#समाचार

गुमनाम शिखर धवनहरू – Online Khabar

अंकल ! अंकल ! ढोका खोल्नु न ।

यो चिरपरिचित आवाज छिमेकीको छोरो निसमको थियो । निसमको घरमा अहिले बेग्लै रौनक छ ।

निसमको दादा सिसम नेपाल प्रिमियर लिग (एनपीएल) खेल्दैछ । केही वर्षदेखि लगातार नेपालको राष्ट्रिय टिममा पर्दै आएका सिसमलाई एनपीएलको एउटा टिमले मार्की खेलाडीको रूपमा भित्र्याएको छ । मार्की खेलाडीहरूले आफू खेल्ने टीमबाट पारिश्रमिकको रूपमा २० लाख रुपैयाँ पाएका छन् ।

निसम र सिसमका बा–आमालाई अहिले बधाई थाप्न भ्याई–नभ्याई छ । उनीहरूले आफ्नो एक तलाको घरमा अहिले अर्को तला पनि थप्दैछन् । यसका साथै उनीहरूले यो सिजनको खेलपछि सिसमको बिहे गरिदिने योजना पनि बनाएका छन् । अस्ति सिसमका बुवाले ‘पूरणदेवजी, सिसमको बिहे गरिदिने सोच बनाएको छु, लायकको कुनै केटी तपाईंको नजरमा छ भने भन्नुहोला है’ पनि भनेका छन् । यो सबै कुरा पूरणदेवको मनमा ढोकासम्म पुग्दा खेलिरहेको थियो ।

पूरणदेव मिश्रले गएर ढोका खोले । निसमको मुहारमा बेग्लै चमक थियो । उसले सिसमको टीमको जर्सी लगाएको थियो । बैठक कोठामा सबै भएको ठाउँतिर गएर उसले आफू आउनुको उद्देश्य बारे भन्यो ।
‘आज हाम्रो घरमा शिखर धवन खाना खान आएका छन् । दादा पनि सँगै हुनुहुन्छ । भीडभाड धेरै हुनसक्छ भनेर वरपर कसैलाई नभन्न भनेका थिए । तर दादाले भुवन दाइलाई बोलाउन भन्नुभयो ।’

भुवन पूरणदेवको एक मात्र छोरा हुन् । उनी क्रिकेट खेलका एक पारखी पनि हुन् । अहिले पनि उनी भारत र नेपालको कुनै अन्तर्राष्ट्रिय खेल भ्याएसम्म हेर्न छुटाउँदैनन् । कुनै समय उनी आफू पढ्ने विद्यालय र कलेजका सबैभन्दा भरपर्दा खेलाडी थिए ।

६ फिटका लक्का जवान भुवन ब्याटिङ र बलिङ दुवैमा उत्तिकै माहिर थिए । ब्याटिङमा नजमेको दिन बलिङबाट चमत्कार गर्थे र बलिङमा नचलेको दिन ब्याटिङबाट । कहिलेकाहीं त बलिङ र ब्याटिङ दुवैतिरबाट आफ्नो टिमको उत्कृष्ट प्रदर्शन उनकै रहन्थ्यो । प्लस टु पढ्दादेखि नै उनले क्रिकेट खेलबाटै यस्तो प्रसिद्धि कमाएका थिए कि नजिकका जिल्लाहरूमा र सीमावर्ती भारतका नजिकका बजारहरूमा हुने ठूला–ठूला क्रिकेट प्रतियोगिताहरूमा आमन्त्रित खेलाडीको रूपमा खेल्न बोलाइन्थे । उनी पनि मिलेसम्म प्रतियोगिताहरू खेल्ने गर्थे । उनका क्रिकेट खेल्ने साथीहरूले उनलाई हाम्रो टोलको पारस खड्का भन्थे । तर उनको मन पर्ने खेलाडी चाहिं आज निसम र सिसमको घरमा खाना खान आइपुगेका शिखर धवन थिए ।

शिखर धवनका फ्यान भुवन धेरै पहिलेदेखि थिए । उनले सर्वप्रथम शिखर धवनका बारेमा सन् २०१३ मा धवनले आफ्नो पहिलो टेस्ट खेल खेल्दा थाहा पाएका थिए । आफ्नो पहिलो खेलमै धवनले विस्फोटक ब्याटिङ गर्दै ८५ बलमै शतक प्रहार गरेका थिए । पहिलो खेलमा सबैभन्दा कम बलमा शतक प्रहार गर्नेमा धवनको नाम अझै पनि पहिलो नम्बरमै छ । त्यसपछि २०१३ मै इङ्गल्यान्डमा भएको च्याम्पियन्स ट्रफीमा धवनको ब्याटिङले तहल्का नै मच्चाएको थियो । अर्का विस्फोटक ब्याट्सम्यान रोहित शर्मासँग पहिलो नम्बरमा ब्याटिङ गर्न आएका धवनले लगभग सबै खेलमा उत्कृष्ट ब्याटिङ गरेका थिए । प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका धवनकै ब्याटिङले गर्दा भारतलाई उपाधि जित्न सजिलो भएको थियो ।

त्यसपश्चात पनि शिखर धवनले २०१५ को विश्वकप लगायत अन्य प्रतियोगिताहरूमा भारतलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । धवनका यी पारीहरूले भुवनको मनमस्तिष्कमा राम्रै छाप छाडेको थियो । शिखर धवन जस्तै बायाँ हातले ब्याटिङ गर्ने भुवनले आफ्नो आदर्श खेलाडीका रूपमा शिखर धवनलाई चिनाउन थाले । त्यति मात्रै होइन; भुवन, धवनले गरे जस्तै ब्याटिङ नगरिरहेको बेला गोलो ह्याट लगाउँथे साथै बलिङ या फिल्डिङ गरिरहँदा विकेट वा क्याच लिएपछि धवनले गरे जस्तै तिघ्रामा हात पड्काएर दर्शकतर्फ हेर्दै खुसियाली मनाउँथे । भुवन धेरै नै राम्रो क्रिकेट खेल्ने भएकोले उनका यी हाउभाउहरू पनि सबैले मन पराउँथे ।

पूरणदेवको आवाज भारी भएको थियो । कताकता उनका आँखा पनि रसाएका थिए । सायद उनमा आफूले छोरासँग अन्याय गरेको कुरा महसुस हुँदैथियो । सायद उनी सोच्दा हुन्– मैले त्यस दिन छोरालाई गाली नगरेको भए सायद आज शिखर धवनसँग खेलिरहेको हुन्थ्यो । तर अब खोलो धेरै बगिसकेको छ । त्यो अब फर्किंदैन । र यो कुरा पूरणदेवलाई राम्ररी थाहा छ

भुवन शिखर धवनबाट यति प्रभावित थिए कि उनी क्रिकेट खेल्ने आफ्ना साथीभाइमाझ भारतीय क्रिकेट टिममा सबैभन्दा राम्रो खेलेर पनि त्यस अनुसारको जस नपाएको खेलाडीको रूपमा शिखर धवनलाई चित्रित गर्थे ।

कुरा भुवन १२ मा पढ्दाखेरिको हो । भुवनको कक्षा १२ को बोर्ड परीक्षा चल्दै थियो । त्यति नै बेला सीमावर्ती भारतको एउटा ठूलो बजारमा क्षेत्रीयस्तरको क्रिकेट टुर्नामेन्ट हुँदै थियो । बोर्ड परीक्षा सुरु हुनुभन्दा पहिले त्यही आयोजकको निमन्त्रणामा उनीहरूको टोलीबाट भुवनले दुई–तीन वटा खेलहरू खेलेका थिए । खेलहरूमा राम्रो प्रदर्शन गरेका भुवनले एउटा खेलमा उत्कृष्ट खेलाडीको उपाधि पनि जितेका थिए ।

लगत्तै परीक्षा सुरु भइसकेकोले त्यसपछिका खेलहरूमा भुवनले आफ्नो उपस्थिति जनाउन सकेका थिएनन् । चल्दै गरेको टुर्नामेन्ट अन्तिम चरणमा पुगेको थियो । भोलिको दिन त्यस टुर्नामेन्टको फाइनल खेल थियो । फाइनल खेल खेल्ने दुई टोलीमध्ये एक भुवनले दुई खेल खेलेको टोली पनि थियो । उनीहरूले भुवनलाई सम्पर्क गरेर भोलिको फाइनल खेल जसरी पनि खेल्न आइदिनुहुन आग्रह गरे । उनीहरूले भुवनलाई भोलिको खेलपछि विजेतालाई ट्रफी र प्रमाणपत्र हस्तान्तरण गर्न शिखर धवन आउन लागेको पनि जानकारी गराए ।

शिखर धवनको नाम सुनेपछि भुवन कसरी हुन्छ भोलिको फाइनल खेल जसरी पनि खेल्नुपर्छ भन्ने मनसायमा पुगे । भुवनको एउटा परीक्षा आज थियो भने अर्को परीक्षा दुई दिनको अन्तरालपछि थियो । त्यसैकारण भुवन भोलिको दिनको खेल खेलेर पनि परीक्षाको तयारी पूरा गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगे । भुवन पढाइमा अब्बल थिए र उनलाई यी कुराहरू सँगै व्यवस्थापन गर्न सकिन्छ भन्नेमा कुनै शङ्का थिएन ।

उनले यी कुराहरू आफ्नी आमालाई बताए तर बालाई यस सम्बन्धी जानकारी दिएनन् । भुवनका बा खासै क्रिकेटमा रुचि राख्दैनथे र छोरोले पनि पढाइमा बढी समय खर्च गरोस् भन्ने चाहन्थे ।

फाइनल खेलको दिन बा आफ्नो अफिस गइसकेपछि भुवन खाना खाएर साइकल लिएर फाइनल खेल खेल्नका लागि निस्के । उनले आफूसँगै साइकलमा निसमका दादा सिसमलाई पनि बसाले । त्यतिबेला सिसम बल्ल १२–१३ वर्षका थिए र भुवनको पछि लागेर अलिअलि क्रिकेट खेल्न थालेका थिए ।

भुवन खेल मैदान पुगे । दुई फाइनल खेल खेल्ने टोली बीच गज्जबको प्रतिस्पर्धात्मक खेल भयो । पहिलो बलिङ गरेको भुवनको टोलीले कसिलो बलिङ गरेर हासिल गर्न सकिने योगमा विपक्षी टोलीलाई रोक्यो । यद्यपि भुवन बलिङमा खासै चम्किन सकेनन् । तर ब्याटिङमा ओपनिङ गर्न आएका भुवनले उत्कृष्ट प्रदर्शन गरे । भुवनको टोलीले तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । भुवनले खेलको अन्तिमसम्मै अविजित रहँदै अर्थशतक प्रहार गरे । खेल सकिनेतिर मैदानमा शिखर धवन आइपुगेका थिए । उनको प्रवेश साथै मैदानमा गुन्जिएको तालीको वर्षाले छुट्टै माहोल बनाएको थियो । त्यतिबेलासम्म अझै ब्याटिङ गरिरहेका भुवनले दुईवटा छक्का शिखर धवन बसेतिर हिर्काए । भुवनको टोलीले विना कुनै परेशानी खेल जित्यो । भुवनले फेरि खेलको उत्कृष्ट खेलाडीको पुरस्कार शिखर धवनबाट प्राप्त गरे ।

यो भुवनको लागि कुनै दिवा सपना भन्दा कम्ती थिएन । उनी मानौं आकाशमा उडिरहेका थिए । शिखर धवनको नजिक गएर उनले आफू ठूलै फ्यान भएको जानकारी दिए र आफूले लगाएको टिमको जर्सी फुकालेर त्यसमा शिखर धवनको अटोग्राफ पनि लिए । चंगा मन सहित साइकलमा सिसमलाई बसालेर भुवन घर आइपुगे ।

घर आइपुग्दा साँझको ७ बजेको थियो बाटोभरि भुवनलाई बाबा आइसकेकोले घरमा गाली पक्कै खाइन्छ भन्ने हेक्का भइसकेको थियो । घर पुग्दा माहोल बेग्लै थियो । भुवनका बा ढोकामै उनको प्रतीक्षा गरिरहेका थिए । ढोकामा पुग्नासाथ भुवनका बाले उनीमाथि गाली बर्साउन थाले ।

‘एक्लो छोरो ठूलो भएर बिंडो थाम्छ, घर चलाउन मद्दत गर्छ भनेको त यसले केही नगर्ने भयो । मर्दासम्म त मैले पाल्छु होला त्यसपछि यसको के होला ! बोर्ड परीक्षाको बीचमा पनि दिनभरि गायब रहेर बल्ल घर आइपुगेको छ । यो पाराले त यसले १२ कक्षा पनि पार लगाउँदैन’ आदि इत्यादि ।

प्रायःजसो चर्को आवाजमै बोल्ने भुवनका बाले यति भनिसक्दा सँगै घर भएका छरछिमेकहरू पनि भेला भइसकेका थिए । सिसमकी आमा बाहिर आएर छोरालाई भित्र लिएर गइन् । भुवन शिर निहुराएर त्यहीं उभिइरहे । एकछिनपछि भुवनकी आमा बाहिर आएर उनलाई भित्र लगिन् । भित्र गएर भुवन रुन थाले । आमाले जति सम्झाउँदा पनि ऊ चुप हुन सकेको थिएन । भुवनले रुँदै–रुँदै अब आफू कहिल्यै क्रिकेट नखेल्ने भनेर प्रण गरे ।

त्रिवि मैदानमा एनपीएलमा ब्याटिङ गर्दै भारतीय क्रिकेटर शिखर धवन ।

‘अब म जागिर नखाँदासम्म क्रिकेट खेल्न त के टिभीमा क्रिकेट हेर्दिनँ’ रुँदारुँदै भुवनले बोलेको शब्द थियो, यो । भुवनकी आमाले सम्झाउन कोसिस गरिन् तर भुवनले त्यही वाक्य दोहोर्‍याइरहे ।

आजको दिनसम्म आइपुग्दा भुवनले ती वाक्यहरू बोलेको लगभग आठ वर्ष पुगिसकेछ । त्यसयता उसले लोकसेवामा नाम निकालेर नायब सुब्बाको जागिर खायो । बाआमाले मन पराएकी केटीसँग बिहे गर्‍यो । अहिले उसको ६ वर्षको छोरो छ । तर क्रिकेट कहिल्यै खेलेन ।

यता सिसमले क्रिकेट खेल्नमा आफूलाई समर्पित गर्‍यो । सिसमका बा उसलाई लिएर भिन्न–भिन्न टुर्नामेन्टहरू खेल्न पुगिरहेका हुन्थे ।

निसम र सिसमका बाले छोराहरूलाई बेला–बेलामा, ‘पढेर जागिर नै खानुपर्छ भन्ने छैन । कुनै एउटा क्षेत्रमा आफूलाई काबिल बनाउनुपर्छ चाहे त्यो क्रिकेट नै किन नहोस्’ भनेर सम्झाइरहेका हुन्थे ।

पढाइलाई सँगसँगै लगिरहेका सिसमले आफ्नो भविष्य क्रिकेटमै खोज्यो । जिल्लास्तरीय, क्षेत्रीय खेलहरू खेल्दै सिसम राष्ट्रिय टोलीसम्म पुग्यो । र आज मार्की खेलाडीको रूपमा आफ्नो टिमको प्रतिनिधित्व गर्दैछ । र विश्वमै कहलिएका शिखर धवनसँगै क्रिकेट खेल्दैछ ।

यता भुवनले जागिर खाएपछि टिभीमा प्रसारित क्रिकेटका खेलहरू हेर्न थाले पनि उसले क्रिकेट खेल्न भने चटक्कै छाडेको थियो । यो बीचमा सायदै उसले क्रिकेट ब्याट पनि समातेको होला । धेरैजसो क्रिकेट खेल्ने सामग्रीहरू उसले सिसमलाई दियो । आफूले मनपर्ने एउटा ब्याट भने अझै आफूसँग राखेको छ । शिखर धवनले अटोग्राफ दिएको भुवनको जर्सी अझै भुवनको कोठामा झुन्डिरहेको छ ।

त्यही शिखर धवन आज आफूले क्रिकेट खेल्न सिकाएका भाइको घरमा आइपुगेकोमा भुवन अत्यन्तै खुसी छ । तर ऊ भेट्न जान सक्ने अवस्थामा भने पक्कै छैन ।

उसले निसमतर्फ हेर्दै भन्यो, ‘भाइ म त जान्नँ, सिसमलाई म केही बेरमा फोन गरौंला ।’

यो सुनिरहेका पूरणदेवले छोरोतिर फर्केर, ‘जा न त, तेरो मनपर्ने खेलाडी हो । भेटेर आइज ।’

भुवनले नाइँको भाव सहित मुन्टो हल्लायो ।

यो भनिरहँदा पूरणदेवको आवाज भारी भएको थियो । कताकता उनका आँखा पनि रसाएका थिए । सायद उनमा आफूले छोरासँग अन्याय गरेको कुरा महसुस हुँदैथियो । सायद उनी सोच्दा हुन्– मैले त्यस दिन छोरालाई गाली नगरेको भए सायद आज शिखर धवनसँग खेलिरहेको हुन्थ्यो । तर अब खोलो धेरै बगिसकेको छ । त्यो अब फर्किंदैन । र यो कुरा पूरणदेवलाई राम्ररी थाहा छ ।

उनी छोरालाई कर गर्ने अवस्थामा पनि छैनन् । उनलाई मनमनै आत्मग्लानि हुँदैछ । उनले जसरी पनि आफूले गरेको गल्ती थोरै भए पनि सुधार्न चाहन्छन् ।

उनी भुवनकी श्रीमती भएतिर फर्केर हेर्दै भन्छन्, ‘नानी, भुवनको कोठामा भएको त्यो जर्सी लिएर आउ त !’

भुवनकी श्रीमती जर्सी लिएर आउँछिन् र पूरणदेव भएतिर अघि सार्छिन् । जर्सी हातमा लिएर नजिकै ओछ्यानमा बसेर भोलिको कक्षाको लागि गृहकार्य गरिरहेका भुवनका छोरालाई ‘बाबु यता आउ त’ भनेर बोलाउँछन् ।

त्यो जर्सी भुवनको छोराको हातमा राख्दै पूरणदेव निसमतिर हेर्दै भन्छन्, ‘यो देशको लागि भुवनले खेल्न सकेन त के भयो, अब यो देशको लागि शिखरले खेल्छ । तिमी शिखरलाई लिएर जाउ र यसै जर्सीमा फेरि शिखर धवनलाई अर्को अटोग्राफ दिन भन । उनले पक्कै मान्नेछन् ।’

यो भनिरहँदा पूरणदेवको गला झनै भारी महसुस भयो । उनी छोरो भएतिर अगाडि बढे । भुवनका आँखा पनि रसाएका महसुस हुन्थे । नभन्दै उनका आँखाबाट बरर्र आँसु झर्न थाल्यो । भुवन पनि बातिर अगाडि बढे । दुवैले एकअर्काको आँसु पुछे र जोडले अङ्कमाल गरे ।

सबै हेरिरहेकी भुवनकी आमा र श्रीमतीका आँखा पनि रसाइसकेका थिए । तर निसमलाई यो सब के भइरहेको छ अत्तोपत्तो थिएन । उनी शिखरको हात समात्दै ढोकाबाट निस्केर आफ्नो घरतिर लागे ।
भुवनले आफ्ना छोराको नाम शिखर राखेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *