प्रेमिकालाई कारबाहीको माग गर्दै दुजाङले दिए उजुरी – Online Khabar
२० पुस, काठमाडौं । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले समानान्तर गतिविधि गरेको र आफूविरुद्ध तथ्यहीन आरोप लगाएको भन्दै शेखर कोइराला पक्षकी विद्यार्थी नेत्री प्रेमिका रानामगरलाई कारबाहीको माग गरेका छन् ।
अध्यक्ष शेर्पाले अनुशासनको कारबाहीको माग गर्दै पार्टीको केन्द्रीय अनुशासन आयोगमा उजुरी दिएका हुन् । नेविसंघको विधानमा पनि अनुशासन समितिको व्यवस्था भए पनि गठन नभएकोले उनले पार्टीकै आयोगमा उजुरी दिएको बताएका छन् ।
शेखर पक्षकी नेत्री प्रेमिकाले अध्यक्ष दुजाङको नेतृत्वमा रहेको संघमा अपारदर्शी क्रियाकलाप गरेको आरोप लगाएकी थिइन् । उनले विज्ञप्ति निकालेर ‘जय नेपाल कप’का गर्नका लागि संघका अध्यक्ष शेर्पाले सरकारी, गैरसरकारी संघसंस्था, व्यवसायिक क्षेत्र, क्याम्पस, विश्वविद्यालयहरुवाट अनैतिक रुपमा पैसा उठाएको उनले आरोप लगाएकी थिइन् ।
दुजाङले भने संघद्वारा आयोजना हुँदै गरेको अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी-२० क्रिकेट प्रतियोगितालाई जोडेर अनर्गल प्रचार गरेको आरोप लगाएका छन् ।
उनले संगठनलाई पारदर्शी, जिम्मेवार, र सुदृढ बनाउन आफू प्रतिबद्ध भएको बताउँदै संगठनको एकता, गरिमा, अनुशासन, र मर्यादालाई कायम राख्न निष्पक्ष छानबिन गर्न माग गेरेका छन् ।