त्रिवि मैदानमा क्रिकेट भइरहन्छ, केन्द्रीय क्याम्पसको मर्का अर्कै छ
७ पुस, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण २२ दिनसम्म चल्यो । दशौं हजार खेलप्रेमीले त्रिवि मैदान गुल्जार बन्यो । यसअघि पनि सोही मैदानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू भए, फेरि हुनेछन् पनि ।
तर, अहिलेको जस्तो दर्शकको क्रेज यसअघि थिएन। यतिसम्म कि रुखको टुप्पो र पिल्लरमा चढेरसमेत खेलप्रेमीहरू क्रिकेट हेर्न तयार भए। व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे पर्यो ।
यसरी कार्यालय समयमा त्रिवि मैदानमा क्रिकेटको उत्सव चलिरहँदा यसको प्रत्यक्ष असर भने त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा परेको प्राध्यापकहरूको गुनासो छ।
‘विद्यार्थी कक्षामै आएनन्। अध्ययन, अध्यापन, अनुसन्धान लगायतका काम प्रभावित बन्यो। ‘भौतिकशास्त्रको दुई वटा समूहमा १२० जना विद्यार्थी छन्। क्रिकेट म्याच ३५ जना मात्र पढ्न आए। मर्ज गरेर पढाउनु पर्यो,’ उपप्राध्यापक राजेन्द्र कोइरालाले भने, ‘कक्षामा हुनुपर्ने विद्यार्थी क्रिकेट मैदानमा भए ।’
क्रिकेट हेर्न पुगेका दर्शक जोडजोडले कराउँदाको ध्वनि कक्षा कोठामा पुग्यो। ‘ओहो ! दर्शक कराएको आवाजले कक्षामा हाम्रो आवाजै हरायो। क्रिकेट प्रतियोगिता राम्रो हो । तर पढाइ प्रभावित भयो। यसको व्यवस्थापन कसरी गर्ने ?,’ उनले प्रश्न गरे।
क्रिकेट मैदान नजिकै विद्यार्थीको छात्रावास र प्राध्यापकहरूको ‘क्वाटर’ छ । तर यति ठूलो प्रतियोगितामा शौचालय थिएन । हजारौं दर्शकले खुला ठाउँमा शौच गर्दा दुर्गन्ध छात्रावास र क्वाटरमा छिरेको प्राध्यापकहरू बताउँछन्।
‘यसअघि खेल हुँदा थोरै दर्शक हुने गरेको थियो । हल्ला पनि कम आउँथ्यो । यसपटक हल्लासँगै धुलो र शौचको हरक आयो। छात्रावास नजिकै क्रिकेटको काउन्टर राखिएको थियो। बल्लबल्ल अलि तल सारियो,’ केन्द्रीय क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र राईले भने, ‘खेल सकियो आयोजक हिंडे । फोहोर प्रिन्सिपल कार्यालयले उठाउनुपर्छ।’
गाडी र बाइक पार्किङ अव्यवस्थित बन्यो। पार्किङकै विषयलाई लिएर विद्यार्थीले प्रिन्सिपल कार्यालयमा ताला लगाएका छन् । स्ववियुका केही पदाधिकारीले पार्किङबाट शुल्क उठाएको आरोप लागेको छ ।
तर, स्ववियुका पदाधिकारी भने स्ववियुले शुल्क नउठाएको प्रतिक्रिया दिइरहेका छन् । यसको असर भने प्रिन्सिपल कार्यालयमा पर्यो। ‘पार्किङको विषयलाई लिएर ताला लागेको छ । मुख्य कारण क्रिकेट हो,’ प्रिन्सिपल राईले भने ।
क्रिकेट प्रतियोगिता हुँदा आफ्नो कार्यक्षेत्रमा जानसमेत नपाएको प्राध्यापकहरूले गुनासो गरेका छन् । ‘त्रिवि गेटबाटै प्रहरीले हामीलाई भित्र छिर्न दिएन। कार्ड देखाउँदा पनि सहज रूपमा छिर्न पाइएन,’ उपप्राध्यापक कोइरालाले भने, ‘कता कताबाट घुमेर क्याम्पसमा छिर्नुपर्यो । शनिबार पनि अनुसन्धानको काम हुन्छ। प्रहरीले शनिबार केको अनुसन्धान भनेर अवरोध गरे ।’ प्रतियोगिता हुँदासम्म समयमा हाजिर गर्नसमेत नपाएको उनले गुनासो गरे ।
मैदान सार्ने कि क्याम्पस ?
