प्रहरीले मुद्दा चलाउन सिफारिस गरेकी कांग्रेस सांसद माया राईलाई उन्मुक्ति
कांग्रेसका प्रतिनिधिसभा सांसद माया राई
२२ पुस, काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएका सांसदलाई जिल्ला सरकारी वकिल कार्यालयबाट उन्मुक्ति दिइएको छ ।
दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद माया राई समेतका व्यक्तिलाई मुद्दा चलाउन सिफारिस गरेको थियो । उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो ।
राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा समेत कार्यरत थिइन् । पक्राउ पुर्जी जारी भएकी र प्रहरी अनुसन्धानको क्रममा समेत प्रत्यक्ष संलग्नता देखिएकी राईलाई भने उन्मुक्ति दिइएको छ ।
राई समेत पाँच जनालाई उन्मुक्ति दिँदै आइतबार ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
तर सञ्चालक समितिमै रहकी राईलाई भने उन्मुक्ति दिएर अन्यलाई मुद्दा चलाइएको छ । राई आर्थिक वर्ष २०७३÷७४ मा स्वर्णलक्ष्मी सहकारीको सञ्चचालक समिति सदस्य थिइन् । आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा भने उनी स्वर्णलक्ष्मी सहकारीको सहसचिव समेत बनेकी थिइन् ।
उनी जनजाती कोटाबाट नोपली कांग्रेसको केन्द्रीय सदस्य छिन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन् । सत्ताको मुख्य घटन कांग्रेसकी सांसद राईलाई उन्मुक्ति दिएर मुद्दा दायर भएको छ ।
यसबारे जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं भने वतन यकिन नभएको प्रतिवादी नबनाइएको दाबी गरेको छ ।
सरकारी वकिल कार्यालयका काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्ले भन्छन्, ‘प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख भएका पाँचजनाविरुद्ध पूरा ठेगाना नखुलेकाले अहिले मुद्दा दायर नभएको हो । यद्यपी उहाँहरुको हकमा अनुसन्धान जारी नै छ । पछि वतन खुलेपछि उहाँविरुद्ध मुद्दा दायर हुन्छ ।’
सरकारी वकिल कार्यालयका प्रमुख काफ्ले भने सांसदको समेत वतन नखुलेको भन्दै पन्छिने गरेका छन् । जबकी पक्राउ पुर्जी जारी गर्ने बेलामै तीन पुस्ते र वतन समेत खुलाएर पक्राउ पुर्जी जारी हुने गर्छ ।
राई सञ्चालक समितिमा रहेको बेला आर्थिक वर्ष २०७३/७४ मा पनि रकम अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यतिबेला बिना धितो ऋण प्रवाह गरेको समेत भेटिएको थियो । स्वर्णलक्ष्मी सहकारीमा ८९ लाख ३४ हजार ३५५ रुपैयाँ सांसद राई सञ्चालक समितिको सदस्यमा रहेका बेला अपचलन भएको अभियोगपत्रमा समेत उल्लेख छ । कूल पूँजीको १० प्रतिशतभन्दा बढी रकम लगानी गरेको भेटिएको थियो । त्यस्तै सूचीकृत नभएका संस्थालाई समेत लगानी गरेको भेटिएको थियो ।
सांसद राई सहसचिव रहेको समयमा आर्थिक वर्ष २०७४/७५ मा पनि रकम अपचलन भएको भेटिएको छ । आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण प्रतिवेदन रिपोर्टमा बिना धितो समूहलाई आधार मानि लगानी गरेको भेटिएको थियो ।
१ करोड ४२ लाख १० हजार ४३३ को ऋण नोक्सानी व्यवस्था गरेको पनि अभियोगपत्रमा उल्लेख गरिएको छ । यो आर्थिक वर्षमा पनि सूचीकृत नभएका संस्थालाई गर्ने गर्ने कामलाई निरन्तरता दिइएको थियो ।
आफ्नो शेयर पूँजीको १० गुणभन्दा बढी बचत संकलन समेत गरिएको थियो । राई सहसचिव रहेकै बेला आर्थिक वर्ष २०७६/७७ कानूनी विपरीतका कार्य स्वर्णलक्ष्मी सहकारीमा भएको खुलेको छ । लेखा परीक्षण प्रतिवेदनमा संस्थाले पाउनुपर्ने ब्याजलाई ऋणमा पूँजीकृत गरी आम्दानी जनाउन नपाइने व्यवस्था रहेता पनि संस्थाले पाउनुपर्ने ब्याजलाई पूँजीकृती गरी आम्दानी जनाइएको खुलेको थियो ।
सांसद राई सहसचिव रहेको समयमा आर्थिक वर्ष २०७४/७५ मा पनि रकम अपचलन भएको भेटिएको छ । आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण प्रतिवेदन रिपोर्टमा बिना धितो समूहलाई आधार मानि लगानी गरेको भेटिएको थियो ।
त्यसैगरी राई सहसचिव रहेकै समयमा नियम तथा मापदण्ड विपरीत प्राकृतिक व्यक्ति बाहेकका संस्थाहरुलाई ऋण दिएर रकम अचलन गरिएको खुलेको छ । त्यतिबेला १३ वटा संस्थामा रकम लगेर अपचलन गरिएको थियो । यही समयमा हर्बो इन्टरनेशनल प्रालिमा १० करो २७ लाख ९४ हजार ५२२ रुपैयाँ लगेर अपचलन गरिएको थियो ।
सुपर सिटी इन्टरप्राइजेज प्रालिमा ७३ लाख ८ हजार १६४, न्यू सुलक्स अफसेट प्रिन्टर प्रालिमा ४३ लाख १५ हजार २८५, सिद्धार्थ विद्या सदन हाई स्कुलमा ७ लाख ३ हजार २९७, सारेगम रेकर्ड प्रालिमा १२ लाख १९ हजार ९६७, देव दीप एग्रिकल्चर एण्ड एनिमल फार्मममा २ करोड ६० लाख ७४ हजार ४४२, मन्दरा टुर एण्ड ट्राभ्लसमा १ करोड २ लाख ५४ हजार ८४८ रुपैयाँ लगेर अपचलन गरिएको थियो ।
त्यसैगरी होम प्रालिमा ७० लाख ७८ हजार ३०७, मन्दरा टुर्स एण्ड एक्सपिडिशनमा १ करोड २ लाख ५४ हजार ८४८, होम प्रालि प्यागोडासमा ७ लाख ७८ हजार ३०७, मन्दरा टुर्स एण्ड एक्सपेटेशन प्रालिमै १ करोड १५ लाख ८२ हजार ८८०, गोर्खा हर्बल प्रोडक्शनमा १करोड, बागमती बालुवाखानी प्रालिमा ५८ लाख २ हजार ४०८, एनबी मार्टमा ९२ हजार र गोर्खा ग्रुप अफ कम्पनीमा २२ लाख ९९ हजार ९९९ रुपैयाँ लगेर अपचलन गरिएको थियो ।