यी हुन् हालसम्म सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी – Online Khabar
२४ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा १५ वटा खेलहरू सकिएका छन् । हालसम्म आइपुग्दा जनकपुर बोल्ट्स चार खेलमा अपराजित रहेको छ भने लुम्बिनी लायन्स चार खेलमा जितविहीन छ ।
यीबाहेक सुदूरपश्चिम रोयल्स र चितवन राइनोजको ४ खेलमा ३ जित तथा पोखरा एभेन्जर्स र काठमाण्डु गुर्खाजको ३ खेलमा १ जित छ । विराटनगर किंग्सको ४ खेलमा १ जित छ ।
एनपीएलमा हालसम्म आउँदा एक शतक प्रहार भएको छ भने १६ अर्धशतक प्रहार भइसकेका छन् । त्यस्तै बलिङमा तीनजनाले एकै खेलमा ५ विकेट लिएका छन् ।
आज चर्चा गरौं सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने शीर्ष ५ खेलाडीहरू ।
सर्वाधिक रन :
१. रोहित पौडेल : लुम्बिनी लायन्स टिमका कप्तान रहेका रोहित पौडेलले ४ खेलमा १८१ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर ९५ रहेको छ भने औसत ४५ को छ । उनले १३७ को स्ट्राइक रेटमा खेलिरहेका छन् । उनी सर्वाधिक रन बनाउने खेलाडी भएपनि टिम भने जितविहीन छ ।
२. लाहिरु मिलान्था : जनकपुर बोल्ट्सका अमेरिकी खेलाडी मिलान्थाले ४ खेलमा १६८ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर ७५* छ भने औसत ५६ को रहेको छ । उनले १३९ को स्ट्राइक रेटमा खेलेका छन् ।
३. रवि बोपारा : चितवन राइनोजका इंग्लिस खेलाडी बोपारा ४ खेलमा १५७ रन बनाउँदै हालसम्म सर्वाधिक रन बनाउने सूचीमा तेस्रो नम्बरमा छन् । उनको सर्वाधिक स्कोर ५९* छ भने औसत ५२ को छ । उनले झण्डै १५० को स्ट्राइक रेटमा रन प्रहार गरिरहेका छन् ।
४. दीपेन्द्रसिंह ऐरी : सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रले ४ खेलमा १४० रन बनाएका छन् जसमा उनको उच्च स्कोर ५७* छ । उनले २०० को स्ट्राइक रेटसहित ७० को औसतमा ब्याटिङ गरिरहेका छन् ।
५. शिखर धवन : कर्णाली याक्सका भारतीय खेलाडी शिखर धवनले ४ खेलमा १३६ रन बनाएका छन् । उनको उच्च स्कोर ७२* थियो । ४५ को औसतले खेलेका उनी १२२ को स्ट्राइक रेटमा रन बनाएका छन् । उनी चार खेल खेलेर भारत फर्किसकेका छन् ।
यीबाहेक सुदूरका सेफ अली जैब १३३ रन, ब्रेन्डन माकमुलेनको १२५, पोखराका आन्द्रेस गौसको २ खेलमा १२४ रन छ । गौसले शतक नै बनाएका थिए । त्यस्तै लुम्बिनीका टम मूर्स र जनकपुरका अनिल शाहको ४ खेलमा ११३ रन छ ।
सर्वाधिक विकेट :
१. सोहेल तनविर : चितवन राइनोजका पाकिस्तानी खेलाडी तनविरले ४ खेलमा ६७ रन दिएर ९ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ फिगर ५-२१ छ । उनले ४.६७ को इकोनोमीमा किफायती बलिङ गरिरहेका छन् ।
२. ललित राजवंशी : जनकपुर बोल्ट्सका ललितले ४ खेलमा ८८ रन दिएर ८ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ फिगर ३-२८ रहेको छ । उनले ५.५ को इकोनोमीमा बलिङ गरिरहेका छन् ।
३. हर्श थाकर : जनकपुरकै थाकरले ४ खेलमा १०४ रन दिएर ८ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ फिगर ५-२८ रहेको छ । उनको इकोनोमी ६.९३ को छ ।
४. स्कट कुग्लेइन : सुदूरपश्चिम रोयल्सका कुग्लेइनले ४ खेलमा ८८ रन दिएर ७ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ फिगर ३-३० रहेको छ भने इकोनोमी ६.२८ को छ ।
५. बिपिन प्रसाद शर्मा : कर्णाली याक्सका आइकोनिक खेलाडी बिपिनले ३ खेलमा ५९ रन दिएर ६ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ फिगर ३-२१ रहेको छ । इकोनोमी ४.९१ को छ ।
बिपिनसँगै सुदूरपश्चिमका तीन बलरहरू ब्रान्डन माकमुलेन, सेफ अली जैब र अविनाश बोहराले समान ६-६ विकेट लिएका छन् ।
सोमबार ब्रेक रहेको एनपीएलमा मंगलबारदेखि पुनः खेलहरू सुरू हुँदै छन् ।