#समाचार

रविको बयान सकियो, कसरी बढ्छ मुद्दा ? – Online Khabar

२६ मंसिर, काठमाडौं । सहकारी संस्थाहरूको बचत रकम अपचलन आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ । उनले पाँच फरक जिल्लाका पाँच वटा सहकारी अपचलनबारे बयान दिएका छन् ।

२ कात्तिकमा वनस्थलीस्थित आफ्नै पार्टी कार्यालयबाट पक्राउ परेका रविलाई त्यहाँबाट सिधै गाडीबाट पोखरा पुर्‍याइएको थियो । त्यसपछि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणबारे रविमाथि अनुसन्धान अघि बढाइएको थियो ।

२०८० असोजमा सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दा कास्की अदालतमा पुगिसकेको थियो । त्यतिबेला १ अर्ब ३५ करोड ५४ लाख ८९९ रूपैयाँ बिगो कायम गर्दै १९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा चलाइएको थियो ।

१६ माघमा रविसहितका व्यक्तिविरुद्ध सूर्यदर्शन सहकारीको रकम अपचलनबारे जाहेरी परेको थियो । त्यतिबेला उनी उपप्रधान तथा गृहमन्त्री थिए ।

रास्वपा सरकारमा छँदा रविले आफू गृहमन्त्री हुँदाको लाभ लिँदै सहकारी ठगी प्रकरणको अनुसन्धान भए पनि आफूमाथिको अनुसन्धान भने शून्यप्रायः तुल्याएका थिए ।

कतिसम्म भने त्यतिबेला प्रहरी प्रमुख आईजीदेखि प्रधानमन्त्रीसम्मले सहकारीको रकम अपचलनमा रविको संलग्नता नरहेको टिप्पणी गर्नु परेको थियो । प्रहरी प्रमुख झिकाइएपछि संघीय संसदको राज्य व्यवस्था समितिमा प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले समेत अहिलेसम्म सहकारीको रकम अपचलनमा रविको संलग्नता नै रहेको जिकिर गरे ।

यहीबीचमा सहकारीको रकम अपचलनबारे छानबिन गर्न सूर्य थापाको नेतृत्वको संसदीय समिति गठन भयो । त्यही संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा कुँवर नेतृत्वकै प्रहरी टोलीलाई कारबाही स्वतन्त्र ढंगले अघि बढाउन सहज भयो । प्रहरीले सहकारी रकम अपचलनमा रविको संलग्नताबारे अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ ।

थापा नेतृत्वको उक्त समितिले ३१ भदौमा प्रतिवेदन बुझाउँदै रविसहित चार जनाको नामै किटेर कारबाही गर्नुपर्ने सिफारिस गर्‍यो । त्यसपछि आफैंले ‘क्लीन चिट’ दिएको व्यक्तिमाथि अनुसन्धान गर्नुपर्ने बाध्यता प्रहरी नेतृत्वमाथि आइलागेको थियो ।

संसदमा पेश भएको उक्त प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्रालयमा आयो । ६ असोजमा प्रतिवेदन आएपछि कारबाही सिफारिसमा गरिएका पूर्वडीआईजी छविलाल जोशी शंखमुलबाट पक्राउ परे । जोशी पक्राउ परेसँगै कार्यान्वयमा सुरु भएको प्रतिवेदन गोर्खा मिडियामा आएको रकम बारेको अनुसन्धान टुङ्गिदैछ ।

अब कसरी बढ्छ मुद्दा ?

पोखराबाट रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर हुनेछ ।

सरकारी वकिल हुँदै मुद्दा दायर भएपछि अदालतमा हुने थुनछेक बयान र बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारणमा तारेखमा छाड्नेमध्ये एउटा आदेश आउनेछ ।

‘लगभग अनुसन्धान सकिएको छ । अब चाँडै डकुमेन्टेसन गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउँछौं,’ जिल्ला प्रहरी कास्कीका एसपी श्यामबाबु ओलियाले अनलाइनखबरसँग भने ।

रविविरुद्ध सुरुमा कास्की जिल्ला अदालतमा मुद्दा दायर हुनेछ । सरकारी वकिल हुँदै मुद्दा दायर भएपछि रविको बयान र त्यसपछि थुनछेक बहस हुनेछ । थुनछेक बहसपछि उनलाई साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि कारागार चलान भन्ने आदेश आउनेछ ।

यदि उनी साधारण तारेख तथा धरौटीमा छुटेको अवस्थामा अन्य जिल्लाहरूमा पनि मुद्दा रहेकाले पुनः हिरासतमा रहने/नरहने भन्ने यकिन भइनसकेको महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालको तर्क छ ।

उनी भन्छन्, ‘हामीले मुद्दा लैजाँदा प्रतिवादी छुटिजान सक्ने अवस्थामा भएमा उहाँविरुद्ध अन्य जिल्लाहरूमा पनि मुद्दा रहेकाले ती जिल्लाहरूमा पठाई पाउँ भन्ने माग गरेका हुन्छौं ।’

उनी अगाडि थप्छन्, ‘यदि रवि छुटेको अवस्थामा मागअनुसार अन्य जिल्लाहरूमा उपस्थित गराइनेछ ।’ रविको हकमा उनीविरुद्ध जाहेरी परेका सबै जिल्लाहरूमा बयान भइसकेकाले पुनः हिरासतमा राख्ने नराख्ने भन्ने आदेशमा पुनः अदालतमै निर्भर रहने दाहाल बताउँछन् ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा सुरुमा १९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा बुझाइएको थियो । गत १६ माघमा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीले भाडामा लिएको शंखमुलस्थित घर छापा मारेर चारवटा सर्भर बरामद गरेको थियो । सर्भर बरामद भएपछि थप चार वर्षको गरी २०७२ सालदेखिको कारोबार भेटिएको थियो । त्यसपछि थप २५ जनालाई पक्राउ पुर्जी लिइएको थियो ।

अब दोस्रो चरणको अनुसन्धानमा कति जना प्रतिवादी बन्छन् भन्ने यकिन हुन बाँकी नै रहेको कास्की प्रहरीको भनाइ छ । ‘प्रतिवादी कति बन्छन् भन्ने यकिन भइसकेको छैन । कसको भूमिका के, त्यो अनुसार कसलाई कति बिगो भन्ने खुलाएर डकुमेन्टेसन गर्न बाँकी नै छ,’ एसपी ओलियाले भने ।

कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए ।

यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

रविलाई कास्कीले पक्राउ गरेर सुरुवाती अनुसन्धान गर्नेदेखि म्याद थप समेत कास्कीबाटै भएकाले ९० दिनभित्र अदालतमा मुद्दा बुझाउनुपर्ने बाध्यकारी व्यवस्था छ । तर रविमाथि बयान भएका अन्य जिल्लाको हकमा ९० दिनभित्रै मुद्दा बुझाउनुपर्ने बाध्यकारी प्रावधान छैन । त्यसैले अहिले नै मुद्दा दर्ता गर्ने यकिन नभएको रूपन्देहीका एसपी रञ्जितसिंह राठौर बताउँछन् ।

‘हामीले पक्राउ नगरेकाले हदम्यादको बाध्यता अहिले छैन । जसकारण अहिले नै मुद्दा दर्ता भन्ने अवस्था पनि छैन । यद्यपि कास्कीको प्रक्रिया सकिएपछि अगाडि बढाउने हाम्रो तयारी छ,’ एसपी राठौरले अनलाइनखबरसँग भने ।

सूर्यदर्शन र सुप्रिमको बयान दिएका रविविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि पक्राउ पुर्जी जारी भयो ।

पहिलो चरणमा प्रहरी वृत्त कालिमाटीकै अनुरोधमा सञ्चालक समितिका व्यक्तिहरूविरुद्ध २१ वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो ।

दोस्रो चरणमा २ भदौमा पक्राउ पुर्जी जारी भयो । त्यतिबेला पनि रविविरुद्ध पक्राउ पुर्जी जारी भएको थिएन । त्यसपछि तेस्रो चरणमा २ मंसिरमा रविसहित व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि १३ मंसिरमा पोखराबाट काठमाडौं ल्याएर रविको बयान लिइएको थियो ।

स्वर्णलक्ष्मी सहकारीले १ अर्ब ११ करोड रूपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ । स्वर्णलक्ष्मी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । यो सहकारीको मुद्दा भने अहिलेसम्म अदालत पुगेको छैन । जसकारण यसको बिगो र जाहेरकर्ता तथा पीडित संख्या पनि यकिन भइसकेको छैन ।

यो सहकारीको मुद्दा भने २० पुसभित्र अदालतमा पुर्‍याइसक्नुपर्ने बाध्यकारी अवस्था छ । स्वर्णलक्ष्मी सहकारीकी लेखा समिति सदस्य सुनिता नेवालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले २० कात्तिकमा पक्राउ गरेको थियो । सहकारी ठगी र संगठितमा अनुसन्धान गरेकाले ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने हुन्छ ।

सोही अनुसार तयारी गरिएको परिसरको मुद्दा शाखाका डीएसपी हरि खतिवडा बताउँछन् । जसकारण कास्कीपछि लगत्तै रविमाथि काठमाडौं मुद्दा दायर हुने देखिन्छ । नेवा पक्राउ परेको एक सातापछि २६ कात्तिकमा तत्कालीन ऋण उपसमिति सदस्य कमल लामा पक्राउ परेका थिए ।

२४ बचतकर्ताले जाहेरी दिएपछि काठमाडौंपछि रविविरुद्ध ५ मंसिरमा चितवनको सहारा सहकारीको रकम अपचनलमा पनि पक्राउ पुर्जी जारी भयो ।

यो सहकारी ठगी प्रकरणमा यसअघि ८ भदौमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । त्यतिबेला जीबीसहित उनको परिवारका भुपेन्द्रबाबु, अनन्तबाबु, देवेन्द्रबाबुसहित १७ जनाविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो ।

४४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रूपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको थियो । त्यतिबेला उम्किएका रवि अहिले भने अनुसन्धानमा तानिए । दोस्रो चरणमा पक्राउ पुर्जी जारी भएका रवि, छविसहितका व्यक्तिमाथि अनुसन्धान सकिए पनि अन्य आरोपीहरूको हकमा अनुसन्धान बाँकी नै रहेकोले अहिले नै मुद्दा बुझाउने तयारीमा छैन ।

रविले अन्तिम पटक वीरगञ्जको सानोपाइला सहकारीको रकम अपचलनबारेमा बयान दिएर आज मात्रै पोखराको हिरासतमा फर्किएका छन् । सोमबार साँझ जहाजबाट बाराको सिमरा हुँदै वीरगञ्ज पुगेका रविमाथि मंगलबार सरकारी वकिल कार्यालयमा बयान लिइएको थियो ।

सानोपाइला सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालीन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीमा करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रूपैयाँ बचत जम्मा भएको थियो ।

सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगञ्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रूपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ ।

यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेसनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको छ ।
गितेन्द्रबाबु (जीबी) राई समूहले चलाएका सहकारीहरूको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको ठहर गर्दै संसदीय छानबिन समितिले ३१ भदौमा बुझाएको प्रतिवेदनमा चार जनाको नाम नै किटेर कारबाही गर्न सिफारिस गरेको थियो ।

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानोपाइला सहकारीबाट ८ अर्बभन्दा बढी रकम अपचलन भएको छ । यसमध्ये ६५ करोडभन्दा बढी रकम रवि गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध निर्देशक भएको १४ महिना अवधिमा आएको थियो । यही आरोपमा पक्राउ परेका उनी २ कात्तिकदेखि हिरासतमा छन् । रविमाथि सहकारी ठगी, सं

गठित अपराध, सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

रविको बयान सकियो, कसरी बढ्छ मुद्दा ? – Online Khabar

स्ववियु सभापति ओझा – Online Khabar

रविको बयान सकियो, कसरी बढ्छ मुद्दा ? – Online Khabar

प्रचण्डको रवि–प्रेम

Leave a comment

Your email address will not be published. Required fields are marked *