माओवादी एक्लै जित्न सक्छ – Online Khabar
स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण परिणाम आउन बाँकी भए पनि अहिलेसम्मको परिणामले लगभग दलहरूको अवस्था देखाइसकेको छ । माओवादीले केही स्थानमा आफ्नो सिट गुमाए पनि केही ठाउँ थप्न सफल भएको छ । यो उपनिर्वाचनमा हामीले २०७९ सालमा जितेका सिट ७ थियो भने अहिले ९ भन्दा बढी सिट हामीले हासिल गर्दैछौं ।
स्थानीय तहको ४४ सिटमा उपनिर्वाचन भएकोमा हामी दोस्रो भएका छौं । पहिले अरु दलले जितेका ठाउँमा पनि हामीले जितेका छौं । कुनैकुनै ठाउँमा त अहिलेका सत्ता साझेदार सबै दल मिल्दा पनि माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । रुकुमपूर्वको पुथा, हुम्लाको सर्केगाडमा हामीले २०७९ सालमा जितेको उपाध्यक्ष पद जोगाउन सफल भएका छौं ।
हाम्रा पार्टीका नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक र मतदाताहरूले स्थानीय रूपमा मिहिनेत गरेर जित हासिल गर्नुभएको छ । कोसिस गर्दागर्दै पनि जित्न नसकेका साथीहरू अझै मिहिनेत गर्न, जनतासँग एकाकार हुँदै पार्टीका एजेण्डाबारे बुझाउन लाग्नुपर्छ ।
स्थानीय तहको यो उपनिर्वाचनको नतिजाले माओवादी केन्द्रलाई जनताले धेरै ठाउँमा विश्वास गरेका छन् भन्ने देखाउँछ । मतदाताले हाम्रा एजेण्डालाई विश्वास गरेका छन् र अहिलेका सत्ता साझेदार दलभन्दा माओवादी केन्द्रप्रति नै भरोसा गरेका छन् भन्ने पुष्टि हुन्छ ।
यसपटक माओवादी केन्द्रले एक्लै चुनाव लड्ने भनेर गरेको निर्णयप्रति जनता, मतदाताको समर्थन रह्यो । विगतमा केवल सत्ता र पद प्राप्तिका लागि असैद्धान्तिक गठबन्धन गर्दा जनताले अस्वीकार गरेका थिए । कार्यकर्ताले पनि मन पराएका थिएनन्, चित्त बुझाएका थिएनन् ।
अहिले विपक्षमा भएको अवस्थामा एक्लै चुनाव लड्ने निर्णय गर्दा यो नीतिलाई जनताले, मतदाताले मन पराएको देखियो । त्यतिमात्रै होइन, कार्यकर्ता पनि एक्लै चुनाव लड्ने कुरामा उत्साहित भए र स्थानीयस्तरमै एकता कायम भयो । कार्यकर्ताहरू एकरूपताका साथ निर्वाचनमा खटेकाले महत्वपूर्ण ठाउँहरूमा माओवादी केन्द्रले विजय हासिल गरेको छ । यो पार्टीका लागि महत्वपूर्ण शिक्षा हो ।
माओवादी केन्द्रले आफ्ना एजेण्डालाई राम्रोसँग स्थापित गर्ने, विधिको राम्रो कार्यान्वयन गर्ने र जनतासँग एकाकार भएर जाने फेरि संकल्प गर्ने हो भने माओवादी केन्द्रले आफ्नो अहिलेको परिस्थितिलाई धेरै सुधार गर्न सक्छ भन्ने सन्देश जनताले दिएका छन् । आन्तरिक रूपमा पार्टी जीवनका पनि समस्याहरूलाई समाधान गर्दै जनतासँगको सम्बन्ध र जनताका मुद्दाहरूलाई साथमा लिएर जानुपर्छ भन्ने गहिरो शिक्षा प्राप्त भएको छ ।
अनावश्यक र आधारभूत मूल्य मान्यता विपरीतका गठबन्धन गरेर होइन, आफ्नै शक्तिमा भर गरेर, स्थानीयस्तरका कार्यकर्ता र जनतामा विश्वास गरेर, आफ्नो अडानमा रहेर माओवादी एक्लै चुनावमा जाओस् भनेर जनताले खोजिरहेको छ ।
कतैकतै सत्ताधारी दलहरूले सत्ता शक्तिको प्रयोग गरेर फाट्टफुट्ट सिट लिइरहेका छन् भने प्रतिपक्षले आफ्नो निर्णयको बलमा, कार्यकर्ताको सक्रियताको बलमा स्थानीय पार्टीहरूमा देखिएको एकताबद्ध समझदारीको बलमा यो चुनाव जितेको हो । यो हाम्रो पार्टीका लागि महत्वपूर्ण शिक्षा हो ।
