अदालतमा रविको बयान-पूर्वडीआईजी, पूर्वप्रदेश प्रमुख जस्ता व्यक्ति देखेपछि शंका गरिनँ
२५ पुस, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बयानमा आफ्नो एउटा पनि चेकमा अक्षर नभएको तर हस्ताक्षर भएको स्वीकार गरेका छन् ।
गत पुस १२ गते सकिएको बयानमा रविले कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीवी) राईको निर्देशन पालना गर्नु पदीय कर्तव्य र जिम्मेवारी भएको बताउँदै आफू एउटा पनि अक्षर नलेखेको तर हस्ताक्षर गरेको बयान दिएका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको पुरक अभियोजन पत्र र रविले दिएको बयानकै आधारमा अदालतमा वादी–प्रतिवादीका बीच थुनछेक बहस भएको छ । रविले थुनछेक बहसअघि दिएको बयान कानुन व्यवसायीमार्फत प्राप्त भएको छ ।
कम्पनीको मालिकको निर्देशन पलना गर्नु पदीय कर्तव्य र जिम्मेवारी भएको रविको भनाइ थियो । आफू गोर्खा मिडिया छोडेर बाहिरिएर राजनीतिमा प्रवेश गरेको लामो समयपछि सहकारीको रकम अपचलनको विषय सार्वजनिक बहसमा आएको रविले बताएका छन् ।
जीवी राइले आफ्नो विज्ञतालाई आधार मानी १५ प्रतिशत शेयर सित्तैमा उपलब्ध गराउने सर्तसहित गोर्खा मिडियामा प्रवेश गराएको रविले बयान दिएका छन् । आफ्नो आगमन सुनिश्चित गराउन सुनिश्चित गराउन बैंक खाता खोलिएको र एक हस्ताक्षरकर्ताको रुपमा रहेको उनको बयान छ ।
‘छविलाल जोशीमार्फत टेलिभिजन खोल्ने प्रस्ताव लिएर जीवी राई स्वयं आएका हुन् । सो अगाडी उनीसँग, उनको कुनै पनि व्यवसायसँग र त्यससँग सम्बन्धित कुनै ब्यक्तिवा समूहसँंग मेरो कुनै सम्बन्ध सम्पर्क थिएन,’ रविको बयान छ, ‘सोही कारण सहकारीको रकमसँग मेरो कहीँ कतै साइनो छैन ।’ जीवीसँगको सम्बन्ध गोर्खा मिडियाबाट सुरु भएर गोर्खा मिडियामै गएर टुंगिएको रविको भनाइ छ ।
रविले आफू २०७७ माघ २० गतेदेखि २०७९ असार १ गतेसम्म प्रवन्ध निर्देशकको रुपमा रहेको भन्दै चेकहरु जीवीकै निर्देशनमा काटिने बताएका छन् । वित्तीय व्यवस्थापनको जिम्मेवारी जीवीले आफ्नोमात्र स्वामित्वमा राखेको र कार्य सहजताका लागि चेकको हस्ताक्षरकर्ता मध्ये एक भए पनि निर्णयकर्ता र कम्पनीको मालिक जीवी नै भएको रविको बयान छ ।
गोरखा मिडियाको खाताका चेकमा अन्तिम हस्ताक्षर रहेको व्यक्तिले कम्पनीमा रकम आउँदा–जाँदा कुनै जानकारी, जिज्ञासा राख्नुपर्ने विषयमा पनि रविलाई प्रश्न गरिएको थियो । त्यसको जवाफमा रविले गोर्खा मिडिया नेटवर्कको सम्पूर्ण वित्तीय र आइटी सम्बन्धी सर्वाधिकार केबल आफ्नोमात्र रहन्छ भनेर जीवीले पटक–पटक स्पष्ट पारेको बताएका छन् ।
‘उनीबाट आउने लगानीको स्रोतबारे बुझ्दा उनी नेचर हर्ब्स, नेचर नेस्ट जस्ता ७ वटा देशमा सञ्चालित बहुर्राष्ट्रिय कम्पनीका मालिकसमेत भएको जानकारी पाएको थिएँ । तत्कालीन समयमा उनी विरुद्ध कुनै उजुरी विवाद, मुद्दा छ कि भनी सम्बद्ध बिभिन्न निकायसँग सोधपुछ समेत गरेको थिएँ,’ रविले बयानमा भनेका छन्, ‘प्रारम्भिक लगानीका लागि उनले आफ्नो जग्गा बेचेर र बिभिन्न उल्लेखित बहुर्राष्ट्रिय कम्पनीको मुनाफाबाट रकमको जोहो गरेको जानकारी पाएँ ।’
तत्कालीन समयमा जीवीविरुद्ध कुनै उजुरी मुद्दा वा सहकारीसँग सम्बद्ध रहेको भन्ने किसिमका समाचारहरु नआएको र उनको कम्पनी पनि कानुनअनुसार नै सञ्चालनमा रहेको औपचारिक जानकारी पाएकाले विश्वास गरेको रविको भनाइ छ । ‘उनका कानुनी सल्लाहकार बाबुराम कुँवर प्रदेश सरकारको प्रमुख एवं महान्यायाधिवक्तासमेतको उच्चतहको जिम्मेवारीमा आसिन भइसकेको व्यक्तित्व भएको, उनका साझेदार छबिलाल जोशी नेपाल प्रहरीको डीआईजीजस्तो उच्च तहबाट अवकाश भएको व्यक्ति रहेको कारणले विश्वास गर्ने पर्याप्त आधार र कारणहरु देखिए,’ रविले बयानमा भनेका छन् ।
बैंकमार्फत आएको डिपोजिटमा आंशका गर्ने आम अभ्यास पनि नभएको उनको भनाइ छ । ‘मैले जीवी राईको आज्ञा, अनुमति र निर्देशनले रविना रिमालमार्फत थप कर्मचारीहरुबाट तयार भइ आएको चेकको हस्ताक्षर गर्ने कोष्ठबाहेक केही पनि हेर्नुपर्ने आवश्यक ठानिनँ र मैले चाहेर कुनै पनि भुक्तानी रोकिने अड्किने अवस्था र त्यस्तो गर्न सक्ने मेरो हैसियत रहेको थिएन,’ रविको जवाफ छ, ‘कम्पनीका कुनै पनि चेक मेरो इच्छाले लेखिएको हुँदैनथ्यो । सम्भवतः एउटा पनि चेकमा मरो अक्षर छैन, हस्ताक्षर मात्रै छ ।’
रवि र श्रीमती निकिता पौडेलको नाममा सञ्चालनमा रहेको विभिन्न खातामा २८ करोड ९१ लख रुपैयाँ जम्मा हुनुको कारण पनि रविलाई सोधिएको थियो । खातामा आएको भनिएको विवरण नै सही नभएको रविले दाबी गरेका छन् । त्यो आफ्नो र श्रीमतीको बैंक खातामा आएको र गएको सम्पूर्ण जोडफल भएको उनको बयान छ
प्रत्येक हप्ता र महिनाजसो उपत्यका बाहिर जाँदा बाटोमै बोलाएर, एयरपोर्टमा भेटेर चेकहरुमा भटाभट हस्ताक्षर गर्नुपर्ने अवस्था रहेको पनि उनले बयान दिएका छन् । कार्यकारी अध्यक्षको निर्देशनमा खाली चेकहरुमासमेत हस्ताक्षर गरी छोड्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘लगानीकर्ताको निर्देशन पालना नगर्ने हैसियत मेरो थिएन । यस किसिमको आपसी विश्वासविना निजी क्षेत्र चल्न गाह्रो हुन्छ,’ रविको भनाइ छ ।
गोर्खा मिडिया प्रालिको अधिकांश चेकहरुमा तीन जनाको हस्ताक्षर चल्नेमा अधिकांश चेकहरुमा रविकै हस्ताक्षर रहको र कम्पनी छाडिसकेपछि २०७९ आर १ मा पनि चेकहरुमा हस्ताक्षर देखिएकोबारे पनि रविलाई प्रश्न सोधिएको छ ।
गोर्खा मिडिया सुरु भएको थोरै समयमात्र छविलाल जोशी देखिएको र जीवी राई व्यस्त मानिस भएकाले आफ्नो हस्ताक्षर धेरै देखिएको रविको बयान छ ।
‘मैले राजीनामा दिइसकेपछि पनि देखिएका चेकहरुका सन्दर्भमा मेरो भनाइ यो छ कि, कि त मैले अघिल्ला सवालहरूमा उल्लेख गरेजस्तै या त खाली चेकहरुको प्रयोग भएको हुनुपर्छ, यात व्याक डेटेड चेकहरु पछि, भुक्तानीका लागि बैंकमा पेश भएको हुनुपर्छ,’ रविको भनाइ छ, ‘चेकहरुमा भएको अक्षर मेरा होइनन्, त्यसैले विश्वासको आधारमा पूर्व हस्ताक्षरित चेकहरुमा विवरण भरेर उपल्बध गराइएको पनि हुन सक्छ ।’
आफ्नो नाममा आएको चेकको सन्दर्भमा उक्त रकम पछिल्लो ३ महिनाको पाउनुपर्ने तलबको करकट्टा गरी प्राप्त रकमको चेक भएको दाबी रविको छ । आफूले हस्ताक्षर गरेर छाडेका खाली चेकमा विवरण परेर पेश भएको पनि हुन सक्ने र पछि भुक्तानी लिने गरी ब्याकडेटेढ पनि प्राप्त भइ लेखिएको मितिमा नै बैंकमा पेश भएको पनि हुन सक्ने उनको बयान छ ।
‘सहकारीबाट गोर्खा मिडियामा आएको रकमको सम्बन्धमा थाहा छैन भन्नु भो, तपाईंकै हस्ताक्षरबाट बिभिन्न सहकारी, जस्तै नेचर हर्ब्स, नेचर नेस्टसमेतका कम्पनी र सहकारीलाई रकम भुक्तानी गरेका ८१४ थान चेक काटेको भन्ने देखिन्छ, कसो हो त ?’ रविलाई अदालतमा सोधिएको अर्को प्रश्न थियो ।
गोर्खा मिडियाले कुनै पनि सहकारीसँग ऋण लिने सम्झौता सहमति वा बोर्ड निर्णय नगरेको जवाफ रविले यहाँ पनि दोहोर्याएका छन् । तत्कालीन समयमा लेखालाई सोध्नुपर्ने प्रश्न हस्ताक्षर गर्नुपर्ने चेक कतिवटा छ भन्नेबाहेक उक्त भुक्तानीबारे प्रश्न गर्ने वा रोक्ने हैसियत आफ्नो नभएको रविको दाबी छ ।
रवि भन्छन्- परिश्रम र मिहिनेतबाट आर्जित सम्पत्ति हो
सूर्यदर्शन बचत तथा ऋण सहकारी कास्की, सुप्रिम सहकारी रुपन्देही, स्वर्णलक्ष्मी सहकारी काठमाडौ, सानोपाइला सहकारी पर्सा र सहारा सहकारी चितवनका बचतकर्ताहरुको रकम अपचलन गरी सम्पत्ति शुद्धीकरणसमेत गरेको भन्ने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएको विषयमा पनि रविलाई अदालतमा सोधिएको छ ।
जवाफमा रविले संसदीय छानबिन समितिको प्रतिवेदनको निष्कर्षमा कुनै पनि सहकारी संस्थाको बचत रकम अपचलनमा वा उक्त रकम गोर्खा मिडिया नेटवर्कमा ल्याउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण नरहेको भनिएको उनले बताए । उनले आफू सहकारी अपचलनमा कहीँकतै सम्मिलित नभएको बताउँदै भनेका छन्, ‘मैले आर्जन गरेको रकम मसँग भएका सम्झौता सहमतिको अधिनमा रही आफ्नो परिश्रम र मिहिनेतबाट आर्जित सम्पत्ति हो ।’ सूर्यदर्शनलगायत कुनै पनि सहकारीमा आफू सदस्य, ऋणी, शेयरधनी, कर्मचारी केही पनि भूमिकामा नरहेको उनको बयान छ ।
