#समाचार

प्लेअफको तीन स्थानका लागि चार टिम होडमा, कसलाई के चाहिन्छ? – Online Khabar

२९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्त्यतिर आइपुग्दा खेलहरु रोमाञ्चक बन्न थालेको छ । अनि शीर्ष चारमा रहेर प्लेअफ पुग्ने होड पनि अझ प्रतिस्पर्धात्मक र चक बन्दैछ ।

शनिवार भएको दुवै खेलमा बागमती प्रदेशको टोली काठमान्डु गुर्खाज र चितवन राइनोज विजयी भएपछि प्लेअफ पुग्ने होड रोचक बनेको छ । प्लेअफ पुग्ने टिमको टुङ्गो लाग्न पनि लिग चरणको अन्तिम खेलसम्म पुग्नुपर्ने सकिरण देखिएको छ ।

अहिलेसम्म लिग चरणको २८ मध्ये २५ खेल भइसक्दा एक टोली जनकपुर बोल्ट्सले मात्र प्लेअफमा स्थान पक्का गरेको छ भने तीन टोली प्लेअफको होडबाट बाहिरिसकेका छन् । अर्थात विराटनगर किंग्स पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स लिग चरणबाटै बाहिरिएका छन् ।

अब शीर्ष चारमा रहँदै प्लेअफ पुग्ने होडमा चार टिम छन् । प्लेअफका लागि तीन स्थान मात्र खाली छ । अनि चारमध्ये तीन टिमले मात्र प्लेअफ यात्रा तय गर्नेछ ।

शनिबार जित हात पारेका चितवन राइनोज र काठमानुडु गुर्खाज पनि अब प्लेअफ पुग्ने होडमा छन् । यस्तै सुदूरपश्चिम रोएल्स र कर्णाली याक्स पनि प्लेअफ नजिक छ ।

तर यी चारमध्ये तीन टिम अगाडि बढ्ने र एक टिम बाहिरिने भएकोले कुन टिम कुन स्थानमा रहेर लिग सकाउला अनि प्लेअफ पुग्न यी टिमलाई बाँकी खेलमा कस्तो नतिजा चाहिएला भन्ने समिकरण भने रमाइलो छ ।

लिगमा ७ वटै खेल खेलिसकेको जनकपुर बोल्ट्स ७ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ । ५ खेलबाट ८ अंकसहित सुदूरपश्चिम दोस्रो स्थानमा छ । ७ खेल नै खेलिसकेको चितवन राइनोजको पनि ८ अंक नै छ र सुदूरभन्दा नेटरनरेटमा पछि पर्दै तेस्रो स्थानमा छ । ६ खेलबाट ८ अंक नै जोडेको कर्णाली याक्स चौथो स्थानमा झरेको छ । चितवनले शनिवार शीर्ष स्थानको जनकपुर बोल्ट्सलाई पराजित गरेपछि नेटरनरेटमा पछि रहेको कर्णाली चौथो स्थानमा झरेको हो ।

काठमान्डुले ६ खेलबाट ६ अंक नै जोडेर पाँचौ स्थानमा छ । अब लिगमा काठमान्डुले आइतबार विराटनगर किंग्ससँग खेल्नेछ भने सुदूरपश्चिमले बइतबारै पोखरा एभेन्जर्ससँग खेल्नेछ ।

सुदूरले अन्तिम खेल सोमबार कर्णालीसँग खेल्नेछ ।

आइतबार हुने पहिलो खेल काठमान्डुको लागि निकै महत्वपूर्ण छ । काठमान्डुले उक्त खेल जितेमा प्लेअफ होट अझ रोमाञ्चक बन्नेछ भने काठमान्डु विराटनगरसँग पराजित भएको यस खेलपछि नै प्लेअफ पुग्ने बाँकी तीन टिमको छिनोफानो हुनेछ । काठमान्डु पराजित भएमा सुदूरपश्चिम, कर्णाली र चितवन तीनवटै टिम प्लेअफमा पुग्नेछ ।

यदी काठमाडौं राम्रो अन्तरमा विजयी भएमा भने प्लेअफ पुग्ने टिमको टुङ्गो लाग्न बाँकी खेलको नतिजा पनि कुर्नुपर्नेछ ।

प्लेअफ होडमा रहेका चार टिमध्ये काठमान्डु नै सबैभन्दा दबाबमा छ । किनकी काठमान्डुले जितेर मात्र पुग्दैन अर्को खेलको नतिजा पनि आफूअनुकुल आउनुपर्नेछ ।

शीर्ष चारमा पुग्न कुन टिमलाई के चाहिन्छ त्यसबारे जानकारी यहाँ प्रस्तुत गरिएको छ ।

जनकपुर बोल्ट्स

जनकपुर बोल्ट्स प्लेअफ पुग्ने पहिलो टोली हो । शनिबार चितवनलाई पराजित गरेको भए जनकपुरले शीर्ष दुईमा रहेर क्वालिफायर खेल्ने पक्का हुन्थ्यो । तर चितवनसँग पराजित हुँदा जनकपुरलाई केही धक्का लागेको छ । यद्यपी जनकपुर अझै शीर्ष स्थानमा छ र अझै पनि शीर्ष दुईमै रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना बढी छ ।

जनकपुरलाई शीर्ष दुईबाट पछि पार्न सुदूरपश्चिमले आइतबार पोखरालाई हराउनुपर्नेछ भने कर्णाली याक्सले अन्तिम खेलमा सोमबार सुदूरपश्चिमलाई हराउनुपर्नेछ । यदि यस्तो भएमा कर्णालीले सुदूरपश्चिमलाई कम्तीमा १२ रन अन्तरले हराउनुपर्नेछ ।

सुदूरपश्चिम रोएल्स

अहिलेको अवस्थामा सुदूरपश्चिमले दुई खेल खेल्न बाँकी छ । यस्तोमा उसलाई फाइदा पनि छ चुनौती पनि छ । फाइदा यस अर्थमा कि सुदूरको नेटरनरेट पनि राम्रो छ र शीर्ष दुईमा रहनका लागि बलियो अवस्थामा छ । सुदूरले बाँकी दुईमध्ये एक खेल जितेमा पनि शीर्ष दुईमै रहने पक्का छ । दुवै खेल जितेमा सुदूरपश्चिम शीर्ष स्थानमा पुग्दै पहिलो क्वालिफायर खेल्नेछ ।

सुदूरपश्चिमका लागि सबैभन्दा खराब अवस्था हुन सक्ने भने दुवै खेलमा ठूलो मार्जिनले परजित भएमा र काठमान्डुले अन्तिम खेलमा विराटनगरलाई पनि ठूलो अन्तरले पराजित गरेमा मात्र सुदूर प्लेअफ पुग्न असफल हुने अवस्था आउन सक्छ । तर यसका लागि सबै खाले समिकरण मिल्नुपर्छ र अहिलेको अस्थामा टिमहरुको लय हेर्दा त्यसो सम्भावना अली कम देखिन्छ ।

कर्णाली याक्स

कर्णाली याक्स अहिले ६ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ । अहिलेसम्म ८ अक जोडेको तीन टिममध्ये कर्णालीले नेटरनरेट सबैभन्दा कम छ । यदी काठमान्डुले आइतबारको पहिलो खेलमा विराटनगर विरुद्ध फराकिलो जित दर्ता गरेका कर्णालीलाई पछि पार्न सक्नेछ ।

तर कर्णालीले सोमबार लिगको अन्तिम खेलमा सुदूरलाई पराजित गरेमा प्लेअफमा स्थान पक्का हुनेछ र कम्तीमा १२ रनले जित हात पारेमा जनकपुरलाई पनि पछि पार्दै शीर्ष दुईमा पुग्नेछ ।

यदि आइतबार काठमान्डु गुर्खाज विराटनगर किंग्ससँग पराजित भएमा कर्णाली पनि अन्तिम खेल अघि नै प्लेअफमा पुग्नेछ र कुन स्थानमा लिग सकाउने भन्ने सुदूरपश्चिमसँगको खेलपछि टुङ्गो लाग्नेछ ।

यद्यपी कर्णालीको शीर्ष चारमा पुग्ने अवस्थामा धक्का पनि लाग्न सक्ने स्थिती पनि आउन सक्छ । यदी काठमान्डुले आफ्नो अन्तिम लिग खेलमा फराकिलो जित हात पारेमा कर्णालीले अन्तिम खेलमा कुन नतिजा ल्याउनुपर्छ भन्ने थाहा हुनेछ । अहिलेका लागि यदी काठमान्डुले १७० रन बनाएर ३० रनले जित हात पारेका कर्णाली याक्सले प्लेअफ पुग्न अन्तिम खेलमा सुदूरसँग ३९ रन वा त्यो भन्दा बढी अन्तरको हार टार्नुपर्नेछ ।

चितवन राइनोज

लिग चरणमा सबै ७ खेल खेलिसकेको चितवन राइनोज ८ अंकसहित हाल तेस्रो स्थानमा छ । चितवन प्लेअफमा पुग्नका लागि अब अन्य टिमको खेलको नतिजा निर्णायक बन्नेछ । यदी आइतबार काठमान्डु पराजित भएमा चितवन पनि शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने पक्का हुनेछ । एउटै मात्र अवस्थामा मात्र चितवन शीर्ष चार भन्दा बाहिर हुन सक्छ त्यो भने काठमान्डु गुर्खाजले पहिले ब्याटिङ गर्दै २०० रन बनाएको अवस्थामा १४२ रन अन्तरको जित हात पार्नुपर्नेछ । त्यो भएमा मात्र काठमान्डुले चितवनलाई पछि पार्नेछ । र त्यो यस्तो अवस्थामा कर्णालीले पनि अन्तिम खेलमा सुदूरपश्चिमलाई हराएमा मात्र चितवन बाहिरिनेछ ।

काठमान्डु गुर्खाज

प्लेअफ होडमा रहेका चार टिम मध्ये सबैभन्दा कठिन अवस्थामा छ काठमान्डु गुर्खाज । शीर्ष चारमा रहन काठमान्डुले आफ्नो अन्तिम खेलमा विराटनगरलाई जितेर मात्र पुग्दैन । आवश्यक मार्जिनमा जित्नुपर्नेछ ।

चितवनलाई लिगमा पछि पार्द काठमान्डुले विराटनगरलाई १४२ रनले पराजित गर्नुपर्नेछ यदी पहिले ब्याटिङ गर्दै २०० रन बनाएमा ।

यदी काठमान्डुले पहिले ब्याटिङ गर्दै १७० रन बनाएर ७० रन अन्तरको जित हात पारेमा कर्णाली याक्सलाई नेटरनरेटमा पछि पार्नेछ । काठमान्डुको शीर्ष चारमा रहेर प्लेअफ पुग्नका लागि सबैभन्दा रियालिस्टक चान्स भनेको विराटनगरलाई ठूलो अन्तरमा हराउने र कर्णाली पनि अन्तिम खेलमा सुदूरपश्चिमसँग त्यही अन्तरमा हार्नुपर्नेछ । जसले गर्दा कर्णालीको नेटरनरेट घटोस् ।

उदाहरणका लागि यदी काठमान्डुले पहिले ब्याटिङ गर्दै १७० रन बनाएर ३० रन अन्तरको जित हात पारेमा अनी कर्णाली याक्स पनि अन्तिम खेलमा सुदूरसँग ३९ रनले पराजित हुनुपुर्नेछ (कर्णालीले १७० रनको लक्ष्य पछ्याएको अवस्थामा)

[नोट : क्रिकेट एनालिस्ट सम्राट महर्जनको सहयोगमा इक्वेसन तयार पारिएको हो ।]

Leave a comment

Your email address will not be published. Required fields are marked *