#समाचार

‘झुक्किएर मनोज गजुरेलको भाग खाइयो, बडो मज्जा आयो’ – Online Khabar

म भर्खरै काठमाडौं आएको थिएँ । रत्नराज्य क्याम्पस भर्ना भएँ । क्याम्पसमा नयाँ विद्यार्थीका लागि ‘स्वागत कार्यक्रम’ राखिएको थियो ।

त्यही कार्यक्रम हो, जसले मेरो बाटो मोडिदियो । किनभने म चाहेर वा रोजेर हास्य कलाकारितामा आएको होइन । त्यो एउटा संयोग थियो ।

क्याम्पसमा कार्यक्रमको तयारी हुँदै थियो । मञ्चका अघिल्तिर विद्यार्थीहरु भरिभराउ थिए । मूख्य कलाकारहरु आउन बाँकी थियो । मैले सो कार्यक्रममा आयोजकलाई भनेको थिएँ, ‘म पनि एउटा गीत गाउँछु नि ।’

उनीहरुको यस्तो सर्त थियो, ‘गाउन त हुन्छ तर कार्यक्रम सुरु भएपछि होइन । अगाडि नै गाउनुपर्छ ।’ कार्यक्रम औपचारिक रुपले सुरु हुनुअघि यसो दर्शकलाई भुलाउनका लागि मलाई सो मौका दिइएको थियो ।

म राजी भएँ ।

त्यो कुलमान घिसिङ आउनुभन्दा अगाडिको समयरेखा थियो । अर्थात सर्बत्र अन्धकार थियो । लोडसेडिङको तालिका हेरेर नेपालीहरु सुस्केरा हाल्दै बस्थे ।

म मन्चमा उक्लिएँ र प्यारोडी गीत गाइदिएँ, ‘यो नेपाली पासपोर्ट उचाली, साउदी–कतार लम्किन्छ ।’

खासमा यो दर्शकको फजुल समय उपयोग गर्नका लागि थियो । तर, त्यही गीतमा उनीहरु ‘वान्स मोर, वान्स मोर’ भन्न थाले । म पनि के कम ? दोस्रो गीत तुरुन्तै गाइदिएँ, ‘जनता भुलाई सारा, सत्ता चलाइदेउ ।’

साँझ प¥यो । कार्यक्रम लगभग सकिन लागेको थियो । फेरी मलाई आयोजकले नै ‘दिउँसोको जस्तै गीत गाइदिनु’ भने । मैले अलि आनाकानी गरें । किनभने जाडो बढेको थियो । ‘जाडोमा गाह्रो हुन्छ’ मैले भनें । उनीहरुले मेरा लागि ज्याकेट किनिदिए । त्यो ज्याकेट, जसलाई म मेरो करियरको पहिलो पारिश्रमिक मान्छु ।

क्याम्पसमा मैले अप्रत्यासित पाएको मौका थियो त्यो । तर मेरो लागि त्यही कार्यक्रम नै यस्तो डोज बनिदियो, जसले मलाई हास्य कलाकारितामा लाग्न थप उकास्यो ।

विज्ञान पढ्ने मनासयले काठमाडौं छिरेको केटो म । काठमाडौं आएपछि मानविकी संकाय रोजे । पढ्दै जाँदा वकिल बन्ने रहरले एलएलबी पढ्न उकास्यो । म के बन्छु, के गर्छु ? खासै मेलोमेसो पाएकै थिइनँ ।

यसै सिलसिलमा ललित कला क्याम्पस पढौं कि भनेर प्रवेश परीक्षा दिइयो । दुई नम्बरमा नाम निस्कियो । नाम निस्किएपछि ‘गीत गाउन पनि जान्ने रहेछु’ भन्ने लाग्यो ।

२०६१ सालमा ९ वटा गीतको एल्बम निकालें । जुन सुपर डुपर फल्प भयो । त्यसपछि २०६८ सालमा आफ्नै कमाईले अर्को एल्बम बजारमा निकाले, त्यो पनि डुब्यो । तर, मेरो गीति यात्रा रोकिएन । बर्षैपिच्छे एल्बम निकाले । ती सबै फ्ल्प भयो ।

मनोज गजुरेलको भाग खाने भाग्य

एकदिन अपरिचित नम्बरबाट फोन आयो । फोनकर्ताले भन्यो, ‘मलाई मनोज गजुरेलको नम्बर पठाइदिनु न ।’

मैले नम्बर पठाइदिएँ । केही समय बित्न नपाउँदै उसैले मलाई फोन ग¥यो । उसले मलाई फलानो ठाउँमा, फलानो कार्यक्रम छ त्यहाँ आएर प्रस्तुती दिनु भनी आमन्त्रण गरे । कार्यक्रमको खाका, स्थान, समय सबै बताएपछि पारिश्रमिकबारे पनि छिनोफानो भयो ।

तोकिएको मितिमा हवाईजहाज चढेर पोखरा पुग्नुपर्ने, त्यहाँ विमानस्थलमा उनीहरु लिन आउने तय भयो । म पोखरा पुगें । मलाई लिन आएका साथीसँग भेट भयो । भेट त भयो, तर उनले अनौठो प्रश्न गरे, ‘कता जान लाग्नुभयो ?’

मैले भने, ‘बाग्लुङ जान लागेको ।’

उसले फेरी सोही प्रश्न दोहो¥याए, ‘तपाईं पनि बाग्लुङ जान लागेको ?’

मैले ‘हो’ भनें ।

उसले भन्यो, ‘त्यसो भए एउटै गाडीमा जाउँ न त ।’

हामी गाडीमा चढ्यौं । गाडी हुँइकियो । उनले फेरी फोन गरे । त्यो फोन मलाई आयो । मैले सोधें, ‘तपार्इंले फेरी मलाई नै फोन गर्नुभयो ।’

उनले यसो मेरो अनुहार हेरे र विस्मयसाथ भन्यो, ‘ए, तपाईंलाई लिन आएको म नै रहेछु त ।’

त्यसपछि हामी मरीमरी हाँस्यौं । यत्तिकैमा खाना खानका लागि गाडी रोकियो । मेरो लागि खाना अर्डर गरेर त्यो साथी यताउता गर्न थाल्यो । ऊ यता फोन गर्छ, उता फोन गर्छ । साथी तनावमा आयो । के भइरहेको छ ? म छक्क परें ।

खाना खाइयो । मैले भने, ‘ल अब लागौं ।’ तर, ऊ अकमकियो । अनि मुखै फोरेर यसो भन्यो, ‘एउटा तनाव भयो ।’

‘के तनाव ?’ मैले सोधें ।

‘त्यसदिन मैले तपाईंलाई मनोज गजुरेलको फोन नम्बर मागेको थिएँ । मनोज गजुरेललाई कल गरेको झुक्किएर तपाईंलाई डायल भएछ । खासमा कार्यक्रममा मनोज गजुरेलको प्रस्तुती राखिएको छ । पोस्टरदेखि सबैतिर उनकै फोटो र नाम छ ।’

बोलाएको मान्छे अरु नै । पुगेछु म ।

त्यसपछि मैले भनें, ‘यतिबेला मनोज जीको पारिवारिक तनाव चलिरहेको छ । उहाँलाई बोलाएको भए पनि आउन सक्ने अवस्थामा हुनुहुन्न । यो कुरा कति आधिकारिक हो थाहा छैन तर उहाँ  तनावमा भएको कुरा बाहिर आएको छ ।’

‘मनोज जीको पारिवारिक तनाव चलिरहेको छ । उहालाई बोलाएको भए पनि आउन सक्ने अवस्थामा हुनहुन्थेन । यो कुरा कतिको आधिकारिक हो भनेर थाहा छैन । तर तनाव कम होस् भनेर मैले भने ।’

अब मनोज गजुरेलको विकल्पमा मैले नै प्रस्तुती दिने भएँ । कार्यक्रम गरियो । मस्त रमाइलो गरियो । पैसा पनि गोजीभरी ल्याइयो । काइदा भयो ।

अहिले पनि त्यो साथीको अनुहार सम्झिँदा मुर्छा पर्नेगरी हाँसो लाग्छ ।

प्रमोद खरेलको नमस्ते खाइयो

एकपटक भद्रपुरको विमानस्थलमा बसिरहेको थिएँ । एकजना भाई आए र बडो उत्साहसाथ भने, ‘नमस्ते दाई ।’

मैले मख्ख परेर नमस्ते फर्काएँ । उसले मेरो छोटो अन्र्तवार्ता नै लिन थाले ।

‘कार्यक्रममा आउनुभएको ?’

मैले भनें, ‘हजुर ।’

‘कहाँ ?’

मैले भने, ‘सतासीधाममा थियो । राम्रो भयो ।’

त्यसपछि उसले त्यसपछि मलाई भन्यो, ‘तपाईंको गीत त खुब चल्यो नि है ।’

गीत त गाएकै थिएँ । तर, खुब चलेको थिएन । मेरा जतिपनि गीत थिए, ति सबै फ्ल्प थिए । यी भाईले कुन गीत चाहिँ खुब सुनेछन् ?

उनले जवाफमा भने, ‘त्यो दाईको गीत क्या, मुस्किल छ पोखरामा भन्ने ।’

बल्ल पो थाहा भयो, अहिलेसम्म मैले प्रमोद खरेलकै नमस्ते खाएको रहेछु । त्यसबेला मेरो कपाल लामो र अलि कर्ली थियो । अनि झट्ट हेर्दा प्रमोद खरेल जस्तै देखिन्थें पनि । धेरैजना मसँग यसरी झुक्किएका छन् ।

अर्घाखाँचीमा एउटा हिरो जस्तै प्रहरीसँग भेट भयो । त्यसबेला हामाी कतै जाँदै थियौं र हतारमा थियौं । प्रहरीले हाम्रो गाडी रोके । हाम्रो आँखा जुध्यो । उनले स्टाइलिस शैलीमा यसो भन्यो, ‘आइ थिङ्क, यु आर समथिङ्क खरेल ?’

मैले पनि उसैगरी स्टाइलिस शैलीमा जवाफ फर्काएँ, ‘यस सर ।’

अब उनले सेल्फी खिच्ला र प्रमोद खरेलको नाम जोडेर सामाजिक सञ्जालमा पोस्ट गर्लान् भनेर हामी हतार हतार त्यहाँबाट टाँप कस्यौं ।

जीतु नेपाल बिच्किएपछि

दैलेखमा कार्यक्रम थियो । जीतु नेपालसहित कलाकार टोली दैलेखतर्फ हिँडियो । तर, कार्यक्रमस्थल दैलेखभन्दा धेरै टाढा रहेछ । टाढा मात्र होइन निकै असजिलो ठाउँ पनि । त्यहाँ बिजलुी, टिभी केहीपनि सुविधा थिएन ।

सुर्खेतबाट यात्रा अगाडि बढ्यो । बाटो त्यस्तै, गाडी त्यस्तै । पट्यारलाग्दो थियो । जीतु नेपालले गाडीमा भाईलाई सोधे, ‘भाई कार्यक्रमस्थल पुग्न अब कति लाग्छ ?’

भाईको जवाफ आयो, ‘अब दुई घण्टा ।’

दुई घण्टा बित्यो । तर, कार्यक्रमस्थल देखिएन । फेरी जीतु नेपालले उही प्रश्न गरे । भाइले जवाफ उस्तै दिए, ‘अब दुई घण्टा ।’

अर्को दुई घण्टा पनि बित्यो । अझै गन्तव्य पुगिएन । फेरी त्यही प्रश्नोत्तर भयो । जीतु नेपालले सोध्ने, भाईले जवाफ दिने । भाईको जवाफ फेरीएको थिएन, ‘अब दुई घण्टा लाग्छ ।’

जीतु नेपाललाई खपिनसक्नु भएछ । ऊ झोक्कियो, ‘साँच्चै भन । अब चाहिँ कति दुई घण्टा लाग्छ ?’

हत्तुहैरान भएर जसोतसो कार्यक्रमस्थल पुगियो । त्यहाँ ठूलो होटल हुने कुरै भएन । एउटा सामान्य होटलको कोठामा जीतु नेपाल र म बस्यौं । त्यसको ठीक मुनी खाना पकाउने भान्सा रहेछ । तल आगो बलेको छ, धुँवा आएको छ । हामी माथि उत्तानो परेका छौं ।

रातको त्यस्तै दुई बजेको हुँदो हो । जीतु दाई चिच्याए, ‘सर्पले टोक्यो, सर्पले टोक्यो ।’ हामी उठ्यौं । साँच्चै उनको एउटा हात सुन्निएको थियो । अब उनी एकदमै हायलकायल भएर बिलौना गर्न थाले, ‘यस्तो दुर्गममा आएर मरिने भयो । छोराछोरी र श्रीमतीको अनुहार पनि हेर्न नपाइने भइयो ।’

त्यो कार्यक्रमको संयोजन मैले नै गरेको थिएँ । त्यसैले उनी मसँग झोक्किए, ‘यस्तो ठाउँमा मलाई दुःख दिएर मार्न ल्याएको ?’

खासमा उनलाई सर्पले होइन, बिच्छीले टोकेको रहेछ । भोलिपल्ट हामी नजिकैको खोलामा गयौं । पौडी खेल्यौं । अनि आनन्दले घाम ताप्यौं । त्यसबेला जीतु दाई भन्दै थिए, ‘स्वर्ग भनेको त यस्तो पो । कस्तो रमाइलो, कस्तो आनन्द ।’

विमानस्थलमा पुग्दा पासपोर्ट हराएपछि

कार्यक्रमका लागि जापान जानु पर्ने थियो । विमानस्थलमा जहाज चढ्नुभन्दा तीन घण्टा अगाडि नै पुग्ने सल्लाह भयो । म दुई घण्टा अगाडि मात्र पुगें । म पुग्दा राजु परियार पुगिसकेका रहेछन् । तर, शान्तीश्री परियार र विक्रम परियार आउन बाँकी रहेछ ।

उनीहरुलाई बाहिर कुरेर हुँदैन, भित्र बसेर कुरौं भनेर भित्र गइयो । हामीहरु लाइनमा थियौं । त्यही बेला उनीहरु पनि आइपुगे । हामी ढुक्क भयौं ।

त्यसपछि सबैले आ–आफ्ना पासपोर्ट निकाल्न थाले । म यसो खोज्छु, पासपोर्ट नै छैन । बाहिर पासपोर्ट देखाएर आएको भित्र छैन । त्यसैमा भिसा पनि थियो । अब परेन आपत ?

ह्यान्ड ब्यागमा हेरें, छैन । पर्समा हेरें, छैन । शौचालमा गएर खोजें, छैन । सिसिटिभीमा हेर्न लगायौं, छैन । कसैले भेटेका छन् कि भनेर माइकिङ गर्न लगायौं, छैन । प्रहरीको सहयोग लिइयो, छैन । अनेक जुक्ति लगाइयो, पासपोर्ट भेटिएन ।

यो खबर जापानसम्म पुग्यो । फेरी विरक्तिएर एकपटक खोजें । ब्यागको कुनामा लुकिरहेको देखें । ‘भेटियो’ भन्दै खुसीले कराए । तर, यतिबेलासम्म ढिला भइसकेको रहेछ । जहाज छुट्यो ।

पछि अर्को विमान चढेर साँझ जापानमा पुगें । म त्यहाँको विमानस्थलमा पुग्नसाथ मलाई लिन आउने साथीहरु एकदम खुसी भए । उनीहरुले भने, ‘तपाईंको ठीक भयो, तपाईं लगेजसहित आउनुभयो ।’

मभन्दा अगाडि आएका साथीहरुको लगेज काठमाडौंबाट हिँडेकै छैन रे । यस्तो अवस्थामा खुसी हुने कि दुःखी ? म रनभुल्लमा परें ।

फोटो–भिडियो : शंकर गिरी

Leave a comment

Your email address will not be published. Required fields are marked *