#समाचार

बच्चालाई चिसोबाट कसरी जोगाउने ? – Online Khabar

अहिले जाडोयाम चलिरहेको छ । यो मौसमले सानो, ठूलो कोही भन्दैन । प्रतिरोधात्मक कमजोर भएमा जाडोले स्वास्थ्य समस्या निम्त्याउँछ ।

सबैभन्दा जोखिम पाँच वर्षमुनिका बच्चाहरू हुन्छन् । उनीहरुलाई जोगाउन यो मौसममा विशेष सावधानी अपनाउनुपर्छ ।

कसरी जोगाउने ?

न्यानो कपडा

साना बालबालिका र शिशुलाई न्यानो पारी चिसोबाट जोगाउन तातो आउने कपडा लगाइदिनुपर्छ । तर त्यो कपडा बच्चाको जीउमा कसिने खालको हुनु हुँदैन । जाडो छ भन्दैमा धेरै कपडा कसिलो लगाइदियो भने बच्चालाई हिंड्न समस्या हुने, गुम्सिने र पसिना आउने लगायत समस्या हुन्छ ।

शिशुलाई कपडाको पनि एलर्जी हुनसक्छ । उनीहरुलाई ऊनी कपडाको साटो सुती, पोलार वा मलमलको नरम बाक्लो कपडा लगाइदिनुपर्छ । त्यस्तै, खुट्टामा खुकुलो तर न्यानो आउने मोजा, हातमा पन्जा, टाउकोमा कान छोप्ने खालको टोपी लगाइदिनुपर्छ ।

रातको समयमा हल्का वजन तर तातो आउने ओढ्ने सिरक वा ब्ल्यांकेट ओढाउनुपर्छ ।

अनुकल तापक्रम

बच्चाको लागि कोठाको तापक्रम १६ देखि २० डिग्री सेल्सियसको तापक्रम अनुकूल हुन्छ । हिटर प्रयोग गरिन्छ भने कोठाको आर्द्रता कायम गर्न पानीको भाँडो पनि राख्नुपर्छ । अत्यधिक तातो तापक्रम पनि बच्चाका लागि जोखिमपूर्ण हुन्छ । उच्च तापक्रमकै कारण बच्चाको अचानक मृत्यु भएका घटना निकै भइरहेका हुन्छन् ।

समयसमयमा तापक्रम परीक्षण

शिशुको हात, खुट्टा र छाती छोएर न्यानो छ कि छैन भनेर बेलाबखतमा हेरिरहनुपर्छ । अत्यधिक चिसो भएमा न्यानो बनाउन आफ्नो हातले रगडेर तातो बनाउने, केहीबेर हिटरमा सेकाउने र कपडा तातो आउने खालको लगाइदिने गर्नुपर्छ ।

यात्रामा सावधानी

बच्चालाई बाहिर लैजाँदा शिशुलाई न्यानो कपडा ओढाउनुपर्छ ।

हातमा पन्जा, खुट्टामा मोजा, टाउकोमा टोपी अनिवार्य हुनुपर्छ । बच्चाले बाटोमा दिसा-पिसाब गर्न सक्छन् । त्यसका लागि डाइपर र एक्स्ट्रा कपडा पनि एउटा झोलामा तयार पार्नुपर्छ । सकेसम्म भिडभाड हुने ठाउँमा बच्चालाई लिएर जानुहुँदैन ।

छालाको सुरक्षा

चिसोले शिशुको छाला सुक्खा हुने भएकाले नरम बेबी लोसन वा तेलको प्रयोग गर्न सकिन्छ । उनीहरुलाई नुहाइदिंदा मनतातो पानीको प्रयोग गर्नुपर्छ ।

शिशुको खानपान

यदि शिशु स्तनपान गर्ने उमेरका छन् भने नियमित स्तनपान गराउनुपर्छ । नियमित स्तनपानले शरीरमा तातोपन र ऊर्जा प्रदान गर्छ । यसबाहेकको खानेकुरा दिन थालिसकेका बच्चालाई पोषिलो र न्यानो बनाउने झोलिलो खानेकुरामा जोड दिनुपर्छ ।

मसाज गर्ने

नरिवल वा ओलिभ तेल तताएर हल्कासँग बच्चाको शरीरमा मसाज गरिदिनुपर्छ । मसाज गरेपछि बिहानको घाममा शरीर न्यानो बनाउन दिनुपर्छ । यो प्रयोग नियमित रूपले गरौं । शिशुलाई चिसो लाग्दैन, निमोनियाको भय हुँदैन ।

डाइपर परिवर्तन गरिरहने

जाडोमा डाइपरको बढी आवश्यक हुन्छ । किनभने चिसोले गर्दा उनीहरु छिनछिनमा पिसाब फेरिरहन्छन् । त्यसैले डाइपर कस्तो अवस्थामा छ भनेर बेलाबेलामा हेर्नुपर्छ ।

आगोमा नसेकाउने

प्राय: बच्चालाई न्यानो बनाउन कोइला, आगोमा सेकाउने चलन छ । जुन गलत प्रयास हो । कोइला र आगो धुवाँ श्वासप्रश्वासको माध्यमबाट बच्चाको फोक्सोसम्म पुग्न सक्छ । वास्तवमा भन्नुपर्दा सेकाउनुको खासै फाइदा पनि छैन । उल्टो बच्चाको संवेदनशील छाला डढ्न सक्छ ।

बन्द कोठामा सेक्ने हो भने त अक्सिजन पाउन समेत बच्चालाई कठिन हुन्छ ।

जाडोमा के समस्या हुनसक्छ ?

जाडोमा शिशुको स्याहार नपुगेमा ज्वरो, रुघाखोकी, निमोनिया, ब्रोन्काइटिस, कानको संक्रमण र मस्तिष्क ज्वरो आउने जोखिम उच्च हुन्छ । उनीहरुको शरीरको अंग पूर्ण रूपले विकसित भइसकेको हुँदैन । प्रतिरोध क्षमता पनि कमजोर हुन्छ । जसकारण सानो समस्याले पनि बेलैमा ध्यान नदिए अवस्था जटिल बन्न सक्छ ।

चिसो लागेको कसरी थाहा पाउने ?

नवजात शिशुको हात, खुट्टा र ढाड चिसो भएमा पनि शंका गर्न सकिन्छ । बच्चाहरूलाई अलिअलि ज्वरो आउने, नाकबाट सिंगान बग्ने, श्वासप्रश्वासमा समस्या हुने, खोकी लाग्ने, घाँटी खसखस लाग्ने, श्वास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने समस्याले चिसो लागेको बुझिन्छ । पटकपटक पातलो दिसासँगै रगत आएमा ब्याक्टेरिया कारण हुनसक्छ ।

भाइरल संक्रमण हुँदा रगत आउँदैन तर ब्याक्टेरिया संक्रमण हुँदा पातलो दिसामा रगत आउन सक्छ । टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकीजस्ता लक्षण देखिए भाइरल इन्फेक्सन हुनसक्छ ।

कति बेला चिकित्सक कहाँ लैजाने ?

धेरै ज्वरो आएमा, सास फेर्न गाह्रो भएमा, आमाको दूध चुस्न छाडेमा, पहिले सुत्ने समयमा नसुतेमा, लत्रक्क पर्ने, झिंजो मान्ने, रोइरहने गरेमा र अत्यधिक सुस्त देखिएमा चिकित्सककहाँ लैजानुपर्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *