#समाचार

डा. भगवान कोइरालाको ‘हृदय’ ले गरेको स्पर्श – Online Khabar

डा. भगवान कोइरालाको नाम नसुन्ने नेपाली शायदै कमै होलान् ! धेरै मानिसको अघि उनी मुटु बचाउने डाक्टरको रूपमा परिचित छन् । धेरै मानिसको जस्तै उनी मेरा पनि आइडल हुन्। अघिअघि अरूका कुरा सुनेर, पत्रपत्रिका हेरेर उनलाई चिन्ने मौका पाएकोमा यो वर्ष भगवानको दर्शन नजिकैबाट भलाकुसारीसँगै उनको जीवनीको पुस्तक ‘हृदय’ को विशेष संस्करण किन्ने र पढ्ने भाग्यशाली अवसर प्राप्त गरें ।

डा. कोइरालाको सरल जीवनशैली र सामान्य साधारण मानिसहरूको जस्तो सोच नभएका भए, म ठूलो डाक्टर भनेर अहं बन्ने भावनाको भए उनीसँग मेरो भेट पनि सहजै हुने थिएन, र उनी अरू जो–कोही डाक्टर भन्दा फरक बन्न पनि सक्दैनथे होलान् जस्तो लाग्छ । उनीसँगको चिनाजानीमा स्वीडेन बसोबास गरिरहेका प्रोफेसर डा. गणेश आचार्य धन्यवादका पात्र छन् । उनी लामो समयदेखि डा. कोइरालाको असल मित्र हुन् ।

प्रसङ्ग ‘हृदय’ पुस्तकको

डा. कोइरालाको पुस्तक ‘हृदय’ मेरो नेपालदेखि स्वीडेनसम्मको यात्राको साथी बन्यो । पुस्तकमा उनले आफ्नो जीवनका संघर्ष, उतारचढाव, पेशागत र व्यवस्थापकीय जिम्मेवारी, परिश्रम, सफलता र असफलताका कुराहरू जस्ताको तस्तै प्रस्तुत गरेका छन् । किताब पढ्दै जाँदा मेरो हृदयलाई धेरै रूपमा उनको लेखनले स्पर्श गर्‍यो र प्रभावित बनायो । सबै कुरा अटाउनु भन्दा पनि म आफूले ‘हृदय’ पढेर निकालेको निचोडहरू मात्र यो लेखमा प्रस्तुत गर्नेछु । उत्साह, जाँगर, परिश्रम अनि इमानदारी र समाजसेवा नजिकैबाट बुझ्न, जान्न र प्रत्यक्ष प्रभावित हुन ‘हृदय’ पढ्नको लागि अनुरोध छ । मलाई जस्तै धेरै मानिसलाई ‘हृदय’ ले कमर्सियल नागरिक बन्न ठूलो ऊर्जा थप्नेछ भन्ने कुरामा विश्वस्त छु ।

डा. कोइराला सामान्य परिवारमा जन्मिएका सामान्य मानिस

डा. कोइरालालाई धेरै नजिकबाट नचिन्ने व्यक्तिहरूले धनी परिवारका, खानदानी होलान् भनेर गलत रूपमा बुझेको हुनुपर्छ । वास्तवमै कोइरालाको बाल्यकाल र पढाइ जो–कोही मध्यमस्तरीय या अझै कम क्षमता भएको परिवारसँग मिल्ने रहेछ । उनी स्वभावमा अलि कम बोल्ने, चकचक अलि कम गर्ने, शान्त स्वभाव (भगवान जस्तै) बाहेक कुनै असाधारण क्षमता बोकेका बालक नभएको पुस्तकबाट बुझ्न सकिन्छ । उनले धेरै नेपाली जस्तै गाउँकै स्कुलमा, सरकारी विद्यालयमा सामान्य अन्य बालबालिकाले झैं स्कुले जीवन बिताएका रहेछन् ।

सानो छँदा पढाइ पनि त्यति राम्रो रहेनछ, पढ्दै जाँदा विस्तारै भर्‍याङ चढे झैं आफ्नो पढाइको स्तर विस्तारै बढाउँदै गएको मलाई आभास भयो । डा. कोइरालाको एस.एल.सी. सहित सेकेन्ड डिभिजन भनेपछि उनको एस.एल.सी. पछि शिक्षामा मारेको फड्को कति होला भन्ने अनुमान गर्न सकिन्छ । डा.कोइरालाको बाल्यकाल नियाल्दा सानोमा धेरै नजान्ने, धेरै नपढ्ने विद्यार्थी पछि बेकामे हुन्छन् भन्ने सोचाइ गलत सावित गरिदिएको छ । त्यसैले प्रतिभा र क्षमता मर्न दिनुहुन्न, निरन्तर परिश्रम गरे, दत्तचित्त भई लागिपरे धेरैचोटि लडे पनि शिखर चुम्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण डा. कोइरालाबाट सिक्न सकिन्छ ।

शैक्षिक सफलता कसरी सम्भव हुन्छ ?

एस.एल.सी. पछि एच.ए. पढ्न गाउँबाट शहर छिरेका डा. कोइरालाको पढाइमा फड्को मार्ने सफलता त्यतिबेलादेखि सुरुवात भएको देखिन्छ । शुरूको वर्ष खासै राम्रो गर्न नसक्ने व्यक्ति पढाइ एचए सक्दा टपर हुन सक्ने अवस्था उनको पढाइप्रति लगाव र मिहिनेतको परिणाम हो ।

कोइरालामा पढेर, राम्रो नम्बर ल्याएर देखाउँछु भन्ने ठूलो इख रहेछ, इख सँगै उनले आफ्नो पठनपाठनलाई मात्र प्राथमिकतामा राखेर दत्तचित्त भई लागिपरे सफलता मिल्ने रहेछ भन्ने प्रमाण उनीबाट सिक्न सकिन्छ । पछि डाक्टर पढ्न सोभियत संघ जाँदा पनि डा. कोइरालाको निरन्तर फोकस र परिश्रम पढाइमै लगाएको देखिन्छ ।

आफ्नो लक्ष्यमा दृढ रहेर, पढाइमा अनुशासित बनेर दृढ संकल्पका साथ अघि बढ्नु कोइरालाको शैक्षिक सफलताको आधार मान्न सकिन्छ । सोभियत संघ पढ्न गएको बेला ‘हृदय’ मा उनले लेखेका हरफहरू उद्धृत गर्न चाहन्छु— ‘इन्जिनियरिङ र मेडिसिन समूहका गरी करीब ५५ जनाको एउटा समूह बनायौं । यो ग्रुप रक्सी नखाने र गर्लफ्रेन्ड नराख्नेहरूको थियो, यसरी म भएँ सुन्दरीविहीन टोलीको नाइके ।’ यसबाट आफ्नो लक्ष्य प्राप्त गर्नु छ भने चारैतिर हाम्फाल्नुहुन्न, एउटै बाटो समातिराख्न सक्नुपर्छ भन्ने हो ।

पेशागत सफलता र इमानदारी

मेरो बुझाइमा डा. कोइरालालाई सबैभन्दा ठूलो सन्तुष्टि उनको काम प्रति छ । बिरामी जाँच्ने, मुटुको शल्यक्रिया गर्ने र जीवन गुम्न लागिसकेकाहरूलाई पुनर्जन्म दिने उनको ध्येयले, भित्री इच्छाशक्तिले उनलाई एक कुशल र इमानदार चिकित्सकको रूपमा नेपालभरि चिनाएको छ । उनी आफ्नो पेशामा उत्कृष्टता (एक्सिलेन्स) राख्दछन् जसको कारण (५५ भन्दा माथिका शल्यक्रियामा उनी सफल हुन्छन् । सबैभन्दा ठूलो र पहिलो प्राथमिकता उनको चिकित्सकको जिम्मेवारी) हो भन्ने ठान्दछन् ।

