#समाचार

बुटवलमा पाँचौं औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी शुरु

२२ पुस, बुटवल । उद्योग व्यापार संघ बुटवलले पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव २०८२ को तयारी शुरु गरेको छ । आगामी २०८२ पुस ५ देखि १८ गतेसम्म मेला सञ्चालन गर्ने निर्णय गरी तयारी थालेको संघले जनाएको छ ।

बुटवलका उद्योगी व्यवसायीका मुख्य ४ संस्थाले हरेक वर्ष आलोपालो मेला सञ्चालन गर्ने बुटवल उपमहानगरसँगको सहमति अनुसार २०८२ साल पुसमा मेला गर्न लागेको संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

बुटवल मण्डपमा यसअघिका भन्दा फरक र विशिष्ट तरिकाले  सम्पन्न गर्ने उद्देश्यका साथ तयारीका काम शुरू भएको र २५० स्टल बुक भइसकेको उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए ।

उनले मेला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकामा पुसमा मेला गत मंसिर ७ गते निवेदन दर्ता र मेलाको मिति तय भइसकेपछि २०८२ साल पुस ५ देखि १८ गतेसम्म मेला सञ्चालन गर्ने जानकारीपत्र पनि उपमहानगरलाई दिइसकेको अध्यक्ष  विष्णुप्रसाद पाण्डेले बताए ।

संघका निवर्तमान अध्यक्ष गोविन्दराज गैरेले बुटवलका ४ वटा संस्थाले आलोपालो मेला सञ्चालन गर्ने नियम अनुसार २०७८  सालमा संघले चौथो मेला सफलतापूर्वक सम्पन्न गरेको र आगामी २०८२ मा पाँचौं मेला गर्न लागेको बताए ।

संघका संस्थापक अध्यक्ष खिम नारायण पराजुलीले २०८२को मेला यसअघिको भन्दा फरक र उत्कृष्ट बनाउन एक वर्षअघिबाटै तयारी थालेको बताए । स्वाधीन अर्थतन्त्र निर्माणका लागि औद्योगीकरण तथा व्यापार विविधीकरणको मूल नारासहित आयोजना हुने महोत्सवमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने पराजुलीले बताए ।

संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जिसी, महासचिव यमलाल मरासिनी लगायतले बुटवलमा मेला तथा प्रदर्शनी गर्दै आएका अन्य तीन संस्था, सरोकारवाला सरकारी र गैरसरकारी निकायसँग सहकार्य गरेर मेलालाई हालसम्मकै उत्कृष्ट बनाउने गरी तयारी थालेको बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *