#समाचार

पूर्णिमाको जून हेर्दै आमा भन्नुहुन्थ्यो- त्यस्तै चम्किलो हुनु है बाबु

आमाको काखमा बस्ने हुँदा

मैले ताराहरु देखें

आकाशमा टिमटिमाइरहेका ताराहरु !

आमाको काखबाट झरेर

टुकुटुकु हिँड्न थालेपछि

अनगन्ती ताराहरु गन्न सिकें !!

थाकेको छैन

ताराहरु गन्ने मेरो अभियान

अझै जारी छ आमाको सम्झनामा !!!

आमाको यो संस्मरणसित अनेक अविस्मरणीय प्रसङ्गहरु जोडिएका छन् । अहिले पनि ती सबै प्रसङ्ग ताजा बनेर आइरहेका छन् मनमस्तिष्कमा ।

केही वर्षपहिले नै मैले आमा सम्बन्धमा केही टिपोटहरु तयार पारेको थिएँ। एक दिन म कमलमणि दीक्षितजीको ललितपुरस्थित निवासमा गएँ । त्यस बेला लामो समयदेखि गम्भीर अस्वस्थता झेलिरहनुभएकी उहाँकी जीवनसँगिनी अञ्जुदेवी दीक्षितको निधन भएको थियो । म उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीक्षित परिवारसँग समवेदित हुन त्यहाँ पुगेको थिएँ ।

केही समयपहिलेदेखि कमलमणिजीसित मेरो परिचयसँगै सम्बन्ध र सान्निध्य बढेको थियो । उहाँ मलाई विशेष स्नेह गर्नुहुन्थ्यो। उहाँबाट प्रकटित त्यो स्नेह मलाई पनि विशेष लाग्थ्यो। श्रद्धेय अग्रज कमलमणिजीले ‘जगदम्बा’ प्रेसबाट मेरो संस्मरणात्मक कृति ‘माघ १९’ पनि छपाइदिनुभएको थियो ।

दिवगङ्त आमा अञ्जुदेवी दीक्षितप्रति श्रद्धाञ्जलीका केही शब्द लेखेपछि प्रसङ्गवश मैले आफ्नी दिवङ्गत आमाबारे आफूले लेखेका केही कुरा कमलमणिजीलाई सुनाएको थिएँ । अत्यन्त रूचिपूर्वक सुनिरहनुभएका कमलमणिजीले भन्नुभयो भएको थियो, ‘ईश्वर बाबु ! तपाईंले लेख्नुभएको आमाको संस्मरण मलाई प्रकाशन गर्न दिनुस् है !’

कमलमणिजीका कुरा सुनेपछि मलाई भित्रभित्रै खुसी त लाग्यो । तर, भर्खरै मैले अमर शहीद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ‘पूर्वको रातो तारा’ प्रकाशन गरेकाले आमासम्बन्धी संस्मरण अर्को वर्ष आमाको मुख हेर्ने दिन मात्र प्रकाशन गर्ने योजना सुनाएँ। मेरा कुरा सुनेपछि कमलमणिजीले केही गम्भीर मुद्रामा भन्नुभएको थियो, ‘बाबु, मलाई अहिले नै प्रकाशन गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ! एक वर्षपछि त के हुन्छ के हुन्छ !’ मैले त्यस बेला कमलमणिजीका भनाइ सुनें मात्र, त्यति गम्भीर रुपमा लिइनँ ।

नभन्दै, कस्तोदुर्भाग्य ! कमलमणिजी त्यसको एक वर्ष नपुग्दै २०७३ पुस १४ गते बित्नुभयो ! मैले ‘आमा’ सम्बन्धी संस्मरण आदरणीय कमलमणिजीको प्रकाशनमार्फत बाहिर ल्याउन सकिनँ। त्यो अधुरै रह्यो ।

‘आमा’ को संस्मरणसित यसरी आदरणीय कमलमणि दीक्षित कहिल्यै नबिर्सने गरी सम्बन्धित हुन पुग्नुभएकोछ !

एक दिन साथी सूर्य थापाले ‘आमा, सपना र ताराहरु’ को पाण्डुलिपि पढेपछि भावुक हुँदै ‘राष्ट्रकवि माधव घिमिरेलाई भूमिका लेखाउँदा राम्रो हुने’ सुझाव दिनुभयो। उहाँको सुझाव मलाई पनि उचित लाग्यो। मनमनै खुसी पनि भएँ।

एक दिन उहाँलाई भेट्न उहाँकै निवास पुगेको बेला अलि सङ्कोच मान्दै मैले आमासम्बन्धी पुस्तकमा उहाँसित गरिएको अपेक्षाबारे पनि बताएँ । उहाँले खुसी हुँदै मेरा हात समाएर सहमति जनाउनुभएको थियो- ‘मलाई पाण्डुलिपि कहिले दिने ?” मैले केही दिनमै पाण्डुलिपि उपलब्ध गराउने कुरा गरें र खुसी हुँदै उहाँसित बिदा भएँ ।

‘पाण्डुलिपिमाथि एकसरो दोहोर्‍याएर नजर पुर्‍याएपछि मात्र राष्ट्रकविलाई दिनुपर्ला’ भन्ने लागेको थियो । यसैले मैले उहाँलाई समयमै पाण्डुलिपि उपलब्ध गराउन सकिन“ ।

दुर्भाग्य ! केही दिनपछि राष्ट्रकवि अस्वस्थ हुनुभयो । अस्पतालमै बस्नुपर्‍यो उहाँले ! उहाँको त्यस्तो अवस्थाका कारण ‘आमा’ को पाण्डुलिपिको विषय त्यत्तिकै ओझेलमा पर्दै गयो । त्यही अस्वस्थताकै बिच राष्ट्रकविको पनि २०७७ भदौ २ गते देहान्त भयो । उहाँको निधनकोखबर सुनेपछि आफू दोस्रोपटक मुर्छित भएजस्तो लाग्यो ।

आमाको सम्झनामा लेखिएको पाण्डुलिपि एक्लै समाउँदै म अत्यन्त भावविभोर भएँ । मेरा आँखा बगिरहे ।

केही संस्मरण र कविताहरु लेखेर त्यसबिचमा पनि आमाप्रति सम्मान व्यक्त गरिरहें । यसै क्रममा नेत्रज्योति अभियानका नायक डा. रामप्रसाद पोखरेल र शोभना भाउजू यो संस्मरण प्रकाशन गर्न अगिसर्नुभयो ।

खास गरी भाउजू शोभना ज्यादै उत्साहित हुनुभएको थियो । उहाँले प्रत्येक भेटमा र टेलिफोन गरेर पनि मलाई घचघच्याइरहनुभयो । तर, दुर्भाग्य ! त्यस्तो तत्परता देखाउने शोभना भाउजू पनि अब भौतिक रुपमा रहनु भएन । उहाँको प्रेरक र अभिभावकीय भूमिका म कहिल्यै बिर्सन सक्त्तिनँ ।

म अलिअलि कुरा बुझ्ने भएपछि मैले आमाको अनुहार र आँखा धेरै पटक नियालेको छु, बोलीबचनमा गम्भीरता देखेको छु । र, आमालाई भित्रैबाट बुझ्ने प्रयत्न गरेको छु ।

आमाले कहिल्यै कसैप्रति कठोर बचन बोलेको सुनिनँ मैले ! त्यस्तो बोल्ने भनेर कसैले टिप्पणी गरेको पनि सुनिनँ । कसैलाई भन्नै पर्दा पनि सम्झाउने, बुझाउने पाराले भन्नुहुन्थ्यो ।

अरुलाई दिन पाए, खुवाउन पाए अत्यन्तै खुसी मान्नुहुन्थ्यो आमा । ‘अरुको आत्मालाई शान्ति मिल्ने काम गर्नुपर्छ’, आमाले बेलाबेला भन्नेगरेका ती शब्द अहिलेपनि मेरोकानमा झङ्कृत हुने गर्छन् । मेरो मनमस्तिष्क झकझक्याइरहन्छन् ।

गलेका, तिर्खाएका र भोकाएका बटुवाहरुलाई बस्न र खान दिन पाउँदा आमा साह्रै खुसी मान्नुहुन्थ्यो । आमाको त्यो स्वभाव साँच्चै विशेष किसिमको थियो । सायद यसैले होला, कतिपयले आमालाई ‘दानी बज्यै’ भनेर पनि सम्बोधन गर्ने गर्थे ।