किताबमा पटक–पटक उनले उद्धृत गरेको एउटै कुरा बिरामीको स्वास्थ्य सेवा, हेरविचार र उनीहरूको सन्तुष्टि कसरी प्राप्त गर्न सकिन्छ भन्नेमा छ भन्ने प्रष्ट हुन्छ । आफ्नो पेशागत जिम्मेवारीलाई जहिले पनि पहिलो प्राथमिकतामा राख्ने कुरा उनले आफ्नै परिवारलाई दिनुपर्ने कति समय बिरामीलाई दिएर यो प्रमाणित गरेका छन् । बिरामीको सेवाप्रति यति धेरै लगाव त्यही पेशागत इमानदारी र धर्मले नै प्राप्त भएको हो भन्न नि सकिन्छ । त्यसैले, सबै आ–आफ्नो पेशामा इमानदार रहनु र पेशागत उत्कृष्टता हासिल गर्नु पेशागत सफलताको मुख्य आधार मान्न सकिन्छ ।

कुशल र सफल व्यवस्थापक

डा. कोइरालाले आफ्नो पेशागत जीवनमा जे–जति संघर्ष गरेका छन् त्योभन्दा बढी व्यवस्थापकको रूपमा गरेका रहेछन् । शहीद गङ्गालालको प्रबन्ध निर्देशक भई अस्पताललाई अन्तर्राष्ट्रियस्तरको मुटु सम्बन्धी अस्पतालको रूपमा स्थापित गर्न, शिक्षण अस्पताललाई डुब्न लागेको बेला बचाउन र मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर स्थापित र सञ्चालन गर्ने कुराको मुख्य भूमिका निर्वाह कोइरालाले गरेका रहेछन् । सफल व्यवस्थापक बन्नुमा धेरै जसो उनीमा आफ्नो जिम्मेवारी र नैतिकतामा अडिग रहने र टिम वर्कलाई प्राथमिकता दिने दुई वटा मुख्य कुराहरू देखिन्छ । पुस्तकमा पटक–पटक उद्धृत गरिएको उनको व्यवस्थापकीय कार्यमा अरू स्टाफहरूको पेशागत क्षमताको आदर र तिनको परिचालन तथा मेरो नभई ‘हाम्रो’ भन्ने वातावरण सृजना गर्नुरहेछ भन्ने आकलन गर्न सकिन्छ । त्यति मात्र नभएर कोइरालाले अस्पतालमा भएका प्रगति, उन्नतिको श्रेय सबै कर्मचारीलाई दिएको र उनको विरुद्धमा लाग्नेहरूलाई पनि राम्रो काम गरेर देखाएर लोभ्याई फेरि टिममा ल्याउन सफल मितव्ययी व्यवहार देखाएको महसुस हुन्छ । आफ्नो जिम्मेवारी र नैतिकताबाट पछि नहट्ने उदाहरण उनले अस्पतालको र पेशागत झन्डा बोकेर मात्र गरे ।

