#समाचार

हस्ताक्षरसहितका १६ चेक – Online Khabar

२१ पुस, काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा अनियमितता भएको १ अर्ब १९ करोडमध्ये ५ करोड ७८ लाख ९६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको भेटिएको छ ।

सहकारीबाट प्रत्यक्ष रुपमा २ करोड ६६ लाख र विभिन्न व्यक्तिका नाममा फर्जी खाता खडा गरेर २ करोड १३ लाख ९६ हजार रुपैयाँ गरी ५ करोड ७८ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको खुलेको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले लामिछानेलाई २ कात्तिक २०८१ मा वनस्थलीस्थित रास्वपा मुख्यालयबाट पक्राउ गरेको थियो । अहिले सूर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत, कास्कीमा थुनछेक बहस चलिरहेको छ । यही बेला लामिछाने जोडिएको अर्को सहकारी प्रकरणमा काठमाडौंमा मुद्दा दर्ता भएको हो ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको भन्दै जाहेरी परेपछि प्रहरीले गरेको अनुसन्धानका आधारमा आइतबार जिल्ला अदालत, काठमाडौंमा अभियोग पत्र दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जनाएको छ ।

अभियोगपत्रमा गितेन्द्रबाबु (जिबी) राई नेतृत्वको आपराधिक समूहबाट हिनामिना भएको रकममध्ये ५ करोड ७८ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

‘उक्त कारोबार गरेको रकम गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालकहरुले गैरकानूनी रुपमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा ल्याएर संगठित समूहका व्यक्तिहरुमार्फत अपचलन गरी संगठित रुपमा ठगी गरेको देखिन्छ’, अभियोग पत्रमा भनिएको छ, ‘गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा विभिन्न समयमा अध्यक्ष गितेन्द्रबाबु राई, पूर्वसञ्चालक/उपाध्यक्ष छविलाल जोशी, पूर्वनिर्देशक रवि लामिछाने र उपाध्यक्ष कुमार रम्तेलको प्रत्यक्ष संलग्नता र निर्देशनमा कानून विपरीत सहकारीको पैसा गोर्खा मिडिया नेटवर्कमा गएको देखिन्छ ।’

जीबी राईसँग रवि लामिछाने ।

लामिछानेसहितको समूह संगठित रुपमा सहकारीको रकम हिनामिना गरी ठगी गर्ने कार्यमा प्रत्यक्ष संलग्न देखिएको प्रहरी निष्कर्ष छ । त्यसैले लामिछाने, जोशी, रम्तेलसहित ३९ जनाविरुद्ध संगठित ठगीको कसुरमा सजाय मागदाबी गर्दै सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गराएको हो ।

अदालतमा दायर अभियोग पत्रअनुसार, २० चैत २०७७ मा बसेको गोर्खा मिडिया नेटवर्कको सञ्चालक समिति बैठकले लामिछानेलाई जगेडामा रहेको शेयर बिक्री गर्ने निर्णय गरेको थियो ।

पछि २३ असोज २०७८ मा रवि गोर्खा मिडियामा १६ प्रतिशत शेयरसहित प्रबन्ध निर्देशक एवं सञ्चालक नियुक्त भएका थिए ।

कम्पनीले ग्लोबल आईएमई बैंकमा खाता खोलेको भेटिएको छ, जुन लामिछाने, जोशी र राईमध्ये कुनै एक जनाको हस्ताक्षर र कार्यालय छापबाट सञ्चालन हुने व्यवस्था गरेको देखिन्छ ।

नबिल बैंकको खाता सञ्चालन गर्न भने लामिछाने र राई दुवैको हस्ताक्षर र कार्यालय छाप अनिवार्य हुने व्यवस्था थियो ।

रविको हस्ताक्षरसहितको चेकबाट सहकारीलाई भुक्तानी

रास्वपा सभापति समेत रहेका लामिछाने आफूमाथि सहकारी ठगीको आरोप लागिरहेका बेला गृहमन्त्री समेत बनेका थिए । तर, तत्कालीन प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीको मामलामा संसदीय समिति गठन गरेर छानबिन हुनुपर्ने माग राख्दै संसद्मा अवरोध गरिरह्यो ।

लामो गतिरोधपछि १५ जेठ २०८१ मा सहकारी समस्याबारे छानबिन गर्न एमाले सांसद् सूर्य थापाको नेतृत्वमा संसदीय विशेष समिति गठन भयो । समितिले सहकारीको रकम अपचलनमा लामिछाने समेतलाई दोषी ठहर गर्दै ४ असोज २०८१ मा प्रतिवेदन बुझाएको थियो । त्यसपछि रविमाथि अनुसन्धान अघि बढेको थियो ।

लामिछानेले पक्राउ परिसक्दा समेत आफू सहकारीबाट टिभीमा आएको रकमको जिम्मेवारी लिन तयार भए पनि सहकारीसँगको आर्थिक कारोबारमा संलग्न नरहेको जिकिर गर्दै आएका थिए ।

