सरकारले तोकेभन्दा कम समर्थन मूल्यमा धान बेच्दै किसान
२२ मंसिर, काठमाडौं । महोत्तरी पिपरा गाउँपालिका–६ रतौलीका किसान महादेव साहले अहिले स्थानीय व्यापारीलाई धान बेच्न सुरु गरिसकेका छन् । असोज अन्तिम र कात्तिकको पहिलो साता धान भित्र्याएका उनले धमाधम बेच्न थालेका हुन् ।
‘घरमै मिलवाला, व्यापारी आएपछि अहिले धान बेचिरहेको छु । व्यापारीले धानको जात अनुसार भाउ लगाउँछन्,’ साह भन्छन् ।
उनले औसत प्रतिक्विन्टल २ हजार ५ सय रुपैयाँमा धान बेचिरहेको बताए । सरकारले तोकेको मूल्य नै थाहा नभएको उनको भनाइ छ । ‘खोइ, सरकारले कसका लागि तोकेको छ, हामीलाई थाहा पनि छैन । हामीसँग व्यापारीले बार्गेनिङ गरेर किन्ने हो,’ उनले भने ।
साहको यो पटक उत्पादन पनि पहिलेभन्दा कम भयो । ‘एक त बाढीले बिगार्यो, सुरुमा पनि भनेको मलखाद (मल) पाइएन । यसपालि धानले राम्रो प्रतिफल आउँदैन होला,’ साह भन्छन् ।
उनीमात्र होइन, बाराका सुरेन्द्र जैसवाल पनि यो पटक चिन्तित छन् । ‘सरकारले तोकेको मूल्य किसानलाई थाहा हुँदैन, हामीले त यहाँ (घरखेत) मा आएका व्यापारीमध्ये जसले धेरै दिन्छ, त्यसलाई दिने हो,’ उनी भन्छन् ।
पहिले–पहिले खाद्यको गोदाममा बेचेको सम्झिँदै उनी भन्छन्, ‘गोदाममा बेच्न व्यापारीलाई भन्दा धेरै झ्याउ छ, त्यहाँ मूल्य धेरै आए पनि बेचेर पैसा लिन गाह्रो छ ।’
कति छ सरकारले तोकेको मूल्य ?
सरकारले २० असारमा धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो । मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरेको थियो ।
आर्थिक वर्ष २०८१/८२ का लागि मोटा धान प्रतिक्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा तोक्ने निर्णय गरेको छ ।
सरकारले तोकेको मूल्य टेकेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्ने मूल्य तोक्दै किन्ने तयारीमा छ ।
बिर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने तयारी गरेको छ । बिर्तामोड कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार यो वर्ष प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ मूल्य तोकेर किन्न लागिएको हो । यो वर्ष पहिलो चरणमा १५ हजार क्विन्टल धान किन्ने तयारी छ ।
यस्तै कम्पनीको वीरगञ्ज शाखाले धान खरिद गर्न यही साताबाट सुरु गर्ने जनाएको छ । कम्पनीका अनुसार दुई थरी धानको मूल्य तोकेर खरिद गर्न लागिएको हो । जिरा मसिनो धान प्रतिक्विन्टल ४ हजार र सोना मन्सुली ३ हजार ५ सय ८० रुपैयाँमा किन्न लागिएको हो ।
त्यस्तै वीगरञ्ज कार्यालयले यसपालि ४२ हजार क्विन्टल धान खरिदको कोटा पाएको छ । जसमा ३२ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो धान खरिद गरिने छ ।
बिर्तामोड र वीरगञ्ज शाखा बाहेक अन्य कार्यालयलले पनि धान खरिद गर्ने तयारी गरिरहेका छन् ।
उत्पादन घट्ने अनुमान
प्रविधि प्रयोग, समयमै भएको वर्षा र रासायनिक मल उपलब्धताले यो वर्ष धान उत्पादन बढ्ने आकलन थियो । तर, असोज दोस्रो साता आएको अविरल वर्षाले उक्त अनुमानको उल्टो उत्पादन घट्ने देखिएको छ । कुल रोपाइँ हुने क्षेत्रफलको लगभग ९९ प्रतिशत रोपाइँ भएको यो वर्ष धान उत्पादन बढ्ने अनुमान थियो ।
‘चालु आर्थिक वर्ष धान उत्पादन बढ्ने आकलन गरिए पनि असोज दोस्रो साता आएको बाढीले ठूलो असर पुग्दा त्यो अनुमान नमिल्ने देखियो,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसी भन्छन्, ‘पहाडमा धान खेतमा पहिरो र तराईमा डुबान र बाढीले असर परेको छ ।’
बढेको थियो रोपाइँ
कृषि मन्त्रालयका अनुसार १३ लाख ९० हजार ९५ हेक्टर रोपाइँ हुने क्षेत्रमध्ये करिब १३ लाख ८० हेक्टरमा रोपाइँ भएको थियो । गत वर्षभन्दा यो वर्ष ६–७ प्रतिशतले रोपाइँ बढेको थियो । रोपाइँ बढेपछि मन्त्रालयले धान उत्पादन बढन् सक्ने आकलन गरेको थियो ।
गत वर्ष धान सिजन सुरुवातमै पानी र मलको समस्या थियो । त्यसले राम्रो नभए पनि यो पटक उत्पादन राम्रो हुने कृषि मन्त्रालयको अनुमान थियो ।
कृषि विभागका अनुसार उत्पादन पनि पछिल्लो समय बढ्दै थियो । गत आव धान उत्पादन अघिल्लो आव २०७९/८० भन्दा ४.३३ प्रतिशतले वृद्धि भएको थियो । गत आव ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको थियो, जुन चार वर्षको औसत उत्पादन तुलनामा ५.०८ प्रतिशतले बढी हो ।
धानबालीको औसत उत्पादकत्व अघिल्लो आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भएर प्रतिहेक्टर ३.९८ टन पुगेको थियो । जुन चार वर्षको औसत उत्पादकत्व भन्दा ६.९२ प्रतिशत बढी हो ।
सबैभन्दा धेरै क्षति धानमा
असोज दोस्रो साता आएको बाढी–पहिरोका कारण चालु आव धान उत्पादन घट्ने देखिन्छ । बाढी–पहिरोले किसानलाई प्रत्यक्ष असर पुग्यो नै, बढ्न लागेको धान उत्पादनमा पनि नराम्रो असर पार्यो ।
भीषण वर्षाले मुलुकको कृषि क्षेत्रमा करिब ६ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भइसकेको छ । कृषि मन्त्रालयले संकलन गरेको विवरण अनुसार बाली, पशुपन्छी धन, माछा लगायतमा ६ अर्ब बढीको क्षति देखिएको हो । बाढीले ५८ हजार ४ सय ७६ हेक्टर धानबाली नष्ट भएको छ ।
बाढी-पहिरोले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेमा गरी ३ अर्ब ५० करोड रुपैयाँ बराबर क्षति भएको छ ।
कति चाहिन्छ धान ?
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपालमा वार्षिक करिब ७० लाख टन धान आवश्यक पर्छ । जसमध्ये नेपालको आफ्नै उत्पादन ५४ लाख टन मात्रै हो ।
त्यस्तै वर्षको ४८ लाख टन चामल चाहिन्छ । जसमा ३० लाख टन भात खानमात्र चाहिन्छ । अन्य उत्पादन चिउरा, चामलको पिठोबाट बन्ने परिकारका लागि पनि खपत हुन्छ । तर, यो पटक पनि नेपालमा धान उत्पादन घट्दा भारतबाट चामल आयात धेरै हुने देखिएको छ ।