#समाचार

यस्ता छन् जय ट्रफी एलिट कप खेल्ने चार टोली – Online Khabar

२० पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबार (पुस २१)देखि मधेश प्रदेशको जनकपुर र वीरगंजमा जय ट्रफी मेन्स एलिट कप २०८१ सुरू हुँदैछ ।

दुई दिवसीय फर्म्याटमा हुने यस प्रतियोगितामा गत वर्ष भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा रहेका टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । जसमा च्याम्पियन नेपाल पुलिस क्लबसहित उपविजेता त्रिभुवन आर्मी क्लब अनि दुई प्रदेशको टोली बागमती र मधेश छन् ।

राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको एपीएफ भने शीर्ष चार नपर्दा जय ट्रफी खेल्न नपाउने नपाउने भएको छ । जसले गर्दा रोहितसहित आसिफ शेख लोकेश बम सन्दिप जोरा जस्ता खेलाडी जय ट्रफीमा देखिने छैनन् ।

यसैगरी आईएल टी२० क्रिकेट खेल्न गएकोले नेपाल पुलिसका कप्तान दीपेन्द्र सिंह ऐरीले पनि जय ट्रफी गुमाउनेछन् । दीपेन्द्र नहुँदा आरिफ शेखले पुलिसको कप्तानी गर्नेछन् ।

चोटका कारण मधेशका दुई प्रमुख खेलाडी अनिल कुमार शाह र पवन सर्राफ पनि जय ट्रफीमा देखिने छैनन् । प्रधानमनत्री कपमा मधेशका शीर्ष चारमा पुर्‍याउन अनिल र पवनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

मधेशले हरिशंकर शाहको कप्तानीमा जय ट्रफी खेल्नेछ । यस्तै आर्मीको कप्तानी विनोद भण्डारी र बागमतीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् ।

कस्ता छन् चार टोली ?

नेपाल पुलिस क्लब

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता टोली हो । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको थियो ।

दिपेन्द्रसिंह ऐरीको कप्तानीमा पिएम कपमा अपराजित रहँदै उपाधि जितेको पुलिसको टोलीमा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको छ । जय ट्रफीमा भने पुलिसको कप्तानी आरिफ शेखले गर्ने छन् । दिपेन्द्र प्रतियोगिताका लागि उपलब्ध नभएका कारण पुलिसको कप्तानमा आरिफ रहनेछन् ।

पुलिसमा आरिफ शेखसहित ललित राजवंशी, करण केसी, कुशल भुर्तेल, गुल्शन झाजस्ता राष्ट्रिय टोलीका नियमित खेलाडी छन् भने अर्जुन साउद, सागर ढकाल, राशिद खान, दिलिप नाथ, अभिनाश कर्णलगायतका राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी छन् । अन्य खेलाडीमा अमित श्रेष्ठ, शंकर राना, श्रवण यादव, सुनिल दौल्यान, दिपक सेरेला छन् ।

पुलिसको मुख्य प्रशिक्षकमा मन्जित श्रेष्ठ छन् । उनी पुलिसकै पूर्वखेलाडी समेत हुन् भने नवौं राष्ट्रिय खेलकुदबाट दिपेन्द्रलाई कप्तानी हस्तान्तरण गर्नुअगाडि उनी पुलिसको कप्तानी गर्थे । प्रधानमन्त्री कपका लागि सहायक प्रशिक्षकको भूमिकामा रहेका उनी जय ट्रफीका लागि भने मुख्य प्रशिक्षक तोकिएका हुन् । यसअघि मन्जितकै प्रशिक्षणमा पुलिसको महिला टिमले नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जितेको थियो ।

पुलिस क्लबमा रहेका अधिकांश राष्ट्रिय खेलाडीले नेपालको एकदिवसीय टिमबाट खेल्दै आएका छन् । पिएम कपमा शानदार प्रदर्शन गरेका खेलाडीहरूले जय ट्रफीमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा रहनेछ । विशेषगरी यस वर्षका लागि तय भएका नेपालका तीन मुख्य सिरिजका लागि टिम तयार गर्ने आधार पनि जय ट्रफीमा खेलाडीहरूले गर्ने प्रदर्शन हुनेछ ।

कप्तान आरिफ मिडल अर्डरमा भरपर्दा ब्याटरसँगै मिडियम पेस बलरसमेत हुन् । उनी मिडल ओभरमा गेम चलाउन सक्षम छन् भने अर्जुन साउद र कुशल भुर्तेल ओपनिङको विकल्प रहँदा गुल्शन झा, करण केसी अलराउण्डर र ललित राजवंशी मुख्य स्पीनरका रूपमा रहनेछन् । यीबाहेक राशिद खान र अभिनाश कर्ण पेस बलिङ तथा सागर ढकाल अर्का स्पीन विकल्प हुनेछन् । मिडल ओभरमा शंकर राना पनि भरपर्दा ब्याटर हुन सक्छन् ।

राष्ट्रिय तथा घरेलु खेलाडीहरूले भरिपूर्ण रही सन्तुलित पुलिसको टोली बलियो देखिएको छ । पिएम कपमा शानदार प्रदर्शन गरेको पुलिस जय ट्रफी दुईदिवसीय क्रिकेट प्रतियोगिताको समेत उपाधि दाबेदारको रूपमा रहनेछ ।

त्रिभुवन आर्मी क्लब

त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कपमा उपविजेता भएको टिम हो । लिग चरणमा दोस्रो स्थानमा रहेको आर्मी फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

