#समाचार

विन्टरनेशनल महोत्सवमा नेपाल र नेपाली खोज्दै – Online Khabar

विगत ११ वर्षदेखि अमेरिकाको राजधानी वाशिङ्टन डिसीको रोनाल्ड रेगन भवनमा आयोजना हुँदै गरेको विन्टरनेशनल फेस्टिभलमा जानका लागि ५ डिसेम्वर २०२४ को विहानी सिरेटोको झापड लगाउने स्पर्शलाई आत्मसात गर्दै आफ्नो निवास उत्तरी भर्जिनियाको फल्स चर्चबाट बलस्टोन मेट्रो तर्फ हुइकिएँ । बिहानको १० नाघिसकेकोले विहानी ट्राफिक अलिकति कम भैसकेकोले बाटो होलो नै थियो ।

बलस्टोन मलको पार्किङमा गाडी पार्किङ गरेर मेट्रो रेलमा जानु उपयुक्त हुने मेरो निर्क्यौल थियो । वाशिङटन डिसीमा त्यसै पनि पार्किङ सहज छैन । त्यसमाथि हजारौंको सङ्ख्यामा फेस्टिभलमा सहभागी हुनेहरुको कारण पनि रोनाल्ड रेगन भवनको वरपर पार्किङ गर्न सहज नभएको केही बर्ष अघि यस्तै फेस्टिभलमा जाँदाको अनुभव ताजै थियो ।

बलस्टोन मलमा पुगेपछि देख्छु, पार्टिङको लागि टिकट लिने गेट खुल्ला छ । म पार्किङ गर्ने तल्लामा पुगेर त्यहाँ कार्यरत एक ब्यक्तिलाई सोधें, “पार्किङको लागि टिकट कसरी लिने हो ?”

उसले बतायो,” गाडी पार्किङ गरेर टिकट लिने हो !”

गाडी पार्किङ गरेर टिकट लिने मेसिनमा पुगेर हेर्छु, कति घण्टा पार्किङ गर्ने हो, टिकट पहिल्यै लिनु पर्ने भएछ । मैले दिउँसो साँढे तीन बजेसम्मका लागि ५ घण्टाको लागि टिकट लिएँ, पाँच डलरको ।

पहिला पहिला त कति घण्टा पार्किङ गरेको छ, त्यही अनुसार फर्कने बेलामा पैसा तिर्नु पर्ने ब्यबस्था थियो । तर पहिले नै समय तोकेर अग्रिम टिकट लिंदा ढिलो भयो भने के होला ? मैले कार पार्किङ गर्न आएका एक भलाद्मीलाई सोधें ।

उनले बताए, “फाइन लाग्छ !”

मैले सोचें, यो त स्ट्रिट पार्किङ जस्तै पो भयो त । तर यहाँ पार्किङ शुल्क सस्तो अर्थात् घण्टाको १ डलर भएकोले, एक डलर बढी तिर्दा पनि समस्या हुने भएन । अझ १० डलर तिर्ने हो भने त पूरै दिनका लागि हुँदो रहेछ । यो पार्किङ शुल्क डिसीको स्ट्रिट पार्किङ शुल्कभन्दा धेरै नै सस्तो हो ।

यस्तै सोच्दै म बलस्टोन मेट्रोतिर लागें ।

पार्किङ गरेको तल्लाबाट एक भ-याङ तल ओर्लेपछि मेट्रो स्टेशनसम्म जाने भित्री बाटो भवनै भवनलाई जोड्ने पुलले लैजान्छ । पहिला पहिला पनि यो बाटो हिंडेको हुँ । तर आज निकै पछि, भनौं बर्षौंपछि यो बाटो हिंड्दै थिएँ ।

मेट्रो स्टेशनको भ-याङ पुग्नु अघि देखें, चिरपरिचित टिभोली गोरमेट एण्ड पेस्ट्री दोकान । अहो यो दोकानमा म सन् २००० मा पहिलोपल्ट अमेरिका आएको बेला महिनौं दैनिकजसो नै विहान कफी पिउन पस्थें ।

खासमा म त्यतिबेला वाशिङ्टन डिसीस्थित १५०० मासाच्युसेटस् एवेन्यूमा अवस्थित एपार्टमेण्ट भवनको मित्र वासु गौतमको कोठामा बस्थें । मैले काम गर्ने ठाउँ मक्लिनमा अवस्थित एक फास्ट फूड स्टोर थियो । एपार्टमेण्ट भवनबाट पैदल वाशिङ्टन डिसीको फारागेट वेष्ट मेट्रो स्टेशन जान्थें । त्यहाँबाट मेट्रोमा बलस्टोन मेट्रो स्टेशनमा ओर्लन्थें । अनि त्यहाँबाट ए २३ नम्वरको बसले मैले काम गर्ने स्टोर नजिक पु-याउँथ्यो । तर मेट्रोबाट ओर्लेपछि बस आउन्जेलको समय जाडोको समयमा बस स्टेशनमा जाडो खाएर बस्न सहज हुन्नथ्यो । त्यसैले यही टिभोलीमा पस्थें र यौटा कफी लिएर झ्यालतिरको टेबुलमा बस्थें अनि बस आएको देखेपछि बस चढ्न पुग्थें ।

कतिपय दिन, मेट्रोबाट आउँदा ढिलो हुन्थ्यो र बस आइसकेको हुन्थ्यो । म हतारहतार बस चढ्न दौडन्थें । तर छिटै आइपुग्दा भने डायरीमा कविता लेख्ने, नोट गर्ने अथवा कुनै किताव पढ्ने अवसर हुन्थ्यो।

यो दोकानले मलाई पुराना दिनको सम्झना गरायो । अहो ! त्यो दिन र आज वीच २४ वर्ष लामो अन्तराल बनिसकेको छ ।

*** ***

अब मेट्रोमा सफर गर्नु थियो ।

अचानक मलाई सम्झना भयो, म त वरिष्ठ नागरिक  भैसकें । वरिष्ठ नागरिकका लागि मेट्रो कार्ड निशुल्क उपलब्ध हुने र भाडादर पनि झण्डै आधा सस्तो हुने जानकारी पाएको थिएँ ।

सोचें, पहिला म वरिष्ठ नागरिकको मेट्रो कार्ड बनाउँछु । अनि मैले मेट्रो स्टेशनमा ड्युटीमा रहेकी महिला कर्मचारीलाई सोधें । तिनले माथि सडकको लेवलमा बायाँतर्फ गएर बनाउन सकिने वताइन् । डिसेम्वरको कडा सिरेटो खाँदै दुई भ-याङ ओर्लेर तल पुगिसेको थिएँ । फेरि त्यही कडा सिरेटोको सामना गर्दै दुई भ-याङ माथि उक्लेर तल ओर्लनु दुष्कर लाग्यो र सोचें, फर्कँदा बनाउँला । अहिले मसँग साथमा भएको सामान्य मेट्रो कार्डले नै काम चलाउँछु भनेर त्यसैमा पैसा हालें १० डलर । उता समारोहमा ढिलो किन गर्नु भन्ने पनि छँदै थियो ।

मेट्रो कार्ड प्रयोग गरेर म स्टेशनभित्र प्रवेश गरें ।

यति नै बेला उहिले उहिले आइसकेको रेल नछुटोस् भनेर मास्तिर आइरहेको ईलेभेटर झुक्किएर चढ्न पुग्दै फिर्ता भएर तल ओर्लने ईलेभेटर चढेका हतारका क्षणहरुका सम्झना आँखाभरि मनभरि सल्बलाए ।

