फुटबलर्स मिसन टुगेदर र ब्लुक्रस अस्पताल बिच सम्झौता
९ पुस, काठमाडौं । फुटबलर्स मिसन टुगेदर र ब्लुक्रस अस्पताल बिच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धी ५ वर्षका लागि सम्झौता भएको छ ।
फुटबलर्स मिसन टुगेदरका वरिष्ठ उपाध्यक्ष भिक्टर जे.बि. राणा र ब्लुक्रस कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार फुटबलर्स मिसन टुगेदरमा आवद्ध पूर्व फुटबल खेलाडी, प्रशिक्षक, रेफ्री, अफिसियल तथा उनीहरूको परिवारले स्वास्थ्य परिक्षण, ल्याव टेष्ट, दुर्घटना भई उपचार (स्वास्थ्य उपचार) गराउँदा २० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
यस्तै अस्पतालले मिसन टुगेदरले गर्ने प्रतियोगितामा नि:शुल्क एम्बुलेन्स र चिकित्सकीय सेवा प्रदान गर्नेछ । मेजर र माइनर अपरेसन गर्दा समेत विशेष छुट दिने व्यवस्था सम्झौतामा उल्लेख छ ।
टुगेदरका वरिष्ठ उपाध्यक्ष राणाले प्रस्तावलाई स्वीकार गरि खेलाडीलाई सम्मान व्यक्त गरेकोमा अस्पताल व्यवस्थापन प्रति धन्यवाद व्यक्त गरे । यसैगरी अस्पतालका व्यवस्थापन समितिका सदस्य श्रेष्ठले सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।
सो अवसरमा मिसन टुगेदरका महासचिव धिरेन्द्र प्रधान, कोषाध्यक्ष वसन्त लामा, पूर्व अन्तर्राष्ट्रिय महिला तथा पुरुष खेलाडीहरुको उपस्थिति थियो । अस्पतालको तर्फबाट व्यवस्थापन समितिका प्रशासन र वित्त विभागका निर्देशक सति गौतम सिंह लगायत अस्पताल व्यवस्थापनको उच्च व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।
फुटबलर्स मिसन टुगेदर पूर्व अन्तर्राष्ट्रिय फुटबलरहरु सम्मिलित गैर नाफा मुलक संस्था हो ।
यसले फुटबल खेलमा आफ्नो जीवनको उत्कृष्ट समय राष्ट्रको लागि समर्पित गर्दै आफ्नो अनुभवलाई जीवन्त राख्दै आउने पिढींलाई उत्साहित र फुटबलप्रति आर्कषित गराउने उद्धेश्यका साथ काम गर्दै आएको छ ।
साथै यस संस्थाले फुटबलको माध्यमबाट खेलाडीहरुले राष्ट्रलाई पुर्याएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै यस क्षेत्रमा सक्रिय रहिरहनको लागि थप उर्जा प्रदान गर्ने हेतुले अवकाश लिएर बसिरहेका पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरुको हक हित संरक्षण गर्दै फुटबल खेलको विकासमा सहयोग गर्दै आइरहेको छ ।