चन्द्र साउद प्रशिक्षक तथा विनोद भण्डारी कप्तान रहेको आर्मीमा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरुको बाहुल्यता छ । हाल राष्ट्रिय टिममा रहेका सोमपाल कामी, कुशल मल्ल, भिम शार्की आर्मीमा छन् ।

यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका कप्तान विनोदसहित विवेक यादव, शाहब आलम र बसिर अहमद पनि छन् । आर्मीले यू१९ टिमका नरेन साउदलाई पनि समावेश गरेको छ । नरेनले पिएम कपमा सुदूरपश्चिम प्रदेशबाट खेलेका थिए ।

यू१९ राष्ट्रिय टिमका पूर्व सदस्यहरु आकाश चन्द र दुर्गेश गुप्तालाई पनि टिममा थप गरेको आर्मीका अन्य खेलाडीमा सन्तोष कार्की, इमरान शेख, तृत राज दास, पवन कार्की, सुमित श्रेष्ठ छन् ।

आर्मीका लागि इमरान शेख, सन्तोष कार्की र तृत राज दास टप अर्डरको विकल्पमा रहँदा भिम सार्की, विनोद भण्डारी, कुशल मल्ल मिडल अर्डरको विकल्प हुन सक्छन् ।

बलिङमा सोमपाल कामी, दुर्गेश गुप्ता र आकाश चन्द पेस बलिङको विकल्प रहँदा नरेन साउद, पवन कार्की र कुशल मल्ल स्पीनको विकल्पमा हुनेछन् ।

यो पनि पढ्नुहोस् : बहुदिवसीय क्रिकेटको पुनरागमनले खेलाडीमा उत्साह

बागमती प्रदेश

बागमती प्रदेश २०२४ को प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो स्थानमा रहेको टिम हो । बागमतीले ६ खेलमा जित निकाल्दा ३ खेलमा पराजय व्यहोरेको थियो ।

जय ट्रफीमा बागमतीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् । यसअघि रित गौतमको कप्तानीमा खेल्दै आएको बागमतीले सन्दीपलाई टिममा भित्र्याउँदै कप्तानीको भूमिका दिएको हो । सन्दीप पिएम कपमा खेलेका थिएनन् ।

बागमती प्रदेशको टिममा सन्दीपसहित राष्ट्रिय टिमबाट खेलिसकेका रिजन ढकाल, प्रतिश जिसी, सूर्य तामाङ, इशान पाण्डे छन् भने अन्य खेलाडीमा नन्दन यादव, रित गौतम, उत्तम थापा मगर, आशुतोष घिरैया, विपिन आचार्य, शुभ कंसाकार, रोहन विके, सुर्यांशु कोइराला, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी छन् ।

बागमतीको सबैभन्दा उत्कृष्ट पक्ष भनेको कप्तानका रूपमा अनुभवी र विश्वस्तरका लेगस्पिनर छन् । यसअघि नेपालको राष्ट्रिय टिमको समेत कप्तान रहिसकेका सन्दीपसँग विश्वका धेरै खेलहरू खेलिसकेको अनुभव छ जसको मद्दतले उनले टिमका लागि राम्रो गाइड गर्ने छन् ।

बागमतीका लागि पूर्वकप्तान रित गौतमसँगै इशान पाण्डे, आशुतोष घिरैया र सुर्यांशु कोइराला टप अर्डरका लागि फिट हुनेछन् भने मिडल अर्डरमा शुभ कंसाकार, उत्तम थापा मगर, प्रतिक श्रेष्ठलगायतले राम्रो खेल्न सक्छन् । बलिङमा कप्तान सन्दीप मुख्य स्पीनरका रूपमा रहँदा नन्दन यादव मुख्य पेस बलर तथा तिलकराज भण्डारी र विपिन आचार्य स्पीनको अर्को विकल्प हुनेछन् ।

मधेश प्रदेश

मधेश प्रदेश पिएम कप क्रिकेटको चौथो स्थानमा रहेको टिम हो । बागमती प्रदेशसँग समान अंक भएपनि मधेश नेटरनरेटमा पछाडि पर्दै चौथो भएको थियो ।

मधेश प्रदेश आफ्नै क्षेत्रमा हुन लागेको जय ट्रफी खेल्दैछ । मधेशको कप्तानमा राष्ट्रिय टिमबाट खेलिसकेका हरिशंकर साह छन् । मधेशमा यू-१९ टोलीका अभिषेक तिवारी पनि छन् ।

अन्य खेलाडीमा रुपेश सिंह, मयन यादव, निरज कुमार यादव, साहिल पटेल, भुलावना साहनी, विशाल पटेल, रन्जित कुमार, राजेश यादव, प्रदिप पासवान, अफ्रुदिन रेइन, हिमान्शु दत्त, राहुल मण्डल र सैलेन्द्र शाह छन् ।

मधेशका लागि कप्तान हरिशंकर आफैं टप अर्डरमा रहँदा मयन यादव र साहिल पटेलले पनि टप अर्डरमा खेल्ने छन् । मिडल अर्डरमा अभिषेक तिवारी, हिमांशु दत्त, रुपेश सिंह विकल्प हुन सक्छन् । बलिङमा रन्जित कुमार, राजेश यादव, रुपेश सिंह, प्रदिप पासवानलगायतका विकल्प हुनेछन् ।

यस्ता छन् जय ट्रफी एलिट कप खेल्ने चार टोली – Online Khabar

गगन थापा – Online Khabar

Leave a comment

Your email address will not be published. Required fields are marked *