अत्यन्त थकित भएकाहरुले आरामले बस्न पाउँदा र भोकाएकाहरुले खान पाउँदा खुसी भएका उनीहरुका भित्री मनहरु सायद पढ्न खोज्नुहुन्थ्यो आमा र त्यसमा भित्रभित्रै खुसी हुनुहुन्थ्यो ।

०००

आफूलेपालेका गाईबस्तु, बाख्रापाठा, परेवाहरुलाई आफ्नै हातले घाँस, खोले र चारो दिनुहुन्थ्यो । केही दिन वा महिना घर छोडेर हिँड्नुपर्दा आफ्नै हातले बस्तुभाउलाई माया गरीगरी खुवाउनुहुन्थ्यो । उनीहरुलाई सुमसुम्याउँदै कहिलेकाही“ त मायाले आँसुसमेत झार्न खोज्दै ‘म केही समय तिमीहरुलाई छोडेर जाने भएँ, दुब्लाउने भयौ, कसले खान देला !’ भनेर माया भरिएका नरम हातले सुमसुम्याउनुहुन्थ्यो ।

त्यसपछि जब आमा हिँड्नुहुन्थ्यो र आमाका पछिपछि हामी पनि कुम्लो कुटुरो बोकेर बाटो लाग्थ्यौं,गाईबस्तुहरु आमातिर हेर्दै कराउन थाल्थे । आमा फर्कीफर्की उनीहरुलाई हेर्नुहुन्थ्यो । त्यस बेला आमाका आँखाका डिलडिलमा आएका आँसुका थोपा देखेको छु मैले । बिचरा गाईबस्तुहरु कति बुझ्थे तर आमा अश्रुपूरित नयन र रmन्चे स्वरमा भन्नुहुन्थ्यो— “बस है बाबु हो, म फर्केर आइहाल्छु !”

०००

धर्मकर्ममा विश्वास गर्ने हाम्री आमा ‘असल मानिसहरु मृत्युपछि आकाशका तारा बनेर चम्किरहन्छन्’ भन्नुहुन्थ्यो । धेरै पटक आकाशमा चम्किरहेका ताराहरु हेर्दै दिवङ्गत भइसकेका आफ्ना प्रियजन र असल भनिएका, मानिएका मानिसहरुका अनुहार त्यहाँ खोज्नुहुन्थ्यो ।

कहिलेकहिले त मलाई समेत सँगै राखेर देखाउनुहुन्थ्यो आकाशमा चम्किरहेका तारा । त्यस बेला म त्यहाँ कुनै अनुहार त देख्तिनथें तर आमासित सार मिलाएर हेर्नचाहिँ हेरिरहन्थें ।

आमाबाट सिकेको त्यो बानी अहिले पनि ममा प्रकट हुन्छ । जब म राति ताराहरु चम्किएको आकाशमुनि हिँडिरहेको हुन्छु, त्यस बेला आमाबाट सिकेको त्यो बानी जागृत भएर आउँछ । म चम्किरहेका तारा वा पूर्णिमाको चहकिलो जूनमा दिवङ्गत प्रियजनहरुका अनुहार खोज्न पुग्छु । मलाई बाल्यकालमा आमाले सिकाउनुभएको त्यो प्रसङ्ग अहिले पनि बानी बनेर बाँचिरहेछ ।

पुर्णिमाको आकाशमा चम्किरहेको पूर्णचन्द्रतिर एकटक नजर लाएर ‘त्यस्तै चम्किलो हुनु है बाबु !’ भन्नुहुन्थ्यो आमा । त्यस बेला म उहाँको अनहुार त हेर्थें तर उहाँका भनाइ र त्यसभित्रका मर्म बुझ्दिनथेँ, बुझ्न सक्तिनथेँ । कहिलेकाहीँ त ‘के भन्नभुएको होला’ भन्ने पनि लाग्थ्यो ।

(एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको कृति ‘आमा, सपना र ताराहरु’  शुक्रबार सार्वजनिक हुँदैछ । त्यसैको एक अंश यहाँ प्रकाशित भएको हो ।)

पूर्णिमाको जून हेर्दै आमा भन्नुहुन्थ्यो- त्यस्तै चम्किलो हुनु है बाबु

साढे ५ खर्बको होटल उद्योग, विदेशी लगानी

Leave a comment

Your email address will not be published. Required fields are marked *