आफूविरुद्ध लगाईएको सम्पत्ति शुद्धीकरणको अभियोग झुठा र राजनीतिक प्रतिशोध भएको रविको इन्कारी बयान छ । ‘सूर्यदर्शन सहकारीको खाताबाट २ करोड रकम जीवी राईको खातामा गएको र जीवी राईको खाताबाट तपाईंको खातामा ७५ लाख गएको र सो ७५ लाख रकम तपाईंबाट गोर्खा मिडिया प्रालिके नाममा गएको छ नि, कसो हो ? खुलाइदिनुहोस् ?’ रविलाई सोधिएको अर्को प्रश्न थियो ।
त्यसको जवाफमा रविले जीवी राईको व्यक्तिगत बैंक खातामा के कसरी, के कुन स्रोतबाट प्राप्त आम्दानी जम्मा भएको छ वा थियो भन्ने कुरा जान्ने अधिकार नभएको बताएका छन् । त्यो सम्झौताअनुसार नै भएको जिकिर गर्दै रविले भनेका छन्, ‘त्यतिबेलाको १५ प्रतिशत शेयर बराबरको रकम ७५ लाख हुन आउँथ्यो । उक्त रकम जीवी राईको व्यक्तिगत खाताबाट मेरो ग्लोबल आइएमई बैंकको व्यक्तिगत खातामा प्राप्त भयो र सोही दिन उक्त रकम मैले गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकमा जम्मा गराई आफ्नो प्रतिबद्धता पूरा गरेको हुँ ।’
रवि र श्रीमती निकिता पौडेलको नाममा सञ्चालनमा रहेको विभिन्न खातामा २८ करोड ९१ लख रुपैयाँ जम्मा हुनुको कारण पनि रविलाई सोधिएको थियो । खातामा आएको भनिएको विवरण नै सही नभएको रविले दाबी गरेका छन् । त्यो आफ्नो र श्रीमतीको बैंक खातामा आएको र गएको सम्पूर्ण जोडफल भएको उनको बयान छ । खातामा जम्मा भएको भनिएको रकम मौज्दात रकम नभएर खाताको जीवनकालमा भएका कारोबारको जोडफल भएको उनको भनाइ छ ।
जीवीलाई ल्याउन गरेको वार्ता मलेसियाका गृहमन्त्रीले सार्वजनिक गरेका थिए
लामिछानेले सूर्यदर्शनसहित विभिन्न सहकारी र गोर्खा मिडिया अध्यक्ष जीवी राई नै रकम अपचलनमा संलग्न रहेकाले आफू उपप्रधान तथा गृहमन्त्री रहेका बेला पक्राउ गर्न अहिलेसम्मकै सबैभन्दा धेरै र प्रभावकारी कदम चालेको बयान छन् ।
मलेशियाका गृहमन्त्रीको सल्लाह बमोजिम जीवी राईको पासपोर्ट रद्ध गर्ने प्रक्रिया अगाडि बढाएको तर कास्की जिल्ला अदालतबाट यसको आदेश हुन नसकेको रविको बयान छ ।
कास्की जिल्ला अदालतमा गत पुस १२ गते सकिएको रविको बयानमा राहदानी विभागबाट समेत पासपोर्ट रद्ध गर्ने प्रक्रिया अगाडि बढाएको तर विभागबाट सो प्रक्रिया सदर हुन नसकेको रविले बताएका छन् ।
‘म स्वयंले मलेशियाका गृहमन्त्रीज्यूसँग २–२ पटक टेलिफोन वार्ता गरी सहकारी पीडितहरुको पक्षमा कुरा गर्दै फरार रहेका जीवी राईलाई नेपाल पठाइदिने प्रक्रियाका लागि वार्ता गरी पहल गरेको थिएंँ,’ रविले बयानमा भनेका छन्, ‘मलेसियाका गृहमन्त्री स्वयंले आफ्नो सामाजिक सञ्जालमा मसँगको वार्ता भिडियोसहित सार्वजनिक गर्नुभएको थियो ।’
यदि जीवी र उनको समूहसँग जोडिएको भए यो तहको प्रयास र पहल नगर्ने रविको भनाइ थियो ।