सूर्यदर्शनमा कसरी जोडिए रवि, कस्तो बन्यो मुद्दा ? – Online Khabar
१ पुस, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि मंगलबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइएको छ ।
गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाइएको हो ।
सूर्यदर्शनकै बचत ठगी प्रकरणमा गत असोज ६ गते पूर्वडिआइजीसमेत रहेका छविलाललाई काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो भने कात्तिक २ गते रविलाई पक्राउ गरेर ल्याइयो ।
यही बीचमा जीबी राईका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबीको सहयोगी लिला पछाइ, सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङ पक्राउ परे । रविसहित ५ जनाको ३ वटा मुद्दामा भएको अनुसन्धान सकेर प्रतिवेदन सरकारी कार्यालयमा बुझाएको प्रहरीले १ अर्ब ५१ करोड बिगो दाबी गर्दै ५१ जनालाई प्रतिवादी बनाएको छ ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा अनुसन्धान गरेको प्रहरीले छवि पक्राउ परेसँगै ८४ दिनको अनुसन्धान सकेर ३ वटै मुद्दामा अभियोजन पेश गर्न माग गरेको छ । पहिलो चरणमा सूर्यदर्शन सहकारी प्रकरणमा प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँ ठगी भएको प्रतिवेदन बुझाए पनि सरकारी वकिलको कार्यालयले जिल्ला अदातलमा दर्ता गरेको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो माग गरिएको थियो ।
सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यही अभियोगमा उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक महेन्द्र भोटे, भविश्वर अर्याल, पूर्व सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि थुनामै छन् । उनीहरूलाई ८ देखि १० वर्ष कैद सजायको माग गरिएको थियो ।
अहिले रविसहित ५१ जनालाई विपक्षी बनाइएको मुद्दामा १ अर्ब ५१ करोड बिगो माग दाबी गरिएको हो । अब सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदन अध्ययन गरेर कास्की जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ । सरकारी वकिलको कार्यालयले मुद्दाको तयारी गरिरहेकाले अझै केही दिन म्याद थप्ने तयारी प्रहरीको छ । संगठित अपराधमा ९० दिनभित्र मुद्दा अदालतमा पेश गरिसक्नुपर्ने व्यवस्था भएकाले छवि पक्राउ परेर म्याद थपेयताको समय जोड्दा अझै केही दिन थुनामै राख्न अनुमति माग्न सकिने प्रहरीको तर्क छ ।
‘८४ दिन लगाएर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएका छौं । सहकारी ठगी, सम्पक्ति शुद्धीकरण र संगठित अपराधमा अनुसन्धान गरेका थियौं । अनुसन्धानका क्रममा विभिन्न संघसंस्थाबाट प्राप्त प्रमाणहरूको विश्लेषण गरेर प्रतिवेदन बुझाएका छौं,’ कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले भने, ‘जम्मा ६५ जना प्रतिवादी हुनुहुन्थ्यो ।’
१४ जना प्रतिवादीको नाम खुलेको भए पनि ठेगाना नखुलेको प्रहरीको भनाइ छ । ठेगाना खुलेकाहरूको हकमा मात्र अनुसन्धान गर्ने भनेर रायसहित प्रतिवेदन पेश गरेको डिएसपी शर्माले बताए ।
‘५१ जना प्रतिवादीकाविरुद्ध अनुसन्धान सकाएर प्रतिवेदन पेश गरेका छौं,’ डिएसपी शर्माले भने, ‘१ अर्ब ५१ करोड ४० लाख १९ हजार अपचलन भएको छ । ३७ जना फरार छन् भने १४ जना कारागार र हिरासतमा छन् ।’ फरार प्रतिवादीलाई पनि पक्राउ गर्ने डिएसपी शर्माले बताए । गत कात्तिक २ गते नै रविसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
सूर्यदर्शन सहकारीकै कारण खोया प्रहारदेखि कालो झण्डा देखाउनेसम्मका घटना हुँदै संसद्बाटै समिति गठन भएपछि समितिकै सिफारिसका आधारमा रविलाई पक्राउ गरिएको थियो । रवि पक्राउ परेसँगै देश तरंगितमात्रै बनेन, उनी जोडिएका ५ वटै सहकारीमा पक्राउ पुर्जी जारी भएर बयानसमेत भएको छ ।
मुद्दा अदालत पेश हुन लाग्दा अब रवि पुर्पक्षका लागि कारागार चलान हुन्छन् कि छुट्छन् भन्ने चर्चा र विभिन्न अनुमानहरू छन् भने अर्कोतिर रवि पोखराबाट छुटे पनि अन्य सहकारी प्रकरणमा समितिने अनुसन्धान अधिकृतहरूले नै बताइरहेका छन् ।
प्रहरीले रविसहितको सम्पत्ति रोक्का राखेको छ भने उनको बैंक स्टेटमेन्टसमेत मगाएर अनुसन्धान गरेको थियो । अनुसन्धानकै क्रममा रविको नामबाट काटिएको विभिन्न चेकसमेत भेटिएको थियो ।
‘प्रहरीबाट प्रतिवेदन प्राप्त भएको छ अब अध्ययन गरेर छिट्टै अभियोजन पेश गर्ने तयारी छ । यो आजको भोलि नै हुने कुरा होइन,’ जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका न्यायाधिवक्ता कमला काफ्लेले भनिन् । रविसहितलाई संगठित अपराधमा ९० दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्न पाइने भएकाले प्रहरीले अझै केही दिन म्याद थपेर सरकारी वकिलको कार्यालयले अभियोजनको तयारी गरेको हो ।
सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको देखिएको छ । गोर्खा मिडियाकोमात्र होइन, सबै प्रतिवादीको बिगो तोकेर अदालत पेश गर्नुपर्ने माग सहकारी पीडितको छ । सूर्यदर्शन सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको र आफूलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै रविले अहिलेसम्म म्याद थपको बहसमा इन्कारी बयान दिँदै आएका छन् ।
सूर्यदर्शन ठगीमा रवि पक्राउसम्मको घटना
पोखराको सूर्यदर्शन सहकारीबाट जीबी राइको समूहले डेढ अर्ब रुपैयाँ अपचलन गरेको २०८० को सुरुमै चर्चा चल्न थालेको थियो । प्रहरीले भने २०८० साउन ३२ गते सूर्यदर्शन सहकारी ठगीमा उजुरी दिन आह्वान गरेको थियो । भदौ २४ गते जीबी राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी भएको थियो ।
सूर्यदर्शन सहकारीको मुद्दामा विस्तारै पेचिलो बन्दै जाँदा टिभी स्थापनाको प्रसंगले प्रवेश पायो । जीबी अध्यक्ष र रवि प्रबन्ध निर्देशक भएर टिभी खोलेकाले रविको आलोचना सुरु हुन थाल्यो । ७ पुस २०८० मा पोखराको अमरसिंह चोकमा भएको रास्वपाको आम सभालाई सम्वोधन गर्दैगर्दा उनीमाथि खोया नै प्रहार भयो ।
पोखरामा रविमाथि भएको खोया प्रहारपछि नै उनको नाम सूर्यदर्शन सहकारीसँगै काठमाडौं, चितवन, बुटवल, पर्सालगायतका सहकारीमा जीबी समूहकै लगानी भएको गोर्खा मिडियासँग जोडिएर आउन थाल्यो ।
सूर्यदर्शन सहकारीको पहिलो प्रतिवेदन पर्याप्त नभएको भन्दै उनीविरुद्ध पोखरामा २०८० माघ २२ गते पुरक जाहेरी नै पर्यो । त्यसपछि महानगरले दोस्रो प्रतिवेदन तयार पारेर प्रहरीलाई बुझाएको थियो । जसमा रविले १ करोड सूर्यदर्शनबाट लिएर गोर्खा मिडियाको नाममा मिलान गरेको खुलासा भएको हो ।
पुरक जाहेरीपछि पनि उनी गृहमन्त्री नै रहेकाले लामो समय प्रहरीले अनुसन्धान गर्न सकेन । नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै संसदीय छानबिनको माग गर्यो । सहकारीमा जोडिएको घटनाले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शनसमेत भए । संसदमा चर्को दबाब परेपछि गत जेठ १५ गते एमाले सांसद सूर्य थापाको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो ।
संसदीय समितिको प्रतिवेदन तयार गरेर गत भदौ ३१ गते संसद्मा पेश भएको थियो । सोही प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको पनि संलग्नता देखायो । रवि संलग्न रहेको गोर्खा मिडियामा पोखराको सूर्यदर्शन सहकारीबाट ५ करोड र अन्य सहकारीबाट गरेर ६५ करोड रुपैयाँ गएको देखिएको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।
रवि गृहमन्त्री हुँदा अगाडि नबढेको अनुसन्धान जब एमाले र कांग्रेसको गठबन्धन भएर रमेश लेखक गृहमन्त्री बने, त्यसपछि अघि बढ्यो । लेखकले नै रविलगायतमाथि अनुसन्धान गर्न निर्देशन दिएपछि छविलाल जोशी असोज ६ गते र रवि कात्तिक २ गते पक्राउ परेका हुन् ।
संसदीय समितिले गोर्खा मिडियामार्फत रकम अपचलन भएको भन्दै जीबी, रवि, छविलाल र कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसमध्ये जीबी फरारै छन् भने रवि र छविमाथि अनुसन्धान भइरहेको छ । झण्डै डेढ अर्ब अपचलन भएको सूर्यदर्शन सहकारीका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेल भने पुर्पक्षका लागि कास्की कारागारमै थुनामा छन् ।
रवि २०७९ असारसम्म गोर्खा मिडिया नेटवर्कको साझेदार थिए, उनको नाममा १ करोड ऋण लिएको केही समय पहिला बाहिर आएको थियो । सहकारी ठगी प्रकरणमा रवि लामिछाने, माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पीडितले पूरक जाहेरी दिएका थिए । पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेचर हर्ब्स प्रा.लि., गोर्खा मिडिया प्रा.लि., वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायतलाई विपक्षी बनाएर उनीहरूले पुरक जाहेरी दिएका थिए ।
सहकारीबाट रकम हिनामिना गर्ने अन्य पहुँचवाला व्यक्ति अनुसन्धानबाहिरै रहेको भन्दै चौतर्फी दबाबपछि पोखरा महानगर, प्रहरी र सीआईबीको सहयोगमा विज्ञहरूले थप वित्तीय विश्लेषण गरी प्रतिवेदन तयार पारेका थिए ।
विज्ञ समूहले जीबीका व्यापारिक साझेदार पूर्वडीआईजी छविलाल जोशीको घरमा छापा मारेर सीआईबीले पोखरा ल्याएको २ वटा सफ्टवेयरसमेत हेरेको थियो । पहिलो प्रतिवेदनले सहकारी ठगीमा संलग्न अन्य व्यक्तिलाई जोगाएको भन्दै पुरक जाहेरी र चौतर्फी दबाबपछि फेरि विस्तृत अनुसनधान गरी गत वैशाख २६ गते पोखरा महानगरका मेयर धनराज आचार्यलाई प्रतिवेदन बुझाएको थियो ।
त्यसकै भोलिपल्ट मेयर आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीलाई ३ हजार ४ सय १९ पृष्ठको प्रतिवेदन हस्तान्तरण गरेका थिए ।
देशभर विभिन्न सहकारी खोलेर अपचलन गरेका जीबी राईसहित सूर्यदर्शन सहकारीका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष भुपेन्द्र राईलगायतविरुद्ध २०८० माघमा डिफ्यूजन नोटिस जारी गरेको भए पनि उनीहरूलाई पक्राउ गरी सरकारले ल्याउन सकेको छैन ।
प्रतिव्यक्ति बिगो तोकेर अदालतमा पेश भए अझै आशा जाग्ने सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । रवि पक्राउ परेसँगै सहकारीको मुद्दा वार कि पार हुने विश्वास पीडितको थियो । प्रहरीले भने एकमुष्ट बिगो माग दाबी गर्दै प्रतिवेदन बुझाएको छ ।
अब सरकारी वकिलको कार्यालयले कसरी मुद्दा पेश गर्छ भन्ने हेर्न बाँकी रहेको संघर्ष समितिका संयोजक श्रेष्ठको भनाइ छ । रविलगायत ५१ जनालाई विपक्षी बनाएर मुद्दा अदालतमा जान लागेको भए पनि सहकारी पीडितमा आशाभन्दा पनि उस्तै छटपटी रहेको उनी बताउँछन् ।