काठमाडौंमा विदेशी नामका विद्यालयले गर्न थाले नेपालीमा नामकरण
१२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र विदेशी नाममा खुलेका विद्यालयहरूले नेपालीमा नामकरण गर्न सुरु गरेका छन् । महानगरपालिकाका अनुसार विभिन्न २२ वटा विद्यालयले नाम परिवर्तन गरेर निवेदन दर्ता गराएका छन् ।
विद्यालयले दाबी गरेको नामावली प्रकाशन गर्दै महानगरपालिकाले ती नामहरूमा दाबी विरोध राख्न आग्रह गरेको छ । महानगरले सूचना जारी गर्दै प्रस्तावित नयाँ नामहरूमा दाबी विरोध भएमा ३५ दिनभित्र निवेदन दिन पनि आग्रह गरेको छ ।
मेयर बालेन शाहले शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुुसार विद्यालयको चिह्न ९लोगो० र नाम राख्न आग्रह गरेका थिए । अन्यथा कानुनी कारबाही गर्ने चेतावनी पनि उनको थियो ।
काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६९ र ७० तथा नियम ७० को उपनियम १ र २ ले विद्यालयको मौलिक नेपाली नाम राख्न र विद्यालयको चिह्न (लोगो) मा एकरुपता ल्याउने सम्बन्धी व्यवस्था गरेको छ ।
कतिपय विद्यालयले नियम पालना नगरेकाले बालेनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत् नियम पालना गर्न आग्रह गरेका थिए ।