शैलेन्द्र न्यौपानेले जिते फिडे र्यापिड चेस उपाधि
२३ मंसिर, काठमाडौं । भक्तपुर जिल्लाका पूर्व सिनियर राष्ट्रिय खेलाडी स्व.केशव नारायण ताम्राकारको स्मृतिमा सम्पन्न तेस्रो राष्ट्रब्यापी फिडे र्यापिड चेस प्रतियोगिताको उपाधि काभ्रेका शैलेन्द्र न्यौपानेले जितेका छन्। जित सँगै शैलेन्द्रले नगद १५ हजार र दुई तोला बराबर चाँदीको सिक्का हात पारेका छन्।
भक्तपुर दरवार स्क्वायर, विश्व सम्पदा स्थलमा ९ चरणको चेस खेल वाट ८ अंक जोडेर शैलेन्द्रले उपाधि चुमेका छन्। उनले आज सम्पन्न अन्तिम चरणको भिडन्तमा भक्तपुरका युवा खेलाडी निकेन कुसाथालाई पराजित गरे।
प्रतियोगितामा काठमाडौंका धिरेन राईले ७.५ अंक बनाउदै द्वितीय स्थान हासिल गरेका छन्। धिरेनले नगद १० हजार र दुई तोलाको चाँदिको सिक्का प्राप्त गरेका छन्।
शुक्रबार र शनिबार गरि आयोजना गरेको दुई दिने फिडे र्यापिड चेस स्पर्धामा निकेन कुसाथाले ७ अंकमा रहि तृतीय स्थान प्राप्त गरेका छन्। उनले नगद ७ हजार र दुई तोला चाँदिको सिक्का प्राप्त गरेका छन्।
जम्मा ९३ जना राष्ट्रिय खेलाडीको सहभागिता रहेको प्रतिस्पर्धामा सुनसरी धरानका मुहान नरसिंह श्रेष्ठले ७ अंक जोडेर चौथो स्थान, भक्तपुरका गणेशमान दुवाल पाँचौ स्थानमा प्रतियोगिता अन्त्य गरेका छन्।
यसैगरी इलामका गणेश बहादुर थापा छैटौं, झापाका राजन सुवेदी सातौं, शंखरापुरका सन्देश श्रेष्ठ आठौं, भक्तपुरका बिक्रम चोकमी नवौं र काठमाडौंका सिएम भगवती प्रसाद शर्मा दशौं स्थानमा रहि नगद पुरस्कार प्राप्त गर्न सफल बनेका छन्।
प्रतियोगिता अन्तर्गत भक्तपुर जिल्लाका उत्कृष्ट खेलाडी बिजय जति, वेष्ट लोकल बिक्रम जति, उत्कृष्ट सिनियर दामोदर गाँईंजू, उत्कृष्ट नव प्रवेशी नवलपरासीका सुरज कुमार गैरे, उत्कृष्ट १९०० रेटड मुजफपुरका सोनु अभिषेक, उत्कृष्ट १७०० रेटेड अनिष प्रजापति, १६०० रेटेड उत्कृष्ट काठमाडौंका रचितराज लम्सालले क्याटेगोरी पुरस्कार दाबी गरेका छन्।
यसरी नै उत्कृष्ट महिलामा भक्तपुरका यशस्वी शर्मा, युवा १८ उत्कृष्ट स्वर्णिम दुवाल, युवा १६ प्रत्युस श्रेष्ठ र युवा १६ उत्कृष्ट सबिद प्रजापतिले आ आफ्नो विधाका पुरस्कार प्राप्त गरेका छन्।