#समाचार

जीबीलाई सोध्नु पर्ने प्रश्नको जवाफ म कसरी दिऊँ श्रीमान् ? – Online Khabar

फाइल तस्वीर


११ पुस, पोखरा । सूर्यदर्शन सहकारी ठगीलगायतका अभियोगमा बयान दिन बिहीबार अदालतमा उपस्थित गराइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इजलासमा उभिएर भने, ‘जीबी राईलाई सोध्नुपर्ने प्रश्नको जवाफ म कसरी दिऊँ, श्रीमान् ?’

सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा बयानका लागि लामिछानेलाई बिहीबार कास्की जिल्ला अदालतको इजलासमा उपस्थित गराइएको थियो । अदालत स्रोतका अनुसार रविलाई सोध्नका लागि २६ वटा प्रश्न तयार पारिएका छन् । बिहीबार ११ वटा प्रश्न सोधियो । तिनैमध्येका एक प्रश्नको जवाफ दिँदै यस्तो इन्कारी बयान दिएका हुन् ।

स्रोतका अनुसार स्वास्थ्य अवस्थाबारेको चासोबाट प्रश्नको क्रम सुरु भएको थियो। त्यसपछि सूर्यदर्शन सहकारीमा सेयर सदस्य हो कि होइन ? ऋण लिएर मिलान गरेको हो कि होइन ? सहकारीको पैसा समूह मिलेर गोर्खा मिडियामार्फत अपचलन गरेको हो कि होइन ? संगठित रूपमा जीबी राईसँग संलग्नता हो कि होइनजस्ता प्रश्न उनलाई सोधिए ।

सूर्यदर्शन सहकारीबाट एक करोड रुपैयाँ ऋण लिएको र काटिएको चेकबारे पनि उनलाई प्रश्न सोधिएको एक अधिवक्ताले जानकारी दिए ।

सूर्यदर्शन सहकारी आफूले देख्दा पनि नदेखेको, पाइला पनि नटेकेको, कुनै खाता र सेयर पनि नभएको इन्कारी बयान रविले दिए । सूर्यदर्शनबाट पाँच करोड रुपैयाँ गोर्खा मिडियामा गएको विषयमा पनि उनले इन्कारी बयान नै दिएको इजलासमा उपस्थित एक अधिवक्ताले बताए ।

‘गोर्खा मिडियामा कहाँ–कहाँबाट कसरी पैसा आयो ? कसरी खर्च भयो ? भन्ने गितेन्द्रबाबु –जीबी) राईले दिनुपर्ने प्रश्नको जवाफ मैले कसरी दिऊँ श्रीमान ?,’ रविको प्रतिप्रश्न थियो, ‘लेखा परीक्षण प्रतिवेदनमा सहकारीसँग ऋण लिएको कतै उल्लेख छैन । सबै काम कार्यकारी अध्यक्ष तथा लगानीकर्ता जीबी राईको निर्देशनमा हुन्थ्यो भने कम्पनी कसरी चलेको छ, पैसा कहाँबाट आएको छ भन्ने मलाई कसरी थाहा हुन्छ श्रीमान् ?’

टिभी खोलेका जीबीले कहाँबाट पैसा ल्याए, सहकारीबाट ल्याए कि अन्यत्रैबाट ल्याए भन्ने उनैले जान्ने विषय भएको भन्दै रविले आफू त्यसमा संलग्न नै नभएकाले बारम्बार जिकिर गरे ।

सूर्यदर्शन सहकारीबाट आफूले कुनै ऋण नलिएको, मिलान नगरेको, कुनै चेक पनि नकाटेको र सहकारीको पैसा ल्याउन समूह मिलेर कुनै सहमति, सम्झौता पनि नभएकाले संगठित अपराधको मुद्दा लगाउने आधारसमेत नभएको रविको भनाइ थियो ।

नयाँ पार्टीको घाँटी निमोठ्न तथा आफूलाई फसाएर सिध्याउनकै लागि सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको जवाफ रविले दिएको ती अधिवक्ताले बताए । अदालतमा दायर गरिएका सबै अभियोजन झुठो र असत्य भएको उनको जिकिर थियो ।

उनले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गोर्खा मिडिया नेटवर्कमा संगठित रूपमा समूह बनाई सहकारीको बचत हिनामिना गरी उक्त रकम ल्याई, प्रयोग/धारण गरी सो बापत प्रतिवादी आफैँले दस्तखतसमेत गरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थालाई भुक्तानी दिएको देखिन आएबाट सहकारी ऐनविपरितको कसुर गरेको पुष्टि हुने अभियोजन पत्रमा उल्लेख छ ।

गोर्खा मिडियामा रहेका मदन केसीले गरेको घटना विवरण कागजमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खातामा रकम जम्मा गरेको भनी खुलाएको र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको खातामा एक लाख १२ हजार र दुई लाख २४ हजार मासिक किस्ताबापतको रूपमा जम्मा गर्ने गरेको खुलाएकाले सो तथ्य पुष्टि हुने अभियोजनमा दाबी गरिएको छ ।

लामो अनुसन्धानपछि कास्की प्रहरीले आइतबार मुद्दा दायर गरेकोमा अभियुक्तहरूसँग सोमबारबाट बयान सुरु भएको हो । स्वास्थ्यअवस्थाबारेको जिज्ञासामा रविले आफूमाथि ठूलो ज्यादती भएको, स्वास्थ्य जाँचसम्म गर्न नपाउँदा यो राज्य कुनै व्यक्तिलाई सिध्याउन कसरी लाग्नेरहेछ भन्ने बुझेको भन्दै अहिले ठिकै छ भन्नुको विकल्प नरहेको बताएका थिए ।

सूर्यदर्शन सहकारीलगायत अन्य सहकारी संस्थाहरूबाट रविसहितले खडा गरेको समूहका व्यक्तिहरू परिचालन गरी उक्त व्यक्तिहरूको नाममासमेत ऋण खडा गरी/गराई संगठित रूपमा सहकारीको बचत रकम अपचलन गरेकोसमेत पुष्टि भएको अभियोजन पत्रमा उल्लेख छ । रविसहितले सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम कानुन पालन गर्छु भनी नगरेको देखिँदा पूर्वयोजना र विस्तारीत तयारीका साथ निरन्तर रूपमा आपराधिक गतिविधि गर्ने उद्देश्य रहेको अभियोजनमा उल्लेख छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएर त्यसैका आधारमा तयार पारिएको प्रश्नमा रविले सबै इन्कारी बयान दिएका हुन् । लामिछानेमाथि सहकारी ठगीमा तीन करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ८४ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका रविसहित सातजनालाई बिहीबार अदालत उपस्थित गराइएको थियो । अहिलेसम्म पूर्वडिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जिबी राइसँग मिलेर सहकारीको रकम अपचलन गरेको अभियोगमा लिला पछाइँको बयान भइसकेको छ ।

शुक्रबार पनि निरन्तर रविकै बयान हुने छ । अदालत स्रोतका अनुसार शुक्रबार रविको मात्र बयान हुन सक्ने र त्यसपछि आइतबार फेरि बयानको निरन्तरता हुन सक्ने देखिएको छ । अहिले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्वकोषाध्यक्ष आरती गुरुङ, पूर्वसांसदसमेत रहेकी पूर्वसञ्चालक समिति उपाध्यक्ष मीना गुरुङ र उनकै बाबु तथा पूर्वसञ्चालक सदस्य कृष्णबहादुर गुरुङको बयान हुने क्रममै छ ।

संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगन्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको पनि संलग्नता देखाएको थियो ।

रवि संलग्न रहेको गोर्खा मिडियामा पोखराको सूर्यदर्शन सहकारीबाट पाँच करोड र अन्य सहकारीबाट गरेर ६५ करोड रूपैयाँ गएको देखिएको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।

रविसहित ६३ जनालाई विपक्षी बनाइएकोमा एकमुष्ठ एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो माग दाबी गर्दै आइबार थप अभियोजन पत्र दर्ता भएको हो ।

गत १८ असोज, २०८० मा जीबी राईलगायत १९ जनाको समूहविरुद्ध मूल मुद्दा दायर भएको थियो । पछि पुरक जाहेरी र सहकारी छनबिन गर्न बनेको संसदीय विशेष समितिको सिफारिसको आधारमा थप अयोजन गर्दा गरिएको हो ।

जीबीलाई सोध्नु पर्ने प्रश्नको जवाफ म कसरी दिऊँ श्रीमान् ? – Online Khabar

कुनै समय ‘ओली पनि पार्टी नै हो’

Leave a comment

Your email address will not be published. Required fields are marked *