प्युठानमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
१४ पुस, काठमाडौं । प्युठानमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
आइतबार साँझ प्युठान नगरपालिका–७ टिकुरी बसपार्कमा मोटरसाइकल ठक्करबाट मल्लरानी गाउँपालिका – ४ बासखोला बस्ने ७० बर्षिय राम चन्द्र शाहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बाग्दुलातर्फ जाँदै गरेको लु ९१ प १३३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही दिशा तर्फ पैदल हिंडिरहेका शाह गम्भीर घाइते भएका थिए ।
उनको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक निरन्जन रिजालले जानकारी दिए ।
मोटरसाइकल चालक २३ वर्षीय रुपेश गुरुङ समेत घाइते भएको र उनलाई थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्युठानमा सञ्चालन भइरहेको भित्रीकोट प्युठान महोत्सव हेरेर फर्कंदै गर्दा साँझ उक्त दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।