राष्ट्रिय महिला लिगको अन्तिम चरण आजदेखि, आर्मी र बागमती युथ क्लब खेल्दै
१८ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा एन्फा महिला राष्ट्रिय लिगको अन्तिम चरणको खेल आज देखि सुरु हुँदैछ ।
५ टोलीबीच प्रतिस्पर्धा हुने लिगमा बिहीवार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।
पहिलो चरणको लिगमा आर्मी दोस्रो भएको थियो भने बागमती युथ क्लब छैटौं स्थानमा थियो । तर कोशी प्रदेशले आर्थिक कारण देखाउँदै अन्तिम चरणको लिगबाट नाम फिर्ता लिएपछि बागमतीले मौका पाएको थियो ।
अन्तिम चरणको लिगमा आर्मीसँग दुई महत्वपूर्ण खेल हुनेछैन । साफ च्याम्पियनसिपका बेला चोट लागेकी दिपा शाकी हाल शल्यक्रिया पछि आराम गरिरहेकी छिन् । यस्तै अमिसा कार्की आर्मीको आन्तरिक प्रशिक्षणमा छिन् ।
डबल राउण्ड रोविनका आधारमा हुने अन्तिम चरणको लिगमा ५ टोलीलले प्रतिस्पर्धा गर्नेछन् । जसमा सुपर लिगमा २० खेल हुनेछ । त्यसपछि शीर्ष चारमा हरने टोलीले प्लेअफमा स्थान बनाउनेछन् । प्लेअफमा क्वालिफायर, एलिमिनेटर र फाइनल गरी थप ४ खेल हुनेछ ।
अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र बागमती युथ क्लबले खेल्नेछन् । फाइनल माघ १६ गते हुनेछ ।