राजनीतिक लुछाचुँडी र गञ्जागोलभित्रको यात्री

हामी स–साना सामाजिक, प्रशासनिक कामहरूमा राजनीति भयो भनेर दुःखित हुन्छौं । हुन पनि चारैतिर राजनीतिक हस्तक्षेप भएको छ । स्वास्थ्य क्षेत्रमा पनि राजनीतिक हस्तक्षेप हुनु दुर्भाग्यपूर्ण छ र यो हट्नुपर्दछ । डा. कोइरालाको व्यवस्थापकीय मात्र नभएर चिकित्सा पेशाभित्र पनि धेरै पटक राजनीतिक हस्तक्षेप भएको रहेछ । यद्यपि उनी आफ्नो पेशागत र व्यवस्थापकीय जिम्मेवारीमा नैतिकता नगुमाई निरन्तर त्यस्ता हस्तक्षेपको विरुद्ध लागि परिरहेछन् र पनि सफलता हासिल गर्न सम्भव रहेछ । डा. कोइरालाको सफलताभित्र धेरै स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीको हात रहेछ, हुन पनि स्वास्थ्य सेवालाई गुणस्तरीय र जनताको पहुँचमूलक बनाउने जिम्मेवारी पनि सरकारकै थियो र कोइरालाले पनि उहाँहरूलाई कन्भिन्स गर्न सक्नुभयो । त्यसैले राजनीतिक झन्डा नबोकिकन पनि सफल व्यवस्थापक र व्यवसायी बन्न सकिन्छ भन्ने पाठ डा. कोइरालाबाट सिक्न सकिन्छ ।

देश र जनताप्रतिको प्रेम

डा. कोइराला विश्वको जुनसुकै देशलाई पनि आवश्यक पर्ने क्षमतावान् चिकित्सक हुन् । उनी अमेरिका र क्यानडा जस्ता राष्ट्रमा बसेर फेलोसिप गरेर त्यहीं सफल र परिचित चिकित्सक बन्न सफल भएका व्यक्ति हुन् । जसलाई त्यहीं धेरै कमाइ, सुविधा हुन्थ्यो, ऐस–आरामको जिन्दगी थियो; तैपनि उनले आफ्नो व्यक्तिगत सुख–चैन हेरेनन्, उनी शुरूदेखि नै देशभक्त थिए । उनको रगतमा जहिले पनि नेपाल र नेपाली बगिरह्यो । त्यसैको कारण बरु चिकित्सक भएपछि पनि लामो समय आर्थिक अवस्था कमजोर नै राखे, परिवारको सुख नि हेरेनन् तर देशभित्र आफूले सिकेको ज्ञान क्षमतालाई देशैभरिका जनता लाभान्वित हुने गरी प्रतिस्थापन गर्छु भनेर लागिरहे ।

आफ्नै देशमा फर्किएर आफ्ना जनतालाई निरन्तर सेवा प्रदान गरिरहे । धेरै क्षमतावान् चिकित्सकहरू जन्माइरहे । यो उनको नेपाल सिङ्गो राष्ट्र र सम्पूर्ण नेपालीले सदैव मनन्, गर्व र सम्मान गर्नुपर्ने विषय हुन् । डा. कोइराला अहिले पनि निजी अस्पतालमा काम गर्दैनन् । पैसा भन्दा पनि सम्पूर्ण जनतालाई सबैको पहुँच पुग्ने गरी, गुणस्तरीय लोककल्याणकारी स्वास्थ्य प्रणाली स्थापित कसरी गर्न सकिन्छ भनेर संघर्ष गरिरहेका छन् । यसमा केही भाग उनले पूरा गरिसकेका छन् भने केही पूरा हुन बाँकी नै छन् । उनको अबको सपना नेपालमा बालरोग उपचारमा र स्वास्थ्य प्रवर्धनमा टेवा पुर्‍याउने हिसाबले काठमाडौंमा विशेष बाल अस्पताल र अरू ६ प्रदेशमा जनरल बाल अस्पताल बनाउन पहल गर्ने रहेको छ । यस महान् कार्यमा डा. कोइरालालाई हामी सबैको सहयोगको आवश्यकता परेको छ ।

(थापा स्वीडेनस्थित खोब्दे विश्वविद्यालयका प्राध्यापक र अनुसन्धानकर्ता हुन् ।)

डा. भगवान कोइरालाको ‘हृदय’ ले गरेको स्पर्श – Online Khabar

कैलालीमा लागूऔषधसहित ९ जना पक्राउ – Online

Leave a comment

Your email address will not be published. Required fields are marked *