#समाचार

नेपाली ब्रान्डको शानदार शुरुवात – Online Khabar

२५ मंसिर, काठमाडौं । १० हजार दर्शकहरू एकैपल्ट कराउँदा कीर्तिपुरका चराहरू रुखका हाँगाबाट भुर्र उड्छन् । शान्त सुस्ताइरहेका कुकुरहरू उठेर यताउता दगुर्छन् । त्रिभुवन विश्वविद्यालयको पठनपाठनलाई एकैछिन दखल पुग्छ । खासमा विद्यार्थी, प्राध्यापक आफैं पनि क्रिकेट मैदानको अपडेट बुझ्न मोबाइल कोट्याउँछन्, कान तिख्याउँछन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुनुअघि पनि कीर्तिपुरमा यस्ता थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय क्रिकेट भइसकेका छन् । तर नेपाली क्रिकेट इतिहासको ठूलो आयोजना मंसिरभर, अनि पुस ६ सम्म चल्दैगर्दा वरपरको दैनिकी रमाइलो पारामा प्रभावित छ ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले अनलाइनखबरसँग कुरा गर्दै यस प्रतियोगितालाई क्रिकेटमात्रै होइन, समग्र नेपाली खेल क्षेत्रकै ठूलो आयोजना भनी सगौरव दावा गरेका छन् ।

‘आठ दिनमा २ करोडभन्दा बढीको त घाँसेमैदानकै टिकट बेचिसकेका छौं, ३ सय र ५ सयको टिकट बेचेर कमाएको पैसामा केही भीआईपी टिकटको आम्दानी थपिएको हो,’ खड्का भन्छन्, ‘एनपीएलमा मैले आम दर्शक र सरोकारवालाहरूको जुन उत्साह देखें, यसले नेपाली खेल क्षेत्रमा मात्रै होइन, समग्र नयाँ पुस्ता र हाम्रो राष्ट्रिय जीवनमा केही नयाँ परिवर्तन आइरहेको छ ।’

र, यो रमाइलो केवल क्रिकेट पारखीको दुनियाँमा सीमित छैन । नेपालको सुस्त अर्थतन्त्र, उदास नागरिक जीवन, खासगरी युवाहरूको ऊर्जालाई चलायमान बनाउन एनपीएलले जुन योगदान दिइरहेको छ, त्यसको प्रभाव खेलविधाभन्दा अन्यत्र पनि प्रसार भइरहेको छ ।

त्रिवि अर्थशास्त्र विभाग प्रमुख रेशम थापा भन्छन्, ‘आइपीएलकै जस्तो रमाइलो घरकै छेउमा देख्न पाइएको छ । साइजका हिसाबले यो पाकिस्तान र बंगलादेशको क्रिकेट लिगभन्दा ठूलो हो भन्ने मैले बुझेको छु ।’

कालापत्थरको ढुंगा राखिएको एनपीएल कपलाई प्रधानमन्त्री केपी शर्मा ओलीबाट अनावरण अनि खेल उद्घाटन सत्रअगावै १२ हजार टिकट हारालुछ बिक्री हुनु यो खेलप्रति दर्शक झुकावको गतिलो प्रमाण हो । फ्रेन्चाइजको राइट बिक्री, देशी विदेशी खेलाडीको अक्सन, पाँचतारे होटल, राष्ट्रिय अन्तर्राष्ट्रिय विमान टिकट, स्टार स्पोर्ट्सको प्रसारण अधिकार, क्रिकेट मैदानमा बोर्ड राखेर विज्ञापनजस्ता ठूला खर्चमात्रै होइन, वरपरका रेस्टुरेन्ट, बदाम सुन्तला बेच्नेदेखि हेलमेट रुङ्गेर आयस्ता जुटाउनेहरूको सानो अर्थतन्त्र पनि कहीँ न कहीँ एनपीएलकै वरिपरि छ ।

क्यान सचिव खड्काले हामीसँग बताए अनुसार एनपीएल–अर्थतन्त्रको ‘नेट वर्थ’ ८० करोड रुपैयाँ हाराहारी छ । ‘स्पोन्सरसिप, एयरलाइन्स, होटलदेखि पठाओ इन्ड्राइभसम्मको हिसाब निकाल्दा जुन आकार आउँछ, यो निकै उत्साहजनक छ,’ खड्का भन्छन्, ‘८ टिमको ५ करोड औसत खर्चमात्रै निकाल्दा पनि ४० करोड हुन्छ । क्यानले १५ करोड खर्चेको छ । अरु क्षेत्रको हिसाब निकाल्न समय लाग्छ, तर ८० करोड हामीले आकलन गरेका छौं ।’

नेपाल सरकारको न्युन बजेट प्राथमिकतामा परेको खेलकुद, त्यसमा पनि कमैमध्येको प्राथमिकतामा रहेको क्रिकेट– यति थोरै अवसर पाएर पनि एनपीएलमार्फत् जुन महाकुम्भ चलिरहेको छ, यसले भारतजस्तो क्रिकेट महाशक्तिको छिमेकमा नेपालले दिइरहेको ‘अन्तर्राष्ट्रिय समाचार’ चर्चायोग्य छ । यसरी नेपाली अर्थतन्त्रलाई खेल पर्यटनको माध्यमबाट टेवा दिन एनपीएल आइपुगेको छ । खेलकुदमन्त्री तेजुलाल चौधरी भन्छन्, ‘विश्वका नामी खेलाडी आएर खेले, हाम्रा क्रिकेटरले पनि सिक्न पाए । पर्यटन, रोजगारीतिर पनि यो उत्सवले योगदान गर्‍यो ।’

मन्त्री चौधरी, क्यान अधिकारीहरूले भनेझैं एनपीएलको प्रतिष्पर्धा भने केवल आर्थिक पक्षमा सीमित छैन । सात संघीय प्रदेशहरूलाई प्रतिनिधित्व गर्ने आठ फ्रेन्चाइज टिमहरूले जुन अन्तर–प्रादेशिक भाइचारा र प्रतिष्पर्धाको मनोविज्ञान निर्माण गरेका छन्, त्यसले प्रकारान्तरले संघीयताकै मलजल गर्ने अर्थशास्त्रीहरूको विश्लेषण छ ।

‘संघीयताले प्रदेशहरूबीच सकारात्मक प्रतिष्पर्धालाई जोड दिन्छ भन्ने दृष्टान्त क्रिकेटमार्फत् देख्न पाइयो,’ अर्थशास्त्री रेशम थापा भन्छन्, ‘कुन प्रदेश अब्बल, कुन प्रदेशले अझै मेहनत गर्नुपर्छ भन्ने विश्लेषण पनि यही बीचमा हुन्छ । सबैलाई कहीँ न कहीँ फाइदा पुग्छ ।’

बागमतीका काठमान्डु गुर्खाज र चितवन राइनोजलाई छाड्ने हो भने हरेक प्रदेशपिच्छे एक–एक टिम एनपीएलमा प्रतिस्पर्धारत छन् । कोशीको विराटगर किङ्स, मधेसको जनकपुर बोल्ट्स, गण्डकी पोखरा एभेन्जर्स, लुम्बिनीको लुम्बिनी लायन्स, कर्णालीको कर्णाली याक्स्, सुदुरपश्चिमको सुदुरपश्चिम रोयल्स यसका उदाहरण हुन् ।

हारजित जसको जे भए पनि प्रदेशका नागरिकले चाहे नेपालबाट, चाहे प्रवासबाट आफ्नो माटोको फ्रेन्चाइजलाई स्नेहले साथ दिइरहेका छन् । मिडियाका प्रत्यक्ष प्रसारण र खबरको उक्लँदो ट्राफिक ग्राफले यसलाई प्रष्ट पार्छ । शिखर धवन, बेन कटिङ, जिमी निसम, सोहेब तन्विर, मार्टिन गप्तिलजस्ता ४० जति विदेशी सेलेब्रिटी क्रिकेटरको नेपाल आगमनले कीर्तिपुर मैदानको रौनक नै बढाइदिएको छ । यी पंक्ति लेखिँदै गर्दा महान क्रिकेटर ब्रायन लारा एनपिएल हेर्नकै लागि काठमाडाैं आउने सूचना हामीलाई प्राप्त भएको छ । अनि विश्व क्रिकेटमा चर्चित कमेन्टेटर र खेलाडीहरु कोच बनेर आएको तथ्य पनि याद गर्नुपर्ने खालको छ ।

अब फ्लडलाइट व्यवस्थापन, प्रदेश–प्रदेशमा रंगशाला निर्माण र स्तरीकरण, खेलका लागि आवश्यक जनशक्ति र पूर्वाधार दिन सके क्रिकेटमार्फत् व्यावसायिकतामात्रै होइन, पर्यटन नै प्रवर्द्धन पनि गर्न सकिने बताउँछन्, राजनीतिशास्त्री समृद्ध घिमिरे ।

‘प्रदेशपिच्छे टिम बनाउने बेला त्यही ठाउँमा क्याम्प चलाए, गाउँसम्म रहेका प्रतिभाको खोजी गरे,’ घिमिरे भन्छन्, ‘अहिले भिन्न प्रदेशका भिन्न संस्कृति बोक्ने युवा खेलाडी एकै ठाउँ बसिरहेका छन् । एक अर्कालाई बुझ्ने क्रममा देशकै साझा संस्कार बुझिरहेका छन् । यो सानो कुरा होइन । यसले काठमाडौंको अर्थतन्त्रमात्रै उकासेको छैन, राष्ट्रिय भावनामै वृद्धि गर्न सघाएको छ ।’

एनपीएल सुरुवात हुनुअघि धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग आयोजना नथालिएका होइनन् । तर आर्थिक लगायत थुप्रै व्यवस्थापकीय कारण देखाउँदै ती नचल्ने अवस्थामा पुगे । यति बेला एनपीएल गराउन स्वयं क्रिकेट एसोसियसन अफ् नेपाल (क्यान) को अग्रसरता, ठूला कर्पोरेट घरानाको आर्थिक साथ, अनि नाम चलेका विदेशी क्रिकेटरको आगमनले यसलाई नयाँ उचाइ दिएको छ ।

‘एउटा नयाँ बजारको जन्म भयो । एनपीएलमार्फत् लगानीको नयाँ ठाउँ आयो,’ अर्का अर्थशास्त्री समीर खतिवडा भन्छन्, ‘नेपाली अर्थतन्त्र चलायमान बनाउनका लागि यो ‘पोजिटिभ स्पिलओभर’ हो । क्यानले बलियो नियमन र सुपरीवेक्षण गर्न सक्यो भने नेपालमा योभन्दा ठूलो अवसर सिर्जना हुन सक्छ ।’

याद गर्नुपर्ने के छ भने केही अघिसम्म फुटबलमार्फत् दक्षिण एसियाली क्षेत्रीय परिवेशमा चर्चामा रहने गरेको नेपालले पछिल्लो डेढ दशकमा क्रिकेटमा जुन उचाई लियो, यसले अब नेपालको सफ्ट पावर वृद्धि गर्ने क्षमता नै फुटबलबाट सरेर क्रिकेटमा पुगेको छ ।

यसअघि ०८० पुसमा भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर काठमाडौं आएका बेला नेपाल क्रिकेट संघ (क्यान) पदाधिकारी र खेलाडीसँग भेटेका थिए । द्वारिकाज् होटलमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का तथा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरीलगायत ६ खेलाडी भेट्दै भारतीय विदेशमन्त्री जयशंकरले दीर्घकालीन र अल्पकालीन योजना बनाउन सुझाएका थिए ।

त्यसबेला नेपाली पक्षले उनीसँग कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न बनाइदिन, अनि नेपाल र भारतबीच दुईपक्षीय शृङ्खला खेलाउने व्यवस्था गरिदिन माग गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा नेपाली क्रिकेटरको नाम लिने, आइपीएलमा नेपाली खेलाडीको खोजी हुने, अनि भारतीय सरकारले क्रिकेटलक्षित चासो देखाउने क्रम बढ्नुले यो नेपालको उदाउँदो सफ्ट पावर बनिसकेको प्रमाणित गर्छ ।

तर तथ्यको अर्को पाटो पनि छ । नेपाली क्रिकेटरहरू सीमित सुविधा र वातावरणका बीच भारतजस्तो क्रिकेट महाशक्ति राष्ट्रसँगै पटक पटक प्रतिष्पर्धा गरिसकेका छन् ।

पुग्दो बजेट, तलब, र सुरक्षित करिअर नहुँदा पनि विश्वका कतिपय क्रिकेट राष्ट्रहरूलाई आच्छु–आच्छु पार्ने खेलहरूमा सामेल भइसकेका छन् । स्वयं क्यान सचिव पारस खड्का त्यसका एक सुरुवातकर्ता हुन्, जसलाई अघि लगाएर एनपीएलको महाखेल जारी छ ।

यद्यपि एनपीएलमा जे कमाइ हुन्छ, त्यो क्यान एक्लैले राख्ने भने गर्दैन । आम्दानीको ५० प्रतिशत रकम ८ वटा फ्रेन्चाइजलाई बाँडिन्छ । विज्ञापनदाताबाट आएको, प्रसारण अधिकार बिक्री, अनि टिकट बिक्रीबाट आएको रकम तिनै फ्रेन्चाइजले पाउँछ । फ्यान कोड, एक्सन स्पोर्टस्लाई दिएको प्रत्यक्ष प्रसारण अधिकारको रकम पनि क्यानले पाउँछ, जो फ्रेन्चाइजहरूमै बाँडिन्छ ।

फ्रेन्चाइज प्रवर्द्धकहरू पनि आर्थिक फाइदाको सम्भावना प्रत्याभुत नहुँदा पनि राष्ट्रिय अर्थतन्त्र र प्रतिष्ठा उठाउन योगदान दिन पाउनुलाई आफ्नो उपलब्धि ठानिरहेथे । अब त आर्थिक आम्दानीकै बाटो पनि खुलाउने संकेत देखिइसकेका छन् ।

आठ फ्रेन्चाइजमध्ये कर्णाली याक्सका सहप्रवर्द्धक गृहेन्द्र घिमिरे यस्तै सन्तुष्टि लिइरहेका एक प्रतिनिधि हुन् । उनी शिखर धवनजस्तो खेलाडीलाई आफ्नो टिममा अनुबन्ध गर्दाको सन्तुष्टि अतुलनीय रहेको सुनाउँछन् । अन्तर्राष्ट्रिय क्रिकेटरसँग सहकार्य गर्ने क्रममा आफूले ब्रान्डिङको महत्त्व अझै बुझेको उनले बताए ।

‘धवनजस्ता नामी विदेशी खेलाडी, अनि यहाँका प्रतिभाशाली खेलाडीलाई एकै ठाउँ राखेर एनपीएलको गरिमालाई टेवा पुर्‍याउन पायौं,’ सहप्रवर्द्धक घिमिरे भन्छन्, ‘आज आइपीएल वा भारतीय क्रिकेटलाई ज्यान फालेर पछ्याउनेहरू एनपीएलतिर आँखा लगाउन थालेका छन् । यो हामी नेपालीका लागि सानो कुरा होइन ।’

क्यान सचिव खड्काले थुप्रै लगानीकर्ता जोडिन खोजे पनि उनीहरूको व्यावसायिक निष्ठा र पारदर्शितालाई प्राथमिकता दिँदै एनपीएलको स्वच्छता कायम गर्न खोजिएको बताए ।

यसअघि विभिन्न प्रतियोगिताहरू बेटिङ लगायत आर्थिक मुद्दाहरूमा बदनाम भएको पाठ सिकेर अघि बढ्न खोजेको उनको भनाइ छ । स्वयं क्यान आफैंले दुई सालअघि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग मिलेर नेपाल टी २० लिगका नाममा फ्रेन्चाइज प्रतियोगिता सुरु गरेको थियो ।  तर बेटिङ, स्पट फिक्सिङ आदिले दिगो हुन नसकेको निकट विगत छ ।

अर्थशास्त्री समीर खतिवडा यहीँनेर सचेत भएर अघि बढ्न प्रवर्द्धक र क्यानलाई सतर्क गराउँछन् । उनले यो क्रिकेट उत्साहले समग्र नेपाली जीवनलाई दिएको उर्जाको बखान गर्दै लगानी गर्ने बेलामा सिर्जनात्मक उपाय लगाउन सुझाव दिए ।

‘अहिले एनपीएलको जारी सफलताका कारण क्रिकेटमा लगानी गर्‍यो भने गज्जब आम्दानी हुन्छ भन्ने सन्देश सबैतिर गएको छ, लगानी गर्ने ठाउँहरू नेपालमा कम भएकाले यस्तो भएको हो,’ अर्थशास्त्री खतिवडा भन्छन्, ‘एउटाले कुनै काममा सफलता पायो भने नेपालमा उसैको सिको गर्दै अर्को चाउचाउ फ्याक्ट्री, साबुन फ्याक्ट्री खोल्न थाल्ने प्रचलन छ । अलिक पहिले जो पनि रियल इस्टेटमा लाग्थ्यो । त्यसैले एनपीएललाई हेरेर अरु खाले पूर्वाधार बनाउन वा आर्थिक सम्भावना खोज्न रचनात्मक उपाय खोज्न पनि लगानीकर्ता पछि पर्नु हुँदैन ।’

नेपाली ब्रान्डको शानदार शुरुवात – Online Khabar

डरलाग्दो सपना किन देखिन्छ ? – Online

नेपाली ब्रान्डको शानदार शुरुवात – Online Khabar

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Leave a comment

Your email address will not be published. Required fields are marked *