त्रिवि मैदानमा खेल चलिरहँदा केन्द्रीय क्याम्पसको कार्यालयमा भने मैदान सार्ने कि क्याम्पस सार्ने भन्नेमा बहस चलिरहेको थियो। मैदान र विश्वविद्यालय एकै ठाउँमा हुँदा पठनपाठन प्रभावित हुने निष्कर्ष निकाल्दै प्रिन्सिपल कार्यालयले व्यवस्थापन गर्न नेपाल क्रिकेट संघ (क्यान) र त्रिविकै रजिस्ट्रार कार्यालयलाई पत्र पठाएको छ ।
‘क्रिकेट खेलको विरुद्ध छैनौं । खेल हुनु गौरवको कुरा हो । तर, विश्वविद्यालय भित्रै खेल हुँदा के हुन्छ ? यसको व्यवस्थापन गर्न क्यान र रजिस्ट्रार कार्यालयलाई पत्र पठाएका छौँ,’ प्रिन्सिपल राईले भने।
विश्वविद्यालय वा खेल मैदानमध्ये एउटा मात्र बनाउनुपर्ने उनको मत छ । ‘यहाँ क्रिकेट धान्ने स्थिति छैन । पठनपाठन हुने ठाउँमा लामो खेल हुँदा के हुन्छ ? कि विश्वविद्यालय यहाँबाट उठाएर मैदान मात्र बनाउनुपर्छ, नभए मैदान र विश्वविद्यालय एकैठाउँमा धान्न सकिंदैन,’ उनले भने ।
यता, केन्द्रीय क्याम्पसका प्रोक्टरसमेत रहेका उपप्राध्यापक राजेन्द्र कोइराला पनि प्रिन्सिपल राईको तर्कमा सहमत छन् ।
‘खेल प्रतियोगिता हुनु गौरवको कुरा हो । तर विश्वविद्यालयभित्र क्रिकेट रंगशाला उपयुक्त हो त ?,’ उनी प्रश्न गर्छन्। एनपीएल, आइसीसी विश्वकप, एसिया कप, महिला पुरुष दुबैको खेल हुन्छ। यसरी वर्षैभर प्रतियोगिता हुन्छ । हजारौं दर्शक हुन्छन्। पठनपाठन कसरी चलाउने ?’
त्रिवि सिनेटमा बहस
प्रतियोगिता चलिरहेको समयमै त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान भएको छ। सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि बोलपत्र आह्वान गरेको हो ।
यसमा केन्द्रीय क्याम्पसका प्राध्यापकहरू सन्तुष्ट छैनन् । त्यसैले यो विषय त्रिविको सभामा प्रवेश गरेको छ । आइतबार सिंहदरबारमा बसेको त्रिवि सभामा प्राध्यापक संघले खेलका कारण पठनपाठन प्रभावित भएको विषय प्रवेश गराएको थियो।
‘विश्वविद्यालयभित्र अन्तर्राष्ट्रिय मैदान बनाउँदा पठनपाठन प्रभावित हुन्छ । यसमा कुलपतिको कुरा के हो भनेर राखेका छौं,’ त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकालले अनलाइनखबरसँग भने, ‘अध्ययन नगरी विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मैदान बनाउनु हुँदैन।’