राप्रपा नेपालको केन्द्रीय समिति बैठक सुरु – Online Khabar
१९ पुस, काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजबाट सुरु भएको छ ।
काठमाडौंको नवदूर्गा पार्टी प्यालेसमा जारी बैठकले शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायतका विषयमा पार्टीको धारणा तय गर्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थ्तििको समीक्षा र पार्टीको भावी कार्यदिशासम्बन्धी प्रतिवेदन पेश गरेका छन् ।
यसैगरी, उपाध्यक्ष डा. विष्णु भण्डारी नेतृत्वको समितिले शासकीय स्वरूप, निर्वाचन प्रणालीलगायतका विषयमा पार्टीको धारणा बनाउन तयार पारेको प्रतिवेदन पनि पेश भएको छ ।
बैठकमा उपाध्यक्ष धीरेन्द्र झाले तराई–मधेश उत्थान अभियानसम्बन्धी तथा संगठन विभागको प्रतिवेदन महामन्त्री बर्तौलाले पेश गरेका छन् । कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन, सहमहामन्त्री हिक्मतजंग भण्डारीले सचिवालयको प्रतिवेदन तथा अर्का सहमहामन्त्री महेश्वर रोक्काले गैर सरकारी विभागको प्रतिवेदन पनि प्रस्तुत गरेको महामन्त्री बर्तौलाले जानकारी दिए ।
बैठक भोलिसम्म चल्नेछ ।