राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण पुष १८ देखि
२६ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण आउने पुसको मध्यबाट सुरु गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी र महिला लिगका शीर्ष पाँच टिमका प्रतिनिधिबीच भएको छलफलले प्रतियोगिताको दोस्रो चरण पुस १८ गतेदेखि सुरु गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
दोस्रो चरणको लिग पुष १८ देखि माघ १६ गतेसम्म काठमाडौंमा सञ्चालन हुने शाहले बताए ।
पहिलो चरणको लिगबाट शीर्ष पाँचमा रहेका तीन विभागीय टोली एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबसँगै स्याङ्जाको वालिङ नगरपालिका र कोसी प्रदेशले दोस्रो चरणका लागि स्थान पक्का गरेका थिए । तर कोसी प्रदेशले आर्थिक कारण देखाउँदै दोस्रो चरणमा सहभागिता नजनाउने निर्णय गरेपछि एन्फाले पहिलो चरणमा छैटौं भएको सर्लाहीको बागमती युवा क्लबलाई खेलाउने भएको छ । एन्फा प्रवक्ता सुरेश शाहले कोशीले नखेल्ने र बागमतीले खेल्ने निर्णय भएको बताए ।
यी ६ बाहेक यसअघि राष्ट्रिय महिला लिगको पहिलो चरणमा रौतहटको चन्द्रपुर नगरपालिका, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश तथा संकटा क्लब गरी १० टिमले प्रतिस्पर्धा गरेका थिए ।