यो निर्वाचनको सन्देश र शिक्षालाई समीक्षा गर्दै थप संश्लेषण गरेर अगाडि जाने उत्साहपूर्ण वातावरण बनेको छ । ग्रामथानदेखि पुथा उत्तरगंगा, सर्केगाड, नलसिंहगाडसम्म हामीले जितेका छौं । बिसौं वर्षदेखि अरु दलले जितिरहेको जनकपुरधामको १ नम्बर वडा पनि माओवादी केन्द्रले जित्न पुगेको छ ।
अब दुई वर्षपछि फेरि चुनाव हुँदैछ । त्यो चुनावको लागि अलमलमा नपरी स्पष्ट नीति बनाउनुपर्नेछ । स्पष्ट नीति बनाएर एक्लै लड्न तयार हुनुपर्छ, एक्लै लड्दा चाहे हार्न परे पनि परोस् ।
माओवादीहरू हार्न डराउने होइन । हामीले जितका कयौं इतिहास रचेका उदाहरण छन् । तर विगतमा हार्न डराएकाले विगतमा कम सिट प्राप्त भएको हो । विगतको चुनावबाट हामीले गरेको अनुभूतिको आधारमा म यो भन्दै छु । हामी एक्लै निर्वाचन लड्न सक्छौं र लड्नुपर्छ ।
वैचारिक दृष्टिकोण र मुद्दाका हिसाबले पनि माओवादी एक्लैले चुनाव लड्ने कुरालाई जनताले मन पराएका छन् । त्यसमा नै कार्यकर्ताको उत्साह पनि देखिएको छ ।
यो निर्वाचनलाई सबै अन्तिम हो त भन्न मिल्दैन तर यसले एउटा उत्साह थपेको छ । माओवादी एक नम्बर पार्टी बन्न सक्ने संकेत गरेको छ । प्रगतिशील र परिवर्तनकामी जनतामा जागेको यो उत्साह र यो संकेतका आधारमा पार्टी नेतृत्वले सही नीति, व्यवहार र व्यवस्थापन गर्न सक्नुपर्छ ।
मेरै गृहजिल्ला रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसले जितेको छ । त्यहाँको धार स्पष्ट छ । त्यहाँ सबै आ–आफ्नो धारमा खडा छन्, दायाँबायाँ हुँदैनन् ।
त्यहाँ माओवादीविरुद्ध भएजतिका सबै दलले गठबन्धन गरेका थिए । गत निर्वाचनमा पनि माओवादी–कांग्रेसको गठबन्धन माथि भए पनि तल माओवादीविरुद्ध कांग्रेस–एमाले मिलेका थिए । अहिले पनि माओवादीविरुद्ध सबै दलले गठबन्धन गरेका थिए ।
अर्को कुरा त्यहाँ कांग्रेसका उम्मेदवारलाई सहानुभूतिको भोट पनि प्राप्त भएको छ । मृतक वडाध्यक्षको भाइ उम्मेदवार हुनुहुन्थ्यो, उहाँले जित्नुभयो । अघिल्लो चुनावमा पनि हामीले गुमाएकै वडा हो, अहिले पनि गुमायौं ।
तर सबै दल एकातिर, माओवादी एकातिर भएर स्पष्ट ध्रुवीकृत हुँदा पनि हामीले आफ्नो मत जोगाउन सफल भएका छौं । एक्लै प्रतिष्पर्धा गर्दा त हामीले जित्थ्यौं नै ।
चुनावमा जित हार स्वाभाविक हुन्छ भन्ने कुरालाई हामीले बुझ्नुपर्छ । आगामी दिनमा अझै राम्रो परिणाम निकाल्ने कोसिस गर्नुपर्छ । अहिले स्थानीय तहको उपनिर्वाचनमा माओवादीको पक्षमा जुन परिणाम आएको छ, यो सन्तोषजनक छ तर पर्याप्त भने छैन । अझै राम्रो परिणाम निकाल्नका लागि थप मिहिनेत गर्नु आवश्यक छ ।
जे होस् स्थानीयस्तरमा अहिले माओवादी पार्टीमा उत्साह र सक्रियता देखिएको छ । अन्तरविरोधको समाधान गरेर जुन एकता कायम भयो, त्यो स्थानीय तहका पार्टी कमिटीले खेलेको भूमिकाले सम्भव भएको हो ।
पार्टी केन्द्रबाट पनि अब एक्लै चुनाव लड्ने भनेर जुन निर्णय गरियो, त्यो पनि महत्वपूर्ण सावित भयो । मैले अघि नै भनिसकें, अब सिंगो पार्टीलाई व्यवस्थित र क्रियाशील बनाउनका लागि पार्टीको स्पष्ट विचार, नीति, योजना, विधि, पद्धति र संरचनाहरू संस्थागत रूपमा लैजानुपर्छ । यदि यति गर्न सकियो भने माओवादी एक नम्बरको पार्टी बन्नबाट कसैले रोक्न सक्नेवाला छैन । त्यसका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट मिहिनेत गरौं ।
(जनार्दन शर्मासँगको कुराकानीमा आधारित)