#समाचार

लुम्बिनीको आशा जगाउने रोहितको कप्तानी प्रदर्शन – Online Khabar

२५ मंसिर, काठमाडौं । एक होइन, दुई होइन । लगातार चार हार । त्यो पनि राष्ट्रिय टिमका कप्तान रोहित पौडेल कप्तान रहेको टिमको ।

कुनै टिमले लगातार चार जित, कसैले ३, कसैले २ त कसैले कम्तीमा १ खेल जितिसकेका थिए ।

चार खेलसम्म जितविहिन हुँदा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलमाथि कति दबाब थियो होला अथवा उनले के सोचिरहेका थिए होलान् । जति गरेपनि जित हात पार्दैन । कहिले १ रनले हार्ने, कहिले १९२ रन बनाएर पनि डिफेण्ड गर्न नसक्ने । दुई खेलमा जित नजिक पुगेर पनि हार्नुपरेको पिडा लुम्बिनी लायन्समाथि थियो ।

पाँचौ खेलमा आएर पहिलो जित हात पारेपछि कप्तान रोहित सहित लुम्बिनीका खेलाडी कोचिङ स्टार समर्थक सबैले केही राहत महसुस गरे । चयनको शास फेर्न पाए ।

पहिलो जितपछि रोहितले भगवानलाई समेत धन्यवाद दिए । ‘ब्याडली जित चाहिएको थियो । चार खेल भइसकेको थियो । विकेटहरु झर्ने बेला भगवानलाई थ्याङयु भनिराथेँ ।’

मंगलबार टीयू मैदानमा भएको पहिलो खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराएर पहिलो जित हात पार्‍यो । ५ खेलबाट टिमको खातामा २ अंक भएको छ ।

कप्तानी इनिङ्स

त्यसमा सबैभन्दा ठूलो योगदा उनै रोहितको रह्यो । उनले कप्तानीसहित ब्याट र बल दुवैमा लिड गर्दै सानदार प्रदर्शन गरे । लिड फ्रम दी फ्रन्ट भनेजस्तै सबै क्षेत्रमा रोहित छाए । रोहितले सुरुमा ८० रन बनाए अनी बलिङमा पनि सर्वाधिक ४ विकेट लिए ।

यो रोहितको उत्कृष्ट प्रदर्शन मध्येको एक हो । र उनको करियरको लामो समसयसम्म पनि यो प्रदर्शन सम्झनलायक हुनेछ । ‘मे बी आजको प्रदर्शन राम्रै भयो । अझै धेरै आउन बाँकी छ । एनपीएल नै मेरो लागि राम्रो भइराछ । तर टिमको लागि लास्ट चार खेल राम्रो भइराको थिएन तर आज लाइन क्रस भयो राम्रो भयो ।’ टीयू मैदानमा यो प्रदर्शन पर्सनल बेस्ट प्रदर्शन हो भनेर सुरुमै सोध्दा रोहितले भने ।

टस हारेर पनि ब्याटिङमा कप्तानी इनिङ्स खेल्दै टिमको स्कोर १६७-६ बनाए । जसमा रोहितले ८० रन योगदान गरे । ५७ बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गरे । रोहितले एनपीएलमा बनाएको यो दोस्रो अर्धशतक हो । यसअघि उनले पोखरा एभेन्जर्स विरुद्ध ९५ रन बनाएका थिए ।

आफू मात्र होइन शाद विन जफरसँग मिलेर पाँचौ विकेटका लागि ११४ रनको शतकिय साझेदारी पनि गरे । एनपीएलमा पाँचौ विकेटका लागि भएको यो पहिलो शतकिय साझेदारी हो भने समग्रमा पाँचौ शतकिय साजेदारी हो ।

विवेक यादव भन्दा अघि साद विनले ब्याटिङ गरे । त्यो बोलाउने निर्णय पनि रोहितले नै गरे । ‘बल टर्न गरिराथ्यो । टम पनि आउट भयो । बलिङमा लेफ्ट आर्म स्पीनर थियो । मैले लेफ्टी चाहियो भनेर कम्युनिकेट गरिराथेँ । साद र मेरो राम्रो पार्टनसिर भयो र १६० क्रस भयो ।’ रोहितले साद विन सँगको साझेदारी बारे भने ।

साद विन जफरले ३५ बल खेल्दै ४ चौका र १ छक्का मदतमा ५२ रन बनाए ।

नयाँ बलमा बलिङ

बिहानको कन्डिसनमा राम्रो स्कोर बनाएपछि त्यसलाई डिफेण्ड गर्नका लागि पनि रोहित आफैँ अगाडी बढे । पहिलो ओभर बलिङ गरेका रामोन सिमोण्ड्ससँगै आफैँ नयाँ बलर लिएर रोहित बलिङमा उत्रिए । आफ्नो पहिलो ओभरमै उनले चितवनका विपिन रावललाई आउट गरे । चौथो ओभरमा फेरि बलिङमा आएका रोहितले पहिलो बलमै सोहेल तनविरलाई कट एण्ड बोल्ड गरेपछि रोहितले आफ्नो र टिमको कन्फिडेन्स बढाइसकेका थिए ।

त्यसपछि रोहित १२औं ओभरमा बलिङमा आए । जहाँ उनले चितवनका अनुभवी रवि बोपारालाई आउट गरे अनी १४औं ओभरमा जान निकोल लफ्टी इटनलाई । यसरी उनले ४ ओभरमा जम्मा १७ रन खर्चेर महत्वपूर्ण ४ विकेट चट्काए । त्यहीबाट लुम्बिनीको जितको आधार कोरिएको थियो ।

मुख्य बलरहरुले विकेट लिन संघर्ष गरिरहँदा रोहितले पार्ट टाइम अफस्पीन बलिङबाट विपक्षीको विकेट झारेका हुन् । लगातार तीन खेलमा हारपछि रोहितले पोष्ट म्याचमा जोक गर्दै अब बलिङमा बुमराह ल्याउनेपर्ने बताएका थिए । तर चितवन विरुद्ध रोहितले आफैँ सानदार बलिङ गरे ।

टीयू मैदानमा भएका टी२० खेलमध्ये एकै खेलमा अर्धशतक हान्ने र ४ विकेट लिने उनी चौथो खेलाडी हुन् । यसअघि सन् २०१७ को इपीएलमा पोखरा राइनोजमा इस्रारुल्लाहले चितवन टाइगर्स विरुद्ध, २०२१ को इपीएलमा अजमतुल्लाह ओमारजाईले वारटनगर वारियर्स विरुद्ध र २०२२ मा टी२०आईमा नेपालका दीपेन्द्र सिंह ऐरीले पपुवा न्यु गिनी विरुद्ध यस्तो उपलब्धी हासिल गरेका थिए ।

प्लेअफको आशा

चितवनसँग हारेको भए लुम्बिनी लगभग प्लेअफ होडबाट बाहिरिने थियो । त्यसैले पनि यो जित अत्यावश्यक नै थियो । जितले राहतसँगै प्लेअफको झिनो आशा बढाएको छ । कप्तान रोहितले पनि प्लेअफ आशा कायम रहेको बताएका छन् । त्यसमा ठूलो योगदान उनैको रह्यो ।

‘यो जित एकदमै महत्वपूर्ण हो । अझै पनि प्रतियोगिता सकको छैन जस्तो लाग्छ,’ उनले भने, ‘बाँकी दुई खेल जित्यो भने आशावादी हुन सक्छ अरुको नतिजा हेरेर । गडको पनि केही प्लान होला ।’

लुम्बिनीले अब काठमान्ड गुर्खाज र कर्णाली याक्ससँग खेल्न बाँकी छ । बुधबार काठमान्डु गुर्खाजसँग खेल छ । उक्त खेलमा पराजित भए लुम्बिनीको यात्रा लिग चरणमा सकिनेछ पक्का छ । काठमान्डुलाई हराएको केही आशा बाँकी रहनेछ ।

अहिलेसम्म विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्टसँग लुम्बिनी पराजित भएको छ ।

कारमा नजर !

यस पटक एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने एक नेपाली खेलाडीले ओमोडा कार पुरस्कार प्राप्त गर्नेछन् । त्यसैले नेपाली खेलाडीहरु राम्रो प्रदर्शन गर्न मोटिभेट भएका थिए । अहिलेसम्म लुम्बिनीले खराब प्रदर्शन गरेपनि व्यक्तिगत रुपमा भने रोहितले राम्रो प्रदर्शन गरिरहेका छन् । ब्याटिङमा दुई अर्धशतकसहित सर्वाधिक रन बनाउने रोहितले बलिङमा पनि ७ विकेट लिइसकेका छनु । टिमले हार्दा पनि उत्कृष्ट ब्याटिङ गर्दै बएका उनले पहिलो जितमा पनि महत्वपूर्ण भूमिका खेले ।

पहिलो जितपछि रोहितलाई कारतिर नजर के छ भन्ने प्रश्नमा उनले त्यसतर्फ नसोचेको बताए । ‘लेट्स सी के हुन्छ । अहिलेसम्म केही सोचेको छैन,’ रोहितले भने, ‘यो टुर्नामेन्टमा राम्रो भइराछ ब्याटिङमा ।  पोजिटिभ फिल गरिराछु । बल राम्रोसँग आइराछ हरेक खेलमा । त्यो कन्टिनिउ गरिराछु ।’

रोहितले राम्रो समय चलेको बेला राम्रोलाई अझ राम्रो बनाउन कोसिस गरिरहेको बताए । ‘राम्रो टाइम चलेको बेला गुडलाई ग्रेटमा कन्भर्ट गर्न ट्राई गरारछु । त्यसले काम गरिराछ ।’

पहिलो खेलमा बलिङ नगर्नु गल्ती

विशेगषरी ब्याटिङ गर्ने रोहितले पछिल्लो तीन खेलमा बलिङबाट ७ विकेट लिइसकेका छन् । उनले अघिल्लो खेलमा जनकपुर विरुद्ध २ विकेट लिएका थिए । त्यसअघि सुदूरपश्चिम विरुद्ध १ विकेट ।

पहिलो खेलमा विराटनगर किंग्स विरुद्ध बलिङ नै गरेनन् भने पोखरा विरुद्ध बलिङ रगेपनि विकेट लिन सकेनन् । अहिलेसम्म रोहितले ६ मध्ये ४ खेलमा बलिङ गरे । ब्याटिङमा बलियो लाइनअप भएपनि कम अनुभवी बलिङ र धेरै विकल्प नहुँदा पहिलो खेलपछि नै रोहितले आफैँ बलिङ गर्न थाले ।

पहिलो खेलमा प्रतियोगिताकै सर्वाधिक (पहिलो इनिङ्समा) १९२ रन बनाउँदा पनि डिफेण्ड गर्न सकेन ।

पहिलो खेलमा विराटनगर विरुद्ध विवेक यादव महँगा साविध भए । उनले ३.५ ओभरमा ६५ रन खर्चिए । जुन कुनै पनि बलरले एक खेलमा खर्चिएको प्रतियोगिताकै सर्वाधिक रन हो । त्यस खेलमा रोहितले बलिङ गरेनन् । खै किन हो । पछि भने उनलाई गर्नुपर्थ्यो भन्ने लाग्यो ।

पहिलो जितपछि रोहितले पनि त्यो खेलमा बलिङ नगरेर गल्ती भएको स्वीकारे । ‘पहिलो खेलमा बलिङ नगर्नु गल्ती फिल भइराछ । त्यो मेरो मिस्टेक थियो । बलिङ गर्नुपर्थ्यो ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *