आर्मीको बलियो योगफल पछ्याउँदै बागमती – Online Khabar
२४ पुस, काठमाडौं । जय ट्रफी एलिट कप २०८१ अन्तर्गत बुधबार चौथो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच पहिलो दिनको खेल सकिएको छ ।
पहिलो इनिङमा आर्मीको बलियो योगफल पछ्याउने क्रममा रहेको बागमतीले पहिलो दिन २२ ओभरमा ५ विकेट गुमाएर १२२ रन बनाएको छ । बागमती अझै १५४ रनले पछाडि छ ।
बागमतीका नन्दन यादव १८ तथा विपिन आचार्य १ रनमा अविजित छन् । त्यसअघि शुभ कंसाकारले ३४ र उत्तम थापामगरले २८ रन बनाएर आउट भए । ओपनर रित गौतमले २२ तथा आशुतोष घिरैयाले ११ रन बनाउँदा इशान पाण्डे ४ रनमा आउट भए । आर्मीका आकाश चन्दले ३ तथा सोमपाल कामीले २ विकेट लिएका छन् ।
जनकपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले आफ्नो पहिलो इनिङमा बलियो योगफल खडा गरेको थियो । आर्मीले ६० ओभरमा ५ विकेट गुमाएर २७६ रन बनायो ।
आर्मीका ओपनर इमरान शेखले सर्वाधिक ७२ रन बनाए भने बसिर अहमद ५३ रनमा अविजित रहे । कुशल मल्ल पनि ३५ रनमा अविजित रहे भने तृतराज दास ४४ र भीम सार्की ३२ रनमा आउट भए ।
बागमतीका विपिन आचार्यले १३ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २२ ओभरमा १०३ रन खर्चेर २ विकेट हात पारे ।
पहिलो खेलमा आर्मीले पुलिससँग ड्र खेलेको थियो भने बागमतीले मधेशसँग ड्र खेलेको थियो ।