#समाचार

क-कसले गर्दैछन् थुनछेक बहस ? – Online Khabar

१६ पुस, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वकोषाध्यक्ष आरती गुरुङको बयान सकिएपछि कास्की जिल्ला अदालतमा सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले थुनछेक बहस गरिरहेकी थिइन् ।

शर्माले संस्थापक अध्यक्ष ज्ञानबहादुर जम्जन, उपाध्यक्ष मीना गुरुङलगायत पदाधिकारी र कृष्णबहादुर गुरुङसमेत सञ्चालक रहेको समितिले सामूहिक रूपमा निर्णय गरेर सहकारीको रकम गएको देखिने बताइन् । शर्मा बोल्दाबोल्दै संस्थापक सञ्चालकसमेत रहेका कृष्णबहादुर उठे र आँसु झार्दै आफूले सहकारीको रकम हिनामिना नगरेको बताए ।

‘मैले एक सुका खाएको छैन, यति ठूलो आरोप लाग्यो । यो सब झुठो हो,’ न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको थुनछेक बहसमा सहायक न्यायाधिवक्ता शर्मालाई रोक्दै कृष्ण भक्कानिए । जब कृष्ण भक्कानिए तब पूर्वसांसदसमेत रहेकी मीना गुरुङ पनि रुन थालिन् । मीनासँगै पूर्वकोषाध्यक्षसमेत रहेकी आरती पनि रुन थालिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादीहरू प्रारम्भिक चरणमै दोषी देखिएकाले पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने शर्माले बहस गरिरहँदा एकाएक इजलासमा सन्नाटा छायो । त्यतिञ्जेलसम्म कार्यालय समय पनि सकिइसकेको थियो । न्यायाधीश राइले बहस गरिरहेकी शर्मालाई रोके र मंगलबारका लागि थुनछेक बहस स्थगित गरे ।

कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले भने, ‘कार्यालय समय पनि सकिइसकेकाले आजको (मंगलबार) थुनछेक बहस स्थगित भएको छ । अब बुधबारबाट फेरि हुनेछ ।’

सरकारी वकिलको कार्यालयको तर्फबाट सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेपछि शर्माले सहकारी ठगीमा मुद्दा दायर भएका प्रतिवादीहरूलाई प्रारम्भिक रूपमै दोषी देखिएको जिकीर गरेकी थिइन् । उनले मुलुकी फौजदारी कार्यविधिसंहिताको दफा ३७ को अनुसूची १ र २ अनुसार प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न सक्ने प्रावधानअनुसार गर्न माग गरिहेकी थिइन् ।

८० वर्षीय कृष्णबहादुर संस्थापक सञ्चालक समिति सदस्य र ६७ वर्षीया छोरी मीना उपाध्यक्ष थिइन् । कृष्णबहादुर बेलायत जान लाग्दै गर्दा पक्राउ परेका थिए । उनलाई पक्राउ परेर विरामीसमेत रहेकाले अस्पतालमै राखिएको छ । उनलाई मुटुको समस्या रहेको चिकित्सकले बताइरहेका छन् ।

कृष्ण, मीना, ज्ञानबहादुर बम्जनसहित १० जना सञ्चालकलाई सामूहिक रूपमा ५३ लाख ७६ हजार रुपैयाँ सहकारीबाट हिनामिना भएको रकमको दायित्व देखाइएको छ ।

‘यी प्रतिवादीहरू सञ्चालक समितिको पदाधिकारी रहेको अवस्थामा के–कति बचत अपचलन भएको रहेछ भनी मिसिल संलग्न रहेको पोखरा महानगरपालिको वित्तीय विश्लेषण अध्ययन गर्दा प्रक्रिया पूरा नगरी लगानी भएको एक करोड ५४ लाख ४९ हजार आठ सय ३६ रुपैयाँ ६ पैसा कर्जा हालसम्म पनि असुली हुन नसकेको देखिन्छ,’ अभियोजनपत्रमा उल्लेख छ ।

तर, अरु ज्ञानबहादुर बम्जन, गितेन्द्रबाबु राई, देवेन्द्रबाबु राई, लिलाबहादुर गुरुङलगायतले रकम तिरेकाले ५३ लाख ७६ हजार अझै नउठेकाले त्यो बेलाको सञ्चालक समितिले दायित्व तिर्नुपर्ने माग दाबी सरकारी वकिलको कार्यालयको छ ।

रविसहित सातजनाको बयान सकेर मंगलबारबाटै थुनछेक बहस सुरु भएको हो । राज्यको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयबाट नायव महान्यायधिवक्ता सन्दीपराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम बहस गर्नका लागि पोखरा आएका छन् ।

उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता विष्णुराज गौली, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले बहस गर्ने छन् । जाहेरवालाका तर्फबाट अधिवक्ता युवराज पराजुली र विवि विष्टले बहस गर्ने छन् ।

रविका पक्षबाट २२ जनाले बहसका निम्ति नाम टिपाएका छन् । रविका पक्षबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, डा. नारायण घिमिरे, हरि सुवेदी, रोहित बास्तोला, डा. नारायणदत्त कंडेल, सुदीज्ञ पन्तलगायतले बहस गर्ने छन् ।

पुरक जाहेरीपछि गत ५ र ७ पुसमा ६३ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यही मुद्दामा अहिले रास्वपा सभापति रवि, पूर्वडिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीवी राईसँग मिलेर रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकी लिला पछाइँ, साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ, सञ्चालक कृष्णबहादुर गुरुङलाई अहिले अदालत उपस्थित गराएर बहस भएको हो ।

सरकारी वकिल र जाहेरवालाका तर्फबाट बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुने स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

रवि लामिछानेमाथि सहकारी ठगीमा तीन करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ८४ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगन्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको पनि संलग्नता देखाएको थियो ।

रवि संलग्न रहेको गोर्खा मिडियामा पोखराको सूर्यदर्शन सहकारीबाट पाँच करोड र अन्य सहकारीबाट गरेर ६५ करोड रूपैयाँ गएको देखिएको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो । रविसहित ६३ जनालाई विपक्षी बनाइएकोमा एकमुष्ठ एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो माग दाबी गर्दै आइबार थप अभियोजन–पत्र दर्ता भएको हो ।

सूर्यदर्शन सहकारी ठगीको मुद्दामा सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् ।

क-कसले गर्दैछन् थुनछेक बहस ? – Online Khabar

मन्त्री सुडी – Online Khabar

Leave a comment

Your email address will not be published. Required fields are marked *