सहकारी पीडितको गुनासो- हाम्रा विरुद्धमा अदालतको आदेश आयो
२५ पुस, काठमाडौं । कास्कीको सूयदर्शन सहकारीका पीडितहरूले अदालतको आदेश आफूहरूको विरुद्धमा आएको बताएका छन् ।
बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उक्त आदेश आफूहरूले सोचेकोभन्दा फरक आएको पीडितहरूको गुनासो छ ।
‘आज अदालतको आदेश पीडितहरूको विरुद्धमा आयो । हामीले सोचेको भन्दा विपरीत आयो,’ सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले अनलाइनखबरसँग भने, ‘हामीलाई यो देशमा साँच्चै न्याय छैन कि, पीडितहरू सधैँ पीडित नै भइरहने हो कि, पीडितले कहिल्यै न्याय नपाउने हो कि भन्ने भयो ।’
सूर्यर्दशन सहकारी प्रकरणका प्रतिवादीमध्ये रवि लामिछाने, छविलाल जोशी, लिला पछाईं र रामबहादुर खनाल छुटेको नभए पनि कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङ भने हुलमुलमै छुटेको संयोजक श्रेष्ठले बताए ।
‘रवि, छवि, लिला र रामबहादुरको विषयमा उनीहरूको अदालत परिवर्तन भएको हो, छुटेका होइनन् भन्ने हामीले पनि बुझेका छौं,’ संयोजक श्रेष्ठले भने, ‘मीना, कृष्ण र आरतीको विषयमा बिगो कायम भएका प्रतिवादी थिए । उनीहरू पनि यो हुलमुलमा छुटे ।’
सहकारी प्रकरणमा कोही छुट्नु र थुनिनु भन्दा पनि पीडितले पैसा पाउँछन् वा पाउँदैनन् भन्नेमा आफूहरूको ध्यान रहेको श्रेष्ठले बताए ।
‘हामीलाई कोही छुट्नु र थुनिनु भन्दा पनि बिगो कायम भएको रकम सहकारीमा फिर्ता गर्छन् कि गर्दैनन् र पीडितले पैसा पाउँछन् कि पाउँदैनन् भन्ने मात्रै थियो,’ संयोजकले श्रेष्ठले थप भने, ‘तर, सहकारीको विषयमा हाम्रो माग के थियो भन्ने यी जति पनि बिगो कायम भएका प्रतिवादीहरूलाई पैसा तिर्छु नभन्ने बेलासम्म थुनामै राख्नुपर्छ भन्ने हाम्रो माग थियो ।’
उनले अझै पनि देशमा पीडितले न्याय नपाउने हो कि भन्ने अनुभूति आफूहरूलाई बिहीबारको आदेशपछि भएको जिकिर गरे ।
‘अदालतले त्यसको ठिक विपरित आदेश ल्याइदियो । हामी पीडित यो देशमा सधैं पीडित भइराख्ने, कहिल्यैपनि न्याय नपाउने, पीडितको पक्षमा कुनै सरकार पनि नलाग्ने देखियो । विगतमा अरु नेताका श्रीमतीदेखि लिएर अन्य मान्छे छुट्नै जाँदा त्यसैको उपज हो कि भन्ने अनुभूति हामीलाई भएको छ,’ उनले भने ।
सूर्यदर्शन सहकारीका प्रतिवादीहरूमध्ये तीन जना धरौटीमा रिहा भइसकेका छन् । सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् ।
रवि लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले पनि बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाइसकेका छन् । लिला पछाईंको भने भोलि (शुक्रबार) मात्रै धरौटी बुझाइने भएको छ ।
अदालतले लामिछानेसँग ६५ लाख, जोशीसँग ८८ लाख, खनालसँग १५ लाख, पछाईसँग ३७ लाख, कृष्णलाई १ लाख, मीना र आरतीलाई ५/५ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।