#समाचार

मध्यमोदी जलविद्युत् आयोजनामा स्थानीयले लगाए ताला

२० पुस, पोखरा । अन्नपूर्ण गाउँपालिका कास्की र मोदी गाउँपालिका, पर्वत अन्तर्गत रहेको मध्यमोदी जलविद्युत् आयोजनामा स्थानीयले ताला लगाएका छन् ।

आयोजनाले प्रभावित क्षेत्रमा सहमति अनुसार अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४,५,६,७ र ८ मा सामाजिक उत्तरदायित्वको बजेट पूर्ण रुपमा लगानी नगरेको, आयोजनासँग सम्झौता भएर निर्माण सम्पन्न भएका विकास योजनामा उपभोक्ता समितिलाई ४ वर्षदेखि भुक्तानी नगरेको भन्दै स्थानीयले आवाज उठाउँदै आएका थिए ।

मोदीखोलामा १० प्रतिशत पानीको बहाब नछोडेको, आयोजना निर्माणाधीन अवस्थामा बम ब्लास्ट गर्दा स्थानीय जनताको घर भत्किएको र क्षतिपूर्ति उपलब्ध नगराएको, वडा कार्यलय र गाउँपालिका कार्यालयमार्फत पटकपटक सिफारिस गर्दा पनि बेवास्ता गरी सुनुवाई नगरेको आरोप स्थानीयको छ ।

आयोजनाले स्थानीयको लागि साधारण शेयर जारी नगरेको आरोप लगाउँदै अन्नपूर्ण –७ कास्कीका युवा नेता विष्णु चापागाईंको नेतृत्वमा गएको समूहले आयोजना पीडित उपभोक्ता समिति तथा जनताहरूको तर्फबाट तालाबन्दी गरेको हो ।

आयोजना स्थलमा मर्मत सम्भारको लागि काम गरिरहेको डोजर (एक्साभेटर) को चाबी पनि सो समूहले कब्जा गरेर लिएको छ । स्थानीयको माग सम्वोधन गर्नुपर्ने माग आफूहरूको पनि रहेको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भरतमान गुरूङले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *