जेम्सले जित्यो दोस्रो थन्डरबोल्ट्स कपको उपाधि – Online Khabar
९ पुस, काठमाडौं । दोस्रो थन्डरबोल्ट्स कप २०२४ को उपाधि जेम्स स्कुलले जितेको छ । मंगलबार भएको अन्तिम प्रतिस्पर्धाको नतिजामा कुल ४८ अंक जोड्दै जेम्स च्याम्पियन बनेको हो ।
त्यस्तै एभीएम स्कुलले दोस्रो तथा नेपाल पुलिस क्लबले तेस्रो स्थान हात पारे । दुबै स्कुलले समान २३ अंक प्राप्त गरेको भएपनि वढी स्वर्ण पदक जितेको आधारमा एभीएम दोस्रो स्थानमा रहन सफल भयो ।
एघार खेल, २८ विधा र त्यस अन्तर्गतका विभिन्न प्रतिस्पर्धाबाट सबैभन्दा बढी अंक प्राप्त गरेको जेम्सले च्याम्पियन्स कपसहित ५ लाख नगद प्राप्त गर्यो । पहिलो संस्करणमा पनि जेम्स स्कुल नै च्याम्पियन बनेको थियो ।
एघार दिन लामो चलेको प्रतियोगितामा उपत्यका भित्र र बाहिरका गरी १ सय ४० भन्दा बढी स्कुल र ४ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताहरुलाई प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले विजेता छात्र–छात्रा, विजेता टिम र विजेता स्कुललाई मेडल तथा ट्रफी प्रदान गरे ।
आयोजक स्कुलका तर्फबाट खेलकुद निर्देशक सौरभ सिंहले आउँदा वर्षमा देशव्यापी रुपमा अझ धेरै विद्यालयहरुको सहभागिता रहने गरी आउँदो वर्षको प्रतियोगिता अझ ठूलो रुपमा आयोजना गर्ने बताए ।