#समाचार

भेट्न थाले कमल थापा र राजेन्द्र लिङ्देन – Online Khabar

२३ पुस, काठमाडौं । राप्रपाहरु इतिहास भइसकेका ‘राजा’ मान्छन्, तर वर्तमानमा राजनीतिरत एक–अर्कालाई मान्दैनन् । तीन वर्षअघि राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग हारेपछि कमल थापाले पार्टी नै परित्याग गरेका थिए । थापाले राप्रपा नेपाल नामक अलग्गै पार्टी बनाएयता उनीहरुबीच अपवादबाहेक भेटघाटै हुन छाडेको थियो ।

तर केही दिनअघि दुई नेताबीच राजधानीमा लामो भेटघाट भएको छ । उनीहरुले यसलाइ निरन्तता दिने सल्लाह गरेका छन् ।

०७८ मंसिरयता छुटेका थापा–लिङ्देन दुवैले राप्रपा धाराहरुको एकता महसुस गरेका छन् । थापाले अनलाइनखबरसँग कुरा गर्दै आफू राप्रपा एकताको पक्षमा रहेको सुनाउँदै लिङ्देनले चाहे एक साताभित्र राप्रपा एकता हुने बताए ।

‘मैले एकता गरौं भनेर केही दिनअघि भेटमा सन्देश दिएको छु, बल राजेन्द्र लिङ्देनजीको हातमा छ, उहाँले चाहे एक हप्तामा राप्रपा एकता हुन सक्छ,’ थापाले भने, ‘ लिङ्देनजी र राप्रपाभित्र आफ्ना आन्तरिक विषय होलान् । हाम्रो बीचमा पार्टी एकता गरेर जान सकियो भने विगतदेखि उठ्दै आएका विवाद निराकरणहरुमा सहयोग पुग्छ ।’

पञ्‍चायत, बहुदल, गणतन्त्र तीनै व्यवस्थामा शक्तिवृत्तमा रहिरहने गरेका थापा पछिल्लो दिनमा अलगथलग अवस्थामा छन् । बीचमा केही समय उनी नेपालमा बलियो केन्द्र सरकार, अनि अहिलेभन्दा थप बलियो स्थानीय तह गरी दुई खालका सरकार, साथै हिन्दू गणतन्त्रमा जानुपर्ने ‘संवर्धनवादी’ मान्यताको वकालत गर्दै थिए ।

थापा अचेल फेरि संवैधानिक राजसंस्था भन्न थालेका छन् । उनले अनलाइनखबरसँग बोल्दै आफू राजा ज्ञानेन्द्रको आलोचनामा जाने हुँदा गल्ती भएको भन्दै ‘भूलसुधार’ पनि गरेका छन् ।

थापाको मार्ग परिवर्तनलाई राप्रपाले ख्याल गर्दै एकताको आवश्यकताबारे आन्तरिक छलफल गर्न थालेको छ । यद्यपि प्रारम्भिक चरणमै कुराकानी चलिरहेको भन्दै राप्रपा नेताहरुले समय लिने बताए ।

‘समान विचार र प्रवृत्ति भएका हामी एक ठाउँ आउनुपर्छ भन्ने अनुभूति दुवैतिर छ,’ राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘हामीले यसबारे कुरा पनि गर्‍यौं। कमल दाइको सन्देशलाई मैले पार्टीमा राखेको छु । तर विगतमा मिलिहाल्ने फुटिहाल्ने धेरै गरिएको हुँदा बरु अलिक समय लिएरै अघि बढौं भन्ने खालको भावना पार्टीभित्र छ ।’

पन्चायती निर्दलीय व्यवस्थामा हुर्केका नेताहरुले राजा मान्ने गरे पनि एक अर्कालाई भने त्यसै बेलादेखि मान्ने गरेका थिएनन् । थापाको भनाईमा, उनीहरु राजामात्रै मान्ने, अरुलाई नमान्ने संस्कारबाट आए, जो अहिले बहुदलीय राजनीतिक संस्कार सिक्दैछन् ।

०६३ पछि राप्रपाबाट फुटेर राप्रपा नेपाल बनाउँदा थापाले आफ्नो दललाई तुलनात्मक बलियो बनाउँद लगेका थिए । अहिले लिङ्देनको राप्रपा प्रतिनिधिसभामा १४ सिटसहित छ । थापा भने सिटरहित छन् ।

आधुनिक नेपालका निर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस दुई अलग ठाउँमा आयोजना गरेका दुवै राप्रपा अध्यक्षले एक अर्कालाई निमन्त्रणापत्र पनि पठाइसकेका छन् । दुवै अध्यक्षले एक अर्कालाई समारोहमा आउने वचन पनि दिएका छन् ।

०७८ मंसिरमा राप्रपा महाधिवेशनअघि थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका थिए । उनीहरुबीच लामै समययता सम्बन्ध न्यानो नरहेको सूचना राजनीतिक क्षेत्रमा रहने गरेको थियो । थापाले शाहलाई विश्वस्त तुल्याउन खोजे पनि उनले साथ पाएनन् ।

०६३ पछि राप्रपाबाट फुटेर राप्रपा नेपाल बनाउँदा थापाले आफ्नो दललाई तुलनात्मक बलियो बनाउँद लगेका थिए । अहिले लिङ्देनको राप्रपा प्रतिनिधिसभामा १४ सिटसहित छ । थापा भने सिटरहित छन् ।

लिङ्देन विजयी हुनुमा निर्मल निवास, अर्थात् त्यहाँ बस्ने गरेका पूर्वराजा शाहको भूमिका रहेको आरोप लगाउँदै थापाले छानबिनका लागि चिठी नै बुझाएका थिए । तर आफ्नो माग सुनुवाई नभएको भन्दै उनले २५ माघ, ०७८ मा राप्रपा छाडेको घोषणा गृहनगर हेटौडाबाट गरेका थिए ।

थापाले दुई सातापछि अर्थात् ७ फागुन ०७८ मा नयाँ दल राप्रपा नेपाल बनाए पनि अपेक्षित गति पकड्न सकेनन् । ०७९ को आम चुनावमा एमाले अध्यक्ष केपी ओलीको सदाशयले सूर्य चिह्नमा चुनाव लडे पनि उनी आफ्नै पुरानो पार्टी राप्रपाका दिपक सिंहसँग पराजित भए । त्यसयता थापाले राष्ट्रिय राजनीतिमा अर्थपूर्ण पुनरागमन गर्न सकेका छैनन् ।

यता लिङ्देन राप्रपा अध्यक्ष चुनिए पनि उनलाई युवा उर्जासहित पार्टी चलाउन हम्मे छ । पार्टीभित्र बढ्दो गुटबन्दी र व्यक्तित्व टकरावको पुरानै सिलसिला अन्त्य गर्न नसक्दा रक्षात्मक बनिरहेका लिङ्देनले थापाको साथ खोजेको भनी राप्रपावृत्तमा कुरा हुने गर्छ ।

लिङ्देनले आफ्नो पार्टीभित्र व्यक्तित्व व्यवस्थापन सदैव चुनौतीपूर्ण विषय रहेकाले अब एकता गर्नुपरे त्यस्तो अवस्था नआओस् भन्नेमा सचेत रहेको बताए । सम्भवतः लिङ्देनको सीमा बुझेर थापा आफैंले पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनीलगायत वरिष्ठ नेताहरुसँग आफैं संवाद बढाएका छन् ।

थापा पार्टीभित्र पूरै शक्तिअभ्यास गर्न चाहने खेलाडी भएकाले राप्रपापंक्ति उनी आउँदा अरु के के उतारचढाव होला भनेर धेरथोर आशंकित छ । थापाले भने अब दुई पार्टीबीच एकता भए आफू कार्यकारिणी भूमिका नलिने, बिस्तारै सम्मानजनक बिदा लिनसक्ने संकेत गरे ।

थापा र लिङ्देनबीच एक वर्षअघि एकताकै एजेन्डामा भेट भएको थियो । तर त्यसबेला विषय अगाडि बढ्न सकेन । उनी आफ्नो ७० वर्षे उमेर सम्झाउँदै अब नयाँ पुस्तामा नै नेतृत्व रहिरहनुपर्ने बताउन थालेका छन् । उनले राप्रपाका लागि आफ्ना मान्यता जनतामा लैजाने सही समय आएको सन्देश नेताहरुलाई दिइरहेका छन् ।

उता पूर्वराजा ज्ञानेन्द्र शाहले भने राप्रपाको शक्ति वृद्धि हुनुसाटो क्षयीकृत भइरहेको आकलन गरेका छन् । त्यसैले राप्रपाजस्तो पुरानो पन्चायतकाली ब्रान्ड भएको शक्तिभन्दा स्वतन्त्र नागरिक उभार आउन सक्ने नयाँ विन्दुहरु पहिचान गरिरहेको बुझिन्छ । केही समयअघि शाहले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईले आयोजना गरेको अभिनन्दन समारोहमा पुगेर माहोल जाँच्न खोजे ।

राप्रपा नेपाल अध्यक्ष थापाले पूर्वराजा शाहलाई भेट्न कोसिस गरे पनि उनले भेट दिएका छैनन् । शाहले लिङ्देनलगायत राप्रपा नेताहरुलाई बेलाबखत भेटिरहे पनि उनीहरुको शक्तिमा विश्वास नगरेको कतिपय नेताहरु बताउँछन् ।

राप्रपाभन्दा ढिलो उदाएका रास्वपा, जनमत, नाउपा जस्ता पार्टीले बढाइरहेको शहरी जनमतबारे पूर्वराजा शाहले चासोपूर्वक हेरेकोमा राप्रपा बेखबर छैन । आफूहरु मिल्दा नै संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डा बलियो बन्ने भन्दै नेताहरुलाई मिलाउन राप्रपा पंक्ति चाहन्छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दुई राप्रपाबीच एकता गराउन सकारात्मक भावले प्रारम्भिक छलफल सुरु भएको बताए । दुवै दलले आ–आफ्नो पंक्तिभित्र पर्याप्त छलफल र निर्णय भने बाँकी रहेकाले समय लाग्न सक्ने उनले सुनाए ।

‘विगतमा विभाजन हुनुका कारण, अनि भविष्यमा मिल्ने आधारहरु के होलान् भनेर राम्रोसँग पहिले गृहकार्य गरौं भन्ने भएको छ,’ श्रेष्ठले भने, ‘प्रारम्भिक भेटवार्ताहरु भएका छन् । आशा गरौं, एकता प्रयासले सकारात्मक गति लिन्छ । पहिले त नेतृत्व तहमा साँचो अर्थमा रियलाइजेसन हुनुपर्‍यो ।’

भेट्न थाले कमल थापा र राजेन्द्र लिङ्देन – Online Khabar

सशस्त्रका ४ डीआईजीको पदावधि एक वर्ष थप

Leave a comment

Your email address will not be published. Required fields are marked *