चार नेपाली संगीतकर्मी जसलाई सन् २०२४ मा युट्युबमा धेरै पटक हेरियो
काठमाडौं । सन् २०२४ नेपाली संगीतका लागि उत्साहप्रद रह्यो । यस वर्ष तीन गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ हुन सफल रहे, जसमा फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ डेढ महिनासम्म ट्रेन्डिङमा रह्यो ।
सुशान्त केसीको ‘बार्दली’ र बाबुकृष्ण परियार’को ‘कश्मीरे पछ्यौरी’ पनि ग्लोबल ट्रेन्डिङमा रहे । एकदेव लिम्बूको ‘झिमझिमाउने आँखा’ युट्युबको चार्टबस्टरमा त पर्यो तर ग्लोबल ट्रेन्डिङमा पर्न सकेन । यसले नेपाली संगीत विश्वव्यापी भइरहेको छ भन्ने कुराको संकेत गर्छ ।
सन् २०२४ मा कुन नेपाली संगीतकर्मीलाई युट्युबमा धेरै हेरियो भन्ने कुराको चर्चा गरौं । युट्युब चार्ट्समा नेपाल राखेर ‘कस्टम सर्च’ गर्दा केही तथ्य बाहिर आउँछन् जसले नेपालभित्र र बाहिर कुन संगीतकर्मीलाई प्लाटफर्ममा धेरै हेरियो भन्ने कुराको संकेत गर्छ ।
१७ डिसेम्बर २०२३ देखि १७ डिसेम्बर २०२४ सम्मको युट्युब चार्ट्सको अपडेटअनुसार नेपालभित्र धेरै सुनिने संगीतकर्मीमा भारतीय कलाकारको दबदबा छ । शीर्षस्थानमा अरिजित सिंह, दोस्रोमा अल्का याग्निक, तेस्रोमा उदितनारायण, चौथोमा श्रेया घोषाल, पाँचौंमा शिल्पी राज, छैटौंमा खेसारीलाल यादव, सातौंमा शान्तिश्री परियार, आठौंमा कुमार सानु, नवौंमा प्रीतम, १० औंमा सुशान्त केसी छन् ।
११ औंमा प्रीतम सिंह, १२ औंमा सोनु निगम, १३ औंमा सज्जनराज वैद्य, १४ औंमा एसडी योगी र १५ औंमा आतिफ असलम छन् ।
शान्तिश्री सन् २०२४ मा नेपालभित्र धेरै सुनिने नेपाली संगीतकर्मी हुन् । उनलाई पछिल्लो ३६५ दिनसम्म १३ करोड ४० लाख पटक सुनिएको छ । उनलाई काठमाडौं, गुवाहटी, पोखरा, सिलिगुडी, बुटवल, भरतपुर, नेपालगञ्ज, विराटनगर, ललितपुर लगायत सहरबाट धेरै सुनिएको छ ।
उनको यो सूचीमा रुकुम मैकोट, बन्दीपुरैमा, बसेऊ अलक्कै, घर कता हो बैनीको, जे जे माग्छौ माग, बिस्ताराले पोल्यो, मोहिनी, कलियुगको राधाकृष्ण, कुरा बुझ्नपर्छ लगायतका गीतले योगदान दिएको युट्युबले जनाएको छ ।
चार्ट्सअनुसार सन् २०२४ मा युट्युबमा धेरै सुनिने दोस्रो नेपाली संगीतकर्मीमा सुशान्त केसी छन् जसलाई ११ करोड ४० लाख पटक हेरिएको छ । बार्दली, सारंगी, झ्यालबाट, पर्ख न, सताएर, साथी, रिसाउने भए गीतबाट उनले धेरै भ्युज पाएका छन् ।
सुशान्तलाई काठमाडौं, गुवाहटी, सिलिगुडी, पोखरा, ललितपुर, ढाका, भरतपुर, विराटनगर, बुटवल, सिड्नी, आगराताल, चटगाउँ, बैंग्लोर, दिल्ली, नेपालगञ्जबाट धेरै सुनिएको उल्लेख छ ।
तेस्रो स्थानमा सज्जनराज वैद्यलाई हेरिएको छ । उनलाई ८ करोड १० लाख पटक हेरिएको युट्युबमा उल्लेख छ । सस्तो मुटु, सुन कान्छी, धैर्य, ९८४१, नगन्य माया, ह्यात्तेरी, पर्खाइ, चिट्ठी भित्र यसवर्ष धेरै सुनिएका वैद्यका गीत हुन् ।
चौथो स्थानमा एसडी योगी छन् उनलाई यस वर्ष ६ करोड ७५ लाख पटक हेरिएको छ । रुकुम मैकोट, सुन सुन सुन्दरी, बिन्जुरी, चन्द्रमा, धागो सम्बन्धको उनका धेरै सुनिने गीतअन्तर्गत पर्छन् ।