‘जीबी ल्याउन खोज्दै थिएँ, सरकार ढल्यो’ – Online Khabar
१२ पुस, पोखरा । सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिहीबार र शुक्रबार गरेर २८ वटा प्रश्न सोधिएका छन् । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा केन्द्रित रहेर बिहीबार ११ प्रश्न सोधिएका थिए । शुक्रबार थप सोधिएका १८ प्रश्नमा पनि उनले अघिल्लो दिनकैजस्तो जवाफ दिए, ‘होइन, छैन ।’
सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामार्फत भएको अपचलनदेखि जीबी राईसँग सम्बन्ध, समूह नै मिलेर गरिएको अपचलन, २७ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरणलगायतका प्रश्न शुक्रबार सोधिएको थियो ।
यसअघि गरिएको बयान र मूख्य तीन मुद्दाकै केन्द्रमा रहेर प्रश्न सोधिएको सरकारी वकिलको कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बताइन् । ‘सबै प्रश्नमा उहाँले होइन, छैन भन्दै इन्कारी बयान दिनुभयो । तर, उहाँको संलग्नता पुष्टि हुने प्रशस्त आधारहरू छन् ।’
सूर्यदर्शन सहकारीबाट टेलिभिजनमा पैसा गएको आफूलाई पछि मात्र थाहा भएको, सहकारीको पैसा लैजान कुनै संलग्नता नरहेको र त्यसको आधार प्रमाण प्रहरीले पनि दिन नसकेको बयान शुक्रबार पनि उनले दोहोर्याए ।
देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासमा अधिकृतले सोधेका प्रश्नहरूमा आफ्नो संलग्नता नै नरहेकाले आफूसँग जवाफ नभएको उनको भनाइ थियो । सूर्यदर्शन सहकारीमा आफ्नो खाता नै नभएको बताएका रविले सूर्यदर्शनमा कुनै ऋण नलिएको उल्टै आफ्नो नाममा गएको भनिएको एक करोड रुपैयाँ किर्ते भएको दलिल पेश गरे ।
कुनै पनि सहकारीमा आफ्नो प्रमाणित खाता, कागजात नभएको र जहाँ जहाँ आफ्नो नाम जोडिएको छ, ती सबै कीर्ते भएको उनको भनाइ रहेको इजलासमा उपस्थित एक अधिवक्ताले बताए ।
गोर्खा मिडियामा क्रिायशील रहँदा समाचारसँग सम्बन्धित पाटो मात्र आफ्नो दायित्वमा रहेको उनले दोहोर्याए । आर्थिक पाटोजति सबै जीबी राईकै निर्देशनमा चल्ने भएकाले कुनै पनि सहकारीबाट गोर्खा मिडियामा पैसा गएकोबारे आफू जानकार नभएको र कहिल्यै पनि सामूहिक निर्णय नभएको रविको दावी थियो ।
गृहमन्त्री हुँदा सहकारी पीडितले जाहेरी दिन जाँदा रोकेको हो कि होइन ? भनेर पनि रविलाई प्रश्न गरिएको थियो । जवाफमा उनले प्रहरी अनुसन्धानलाई आफूले कहिले पनि प्रभावमा नपारेको बरु सहकारीपीडितका समस्या समाधान गर्न कम्मर कसेर लाग्दा सरकार नै ढलेको बताए ।
२७ करोडको सम्पत्ति शुद्धीकरणको प्रश्नमा रविले पटकपटक एउटै पैसा ट्रान्जेक्सन भएका कारणले ठूलो रकम देखिएको बयान दिएको इजलासमा पीडितका तर्फबाट गएका अधिवक्ता युवराज पराजुलीले जानकारी दिए ।
‘मेरो सबै हिसाब किताब खुला किताबजस्तै छ । मैले पार्लियामेन्टमा पनि सम्पत्ति विवरण बुझाएर सार्वजनिक गरेकै छु,’ रविको भनाइ उद्धृत गर्दै पराजुलीले अनलाइनखबरसँग भने, ‘एउटै पैसा दोहोरिएकाले धेरै देखिएको हो, कहीँकतै मैले गैरकानुनी काम गरेको छैन ।’
सहकारीपीडितको समस्या सधैंका निम्ति हल गर्न लागेको व्यक्तिले तिनै सहकारीपीडितको रकम अपचलन गर्न नसक्ने दाबी रविको थियो । ‘सहकारीपीडितको समस्या समाधानका लागि पार्टीको तर्फबाट विज्ञहरूसमेत राखेर कार्ययोजना बनाएर पेश गरेको छु । त्यो कार्ययोजना कार्यान्वयन भएको भए अहिलेसम्म पीडितले न्याय पाइसक्थे,’ रविले बयानमा भने ।
गृहमन्त्री हुँदा जीबीलाई समाउने आफूले सक्दो प्रयास गरेको बयान दिएका उनले जीबीलाई ल्याउन लाग्दा सरकार ढलेको पनि बताए । ‘उन (जीबी)लाई ल्याउन खोज्दै थिएँ । तर, सरकार ढल्यो,’ रविले बयानमा भनेको अधिवक्ता युवराज पराजुलीले सुनाए ।
सहकारीको पैसा कहाँ गयो, कसरी खर्च भयो भन्ने उनैलाई सोध्न पाएको भए खुलस्त हुने थियो भन्दै रविले जीबी कहाँ छन् भनेर पत्ता लगाएर ल्याउने तयारी गरिरहँदा सरकार ढलेको बताएका हुन् ।
सुरुमा रविलाई सोध्न २६ वटा प्रश्न सोध्ने तयारी भएको थियो । पछि दुईवटा प्रश्न थप गरिएको अदालत स्रोतले बतायो ।
गत आइतबार मुद्दा दायर भएपछि सोमबारबाट बयान सुरु भएको हो । अहिलेसम्म नेपाल प्रहरीका पूर्वडिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीवी राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको मुद्दामा लिला पछाइँ र रविको बयान सकिएको छ ।
जीबी साझेदार रहेको नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ, सञ्चालक कृष्णबहादुर गुरुङ, ललितबहादुर गुरुङको बयान लिन बाँकी छ । छवि, रवि र लिलाको बयान लामो भए पनि अब अन्यको हकमा छोटो हुन सक्ने अधिवक्ताहरूको भनाइ छ ।
रवि लामिछानेमाथि सहकारी ठगीमा तीन करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ८४ हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दर्ता भएको छ ।
संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगन्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको पनि संलग्नता देखाएको थियो ।
रवि संलग्न रहेको गोर्खा मिडियामा पोखराको सूर्यदर्शन सहकारीबाट पाँच करोड र अन्य सहकारीबाट गरेर ६५ करोड रूपैयाँ गएको देखिएको भन्दै कारबाहीका लागि समितिले सिफारिस गरेको थियो । रविसहित ६३ जनालाई विपक्षी बनाइएकोमा एकमुष्ठ एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो माग दाबी गर्दै आइबार थप अभियोजन पत्र दर्ता भएको हो ।