मनमनै हाँसो पनि उठ्यो । तर यो सम्झना सुनाउन कोही थिएनन् साथमा ।

मलाई बलस्टोन मेट्रोबाट फेडरल ट्रायङ्गल स्टेशनसम्म पुग्नु थियो । त्यहाँ जाने २ वटा मेट्रो रहेछन् बलस्टोनबाट –अरेञ्ज लाईन र सिल्भर लाईन । अरेन्ज लाईन त म सन् २००० मा आउँदा नै चालु थियो । तर सिल्भर लाइन चाहीं पछि थपिएको हो जुन डलस अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्छ । मैले यो मेट्रो ट्रेन चढेको थिइनँ । तर संयोगबस अहिले त्यही ट्रेन आयो र म भित्र पसें ।

लचकदार सहित आरामदायी, सफा र नयाँ रहेछ रेलको डिब्बा ।

म यौटा सिटमा बसें र चल्न थालेपछि रोकिंदाका स्टेशनहरु हेर्न थालें ।

बलस्टोनबाट भर्जिनिया स्क्वायर, क्लेरेन्डन, अनि कोर्ट हाउस त्यसपछि रोजिलिन आयो । रोजिलिन पछि त रेल पोटोम्याक नदीमुनिबाट वाशिङ्टन डिसीसँग जोडिन्छ । पानीमुनिबाट रेल जाँदा कानमा स्वाँ….आवाज आएको अनुभूति हुन्छ । मेट्रो रेल पोटोम्याक नदीमुनिबाट गइरहँदा मलाई एक “नामी नियात्राकार” ले पोटोम्याक नदीमुनि मेट्रोमा आतङ्कवादीले बम हान्छन् भनेर नदीमाथि हेलिकोप्टरले पहरा दिइरहन्छ भनेर लेखेको उडन्ते विवरण याद आयो ।

त्यसपछि आयो फारागेट नर्थ, फारागेट वेष्ट, म्याकफर्सन स्क्वायर, मेट्रो सेण्टर अनि त आइहाल्यो-फेडरल ट्रायङ्गल । मेरो गन्तब्य ।

मैले अनलाइनमै हेरेर पत्तो पाएको थिएँ, मेट्रो स्टेशनबाट भित्री बाटोबाटै रोनाल्ड रेगन बिल्डिङ पुगिन्छ । म सङ्केत पाटी हेर्दै थिएँ । एक हूल श्वेत महिला पुरुषहरु पनि सङ्गै थिए ।

मैले सोधें, “क्षमा गर्नुहोस्, रोनाल्ड रेगन बिल्डिङ जाने यतैबाट हो कि ?”

यौटी महिलाले भित्तातिर औंल्याई ।

मैले ती महिलाले औंल्याएतिर आँखा लगाएँ, रोनाल्ड रेगन बिल्डिङ जाने सङ्केत पाटी थियो ।

प्रवेशद्वारमा विमान स्थलमा जस्तै कडा सुरक्षा ब्यवस्था थियो । त्यो सुरक्षा द्वारबाट भित्र पसेपछि विन्टरनेशनलको चहलपहल, आवाज, भीडभाड दृष्यमान भयो । महोत्सवस्थल शुरु हुने मुखैमा निःशुल्क चिया, कफीको व्यवस्था रहेछ । चिसोचिसोबाट आएको, कफी चाहीं लि हालुँ जस्तो लाग्यो र विना दूध चिनीको कालो कफी लिएर चुस्की लाउँदै भित्र लागें ।

सबैजसो दूतावासका स्टलहरुमा भीडभाड थियो । कतिपय दूतावासका स्टलमा निःशुल्क खाना बाँडिरहेका थिए । कतिमा कफी र पेष्ट्रीहरु थिए । कतै किनेर खान पाइने ब्यवस्था पनि थियो ।

मलाई सबैभन्दा पहिला नेपालको स्टलको खोजी गर्नु थियो । केही बर्षअघि पहिलोपल्ट यो महोत्सवमा आउँदा नेपालको पनि स्टल भेटेको थिएँ । एकसरो महोत्सवस्थल चक्कर लागिसक्ता पनि नेपालको झण्डा, नेपाली पहिरन, नेपाली दूतावास कतै नदेखेपछि महोत्सवकै लागि खटिएको एक जनालाई सोधें । तिनले हातमा रहेको लिष्ट हेर्दै भने, “नो नेपाल” । मैले पनि लिष्ट हेरें, अक्षरादि क्रमम राखिएको लिष्टमा नेपालको नाम थिएन ।

मैले कहिल्यै नाम नसुनेका सेण्ट किट्स एण्ड नेभिस, कोटे डेलभोयर देश थिए । भियतनाम, श्रीलङ्का, पाकिस्तान, मालदिभ्स, म्यानमार थियो तर नेपाल थिएन ।

अब म विभिन्न देशका परिकार चाख्न, प्रदर्शन गरिएका कला संस्कृतिका बस्तुहरु अवलोकन गर्न, वितरण गरिएका झोला, सामान, पुस्तकहरु ग्रहण गर्न थालें ।

केही बेरमा मूल स्टेजमा बाद्यवादन घन्किन थाल्यो । अनि विभिन्न देशका साँस्कृतिक कार्यक्रमहरु-नृत्य गीत ईत्यादिहरु प्रस्तुत हुन थाले । मलाई विश्वनै एक छिन त्यहाँ एकिकृत भएजस्तो, एकाकार भएजस्तो अनुभव भयो ।

भीड छ, तर सवै अनुशासित छन् । धक्कम धक्का छैन । सबै एक अर्कासँग आँखा जुध्दा मुस्कानमय मुहार वनाउँछन्, पुरुष हुन् वा स्त्री । स्टलमा आआफ्नो देशको चिनारी गराउने खालका पोशाकमा सजिएर वसेका छन् । फोटो खिचाइरहेछन् । कतिपय जिज्ञासुका प्रश्नहरुको जवाफ दिइरहेका छन् ।

यस वर्षको यो महोत्सवलाई अमेरिकाको एक बहुराष्ट्रिय कम्पनी जायण्ट फुड र लिग अफ अरव स्टेटसले प्रायोजन गरेका रहेछन् । अरब राष्ट्रहरुको मण्डपमा अरव राष्ट्रका दूतावासका स्टलहरु थिए र अरु जायण्ट फूडको मण्डपमा थिए । अरव राष्ट्रका राजदूतावासका स्टलहरुमा चहलपहल बढी थियो । खानाका परिकारहरु र उपहारहरु पनि बढी नै थिए ।

अर्जेन्टिनाको स्टलमा फूटवल खेलाडीको जर्सी लगाएको एक पुरष हाँसेर स्वागत गर्दै थियो र एक महिला सानो कपमा फूलको चिया र सानासाना मिठाइको चक्की बाँडिरहेकी थिईन् । मैले भनें,” अर्जेन्टिना भन्ने बित्तिकै मलाई त फूटबलको सम्झना हुन्छ ।“

“हामीसँग फूटवल खेलाडी नै छन् नि” भनेर ती महिलाले तिनै जर्सी लगाउने ब्यक्तिलाई बोलाइन् ।

तिनको नाम कार्लोस रहेछ । भारत बसाईको बेला नेपाल पुगेको । काठमाडौं र पोखरा घुमेको बताए उनले । अनि मौका मिले दूतावास आउनुस्, कफी खाउँला भन्दै आफ्नो फोन नं दिए र मैले पनि मेरो नं दिएँ । यसरी फोन सम्पर्क साटासाट गरेपछि त्यहाँबाट अर्को स्टलमा गएँ ।

त्यहाँ अरवी पोसाक लगाएर फोटो खिचिरहेका रहेछन् । पुरुष स्त्री दुबैको पोसाक रहेछ । जोडी जानेहरु जोडीकै पोसाकमा सजिएर तथा एक्ला एक्लै जानेहरु एक्ला एक्लै अरवी पोशाकमा फोटो खिचिरहेका रहेछन् । रमाईलो त हो, सम्झना हुन्छ भनेर मैले पनि अरवी पोशाक लगाएर फोटो खिचें । केही बर्ष अघि कतारको दोहा विमानस्थलमा अरबी पोशाकमा सजिएका पुरष र स्त्री कलात्मक सोफामा बसिरहेका र पर्यटकहरुले त्यहाँ उनीहरुसँग फोटो खिच्न पाउने रहेछ । अनि त्यहाँ राखिएका खजुर पनि खान पाईने रहेछ । मैले पनि फोटो खिचेको र खजुर खाएको त्यो सम्झना यतिखेर याद भयो ।

यहाँ पनि कतिपय स्टलमा खजुर वितरण भैरहेका थिए । मैले पनि खाएँ । एकदम ताजा र उच्च गुणस्तरका खजुर थिए, बजारमा किन्न सामान्यतया उपलब्ध हुने खजुर भन्दा कता हो कता उत्तम गुणस्तरका र स्वाद पनि बेजोडको !

प्यालेस्टाइनका लेखक लेखिकाका पुस्तकहरु पनि विक्रीका लागि त्यहाँ राखिएको देखें । केही पुस्तक पल्टाएर हेरें, तर किनिनँ । कुनै एन्थोलोजी भेटिएको भए अवश्य किन्ने थिएँ ।

दुई मण्डपको बीच भागमा रहेको सिंढीमा सहभागी मुलुकका राजदूतहरु, राजदूतावासका प्रतिनिधिहरु र आयोजकहरुले सामुहिक तस्विर खिचाइरहेका थिए । मैले पनि त्यो मौकामा तिनको एक सामुहिक फोटो लिने मौका चुकाईंन ।

आगन्तुकहरु आउने र जाने क्रम चलिरहेको थियो । मैले गाडी पार्किङका लागि ३.२० सम्मको टिकट लिएको थिएँ । फर्किंदा एक घण्टासम्म लाग्ने अनुमान गर्दा साँढे दुईसम्ममा त्यहाँबाट प्रस्थान गरिसक्नु पर्छ भन्ने मेरो सोचाई थियो । खासमा भन्ने हो भने अब अलिकति मानिसहरु पातलिइसकेका थिए । कतिपय स्टलका खानेकुरा सकिएका थिए । उपहारहरु पनि सकिएका थिए ।

फेरि एकपल्ट पूरैजसो स्टलहरुमा सरसर्ती एक नजर लगाएर म मेट्रो स्टेशनतिर फर्कन लागें ।

मेट्रो स्टेशनको प्रतीक्षास्थलमा प्रायःजसा सबै त्यहीं महोत्सवमा पुगेर फर्कनेहरु थिए ।

यसपल्ट भियना फेयरफ्याक्स जाने अरेन्ज लाइनको मेट्रो रेल पहिला आयो र त्यसैमा वसें । सम्भवतः अमेरिकामा सवैभन्दा बढी पल्ट मैले चढेको यही अरेन्ज लाइन नै हो । वाशिङ्टन डिसीमा बस्दाको बेला सन् २००० मा झण्डै ५ महिना यही मेट्रो चढें । सन् २००४ मा आर्लिङ्टनको बसाई हुँदा पनि वाशिङ्टन डिसी जान यही अरेन्ज लाईन लिनुपर्थ्यो । फेरि सन् २००६ मा ब्लेक लेन फेरफ्याक्समा घर लिएपछि र गाडी नकिनुन्जेल पनि यही अरेन्ज लाईन मेट्रो जिन्दावाद थियो ।

मेट्रोमा मसँगै यौटी गहुँगोरी महिला थिईन् । तिनी पनि विन्टरनेशनल महोत्सवमै गएर आएकी रहिछन् । उनको हातमा त्यहाँ जायण्ट फूडसले वितरण गरेको झोला र त्यस झोलामा उनले बटुलेका उपहारहरु थिए ।

तिनी कोलम्बियाकी रहिछन् । उनले भनिन्, “कोलम्वियाको स्टल खोज्नै कति सास्ती भो । बल्ल तल्ल भेटें । अलि कुनामा रहेछ । अनि त रमाइलो भैहाल्यो ।“

आफ्नो देशको स्टल, आफ्नो देशको झण्डा, आफ्नो देशको संस्कृति झल्कने कुरा देख्न पाएर र दूतावासका मानिसहरुसँग बोल्न पाएर उनी दङ्ग थिइन् ।

एकातिर उनी आफ्नो देशको स्टलमा पुग्न पाएर दङ्ग थिइन् । अर्कोतिर म भने आफ्नो देशको दूतावासको स्टल त्यहाँ नदेखेर दुःखी थिएँ । पहिला त हुन्थ्यो, यसपाली किन भएन, यसको जवाफ मसँग थिएन । मैले ती महिलालाई यो कुरा भन्न चाहिंन ।

विण्टरनेशनल महोत्सवमा नेपाली दूतावासको उपस्थिति नभेट्नु एक पक्ष थियो भने त्यत्रो हजारौंको सङ्ख्यामा ओइरिएका आगन्तुकहरुमा मैले एकजना पनि नेपाली भेटिंन । यो झन् ताज्जुबलाग्दो कुरा थियो ।

बलस्टोन मेट्रो स्टेशन आएपछि ती कोलम्वियाली अनाम महिलालाई विदाई अभिवादन गर्दै ओर्लिएँ र माथि सडकको लेवलसम्म पुग्न २ भ-याङ एलिभेटर चढें । अचानक मलाई सन् २००४ तिर हुनुपर्छ, झण्डै राती एघार बजे त्यही स्टेशनमा ओर्लेर कोठातिर जाने क्रममा एउटा अधवैंसे पुरुषले त्यो एलिभेटरमा पाइण्टको जीपर खोलेर छ्वालाला पिसाव गरेको सम्झिएँ । पिएर धुत्त थियो वा अर्ध पागल ! नजिकका मानिस हुत्तिएर उभन्दा माथि पुगेका थिए । तर उसले त्यो दुष्कर्म एलिभेटर माथि नपुगुन्जेल जारी राखेको थियो ।

मैले अमेरिकामा यति निर्लज्ज मानिस न त्यसअघि देखेको थिएँ, न पछि नै देखेको छु ।

म बलस्टोन मेट्रोमा पुग्दा सधैं त्यो निर्लज्ज मनुष्यको याद आउँछ । यद्यपि मैले त्यो मानिसको अनुहार देखिंन, तर पक्कै पनि उ नरपशु नै थियो होला ।

माथि सडकको लेवलमा आएपछि वरिष्ठ नागरिकले पाइने “सिनियर मेट्रोट्रिप” कार्ड बनाउने ठाउँ पुगें ।

आफ्नो परिचय पत्र अर्थात् ड्राइभर लाइसेन्स दिए पुग्दो रहेछ । अनि तिनैले फाराम भरेर कार्ड बनाइदिंदा रहेछन् । २ मिनेटमै काम सकियो ।

हातमा कार्ड लिएपछि ती कार्ड बनाउने मेट्रो अफिसकी अश्वेत महिलालाई भनें, “यो कार्ड लिएपछि म साँच्चै वरिष्ठ नागरिक भएँ भन्ने लाग्यो ।“

ती महिलाले हाँस्दै भनिन्, “तिमी त्यस्तो देखिन्नौ । “

मेट्रो कार्ड पर्समा हालें र ती मेट्रो अफिसकी महिलालाई धन्यवाद भन्दै फर्किरहँदा मलाई लाग्यो, तिनले देखिनँ भनेर के गर्नु, उमेर र अङ्कले त म वरिष्ठ नागरिक भैसकें नि !

मलाई एक्कासी यथार्थबोध भयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *