पल्टन बजारतिर बरालिंदा – Online Khabar
पल्टनियाँ न ठहरिएँ, मलाई ‘पल्टन’ शब्दले तानिहाल्छ। यो शब्दलाई नेपाल भित्र्याएको लाहुरेले हुनुपर्छ। अंग्रेजी शब्द ‘प्लटून’ (Platoon) बाट ‘पल्टन’ भएको हो भन्ने मेरो ठम्याइ छ। तीनवटा सेक्सन मिलेर एउटा प्लटून बन्छ। प्लटूनमा २५ देखि ३० जना सैनिक हुन्छन्। इन्डियामा शिख, बंगाली, जाट, मरहट्ठा पल्टन जस्तै गोर्खा पल्टन पनि छन्।
देहरादून पुगेको पहिलो दिन (१ नोभेम्बर २०२३) पल्टन बजार घुम्दै गर्दा यी पल्टनका कुरा मनमा खेलेका हुन्। अलि अघि यहाँको अन्तरप्रदेशीय बस स्टेसनमा झरेको थिएँ। बस स्टेसनदेखि एउटा भ्यानले घण्टाघरनेर ल्याएर उतारिदियो। उता इटहरीतिर हो भने यस्तो खाले साधनलाई म्याजिक भनिन्छ।
देहरादूनको पल्टन बजारले केही वर्ष अघि गुवाहटीको पल्टन बजार घुमेको सम्झना दिलायो। त्यहाँ कवि नीता गुरुङको कपडा पसलमा पसेको स्मरण गर्दै मेरा पाइला देहरादूनको पल्टन बजार छिचोल्दै छन्। नीताले मलाई र डा. गोविन्दराज भट्टराईलाई एक–एक वटा टाटेपांग्रे जंगल ह्याट दिएकी थिइन्। हामीले ह्याट त्यतिनैखेर ख्वास्स लगायौं। त्यसपछि त डा. कुमार कोइराला, डा. विष्णु राई, माल्दाइ र भाउजूहरू सबै जना गलल्ल हाँसें। सायद हामीहरू मनिपुरे गुरिल्ला जस्ता देखियौं पो !
असन र ठमेलको जस्तो साँघुरो सडक छ। मान्छे, ठेलागाडी, स्कुटी, साइकल, मोटरसाइकल, ट्याम्पू ठेलमठेल गर्दै अघि बढ्दै छन्। को कता जाने हुन् मतलब छैन। विपरित दिशाबाट आएका कमिलाले मन्टो जोताएसरी जब कोही सामुन्ने ठोक्किन पुग्छ बल्ल मोडिन्छन् मान्छेहरू।
म पनि बजार भर्न आएका मान्छेको हुलबाट जोगिंदै, दाहिने बायाँका दोकानतिर यी पर्यटकीय आँखा बिछ्याउँदै, अघि बढ्दैछु। दिपावली मुखैमा आउँदै थियो, भीड हुने नै भयो। यस्तो अस्तव्यस्तताको बाबजुद पनि म छानीछानी मज्जा लिंदैथिएँ।
हिंड्नुपर्ने त पेटीमा हो। तर अरू जस्तै सडकको बिचौबिचमा हिंड्न बाध्य छु। सडकमा त सवारी साधन पो गुड्ने ! के गर्ने, सडक पेटीभरि बिस्कुन जस्तै मालसामान फिजाएर दुकानदारले ब्लक गरेका छन्। ब्रिटिशकालीन आवासीय, सरकारी भवन अनि मस्जिदका अवशेष भेटिन्छन् कहीं कतै। तीन चार तले पुराना र नयाँ घरहरूको मिश्रित लहर देख्दा हङकङको टेम्पल स्ट्रिटको याद आउँछ।
बेलायतमा पनि हुन्छन् साँघुरा बजार। जसलाई भनिन्छ ‘हाइस्ट्रिट’। तर कति व्यवस्थित हुन्छन् ती। हाइस्ट्रिटमा शपर अर्थात् पैदलयात्रु मात्रै हिंड्न पाउँछन्। कुनै हाइस्ट्रिटमा ट्राफिक गुड्न दिइए पनि वान वे हुन्छ। हर्न त सुन्नै पाइन्न। आपत्कालीन अवस्थामा मात्रै हर्न बजाउनु भनेर ड्राइभिङ ट्रेनिङमा सिकाइएको हुन्छ।
हिंड्नुपर्ने त पेटीमा हो। तर अरू जस्तै सडकको बिचौबिचमा हिंड्न बाध्य छु। सडकमा त सवारी साधन पो गुड्ने ! के गर्ने, सडक पेटीभरि बिस्कुन जस्तै मालसामान फिजाएर दुकानदारले ब्लक गरेका छन्। ब्रिटिशकालीन आवासीय, सरकारी भवन अनि मस्जिदका अवशेष भेटिन्छन् कहीं कतै। तीन चार तले पुराना र नयाँ घरहरूको मिश्रित लहर देख्दा हङकङको टेम्पल स्ट्रिटको याद आउँछ।
अधिकांशले यो नियम पालना गर्छन् पनि। तर पल्टन बजार त्यस्तो लाग्दैन। साइकलको किर्लिङ् किर्लिङ्, स्कुटीको टिं टिं, टेम्पुको प्याँ प्याँ ! हर्नआतङ्क व्याप्त छ। मलाई त काठमाडौंमा बानी परिसकेको छ। बिग्रेको संगीत जस्तै लाग्छ ध्वनि प्रदूषण। यी कानहरूले पचाइसकेका छन्।
सडकमा हिंड्ने मान्छेले, न त गाईगोरुले नै, हर्न नबजिकन बाटो छोड्दै छोड्दैनन्। तब त सवारी चालक बाध्य हुन परेन हर्न बजाउन ! पल्टन बजार पनि यसबाट अछुतो रहने कुरै भएन। कुर्कुच्चामा ठेल्न नआउँदासम्म छोडिदिन्नन् बाटो। तर म सडक किनार-किनार तर्की-तर्की अघि बढ्छु। एक्लै घुम्न आएको मान्छे। यसअघि पनि यस्तै ‘सोलो’ यात्राहरू धेरै गरिसकेको छु। कसैले पछाडिबाट दिइ हाल्यो भने बर्बाद हुनेभयो लाहुरमा। अनि अस्पताल भर्ना हुन परेन !
आतङ्कित मुद्रामा पल्टन बजार छिचोलेर बाहिर निस्कन्छु। रवि रानाले बुक गरिदिएको होटल दिपशिखा खोज्दै मेरा पाइला अगाडि बढ्छन्। काठमाडौंको दरबारमार्ग जस्तै फराकिलो सडकको दाहिने बायाँ महँगा दोकान मेरो दृष्टिको घेरामा पर्छन्। टिलिक्क टल्कने काँचका झ्यालढोका र चिल्ला मार्वलका भुइँ।
म्याकडोनाल्ड, केएफसी, स्टारबग; गहना, घडी, स्मार्ट फोनका सपिङ सेन्टर लहरै। तर लथालिङ्ग पेटी र सडक। उदाङ्गै टेलिफोन र पानीका पाइपहरू। म जस्ता पर्यटक र बजार भर्नेहरू पेटीबाट पोखिएर सडकमा हिंड्दै छन्। किनारमा फोहरमैलाका थुप्राले मै बिरानोलाई हेर्दै झैं लाग्छ। हिंड्दा हिंड्दै खुल्ला ढलमा पसिने हो कि, बाँङ्गा खम्बामा ठोक्किने हो कि ! जंगलका लहराले जस्तो लत्रेका तारले अल्झाउने हुन् कि! भुइभरी बग्रेल्तै इँटा, बालुवा, गिटी जस्ता निर्माण सामग्रीका लास।
धुलो–धुँवाको त कुरै नगरौं। पैदल यात्रुको लागि ‘डाइभर्सन’ भनी लेखिएको बोर्ड कतै देखिन्न। देखिन्छन् त विशाल होर्डिङ बोर्डहरूमा उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी र प्रधानमन्त्री नरेन्द्र मोदीका फोटा, भाजपाको झण्डा र विकासका नारासित। देखिन्छन् भित्तैभरि स्मार्ट फोन र मोबाइल प्याकेजका विज्ञापन गर्दै गरेका हिरो हिरोनी र क्रिकेटरहरू।
यी विरोधाभाषी दृश्य के देख्दैछु भनेको त देहरादूनलाई स्मार्ट सिटी बनाउने क्रममा स्तरोन्नति पो गरिंदै रहेछ। आवासीय भवन, शपिङ मल जस्ता निजी संरचना वर्ल्ड क्लास लाग्ने। तर सडक, ढल, पार्क, सरकारी अड्डा, बिजुली र टेलिकम्युनिकेसनका सार्वजनिक संरचना थर्ड क्लासका।
प्रविधिको विकाससँगै द्रुत गतिमा प्रगतिपथमा लम्केको निजी क्षेत्रलाई पछ्याउन नसकेको सरकारी क्षेत्रको कमजोरीपना म यहाँ देख्दै थिएँ। दिगो विकासको सिद्धान्त अपनाउन नजानिएको भन्ने कि, खै के भन्ने ! विकास निर्माणका परियोजना अगाडि बढाउँदा सर्वसाधारणलाई मारमा पार्नुहुँदैनथ्यो। यस्ताखाले विकास-बेथिति नेपालमा भोग्दै आएको थिएँ। बानी परिसकेको हुनाले देहरादूनमा त्यति असहजता महसुस गरिनँ मैले।
ब्रिङ योर वोन बोटल र फिस चिल्ली
यस्तै रोइलो मनमा खेलाउँदै होटल अगाडि आइपुगेछु। चेक इन गर्छु। करर्र भोक लागेको महसुस हुन्छ। महिना हो नोभेम्बरको तथापि चर्को गर्मी लागिरहेको छ। सायद शहरिया वातावरणले होला। चिसो ड्रिङ्क घटघट् पिउन मन लाग्छ यो आँतलाई। पल्तिर BYOB नाम गरेको रेस्टुरेन्टको बोर्डमा आँखा पर्छन्।
रिसेप्सन अगाडि उभिएर बियर पाइन्छ भनी सोध्छु। छेउको दोकानतिर संकेत गर्दै, त्यहाँबाट किनेर ल्याई भित्र लगेर पिउन सकिन्छ भनी रिसेप्सनिस्टले भन्छ। BYOB को अर्थ ‘ब्रिङ योर वोन बोटल’ रहेछ। रु१९० हालेर इन्डियन स्ट्रोङ किन्छु। अनि रिसेप्सनमा रु २०० एड्भान्स राखेर रेस्टुरेन्टभित्र छिर्छु।
टेबलमा बाह्र–पन्ध्र जना पुरुष ग्राहक छन्। महिला कोही नदेख्दा नियास्रो लाग्छ। काठमाडौंका रेष्टुरेन्ट हुन्थे भने महिला पुरुष बराबर हुन्थे। यताका अनुशासित महिला भनौं कि स्वतन्त्रता नपाएका बँधुवा महिला ! मेनु हेरेको, फिस चिल्ली नाम गरेको परिकार पाइँदो रहेछ। चिकन चिल्ली त धेरै सुनेको धेरैचोटि खाएको पनि। फिस चिल्ली चाखौं न भनेर त्यही अर्डर गर्छु।
मेनु हेरेको, फिस चिल्ली नाम गरेको परिकार पाइँदो रहेछ। चिकन चिल्ली त धेरै सुनेको धेरैचोटि खाएको पनि। फिस चिल्ली चाखौं न भनेर त्यही अर्डर गर्छु।
इन्डियन स्ट्रोङको मधुर-मात लाग्दै जान्छ। गत हप्ताको दिल्ली-धर्मशाला-चण्डीगढ यात्रा स्मरणको चलचित्र समाप्त हुँदै गर्दा BYOB मा बसेर पिउँदै गरेको बियरको बोतल पनि निथ्रिएछ। फिस चिल्लीको प्लेट पनि रित्तिएछ। देब्रे हत्केलामा दाहिने हातले लेखेको संकेत गर्दै पर उभिएको वेटरलाई बिल माग्छु। अघि रु २०० धरौटी राखेकोले अहिले छुट्टै रु १८० तिर्न पर्यो। दिमागको क्यालकुलेटर दबाउँछु।
झन्डै ५ ब्रिटिश पाउण्ड परेछ ड्रिङ्स र सितनको। बेलायतमा एक पाइन्ट बियरलाई ५ पाउण्ड पर्छ। भर्खरै मैले खाएको जस्तो माछाको एक प्लेटलाइ ७ पाउण्ड जति पर्छ। त्यही भएर त कुइरे पर्यटकहरू यता आउँदा फुर्ति लगाउँदा रहेछन्।
स्वादिलो परिकारले जिब्रो र सस्तो भाउले गोजी खुशी हुन्छन्। अनि तृप्त मनसँग होटल फर्केर विस्तरामा पल्टिन्छु।
मल्ल दम्पतीसँग विदेशमा भेट
बेलुकाको यस्तै आठ बजेको हुँदो हो म्यासेन्जरमा कल आउँछ। नेपालबाट हो कि भनिठानेर उठाउँछु। ‘भाइ, भोलि तपाइँको लाहुरेको रेलिमाईको कार्यक्रम रहेछ, हामीले त यसको ब्यानर झुन्डिएको देखेर पो थाहा पायौं। लौ शुभकामना छ है’ भन्नुहुन्छ एकैचोटि।
फेसबुककी साथी डा. सावित्री कक्षपति हुनुहुँदोरहेछ। बोल्दै जाँदा पत्ता लाग्यो उहाँ पनि म जस्तै देहरादूनमा आउनुभएको रहेछ। दिउँसो गोर्खाली सुधार सभा हलको गेटमा लाहुरेको रेलिमाईको ब्यानर झुण्ड्याइएको देख्नुभएको रहेछ। मैले बल्ल चिनें उहाँ प्रख्यात नाटककार अशेष मल्लको जीवनसाथी हुनुहुँदोरहेछ। भोलि बिहान आफूहरू बसेको होटलमा भेट्न आउने निम्ता दिनुभयो।
देहरादून पुगेको दोस्रो दिन सवेरै उहाँलाई भेट्न होटल पुगें। सँगै बसेर ब्रेकफास्ट खायौं। अशेष मल्ल जस्तो वरिष्ठ नाटककारको नाम कति सुनेको, नाटक कति पढेको। उहाँको सर्वनाम थिएटरमा गजल श्रवण गर्न कतिचोटि पुगेको छु। तर अशेषजीलाई भेट्ने सौभाग्य यसअघि नजुरेको। ‘नेपाली भएर हामीलाई विदेशी भूमिमा पो भेट्न लेखेको रहेछ’ भन्नुभयो अशेषजीले। नेपाली साहित्यकारको भारतमा कार्यक्रम हुँदैरहेछ भनेर आफूहरूलाई खुशी लागेको कुरा बताउनुभयो सावित्रीजीले।
देहरादूनमा लाहुरेको रेलिमाई
मल्ल साहित्यकार जोडीसँगको वैदेशिक भेटपश्चात् अपराह्न दिउँसो गोर्खाली सुधार सभाको भवनमा पुग्छु। यो देहरादूनको गढी कैन्टमा अवस्थित छ। त्यहाँ लाहुरेको रेलिमाईको विमर्श सम्पन्न हुन्छ। यसका प्रमुख संयोजक रवि राना हुनुहुन्थ्यो।
भारतीय मगर समाज देहरादून र गोर्खाली सुधार सभाको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो। गोर्खाली सुधार सभा सन् १९३८ मा गठित एक साहित्य र संगीत प्रवर्धन गर्ने संगठन हो। यसको स्थापना मास्टर मित्रसेनले गरिदिएका थिए। उनी स्वयं यसका संस्थापक सदस्य पनि हुन् जुन कुरा मैले लाहुरेको रेलिमाईमा समेटेको छु।
हलभित्र छिर्ने ढोकाको आडमै मास्टर मित्रसेन र आदिकवि भानुभक्तको प्रतिमामा मेरो दृष्टि पर्छ। विष्णु र शिवको प्रतिमा जस्तो लाग्छ। अन्तकतै यी दुवै स्रष्टाको मूर्ति एकै ठाउँमा देखेको थिइनँ। यसले डा. खगेन्द्र शर्माको ‘नेपाली सङ्गीतका भानुभक्त मास्टर मित्रसेन थापा’ पुस्तकको याद दिलायो।
डा. शर्माले मित्रसेनका गीतमा विद्यावारिधि गर्नुभएको हो। यो पुस्तक त्यसैमा आधारित छ। मित्रसेनलाई भानुभक्तको स्तरमा राखिनु मित्रसेनले नेपाली साहित्यमा दिएको योगदानको सच्चा कदर हो। मैले यी मूर्तिको अगाडि एक प्रति लाहुरेको रेलिमाई चढाएँ। साहित्यको यस्तो पवित्र मन्दिरमा पुगेर आफैंले उनेका शब्दमाला अर्पण गर्न पाउँदा सौभाग्यशाली ठानेको छु।
कार्यक्रमको सभापति मगर समाजका अध्यक्ष जगतबहादुर राना र प्रमुख अतिथि गोर्खाली सुधार सभाका अध्यक्ष पदमसिंह थापा हुनुहुन्थ्यो। समीक्षकद्वय हुनुहुन्थ्यो साहित्यकार भुपेन्द्र अधिकारी र उदय ठाकुर।
देहरादूनमा साहित्यिक गतिविधि त्यति धेरै नभइरहेको अवस्थामा लाहुरेको रेलिमाईको विमर्शले त्यहाँ रहेका नेपालीलाई साहित्यिक प्रेरणा जगाइदिनेछ भन्दै गोर्खा लाहुरेहरूको संवेदनालाई यस युद्ध उपन्यासले सरल भाषामा व्यक्त गरेको समीक्षक अधिकारीले उल्लेख गर्नुभयो।
उपन्यासमा लाहुरे पृष्ठभूमिलाई जीवन्त रूपमा समेटिएकोले यो कृति हरेक परिवारजनले रामायण जस्तै घरघरमा राखेर अध्ययन गर्दा राम्रो हुने विचार उहाँले दिनुभयो। त्यसैगरी अर्का समीक्षक ठाकुरले बहुप्रतिभाका धनी मास्टर मित्रसेनको जीवनीमा आधारित यो कृति दैनिकी र यात्रा संस्मरणको देउरालीमा बसेर लेखिएको र प्रथम विश्वयुद्धमा गोर्खाली पल्टनहरू फ्रान्स र मेसोपोटामिया गएर लडेको कथालाई बेजोड रूपमा प्रस्तुत गरिएको बताउनुभयो।
उपन्यासमा सुबेदार बहादुरसिं बराललाई एक सहपात्रको रूपमा प्रस्तुत गरिंदै तत्कालीन नेपाली समाजमा भाषा, संस्कृतिको जागरण ल्याउन मित्रसेनसँग सहकार्य गरिएको वास्तविकतालाई आख्यानको रूपमा प्रस्तुत गर्नसक्नु महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा इण्डियन गोर्खा सेनाका निवृत्त लेफ्टिनेन्ट जनरल शक्ति गुरुङदेखि ब्रिगेडियर, कर्नेल, सुबेदार जस्ता उच्च पदस्थ व्यक्तित्व सहित अन्य साहित्य अनुरागीको बाक्लो उपस्थिति थियो। मेरो इरादा नै लाहुरेको रेलिमाई जस्तो युद्ध उपन्यासका पाठक सेवारत र निवृत्त गोर्खाली सेना हुन् भन्ने थियो जुन अपेक्षा त्यहाँ पुगेर पूरा भएको महसुस भयो।
मन्तव्यको क्रममा मैले भनेको थिएँ, ‘म जस्तो एक लाहुरेले लाहुरेको बारेमा लेखेको उपन्यासलाई लाहुरे र तिनका परिवारले माया गरेर पढिदिनुहुनेछ। उपस्थित उच्च पद सम्हालेर निवृत्त हुनुभएका अफिसरहरू, आआफ्ना सेवा तथा युद्ध अनुभवलाई साहित्यिक पुस्तकको रूपमा प्रकाशन गर्ने सोच बनाउनुहोला।’
कार्यक्रममा लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको.. गीतमा स्थानीय कलाकारले नृत्य प्रस्तुत गरिरहँदा म पनि गएर नाँचौं नाँचौं लागेको थियो। लाहुरेको रेलिमाई बिक्री भएर संकलित रकम आयोजक संस्थाहरूलाई प्रदान गर्न पाउँदा धर्म कमाएको अनुभूति भयो।
विमर्श कार्यक्रम पश्चात् रेडियो घाम छायाँको स्टुडियोमा एकैछिन छिर्छु। लाहुरेको रेलिमाईबारे केही बोलौं न सर भनेर भूपेन्द्रजीले मलाई लैजानुभएको थियो। आधा घण्टाजति हाम्रो अन्तर्वार्ता रेकर्ड भयो। यसो गरिरहँदा मास्टर मित्रसेनले त्यतिबेला दिल्ली पुगेर अल इन्डिया रेडियो मार्फत आफ्ना सांगीतिक प्रस्तुति पस्केको सम्झना बल्झिएर आयो।
नालापानी युद्धः बलभद्र कुँवर कि बलभद्र थापा ?
देहरादून बसाइको तेस्रो दिन पुर्खाको पाइतालाको डोब पछ्याउने इरादाले खलङ्गा किल्लातिर लागें, बिजुलीले चल्ने अटोमा। सालघारीको पिच बाटो भएर डाँडाको टुप्पामा पुग्नुपर्दो रहेछ। डाँडा चढ्नै लाग्दा-बलभद्र खलंगा विकास समिति (स्थापित १२ मई १९७४) आप सभि नागरिकों का स्वागत है- भन्ने बोर्ड देखिन्छ।
१० मिनेट जतिको चढाइपछि (समुद्र सतहदेखि ३२० मी) कङ्क्रिटको अग्लो गेट अगाडि अटो रोकिन्छ। अटोबाट झरेर फलामका ढोका घर्याक्क उघारेर भित्र छिर्छु। गेटमा लेखिएको छ- बलभद्र खलंगा युद्ध स्मारक (१८१४), नालापानी, देहरादून, (उत्तराखण्ड)।
बिचौंबिचमा छ पिरामिड आकारको आधार र त्यसलाई टेकेर ठडिएको सङ्गमर्मरको चारपाटे मौलो। पित्तलको गजुरसितको मौलो हुँदो हो पाँच छ मिटर अग्लो। एउटा भलिबल कोर्ट बराबरको क्षेत्रफल ओगटेको भागलाई वरिपरिबाट छातीछाती आउने अग्लो पर्खालले घेरिएको छ। पर्खालबाट मुन्टो तन्काएर बाहिर हेर्छु। सल्लैसल्लाको भिरालो जमिन र देहरादूनको भ्याली देखिन्छ। चन्द्रागिरिबाट काठमाडौं उपत्यका देखिएसरि।
डाँडाको ढलानसँग सटाएर ढुङ्गा, माटो र चुनले निर्माण गरिएको तीनपत्रे किल्ला रहेछ। यसलाई नालापानीको युद्ध भनेर इतिहासका पानामा पढेको थिएँ। हाम्रा महिला र बालबालिका पनि पुरुष योद्धालाई साथ दिंदै अंग्रेज विरुद्ध लडेका थिए। अंग्रेजको तोपको सामना ढुङ्गामुढा, भाला, गुलेली र खुकुरीले कसरी गरे होलान् ! बहादुर लडाकुका लास तोपले क्षतविक्षत पारेर यतैकतै रगताम्मे भएर छट्पटाउँदै पल्टेका थिए होलान् ! एकचोटि त्यो परिदृश्य बाइसकोपको रीलसरि आँखामा सजाउँदै आधा घण्टा जति त्यहीं टहल्छु।
त्यहाँ अंग्रेजी भाषामा लेखिएको एउटा शिलालेख छ। त्यसलाई मनमनै पढ्छु र नेपालीमा म यसरी बुझ्दछु- अक्टोबर १८१४ मा भारी आर्टोलरी गनले सपोर्ट गरेको ३ इन्फ्रेन्ट्री डिभिजनलाई मेजर जनरल रोबर्ट जिलेस्पीले नेतृत्व गरेका थिए। उनलाई नालापानीको किल्ला क्याप्चर गर्ने जिम्मेवारी दिइएको थियो।
अंग्रेजको तोपको सामना ढुङ्गामुढा, भाला, गुलेली र खुकुरीले कसरी गरे होलान् ! बहादुर लडाकुका लास तोपले क्षतविक्षत पारेर यतैकतै रगताम्मे भएर छट्पटाउँदै पल्टेका थिए होलान् ! एकचोटि त्यो परिदृश्य बाइसकोपको रीलसरि आँखामा सजाउँदै आधा घण्टा जति त्यहीं टहल्छु।
किल्लालाई बलभद्रसिं थापा र उनका ५०० सैनिकले रक्षा गरेर बसेका थिए जसमा परिवार र बालबच्चाको पनि सहभागिता थियो। मेजर जिलेस्पी आउन अलि ढिला हुँदै गर्दा कर्णेल वाम्बीको नेतृत्वमा २६ अक्टोबर १८१४ मा किल्लामाथि तोप वर्षाउँदै धावा बोलियो। तर गोर्खाली सैनिकले तिनको कडा प्रतिरोध गरे। अंग्रेजलाई भाग्ने गराउँदै हताहत पारे। जिलेस्पीले नेतृत्व सम्हालेपछि आफ्नो सम्पूर्ण बल प्रयोग गर्दै पुन: आक्रमणलाई अघि बढाए। तर बलभद्रसिं थापा र महिला तथा पुरुषको साथ पाएको गोर्खा सेनाले न डगमगाइकन खुकुरी, भाला र कतिसम्म भने ढुङ्गा पनि प्रयोग गरेर बहादुरीका साथ दुस्मनको सामना गरे।
यो आमुन्नेसामुन्नेको हाते लडाइँमा जिलेस्पी, उनका एडिसी क्याप्टेन ओहारा साथै अन्य धेरै अंग्रेजलाई सोत्तर पारियो। आक्रमणकारीले भारी क्षति बेहोर्नु पर्यो। फलस्वरुप पछाडि हट्न करै लाग्यो। तिनलाई पछि अरू थप सैनिकले मद्दत दिए। गोर्खाली सेना, महिला, बालबच्चाले देखाएको अदम्य साहस र तिनलाई गडवाली र कुमाउले दिएको साथ र सहयोगले गर्दा बलभद्रसिं थापाले अंग्रेजको आक्रमणलाई तीनचोटिसम्म सामना गर्न सफल भएका थिए। पछि एउटा मात्रै पानीको स्रोतलाई दुस्मनले विच्छेद गरिदिएपछि ७० जना बाँकी रहेका सेनाका साथ ३० नोभेम्बर १८१४ का दिन बलभद्रसिं थापाले किल्ला छोडेका थिए।
ब्रिटिशतर्फ ३१ अफिसर र ७५६ जना सिपाही मारिएका थिए। त्यसैगरी ३५ अफिसर १५०० सिपाही घायल भएका थिए। यो युद्धको समाप्ति पश्चात डिसेम्बर १८१४ मा ९७ वीर–विरङ्गनाको दिवंगत शरीरको अग्निदहन गरिएको थियो। त्यसैगरी ३० जना मृतकको शरीरलाई आधि अधुरो तरिकाले दफन गरिएको थियो।
यही बहादुरी र उच्चस्तरको रणकौशल प्रदर्शन गरेवापत आफ्नो दुश्मन भए पनि गोर्खाली सैनिक साथै आफ्ना कमान्डर जिलेस्पीको सम्मानमा ब्रिटिशले एउटा युद्ध स्मारकको निर्माण गर्यो जो सहस्रधारा रोड, देहरादूनमा अवस्थित छ।
त्यसपछि ती शहादतप्राप्त वीर–विरङ्गनाप्रति भावपूर्ण श्रद्धाञ्जली चढाएर अटोमा बस्छु। अटो ड्राइभरले तल बजारमा अर्को यस्तै युद्धस्मारक छ भने। बाटोमा पर्छ भने लग न त भनें।
सहस्रधाराको स्मारक पुगेर त्यहाँ लेखिएका यी तीन शिलालेख मैले लाइन बाइ लाइन पढछु-
१.This is inscribed as a tribute of respect for our gallant adversary BULBUDDER commander of the fort and his brave Goorkas who were afterwards while in the service of Runjeet Sing shot down in their ranks to the last man by Afghan artillery.
