोकी डाँडा चढेथे । माथिको दृश्य र वातावरणले उनीहरूलाई यति मोहित बनायो कि दिन ढल्किएको पनि थाहा भएन । तर फर्कने क्रममा लिएको निर्णयले उनीहरूको यात्रा त्रासदीमा बदलियो ।

छोटो बाटो रोज्ने हुँदा उनीहरू गोरेटो बाटो हुँदै जंगलभित्र पसे । तर त्यो निर्णय घातक साबित भयो । ३० फिट अग्लो एक झरनामा पुगेपछि बाटो नै हरायो । साँझको ६ बजिसकेको थियो । जंगलमा फैलिंदो अँध्यारोमा विद्यार्थी त्रास र चिसोले काम्न थाले ।

दावा लामा । बाटो भेट्नका लागि उद्धारकर्ता दावालाई भेट्न सबैले सक्दैनन् । प्रहरीले पनि उनैको साथ लिनुपर्छ ।

दावालाई प्रहरी प्रभाग बाडेगाउँ मार्फत विद्यार्थी हराएको खबर पुग्यो । लामो समयको उद्धार अनुभवलाई साथ लिएर उनी प्रहरी टोली सहित तत्काल निस्किए ।

रातभर चलेको त्यो उद्धार अभियान कठिन थियो । जंगली जनावरको आवाज, चिसो हावा र अन्धकारसँग जुध्दै उद्धार टोली अघि बढ्यो । डोरीको सहायताले एक–एक गरी विद्यार्थीलाई सुरक्षित स्थानमा ल्याए । बिहान ५ बजे सबै विद्यार्थी सकुशल उद्धार भए ।

यो घटना दावा लामाको जीवनको सबैभन्दा लामो र चुनौतीपूर्ण उद्धार कार्यमध्ये एक थियो ।

‘हरेक मिनेट महत्वपूर्ण हुन्छ’ दावा भन्छन्, ‘जंगलमा रात बिताउनु भनेको जीवन र मृत्युको खेल खेल्नु हो ।’

*** ***

पुसको कठ्यांग्रिंदो जाडो । फुल्चोकी डाँडाको घना जंगल । १९ वर्षीय एक युवक मृत्युसँग जुधिरहेका थिए । भोजपुरबाट ललितपुरको सातदोबाटोमा बसोबास गर्दै आएका ती युवक त्यस दिन आफ्नै साहसको बन्दी बनेका थिए ।

फुल्चोकीको चुचुरोबाट तल झर्ने क्रममा उनले बाटो बिराए । एक्लै । जंगलको गहिराइमा । गोदावरीको जंगलमा साँझ चार बजे नै अँध्यारो छाउँछ । रूखका घना छहारीले आकाश नै छेकिने यो जंगलमा १५ फिटभन्दा पर हेर्न सकिंदैन । निगालो बाँसको बाक्लो झाडी र ठूला–ठूला रूखले जंगललाई झनै रहस्यमय बनाएका थिए ।

उनको यात्रा एक झरनामा पुगेर रोकियो । तल झर्ने प्रयासमा उनी लडे । भाग्यवश एउटा लहराले उनलाई थमायो । तर अब न माथि जान सक्ने स्थिति थियो, न तल झर्न । एक खुट्टामा लागेको चोटले उनलाई हिंड्न नै नसक्ने बनाएको थियो । जीवन र मृत्युको दोसाँधमा उनी एक्लै संघर्ष गरिरहेका थिए ।

उद्धारकर्ता दावा बाडेगाउँ र गोदावरीका प्रहरीसँग मिलेर खोजी कार्यमा जुटे । साँझ चार बजे सुरु भएको खोजी ७ बजे सफल भयो । उद्धार टोलीलाई देख्नासाथ युवकका आँखाबाट आँसुको धारा बग्यो । ‘अब त बाँचें !’ उनको मुखबाट यति मात्र निस्कियो ।

चुनौती भने अझै बाँकी थियो । भाँचिएको खुट्टाका कारण हिंड्न नसक्ने अवस्थामा रहेका युवकलाई घना जंगलबाट निकाल्न उद्धार टोलीलाई पाँच घण्टा लाग्यो । उनलाई बोकेरै सडकसम्म ल्याउनुपर्‍यो । राति १२ बजे मात्र उनी सुरक्षित स्थानमा पुगे ।

