अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन र डिजिटल मार्केटिङ प्रभावकारी बनाउन बोर्डलाई निर्देशन
१६ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रूपान्तरणका लागि काम गरिरहेको बताएका छन् ।
नेपाल पर्यटन बोर्डको २६औं वार्षिकोत्सवका अवसरमा मन्त्री पाण्डेले पर्यटन विकासका लागि पर्यटनमैत्री नीति आवश्यक रहेको र यसैलाई मध्यनजरी गरी सरकारको नयाँ पर्यटन नीति तयार भइरहेको बताए ।
अब छिट्टै नयाँ पर्यटन नीति आउने उनले बताए । उनले पर्यटन बोर्डलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणा आत्मसात गर्दै अन्तर्राष्ट्रिय प्रर्वद्धनका कार्यक्रम प्रभावकारी ढंगले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए ।
‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त देश हो । यही विविधताबीच एकता, सहिष्णुता र सद्भाव संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता हो,’ मन्त्री भण्डारीले भने, ‘नेपालको आफ्नै मौलिक पर्यटन प्रडक्ट छ । यसलाई अन्तर्राष्टिय बजारमा व्यापक प्रर्वद्धन गर्न आवश्यक छ ।’
पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन उद्योगको विकास र विस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने बताए । यसका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
पर्यटन बोर्ड अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले पूर्वाधार विकाससँगै प्रविधिको व्यापक प्रयोग, पर्यटनका लागि आवश्यक जनशक्ति विकासमा बोर्डले जोड दिनुपर्ने बताए ।
बोर्ड सञ्चालक समिति सदस्य ऋषि भण्डारीले यसका लागि पर्यटन प्रर्वद्धन मुख्य जिम्मेवारी बोकेको पर्यटन बोर्ड सरोकारवाला सबैलाई साथमा लिएर गतिशील बनाउँदै लैजानुपर्ने बताए ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालको पर्यटक आगमन बिस्तारै लयमा फर्किंदै गएको र पर्यटनमा आगामी दिन थप सुनौलो हुने धारणा राखे ।
कोभिडपछि विश्व परिवेशमा ९७ प्रतिशत ‘रिकभरी’ देखिएको र सन् २०२४ को ११ महिनामा नेपालमा साढे ११ लाख पर्यटकले भ्रमण गरेकाले कोभिडपछि नेपालको पनि ९६ प्रतिशतसम्म रिकभरी देखिएको उनले जानकारी दिए ।
कार्यक्रममा बोर्ड कर्मचारी संगठन अध्यक्ष कुन्दन मिश्रले संस्थाको आन्तरिक सुदृढीकरणका लागि आवश्यक नीतिगत सुधारको पहल गरिदिन आग्रह गरे ।
कार्यक्रममा बोर्डले प्रकाशन गरेको वार्षिक मुखपत्र ‘इनफोकस’ विमोचन गर्नुका साथै वार्षिकोत्सवका अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद कार्यक्रमका विजेता तथा उपविजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।