मन्त्री शाही – Online Khabar
२४ पुस, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव-हात्ती द्वन्द्व न्यूनीकरणका लागि सरकार गम्भीर भएको बताएका छन् ।
झापाको धुलाबारीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शाहीले मानव-हात्ती सह-अस्तित्वको आवश्यक रहेको औंल्याएका हुन् ।
झापाको मेची नगरपालिकामा मानव-हात्ती सहअस्तित्वका लागि भन्दै प्रतिनिधिसभा सदस्य झापा क्षेत्र नम्बर १ सचिवालयले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै मन्त्री शाहीले भने, ‘झापामा यो समस्या धेरै वर्षदेखिको हो । समस्या समाधानका लागि आगामी आर्थिक वर्षभित्र विशेष प्याकेज नै ल्याइन्छ ।’
उनले मानव वन्यजन्तु द्वन्द्वका कारण दिइने राहत प्रक्रियालाई पनि छिटो र सहज बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले द्वन्द्व न्यूनीकरणका लागि स्थानीय र प्रदेश सरकारको मात्रै नभएर संघीय सरकारको पनि सहयोग अपरिहार्य रहेको बताए ।
कोशी प्रदेशका वन सचिव विशाल घिमिरेले द्वन्द्व कम गर्न विभिन्न उपायहरू अवलम्बन गरिएको उल्लेख गर्दै कृषि बालीको बिमा गर्न देखिएको समस्या जानकारी गराउँदै समाधान गर्न मन्त्रीहरूलाई आग्रह गरेका थिए । उनले बिमा कम्पनीहरूले कृषि बालीको बिमा गर्न चासो नदेखाएको प्रसंग उल्लेख गर्दै समाधान गर्न आग्रह गरेका थिए ।
पछिल्लो समय झापाको मेचीनगर नगरपालिका वडानम्बर ४ मा द्वन्द्व कम गराउनका गरिएका प्रयासहरूलाई अन्यत्र पनि लैजान सरोकारवालाहरूले जोड दिएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव नरेश सुवेदीले द्वन्द्व न्यूनिकरणका लागि सुरू गरिएको सोलार विद्युतीय तारबार,वैकल्पिक खेती प्रणाली, द्रूत प्रतिकार्य टोलीको परिचालनलगायतका अभ्यासहरूलाई निरन्तरता दिइनुपर्ने बताए ।
कोषले कोशीका विभिन्न ठाउँहरूमा जनचेतना अभिवृद्धि गर्दै द्रूत प्रतिकार्य टोलीको गठन गरिरहेको कोषका कोसी संरक्षण केन्द्र प्रमुख वीरेन्द्र गौतमले बताए ।
डिभिजन वन कार्यालय झापासँगको समन्वयमा विभिन्न पालिकाहरूमा गठन भएका ६ वटा द्रूत प्रतिकार्य टोलीलाई क्षमता अभिवृद्धि गर्ने काम भइरहेको कार्यालय प्रमुख गौतमले जानकारी दिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले हात्ती द्वन्द्व नियन्त्रणका लागि संरक्षण कार्ययोजना बनाइरहेको सन्दर्भ उल्लेख गर्दै सबैको सहयोगको आवश्यक रहेको बताए ।
यस्तै, मेचीनगरका मेयर गोपाल बुढाथोकीले हात्तीबाट सिर्जित समस्या समाधानका लागि भन्दै संघीय र प्रदेश वन मन्त्रीहरूलाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाएका थिए । उनले राहत वितरणमा हुने ढिलाई पनि अविलम्ब समाधान गर्न प्रदेश र संघीय सरकारका मन्त्रीहरूलाई आग्रह गरे ।
झापा क्षेत्र नम्बर १ का सांसद समेत रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले द्वन्द्व समाधानका लागि सबै सरोकारवालाहरूको उपस्थितिमा बनाइएको साझा धारणालाई मेयर बुढाथोकीले संघीय र प्रदेश वन मन्त्रीहरुलाई बुझाएका थिए ।
सरोकारवालाहरूसँगको छलफलपछि मन्त्री शाहीसहितको टोलीले झापाका हात्ती प्रभावित क्षेत्रको अवलोकन गर्दै अन्तरक्रिया समेत गरेका थिए । उनीहरूले भारतबाट नेपाल प्रवेश गर्ने हात्तीको नाका समेत अवलोकन गरेका थिए ।
स्थानीयवासीले विद्युतीय तारबार निर्माण र मेची खोलामा तटबन्धन निर्माण गरे हात्ती प्रवेशलाई रोक्न सकिने धारणा राखेका थिए । मानव-हात्ती द्वन्द्व न्यूनीकरणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले आर्थिक वर्ष २०७१/०७२ देखि झापा जिल्लाका विभिन्न हात्ती प्रभावित क्षेत्रहरूमा करिब ९१ किलोमिटर सोलार विद्युतीय तारबार जडान गरिसकेको संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले बताए । यो अवधिमा करिब ११ करोडभन्दा बढी लगानी गरिएको पोखरेलले जानकारी दिए ।
कोषको कोसी संरक्षण केन्द्रका अनुसार झापा जिल्लामा २०६९ सालयता द्वन्द्वका कारण २१ वटा हात्तीको मृत्यु भएको छ । यस्तै ७२ जना मानिसहरूको हात्ती आक्रमणमा परी ज्यान गइसकेको कोषले जनाएको छ ।