*** ***

२०८१ सालको दशैं । काठमाडौं उपत्यकामा पर्यटकको चहलपहल । यसैबीच एक बंगलादेशी महिला पर्यटक आफ्नो स्मार्टफोनको साथ फुल्चोकी डाँडा चढ्न निस्किइन् । उनलाई लाग्यो– गुगल म्यापको सहायताले सजिलै डाँडा चढ्न सकिन्छ । तर प्रविधिको यो विश्वास उनका लागि महँगो साबित हुनेथियो ।

उनले गुगल म्यापमा हेरेर बाटो पत्ता लगाएकी थिइन् । तर उनलाई थाहा थिएन – डिजिटल नक्शाको भरमा फुल्चोकी चढ्न असम्भव छ । डाँडाको टुप्पोमा पुगिसक्दा पनि गुगल म्यापले अझै दुई किलोमिटर हिंड्नुपर्ने देखाउँछ ।

उनी हराएको खबरसँगै उद्धारकर्ता लामाले उनको स्थान पत्ता लगाउन एउटा चतुर तरिका अपनाए ।

‘तपाईं कुन बाटोबाट आउनुभयो ? उनले सोधे । महिलाले जवाफ दिइन्– ‘सुख्खा ढुंगाले बनेको खुट्किलो बाटो थियो ।’ यो विवरणले स्थिति स्पष्ट पार्‍यो । फुल्चोकीमा त्यस्तो बाटो छैन । उनले हिंडेको त लेले मनकामना जाने बाटो रहेछ ।

गोदावरी बसपार्कबाट आठ किलोमिटर माथिसम्म पुगिसकेकी ती महिलालाई त्यहीं रोकिन अनुरोध गरियो । उद्धार टोलीले साँझ आठ बजेसम्ममा उनलाई सुरक्षित स्थानमा ल्याउन सफल भयो ।

*** ***

दावाको सबैभन्दा चुनौतीपूर्ण उद्धार २०८१ पुस ८ गतेको थियो । काठमाडौं उपत्यकामा अस्थायी बसोबास गर्ने १३ जना विद्यार्थी– १० केटा र ३ केटी हराएका थिए । बाडेगाउँ र गोदावरी प्रहरी प्रभागबाट खबर सँगै दावा उद्धार कार्यमा खटिए ।

दावाको विशेष तरिका छ । उनी हराएका व्यक्तिहरूसँग सीधै कुराकानी गर्छन् । त्यसपछि दिइएको स्थान विवरणको आधारमा सम्भावित स्थान पहिचान गर्छन् । त्यस पटक पनि उनले त्यही गरे । हराएकालाई एकै ठाउँमा बस्न निर्देशन दिए र केही घण्टामै प्रहरी टोली सहित उद्धारमा पुगे ।

गत असोजको अविरल वर्षाले पहिलादेखि चिनेका सबै बाटो पहिरोले बगाएको थियो, बाडेगाउँ र गोदावरी प्रहरी प्रभागबाट खटिएको टोलीलाई पनि उद्धार कार्य निकै चुनौतीपूर्ण बन्यो ।

हराएका विद्यार्थी एउटा झरनामाथि अड्किएर बसेका थिए । चिसोबाट जोगिन उनीहरूले आगो बालेका थिए । माथि फुल्चोकीतर्फ लैजान असम्भव थियो भने तल गोदावरी झार्न पनि एकदमै जोखिमपूर्ण देखियो । यो उनको १३ जनाको समूहको पहिलो सफल उद्धार थियो ।

जंगलका पारखी

हराएकाको आशाको किरण बनेका छन् दावा । उनको समर्पणले धेरैले नयाँ जीवन पाएका छन् । अहिलेसम्म उनको खोजी कार्यमा कुनै दुर्घटना भएको छैन ।

फुल्चोकी जंगलका अधिकांश रूख, खोल्सा दावाको मनमस्तिष्कमा नक्शा जस्तै कोरिएका छन् ।

दावाले उद्धारकार्यको सुरुवात २०७२ सालदेखि गर्न थालेका थिए । २०७६ देखि २०७९ सम्म सामुदायिक वनपालेको भूमिकामा काम गर्दा उनले जंगलसँग गहिरो नाता गाँसे ।
‘त्यो बेला जंगलमा वन्यजन्तु मार्ने र लुटपाटका घटना हुन्थे’, दावाले विगतको स्मरण गर्दै भने । यस्ता घटना रोक्न र पर्यटकको सुरक्षा सुनिश्चित गर्न उनी दैनिक फुल्चोकीको शिखरसम्म गस्ती गर्थे । उनको निरन्तर प्रयासले अहिले लुटपाटका घटना लगभग शून्यमा झरेको छ । तर मानिस हराउने समस्या भने कायमै छ ।

जंगलको प्रत्येक कुना–काप्चामा दावाले रेखा कोरेका छन् । २०७६ सालदेखि उनले आफ्नै तरिकाले जंगलको नक्शांकन गर्न थाले । बाडेगाउँ प्रहरी प्रभागले राखेका साइनबोर्डसँगै उनले पनि रूख–रूखमा आफ्ना चिनो राख्न थाले । जहाँ मानिस हराउने जोखिम बढी थियो, त्यस्ता स्थानमा विशेष संकेत राखे ।

‘अहिले हराउन सक्ने सम्भावित स्थानमा १ देखि ११९ सम्मका नम्बर प्लेट राखिएका छन्’, दावाले बताए । फुर्सदको समयमा पनि उनी जंगल छिर्छन् र नयाँ चिनोहरू थप्छन् । यी संकेतले उनलाई हराएका मानिसको खोजीमा महत्वपूर्ण सहयोग पुर्‍याउँछ ।

राजधानीको दक्षिण–पूर्वी सीमामा ठडिएको फुल्चोकी डाँडा काठमाडौं उपत्यकाको प्राकृतिक पहरेदार जस्तै छ । २ हजार ७६१ मिटरको उचाइमा रहेको यो डाँडा उपत्यका घेर्ने सबैभन्दा अग्लो स्थान हो ।

काठमाडौंको गर्मी र जाडोबाट राहत खोज्नेहरूका लागि फुल्चोकी वरदान बनेको छ । पहिले गोदावरी पिकनिक स्पट थियो भने अहिले फुल्चोकी हाइकिङको प्रमुख गन्तव्य बनेको छ । ३५० भन्दा बढी जडीबुटी प्रजातिको अवलोकन गर्न सकिने यो स्थल आधुनिक जीवनशैलीबाट थकित मानिसका लागि प्राकृतिक विश्रामस्थल बन्छ ।

ललितपुरको सातदोबाटोबाट मात्र २१ किलोमिटरको दूरीमा रहेको फुल्चोकी स्वदेशी र विदेशी विद्यार्थीको रोजाइमा पर्छ । गोदावरीबाट ५-६ घण्टाको हाइकिङपछि टुप्पोमा पुगिन्छ । जहाँबाट खुला आकाशमा गौरीशंकर हिमाल र काठमाडौं उपत्यकाको मनोरम दृश्य देखिन्छ ।

जंगलका मार्गदर्शक

डाँडाको टुप्पोबाट हेर्दा गोदावरी छेउमै छ जस्तो लाग्छ । ‘तर पाँच किलोमिटर तल झरेपछि देखिने छोटा बाटाहरूले धोका दिन्छन्’, दावा आफ्नो अनुभव सुनाउँछन् ।

छोटो बाटोको लोभ नै मानिस हराउनुको प्रमुख कारण हो । ‘जंगलभित्र छिरेपछि आकाश पनि देखिंदैन’ दावा भन्छन्, ‘मानिस दुई–तीन घण्टा भौंतारिएपछि मात्र आफू हराएको महसुस गर्छन् ।’ वास्तवमा गोदावरीसम्मको यात्रा जाँदा ६ र फर्किंदा ४ घण्टाको छ ।

यस्ता हराएका ६५ भन्दा बढी समूह गरी ३०० भन्दा बढी व्यक्तिको जीवनरक्षा गरिसकेका दावाको आफ्नै जीवन यात्रा पनि कम रोचक छैन ।

काभ्रेको रोशी गाउँपालिकाबाट २०६० सालमा बस चालक बन्ने सपना बोकेर काठमाडौं आएका उनले मार्बल उद्योगदेखि ज्यामी कामसम्म गरे ।

जीवनको यो मोडमा उनले जंगलसँग नाता गाँसे । महिनाको १०–१२ दिन मात्र ज्यामी काम पाउने हुँदा बाँकी समयमा जडीबुटी खोज्न जंगल छिर्थे । ‘अल्लो, सिस्नु, चिनियाँ साग जस्ता जडीबुटी खोज्दाखोज्दै धेरै मानिस हराएको थाहा पाएँ’, उनी ती दिन सम्झन्छन् ।

त्यसपछि उनले आफ्नो जीवनको नयाँ लक्ष्य भेट्टाए– हराएका मानिसको उद्धार । ‘मान्छे मरेर कति परिवारका कंकाल होलान् भन्ने सोचले मलाई यो काममा लाग्न प्रेरित गर्‍यो’, उनी भन्छन् ।

दावा नपुगेको खण्डमा प्रहरीलाई हराएका व्यक्ति भेट्टाउन एकदमै गाह्रो हुन्छ । आज उनी स्थानीय प्रहरीका लागि अमूल्य स्रोत बनेका छन् । ‘म जागिर नखाने प्रहरी हुँ’ उनी विनम्रतापूर्वक भन्छन्, ‘म नगएसम्म प्रहरीलाई ठाउँ नै पत्ता लगाउन गाह्रो हुन्छ ।’

९–१० घण्टासम्म लामो उद्धार कार्यमा खटिने दावा हराएकालाई पानी खुवाएर मात्र सुरक्षित स्थानमा पुर्‍याउँछन् ।

‘हराएका मानिसलाई उद्धार गर्ने काम जसरी पनि गर्छु भन्ने आँट सहित अघि बढेको थिएँ’ दावा गर्वका साथ भन्छन्, ‘र आजसम्म सफलता पाइरहेको छु ।’ उनको यो सेवाभावले थुप्रै परिवारमा खुसी फर्काएको छ ।

जीवनमा नयाँ मोड

एक साँझ जंगलबाट फर्किंदै गरेको क्षणले दावाको जीवनमा नयाँ मोड ल्यायो । प्रहरीसँगको जम्काभेटमा उनले आफ्नो हराएका मानिस खोज्ने काम बताए । २०७४ पछि यो भेट औपचारिक सहकार्यमा परिणत भयो ।

जंगल बाक्लो छ । फोन लाग्दैन । त्यसबेला उनले बिहान १० बजेसम्म गोदावरी बसपार्कमा फुल्चोकी जानेहरूको नाम र फोन नम्बर रेकर्ड गर्ने व्यवस्था मिलाउने गरेका थिए ।

अहिले गोदावरीको त्रिचियन एकेडेमीमा बस चालकको काम गर्ने दावा चार बजेपछि र फुर्सदको समयमा खोजी कार्यमा खटिन्छन् । उद्धार टोलीमा ८–१० जना हुन्छन्, जो साढे दुई घण्टामा माथि पुग्छन् र साढे एक घण्टामा तल झर्छन् ।

दुई छोरा र श्रीमतीको परिवार भएका दावालाई छोराछोरीले जंगल नजान आग्रह गर्छन् । ‘भीरबाट खस्न सक्नुहुन्छ, पैसा पनि आउँदैन’, उनीहरू भन्छन् । तर दावा यसलाई समाजसेवा ठान्छन् । ‘आपत् सबैलाई पर्छ, यस्तो बेला सहयोग गर्नुपर्छ’, उनी बालबच्चालाई बुझाउँछन् ।

बाल्यकालदेखि नै मानवसेवाको भावना बोकेका दावाको योगदानको कदर गर्दै जिल्ला प्रहरी कार्यालय ललितपुरले उनलाई सम्मान गरेको छ । ‘मैले गरेको काम सफल भएको महसुस गरेको छु’, उनी गर्वका साथ भन्छन् ।

उनको अग्रसरतामा थुप्रै हराएका मानिसले नयाँ जीवन पाएका छन् । उनी उद्धार कार्यलाई एक कर्तव्य ठान्छन् ।

‘कसैको जीवन बचाउन पाउनु भन्दा ठूलो सेवा अरू केही हुन सक्दैन’, उनी भन्छन् ।

तस्वीर : शंकर गिरी

Leave a comment

Your email address will not be published. Required fields are marked *