#समाचार

एकलतर्फको उपाधि सूर्यक्ष र पारुललाई – Online Khabar

१४ पुस, काठमाडौं । काठमाडौंमा जारी योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ को एकलतर्फको उपाधि पुरुष एकलतर्फ सूर्यक्ष रावत र महिला तर्फ पारुल चौधरीले हात पारेका छन् ।

भारतिय खेलाडीहरुको दवदवा रहेको प्रतियोगिताको पुरुष एकल तर्फ सूर्यक्षले अंश नेगीलाई २१–१७, २१–१८ ले पराजित गर्दै उपाधि उचालेका हुन् । यस्तै महिला तर्फ चौधरीले मेधावी नागरलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधिमा आफ्नो नाम लेखाएकी हुन् । पुरुष तर्फ साई प्रसाद तिगला र बिश्वजित चौधरी तथा महिला तर्फ ईशिता नेगी र दिया भिमैया संयुक्त कास्य पदकमा सीमित भए ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला युगलतर्फको उपाधि आन्या विष्ट र एन्जल पुनेराले हात पारे । उक्त जोडीले दिया भिमैया र बरुणी पर्सवाललाई २१–१४, २१–१८ ले पराजित गरेका हुन् । तेस्रो स्थानमा ईशिता नेगी र भान्सिका ठाकुर तथा जेनिथ अब्बिगिल र तारिनी सुरीको जोडी रहे ।

पुरुष युगल तर्फ भाब्य छाबरा र परम चौधरीको जोडीले जित हात पार्दै उपाधि जिते । छाबरा र चौधरीको जोडीले दिभ्यांस अग्रवाल र निरज केशरीको जोडीलाई २१–१७, २१–१५ ले पराजित गरेका हुन् । तेस्रो स्थानमा दभ्यांश रावत र योगांश सिंहको जोडी तथा सी. लालरामसंग र सौरभ साहुको जोडी रहे ।

मिक्स युगल तर्फ भाब्या छावरा र एन्जल पुनेराको जोडीले गर्भ सानी र ईशिता नेगीको जोडीलाई २१–१३, २१–१४ ले पराजित गर्दै उपाधिमा आफ्नो नाम लेखाए । तेस्रो स्थानमा सौरभ साहु र प्रगती परिदा तथा बिजोन जैसन र आन्या बिष्टको जोडी रहे ।

बिजयी खेलाडीहरुले मेडल तथा प्रमाण पत्र प्राप्त गरे । पाँचवटै विधाको सेमिफाईनलमा भारतिय खेलाडीहरुको मात्र प्रतिस्पर्धा रहेको थियो ।

तीन दिने प्रतियोगितामा सहभागी ९९ खेलाडी मध्ये भारतका ६०, नेपालका १६, थाइल्याण्डका १०, यूएईका ४, इरानका ३, न्युजिल्याण्डका २ तथा मलेसिया, अष्ट्रेलिया, बंगलादेश र इन्डोनेसियाका १/१ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *