#समाचार

सबैभन्दा कम रन बन्दा खसे ३९ विकेट – Online Khabar

२६ मंसिर, काठमाडौं । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा हामीले सर्वाधिक उच्च स्कोर बनेर त्यसलाई सफल रूपमा चेज‌ भएको पनि देख्यौं, फराकिलो अन्तरको हार पनि देख्यौं, एकै खेलमा ६ विकेटसम्म लिनेदेखि पावरप्लेमै ६ विकेटको दृश्य देख्न पनि धेरै समय कुर्न परेन ।

यसैबीचमा बलरहरू ब्याटरमाथि पूर्णरूपमा हावी भएर सबै ब्याटरहरू संघर्ष गरेका र दोस्रो इनिङमा कम योगफल डिफेन्ड भएको कुराको पनि बुधबार दर्शन पाइएको छ  । बुधबारका दुवै खेलमा पहिले ब्याटिङ गर्ने टिमले कम योगफल बनाए पनि त्यसलाई सफल रूपमा डिफेन्ड समेत गरे ।

विशेषगरी दोस्रो खेलमा काठमाण्डु गुर्खाजले १०३ रनको स्कोर डिफेन्ड गर्दै एनपीएलमा सबैभन्दा कम योगफललाई डिफेन्ड गर्ने कीर्तिमान पनि बनायो । सोही रेकर्ड केही घण्टाअगाडि सुदूरपश्चिमको नाममा थियो जहाँ जितको अन्तर पनि फराकिलो थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु १०३ रनमा अलआउट भएपछि कप्तान करण केसीको टसपछिको निर्णयमा‌थि केही प्रश्न उठेको थियो । यद्यपी काठमाण्डुले लुम्बिनीलाई अझै कम योगफलमा रोक्दै उक्त प्रश्नको जवाफ मैदानबाटै दियो ।

१०३ रनको योगफल जोगाउन काठमाण्डुले सुरूवातदेखि नै स्पीन बलिङ लगाएको थियो । युवा स्पीनर दिपेश कँडेलले ४ ओभरमा ६ रन मात्र दिएर ३ विकेट लिए भने जेरार्ड एरास्मसले ४ ओभरमा १९ रन दिएर २ विकेट लिए ।

त्यसो त यस्तै किसिमको दृश्य पहिलो खेलमा पनि देखिएको थियो जहाँ सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स विरुद्ध १२३ रन डिफेन्ड गर्ने क्रममा जनकपुरलाई ५१ रनमा अलआउट गरेको थियो । उक्त खेलमा सुदूरपश्चिमले १३औं ओभरमा बल्ल पेस बलिङ लगाएको थियो जसको पहिलो बलमै स्कट कुग्लेइनले विकेट लिएपछि जनकपुर ५१ रनमा समेटियो ।

यस खेलमा भने सबैभन्दा कम योगफलको कीर्तिमान बन्यो । जनकपुर ५१ रनमा अलआउट हुँदा यो स्कोर एनपीएलमा हालसम्म बनेको कम योगफल हो । यसअघि पोखरा चितवनविरुद्ध ७४ रनमा अलआउट भएको थियो ।

पहिलो खेलपछि जनकपुरका कप्तान अनिल शाहले विकेटभन्दा पनि ब्याटरहरूले शट सेलेक्सनमा ध्यान नदिँदा धेरै विकेट गुमेको प्रतिक्रिया दिएका थिए। ‘विकेटलाई दोष दिने भन्दापनि हामीले शट सेलेक्सनमा ध्यान दिनुपर्ने देखिन्छ, ब्याटरहरू पिचको कारणले भन्दा पनि शटमा ध्यान नदिँदा आउट भएका छन्’ उनले भनेका थिए, ‘चेज हुन्छ भन्ने नै थियो, ब्याटरहरूले जिम्मेेवार शटहरू नखेल्दा हामी चुक्यौं।’

दोस्रो खेलका पराजित कप्तान रोहित पौडेलको पनि त्यस्तै किसिमको प्रतिक्रिया थियो । उनले पनि १०४ रनको लक्ष्य पूरा हुन्छ भन्ने नै विश्वास रहेको तर गलत शटहरू खेल्नाले विकेट गएको बताए । ‘टार्गेट चेजेबल नै थियो, हामीले ब्याटिङ युनिटका रूपमा राम्रो ब्याटिङ गरेनौं विशेषगरी स्पीनरहरूसँग राम्रो ब्याटिङ हुन सकेन’ उनले भने ।

कप्तानको भनाइलाई पनि आधार मानेर कुरा गर्ने हो भने आजको दिनमा पिचको कन्डिशन अनुसार ब्याटरहरूले क्रिजमा टिकेर खेल्न सक्नुपर्थ्यो । किनभने स्पीनरहरूले बलिङ गर्नासाथ ब्याटरहरू आत्तिएको जस्तो देखिन्थ्यो ।

जुन हिसाबले बलहरू टर्न भइरहेको थियो, त्यस अनुसार ब्याटरहरूमा धैर्यता नहुनु र पिचको अवस्थालाई बुझेर खेल्न नसक्नु नै ब्याटिङ कमजोर हुनुको कारण बनेको छ ।

अर्कोतर्फ कप्तान रोहितले भनेको जस्तै प्रतियोगिता अगाडि बढ्दै गएपछि विकेट स्लो हुँदै जाने र ब्याटिङका लागि च्यालेन्जिङ बन्दै जान्छ । त्यसलाई अडाप्ट गर्न नसके ब्याटरहरूलाई धेरै नै कठिन हुने गर्छ ।

सबेभन्दा कम ‘एग्रेगेट’ रन, एकै दिनमा खसे ३९ विकेट

दुवै खेल ‘लो स्कोरिङ’ हुँदा बुधबार दिनभर टीयू मैदानमा विकेटको पतन हुने क्रम चलेको थियो भने ब्याटरहरूका लागि खासै राम्रो दिन रहेन । पहिलो खेलमा सुदूरपश्चिमले ९ विकेट गुमाएर १२३ रन बनाउँदा जवाफमा जनकपुर ५१ रनमा अलआउट भयो । त्यसैगरी दोस्रो खेलमा काठमाण्डु १०३ रनमा अलआउट हुँदा लुम्बिनी ८५ रनमा अलआउट भयो ।

दुवै खेलका चार इनिङ गरेर कुल ३६२ रन मात्र बनेको छ जुन् दुई खेलका कुल रन जोडेर हुने योगफलमा सबैभन्दा कम रन हो । त्यसैगरी कुनै एक खेलमा दुवै इनिङ गरेर बनेको कुल रन पनि दुवै खेलमा कम नै थिए ।

पहिलो खेलमा दुई इनिङ गरेर १७४ रन मात्र बनेको थियो भने दोस्रो खेलमा दुई इनिङमा गरेर कुल १८८ रन बनेको थियो । एनपीएलमा आजसम्म आइपुग्दा कुनै पनि खेलमा दुई इनिङ गरेर २०० भन्दा कम रन बनेको छैन ।

त्यसैगरी आज दुई खेलका चार इनिङ गरेर ३९ विकेट खसेको छ । त्यसो त आज चारवटै टिमका कप्तानले स्पीनरलाई नै धेरै बलिङ गराएका थिए । स्पिनरहरू रनमा पनि किफायती रहे । विशेषगरी बाँयाहाते स्पीनरहरूले निकै शानदार बलिङ गरिरहेका थिए ।

पहिलो खेलमा जनकपुरका पेसर किशोर महतोले चार विकेट लिँदा स्पिनरद्वय शेर मल्ल र अरनिको यादवले २-२ तथा हर्श थाकरले १ विकेट लिएका थिए । त्यसैगरी सुदूरपश्चिमका स्पीनरहरू दिपेन्द्रसिंह ऐरी, इशान पाण्डे र हर्मीत सिंहले २-२ विकेट लिँदा सेफ अली जैब र नरेन साउदले १-१ विकेट लिए । पेसर स्कट कुग्लेइनले १ विकेट लिए ।

दोस्रो खेलमा लुम्बिनीका स्पीनर साद बिन जफरले ३ विकेट लिए भने अभिशेष गौतमले २ तथा सुर्य तामाङले १ विकेट लिए । मिडियम पेसर रामोन सिमोण्ड्सले २ र विवेक यादवले १ विकेट लिएका थिए । उता काठमाण्डुका दिपेश कँडेलले ३ विकेट लिएका थिए भने जेरार्ड एरासमसले २ विकेट लिए । कप्तान करण केसीले ४ विकेट लिए भने राशिद खानले १ विकेट हात पारे ।

काठमाडौंको घातक बलिङले लुम्बिनी ‘नकआउट’

प्रतियोगिताका सुरूवाती चार खेलमा हार व्यहोरेपछि गर या मरको अवस्थामा रहेको लुम्बिनीले काठमाण्डुलाई १०३ रनमा अलआउट गरेपछि लुम्बिनीले लक्ष्य पूरा गर्दै प्लेअफ सम्भावना कायमै राख्ने अनुमान धेरैको थियो । तर लुम्बिनीले पनि विकेटको पतनलाई थाम्न सकेन ।

स्पिनरहरूले सुरूवातदेखि नै घातक बलिङ गरेपछि लुम्बिनी पावरप्लेमै १६-३ को अवस्थामा खुम्चिएको थियो । अघिल्ला खेलहरूमा शानदार खेलेका कप्तान रोहित पनि सस्तैमा आउट भएपछि जिम्मेवारी बोकेका सन्दिप जोरा पनि १९औं ओभरमा आउट भएपछि लुम्बिनीको भरोसा पनि सकिएको थियो ।

काठमाण्डुका दिपेशले १० ओभरभित्रै आफ्नो ४ ओभरको स्पेल सकेका थिए जहाँ उनले ६ रन मात्र खर्चेर ३ विकेट लिए । उनको इकोनोमी १.५ को रह्‍यो अर्थात् उनले प्रतिओभर २ रनभन्दा कम नै खर्चिरहेका थिए ।

कप्तान करण केसीले ४ ओभरमा १६ रन मात्र खर्चेर ४ विकेट लिए । त्यस्तै शाहब आलमले विकेट नलिए पनि ४ ओभरमा १० रन मात्र दिए । एरासमसले पनि ४ ओभरमा १९ रन मात्र दिएका थिए ।

लुम्बिनीले पनि पहिलो इनिङमा कसिलो बलिङ गरेको थियो । यद्यपी ब्याटिङ नचल्दा लुम्बिनी एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ । अब लुम्बिनीले अन्तिम खेलमा कर्णाली याक्ससँग खेल्न बाँकी छ ।

अर्कोतर्फ काठमाण्डुले आजको जितपछि प्लेअफ सम्भावना बढाएको छ । ४ खेलमा २ जितसहित काठमाण्डु पाँचौं स्थानमा छ । काठमाण्डुले अब जनकपुर, पोखरा र विराटनगरसँग खेल्न बाँकी छ ।

तीनमध्ये तीनै खेल जितेमा काठमाण्डु शीर्ष २ मा पनि पर्ने सम्भावना रहन सक्छ । त्यसैगरी २ खेल जितेमा प्लेअफमा स्थान बनाउन सक्छ । जनकपुरसँग काठमाण्डुले बिहीबार नै खेल्दै छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *