कार्कीको नेतृत्वमा नाफिजमा नयाँ कार्य समिति – Online Khabar
३० मंसिर, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्य समिति चयन भएको छ । शनिबार सम्पन्न नाफिजको १५ औं बार्षिक साधारण सभा तथा सातौं महासभा (निर्वाचन) ले मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्कीले १०० मत पाउँदा उनका प्रत्यासी इन्द्र बानियाँले ८७ मत प्राप्त गरेका थिए । कार्की यसअघि नाफिजको उपाध्यक्ष रहेकी थिइन । नाफिज कार्यसमिति १३ सदस्यीय हुनेछ । त्यसमा शनिबारको महासभाले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र चार सदस्य गरी १० सदस्य निर्वाचित गरेको छ ।
निर्वाचन समिति संयोजक कपिलदेव ढकालकाअनुसार उपाध्यक्षमा पिताम्बरी खतिवडा (प्रमिला) र निरोजकुमार थापा निर्वाचित भएका छन् । उनीहरुको प्रतिस्पर्धी प्रमेश्वर अधिकारीले विजय दमासे थिए ।
यसैगरि महासचिवमा निकेश खत्री विजयी भएका छन् । उनका प्रतिस्पर्धी नविन ढुंगाना पराजित भएका हुन् । सचिवमा भने राजाराम न्यौपानेले चेतनारायण पाण्डेलाई हराउँदै विजयी भए । कोषाध्यक्षमा भने मिलन विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले भोला देवकोटा (परिवर्तन) लाई हराएका हुन् ।
सदस्यमा अनिस मिजार, अनुप आचार्य, चित्रराज भण्डारी र शुक्र गिरी विजयी भएका छन् । नाफिजको विधानअनुसार यसअघिका अध्यक्ष मोदनाथ ढकाल निवर्तमान अध्यक्षको रुपमा कार्य समितिमा रहनेछन् । बाँकी दुई सदस्य भने नयाँ कार्य समितिले मनोनित गर्नेछ ।