तर, कालिमाटीको स्वर्णलक्ष्मी सहकारीबारे अनुसन्धान गरिरहेको प्रहरीले लामिछानेको हस्ताक्षर रहेका १६ वटा चेक फेला पारेको छ, जुन सहकारीको नाममा काटिएका छन् ।

‘गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकमा रहेको खाता नम्बर ००४०१०१००००५७७ बाट जारी भएको लामिछानेको हस्ताक्षर भएको चेकमार्फत ९० लाख १६ हजार ६६० रुपैयाँ सहकारीलाई भुक्तानी गरेको देखिन्छ’, अभियोग पत्रमा भनिएको छ । प्रहरीले लामिछानेको हस्ताक्षर रहेको केही चेक र जारी मिति समेतका विवरण समेत समावेश गरेको छ ।

प्रहरीले सरकारी वकिलको रोहबरमा लामिछानेसँग बयान लिँदा ती चेकहरू समेत देखाएको थियो । त्यसक्रममा लामिछानेले आफू चेकको हस्ताक्षरकर्ता हुनुको अर्थ निश्चित समयमा काम सम्पन्न गर्न बाधा नपुगोस् भन्नका लागि मात्र भएको दाबी गरेका छन् ।

‘म उपत्यकाबाहिर गइरहनु पर्ने अवस्थामा समेत भुक्तानी नरोकियोस् भनेर खाली चेकमा हस्ताक्षर गर्ने अभ्यास थियो’, उनले दाबी गरेका छन्, ‘कयौं पटक बीच बाटोमा र एयरपोर्टमा भेटिएर चेकहरू हस्ताक्षर भएको सम्झना छ ।’

उनले ‘उचित विश्वासका आधारमा यसरी खाली चेकहरू भुक्तानीका लागि जारी भएको हुनसक्ने’ भन्दै करिब २२ करोड लगानी गर्ने कार्यकारी अध्यक्ष (जीबी राई) लाई विश्वास नगरी नयाँ कम्पनी चल्न सक्ने अवस्था समेत नहुने जिकिर गरेका छन् । ‘पैसा ल्याउनेलाई पैसा मिलाउने अधिकारबाट बञ्चित गर्ने हैसियतामा म थिइनँ’, लामिछानेले जिकिर गरेका छन् ।

प्रहरीले चाहिँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा सहकारीबाट २ करोड ६५ लाख रुपैयाँ सिधा निक्षेप हुँदा उनी कम्पनीको शेयर सदस्य र प्रबन्ध निर्देशक भएर काम गरिरहेको भन्दै ठगीमा संलग्नता देखिने जिकिर गरेको छ ।

बचतकर्ताको पैसाले गाडी

प्रहरीले सहकारीको जीसीएस बैंकिङ सफ्टवेयर प्रणाली जाँच गर्दा जीबी राई र रवि लामिछानेले गाडी खरिद गर्न समेत सहकारीको रकम प्रयोग गरेको फेला पारेको छ ।

अदालतमा दायर अभियोग पत्रमा जीबी र रविका नाममा गाडी खरिदका लागि दुई पटक ऋण निकासा गरिएको उल्लेख छ ।

प्रहरी अनुसन्धान अनुसार, राई र लामिछानेले पहिलो पटक ४ भदौ २०७८ मा ‘फोर ह्वीलर लोन’ भन्दै ४६ लाख ९८ हजार ऋण लिएको उल्लेख छ । दोस्रो पटक १ पुस २०७८ मा स्वर्णलक्ष्मी सहकारीबाट दुई जनाको नाममा ऋण प्रवाह भएको छ, त्यसबेला ‘ईको ७ सिटर’ भ्यान खरिद गर्ने भनिएको छ ।

लामिछाने र राईले चार पांग्रे कर्जाका लागि भनेर सहकारीमा ऋण खाता खोलेर त्यसका लागि निवेदन दिएको प्रहरीले उल्लेख गरेको छ ।

‘निवेदनमा आफूहरूले सही, छाप समेत नगरी सो खातामा ४६ लाख ९८ हजार रकम जम्मा गर्न लगाएर त्योमध्ये ३२ लाख ८८ हजार ६०० रुपैयाँ र १४ लाख ९ हजार ४ सय रुपैयाँ नारायणी अटो विजनेश प्रा.लि.लाई चेकमार्फत भुक्तानी गरेको देखिन्छ’, अभियोग पत्रमा भनिएको छ, ‘७ सिटर ईको भ्यान खरिद गरेर गाडी गोर्खा मिडिया नेटवर्क प्रा.लि.ले प्रयोग गरेको र सो ऋण प्रतिवादी रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कको नाममा ग्लोबल आईएमई बैंक लि.को खाताबाट जारी भएको चेकमार्फत स्वर्णलक्ष्मी सहकारीको कुमारी बैंक लि.मा रहेको खातामा भुक्तान गरेको देखिन्छ ।’

गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीले समेत आफू कम्पनीको आर्थिक कारोबारमा संलग्न नरहेको दाबी गरेका थिए । तर, स्वर्णलक्ष्मी सहकारीबाट १८ कात्तिक २०७६ मा २ करोड रुपैयाँ चेकबाट लिएको प्रहरीले फेला पारेको छ ।

पूर्वडीआईजी छविलाल जोशी ।

‘जोशीले सहकारी र गोर्खा मिडियामा आफूले कुनै कारोबार नगरेको भनी इन्कारी बयान दिए पनि निजले सहकारीबाट दुई करोड रकम चेकबाट लिई २२ कात्तिक २०७६ मा नबिल बैंकमा रहेको प्रतिवादीको व्यक्तिगत खाताबाट रकम फिर्ता गरेको देखिन्छ’, अभियोग पत्रमा भनिएको छ ।

जोशीले गोर्खा मिडिया नेटवर्क प्रा.लि.को दुईवटा चेकमा हस्ताक्षर गरेर लामिछानेकी श्रीमती निकिता पौडेललाई ४४ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरेको देखिएको भनिएको छ ।

जीबीले स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रहेको व्यक्तिगत खाताको चेकबाट जोशीलाई १ करोड ७५ लाख रुपैयाँ दिएकोमा जोशीले आफ्नो नबिल बैंकको खातामा जम्मा गरेर भुक्तानी लिएको समेत भनिएको छ ।

‘… यसरी जोशी समेतले बचतकर्ताको रकम अनधिकृत रुपमा आफ्नो व्यक्तिगत फाइदाका लागि संगठित रुपमा ठगी गर्ने कार्यका लागि खडा गरेको गोर्खा मिडिया नेटवर्क समेतका कम्पनीहरुमा लगानी गरेको जस्तो देखाइ स्वर्णलक्ष्मी सहकारी र जाहेरवाला समेतको बचत रकम हिनामिना गरी संगठित रुपमा ठगी गरेको हालसम्मको अनुसन्धानबाट देखिएको छ’, अभियोग पत्रमा भनिएको छ ।

यी हुन् स्वर्णलक्ष्मी सहकारी अनियमितताका प्रतिवादी

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमिततामा प्रहरीले जिबी राईलाई मुख्य आरोपी मानेको छ । उनी सहकारीका वर्तमान अध्यक्ष समेत हुन् । हालसम्म उनी फरार छन् । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा समेत रेड नोटिस जारी छ ।

जिल्ला अदालतमा दायर मुद्दामा जिबीबाहेक गोर्खा मिडिया प्रा.लि.का तत्कालीन सञ्चालक समिति सदस्य रवि लामिछाने, छविलाल जोशी, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हेमन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामा प्रतिवादी छन् ।

पूर्वकोषाध्यक्ष सविना आले मगर, सदस्य भक्तबहादुर भ्लोन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्वलेखा समिति सदस्य सुनिता नेवा, पूर्वसदस्य शान्तिकुमारी सुवेदी, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नविन अछामी, पूर्वअध्यक्ष कल्पना कुमारी श्रेष्ठ, पूर्वसञ्चालक समिति सदस्य राजु बरालविरुद्ध पनि मुद्दा दायर भएको छ ।

जिबी ग्रुप अफ कम्पनिजका सञ्चालक विशाल तामाङ, असरफ अली सिद्दिकी, नेचर नेष्ट प्रा.लि.का सञ्चालक अनन्त बाबु राई, खिमानन्द कँडेल, बल्लभ नेपाल, निर्देशक गोकुल श्रेष्ठ, देवदीप एग्रिकल्चर एण्ड एनिमल हस्वेन्ड्री फार्मका सञ्चालक भुपेन्द्र राई, भगवती बालुवाखानी प्रा.लि.का सञ्चालक मुखिया कान्छा गुरुङ समेत प्रतिवादी हुन् ।

गोर्खा हर्बल प्रोडक्सन प्रा.लि.का सञ्चालक जनक भट्टराई, स्प्रिङउड रियलइस्टेट प्रा.लि.का सञ्चालक भगवती बम्जन, न्यू सुलक्स अफसेट प्रिन्टर्सका सञ्चालक देवकुमार तामाङ, गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालक शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, सारेगम रेकर्ड प्रा.लि.का सञ्चालक किरण पुडासैनी, गोर्खा ग्रुप अफ कम्पनीका शेयरधनी पुष्पराज पौडेल र सुपर सिटी इन्टरप्राइजेजका शेयर सदस्य कृष्णबहादुर पोखरेलविरुद्ध समेत मुद्दा दायर भएको छ ।

हस्ताक्षरसहितका १६ चेक – Online Khabar

भरपर्दो नेतृत्वको विकल्प दिन सकेन – Online

Leave a comment

Your email address will not be published. Required fields are marked *