२. Kalinga (Khalanga) Memorial
It is the only martyr memorial of its kind in history where victorious army built the memorial on the bank of river Rispana in memories of their General Gillespie with other army men as well as Gorkha General Balbhadra Thapa their adversary to pay tribute to their courage jointly.
In 1814 the battle of Nalapani which took place between the Gorkha army under the command of Balabhadra Thapa grandson of Amar Singh Thapa and the British army led by General Gillespie. In this battle women and children joined hands in fighting along with the Gorkha army against the British army. The British General lost his life on 31st October 1814 with other fellow military men, later on due to seer adversity the Gorkha general Balbhadra Thapa along with his army was forced to leave the fort of Nalapani.
-Superintending archaeologist, Archaeological survey of India (2005).
३. कलिंगा (खलंगा) स्मारक
इतिहासमे अपनी तरह का एक अलग स्मृति स्मारक जिसमे विजयी सेना ने अपने शहीद सेनानायक जिलेस्पी व अंग्रेज साथियों की याद में तथा गोर्खा सेनापति बलभद्र थापा की अदम्य वीरता के लिए संयुक्त श्रद्धांजलि देते हुए इस स्मृति स्मारक को रिस्पना नदी तट पर निर्मित किया।
सन् १८१४ मे दुन घाँटी में नालापानी की पहाडी पर स्थित गोर्खाओं के किले पर अंग्रेज फौज के सेनानायक जनरल जिलेस्पी ने आक्रमण का प्रयास किया। गोर्खा सेनापति बलभद्र थापा जो कि अमर सिंह थापा के पौत्र थे, के नेतृत्व मे गोर्खा सेना के सिपाहियों के साथ किले मे उपस्थित महिलाओं तथा बच्चों ने भी वीरतापूर्वक अंग्रेजी फौजका सामना किया। जिसमे जनरल जिलेस्पी अपने कई साथियों के साथ ३१ अक्टोबर १८१४ को मारा गया। बाद में विपरित परिस्थितियों में गोर्खा सेनापति बलभद्र थापा को नालापानी का किला त्यागना पडा।
-अधिक्षण पुरातत्वविद्, भारतीय पुरातत्व सर्वेक्षण (२००५)।
‘बलभद्र कुँवर’ भनी इतिहासमा पढेको थिएँ। तर त्यहाँको शिलालेखमा ‘बलभद्र थापा’ भनेर लेखिएको पाउँदा अचम्भित हुन पुग्छु। भारतमा मगरहरू ‘थापा’ लेख्छन्, विशेष गरेर भारतीय गोर्खा सेनामा। नेपालमा मगरको पनि ‘कुँवर’ थर हुन्छ। मैदानमा लड्ने जति प्राय: सबै ‘मगर’, तर सेनापति र प्रधानमन्त्री जस्ता नेतृत्व तहमा किन गैरमगरका ‘थापा’ र ‘कुँवर’ भनी बहस चल्ने गर्दछ प्राज्ञिक स्तरमा कहिलेकसो।
मेरो मानसपटलमा प्रश्नहरू उब्जिन छोड्दैनन्- नालापानीको युद्ध बलभद्र कुँवर कि बलभद्र थापाले नेतृत्व गरेका थिए त ? बलभद्रको वास्तविक पहिचान के थियो त ? नेपालको इतिहास बङ्ग्याएर लेखिएको हुनसक्ने सम्भावनाले यो मन कुँडिएर आउँछ। तर आज पुर्खाको पाइतालाको डोब पछ्याउँदै यहाँसम्म आउन पाउँदा गर्व लागेर आएको छ।
पहाडकी रानीको काखमा एकक्षण
सहस्रधाराबाट अटोलाई विदा दिएर माथि उत्तरतिर लाग्छु। उकालै उकालो लोकल बसमा। एक घण्टापछि‘वेलकम टु क्वीन अफ हिल्स’ लेखिएको गेटले स्वागत गर्यो। मसुरी मैले हिन्दी सिनेमाबाट थाहा पाएको एक सुन्दर रमणीय ठाउँ हो।
यसले बन्दीपुर बसेको सम्झनालाई ब्युँझाइदियो। दार्जीलिङ डुलेको दिनहरूलाई सम्झाइदियो। धरानबाट भेडेटार उक्लेको भावनामा डुब्ने गरायो। हङकङको भिक्टोरिया पिकतिर हुइँकेको यादले सतायो।
बसले एउटा बाटोको मुखैमा झारिदियो। पहाडको पाखामा खनिएको लामो बाटो रहेछ। बेलायतीको पालामा निर्मित मालरोड रहेछ यसको नाम। चाहन्थें भने बग्गी र अटो चढ्न सक्थें, तर यसको दुई किलोमिटर पाइतालाले नै नाप्ने विचार गरें। दार्चुलातिरका नेपालीलाई भेटेर गफ पनि पिटें। तिनीहरू नेपाली हुन् भनेर कसरी चिनें भन्नु न ? ढाका टोपीले। ती अधबैंसे पुरुष कति खुशी देखिएका के ! म जस्तै टुरिस्ट पो हुन् कि भन्ने भान पर्यो।
‘वर्किङ टुरिजम्’ को प्रचलन छ नि पश्चिमा मुलुकमा, मलाई त्यस्तै लाग्यो। सन् १९९७ तिर ब्रिटिशहरू हङकङ आउँथे। विना भिसा ६ महिना बस्न पाउँथे। दुई चार हप्ता काम गर्थे अनि सप्ताहान्तमा वानचाइ र लाङकाई फोङ्का बार र रेस्टुरेन्टमा रमाइलो गर्थे। ती दार्चुलेहरू पनि त्यसै गर्दा हुन् जस्तो लाग्यो, तिनको शरीरबाट गाँजाको मधुर गन्ध आउँदा। आखिरमा ती दार्चुले श्रम गर्न आएका रहेछन्, विचरा !
पसले साहुका भारी बोक्दा रहेछन्। तिनको परिश्रमलाई सम्झिंदा काठमाडौंका भारतीय श्रमिकलाई सम्झें। श्रम पनि वस्तु जस्तो आयात निर्यात किन गर्नु परेको होला ! भारतीय श्रमिक भारतमै नेपालका श्रमिक नेपालमै बसेर श्रम गर्नु नि !
तिनीहरूसँग विदा लिएपछि एउटा क्याफेमा छिरें। तलको देहरादूनको भ्यालीलाई साक्षी राख्दै कफी पिउँदा यी तलका लाइन फुरे-
पहाडकी रानी
हरियो गुन्यूँ चोली
कम्मरमा कुहिरोको सेतो पटुकी
बाँधेर कता निस्केकी ?
ए सुन्दरी
आउँदै गर है मेरो आँखा वरिपरि
फेरि फेरि !
दुई–तीन घण्टा पहाडकी रानीको काखमा बिताएपछि झरें देहरादून। त्यो साँझ वीर गोर्खा कल्याण समितिको दशैं तिहार मेलामा पुग्छु, महेन्द्र ग्राउण्डमा। राजा महेन्द्रले दिएको ग्राउन्ड रे! ३/११ गोर्खा पल्टनको ज्यानलाई जिरिङ्ग पार्ने कम्ब्याट डेमो हेर्छु।
सिन्धुलीबाट सुमन थापा मगरको नेतृत्वमा आएका नौमती बाजाको बेजोडको प्रस्तुति हेर्दै रात काट्छु। र नेपाली कलाकारलाई विदेशी भूमिमा देख्न पाउँदा गर्वले छाती फुलाउँछु।
माया मार्ने छैन ल देहरादून !
चौथो दिन देहरादूनबाट इन्टरसिटी बसमा हरिद्वारतिर रवाना हुन्छु। हरिद्वारमा धार्मिक पर्यटक बनी घुमेर नेपाल फिर्नु थियो। देहरादूनवासी नेपालीसँग साहित्यले जुराएको यो मेरो प्रथम भेट हो।
कर्णप्रिय गीतनैनीताल नैनीताल घुमिआयो रेल..खुबै सुनेको र यसमा नाचेको पनि। नैनीताल देहरादूनदेखि यतै नजिक पर्छ। आजभन्दा ४०/५० वर्षअघि रुड्की र देहरादूनतिर लाहुरे हुन आएका काकाहरूले कुरा गर्दा मेरो मानसपटलमा यो एउटा सानो शहर होला भन्ने लागेको थियो।
मित्रसेनले उतिबेला क्यान्टोनमेन्ट र गोर्खा पल्टनको कुरा गर्दा सानो सैनिक व्यारेक होला भनी ठानेको ! तर मैले सोचेको भन्दा धेरै विशाल रहेछ देहरादून। उत्तराखण्ड राज्यको राजधानी। यहाँ त विश्व प्रसिद्ध सैनिक तालिम केन्द्र र शैक्षिक क्याम्पसहरू रहेछन्। गोर्खाली पल्टनबाट रिटायर्ड भएका कर्णेल जर्नेलहरूको वासस्थान रहेछ यो। एकलाख भन्दा बढी नेपाली बस्दा रहेछन् यहाँ। तिनलाई नेपाल लैजाने ल्याउने देहरादून-बुटवल बस सेवा पनि चल्दो रहेछ।
माया मार्ने छैन ल देहरादून ! पर्खिबस्नु, अर्कोपल्ट बुटवलबाट बस चढेर फर्किआउनेछु। त्यतिबेला देहरादून, स्मार्ट सिटी बनिसकेर लन्डन जस्तो सुन्दर देखिने छ्यौ कि !
(डिसेम्बर २०२४, फोक्सटन, बेलायत)