#समाचार

गर्भावस्थाको आठौं महिनामा के हुन्छ ?

गर्भावस्थाको आठौं महिना भनेको करिब अन्तिम चरण हो । यो महिनामा आइपुग्दा गर्भवती महिला सन्तानको पर्खाइ सकिन लागेको कुराले अत्यधिक उत्सुक हुन्छन् ।

अर्कोतर्फ प्रसूति कस्तो हुन्छ ? कति पीडा हुने हो ? भन्ने डर पनि रहन्छ । यो महिना परिवार पनि बच्चाको स्वागतको तयारीमा जुट्न थाल्छन् ।

अन्य महिनाजस्तै यो महिनामा पनि केही परिवर्तन देखिन्छ ।

लक्षण

– गर्भावस्थाको आठौं महिनामा थकान, मन्द पेट दुखाइ र बेचैनी हुन्छ । यस्तोमा महिलालाई व्यथा लाग्न लागेको हो कि भन्ने भ्रम हुन थाल्छ ।

– असहज महसुस नहुने, हातखुट्टा सुन्निने र पेट ढुस्स भइराख्ने हुन्छ । यो समयमा खुट्टालाई धेरै समयसम्म झुण्ड्याएर राख्नु हुँदैन ।

– पेटको आकार पहिलेकोभन्दा ठूलो र कसिलो हुँदै आउँछ । पेट ठूलो हुँदा पेटदेखि माथि नाइटोसम्म थिचेको जस्तो हुने, सुत्न, उठ्न र बस्न असहज हुन थाल्छ ।

– हातको औंला बिहान कसिलो र दिउँसो फुक्दै आउँछ ।

– सास फेर्न पहिलेको भन्दा असहज हुन थाल्छ । असहज भई गम्भीर अवस्था भएमा अस्पताल जानुपर्छ ।

– पिसाबथैलीमा बढी दबाब पर्दा बारम्बार पिसाब फेर्न मन लाग्न सक्छ ।

– सुत्न समस्या हुनसक्छ । यो अवधिमा महिलालाई अनिद्राको महसुस हुनसक्छ ।

– पेटको आकार बढ्नाले पेट वरपर सेतो गाढा धर्सा देखिन थाल्छ ।

– छालामा नसाहरू स्पष्ट र फुलिएको देखिन सक्छ ।

– यो महिनामा कतिपयलाई स्तनबाट चुहावट समेत हुन थाल्छ ।

– अपचको समस्या वा छाती पोल्ने हुनसक्छ ।

बच्चामा के कस्ता परिवर्तन देखिन्छन् ?

गर्भावस्थाको आठौं महिनामा बच्चाको शारीरिक विकास धेरै हदसम्म हुन्छ । शरीरका अंगहरू पूर्ण रूपमा विकसित हुने, शरीरको लम्बाइ, आकारप्रकार वृद्धि हुने र मस्तिष्कको तीव्र विकास हुन्छ ।

सालमा पानी पहिलेको भन्दा बढी हुँदै जाँदा पहिलेको भन्दा केही कम चल्छ । यो महिनामा बच्चाले बाहिरी आवाजमा प्रतिक्रिया दिन थाल्छ । उसले दिनमा कैयौं पटक लात्ती हान्न सक्छ । यसरी लात्ती हान्दा पेटमा हलचल भएको देख्न पनि सकिन्छ ।

आठौं महिनामा बच्चालाई हिच्की पनि लाग्न सक्छ भने टाउकोमा कपाल पनि बढ्न थाल्छ ।

परिवारको साथ

गर्भावस्थामा शारीरिक परिवर्तन त हुन्छ नै, मानसिक परिवर्तन पनि देखा पर्छ । जसले गर्भवती महिला बढी भावुक हुने, रिस कडा हुने र झर्को मान्ने हुन्छन् । समय नजिकिंदै गर्दा प्रसव कसरी हुने हो भन्ने तनाव भइरहन्छ ।

यस्तोमा उनको भावना बुझेर राम्ररी कुरा सुन्ने, झर्को नमानी शान्त गराउने, सल्लाह दिने, साथ भएको अनुभव गराउने जिम्मेवारी श्रीमान् तथा परिवारको हुन्छ । सुरुवाती दिनदेखि हरेक उतारचढावमा साथ मिल्दा प्रसूतिको समयसम्म जटिलता कम हुनसक्छ ।

कुन–कुन परीक्षण गर्नुपर्छ ?

गर्भावस्थाको आठौं महिनामा पुग्दा कुनै पनि बेला व्यथा लाग्न सक्छ । यस्तोमा कुनै समस्या वा अस्पताल पुग्दा इमर्जेन्सी शल्यक्रिया गर्नुपर्ने अवस्थामा वा पहिला के कस्तो परीक्षण भएको छ भनेर सुनिश्चित गरिन्छ । नभएको खण्डमा हेमोग्लोबिन, एचआईभी, रक्तचाप र ब्लड सुगर जाँच गराउनु जरुरी हुन्छ ।

रक्तचाप र ब्लड सुगरको स्तर उच्च देखिए तुरुन्त अस्पताल भर्ना भई चिकित्सकको निगरानीमा मात्रा घटाउने औषधि चलाइन्छ ।

आठौं महिनामा सोनोग्राफी र ग्रोथ स्क्यान पनि गरिन्छ । जसले गर्भमा रहेको बच्चा सुल्टो, उल्टो, कस्तो अवस्थामा छ भन्ने स्पष्ट रूपमा पत्ता लाग्छ । महिला र बच्चाको तौल जाँच गरिन्छ । धेरै तौल भए मिति अगावै बच्चा निकाल्नुपर्ने हुनसक्छ ।

मुटुको धड्कन सुन्न र बच्चाको शारीरिक चालहरू हेर्न पनि परीक्षण गरिन्छ । एक घण्टामा ३ देखि ४ पटक र दिनमा १२ पटक चल्नुपर्छ । यो अवधिमा कम चलेमा अस्पताल जानुपर्छ ।

पहिलाको बच्चा खेर गएको वा जन्मिएपछि मृत्यु भएको छ भने पनि आठ महिना लाग्ने बित्तिकै अर्को बच्चामा जटिलता केही छ कि भनेर चिकित्सकलाई अनिवार्य भेट्नुपर्छ ।

सावधानी

‍- गर्भावस्थाको आठौं महिनामा झुक्नुपर्ने शारीरिक गतिविधि गर्नु हुँदैन ।

– उत्तानो र घोप्टो परेर नसुत्ने ।

– आठौं महिना पुग्दा छिटो हिंड्नबाट जोगिनुपर्छ ।

– जंक फुड र फास्ट फुडबाट बच्ने ।

– छोटो वा लामो दूरीको यात्रा भरसक नगर्ने ।

– चिकित्सकको सल्लाहविना कुनै पनि औषधि सेवन नगर्ने ।

– विना विज्ञको निगरानी कुनै पनि नौलो, भारी व्यायाम र योग नगर्ने ।

– मदिरापान र धुम्रपान नगर्ने ।

– बासी, सडेगलेको र अत्यधिक चिसो खानेकुरा नखाने ।

के गर्ने ?

– पर्याप्त मात्रामा आराम लिने ।

– जाडो मौसममा गर्भवती महिला न्यानो भएर बस्ने ।

– बिहान र बेलुकी घर वरपर बिस्तारै हल्का घुमफिर गर्ने ।

– तनाव कम लिने ।

– निद्रा राति लागेन भने दिउँसो एकछिन सुतेर पनि पूरा गर्ने ।

– देब्रे खोल्टे परेर मात्र सुत्ने ।

कस्तो खानपिन ?

गर्भावस्थामा फलफूल, हरियो सागपात, ड्राइफ्रुट्स, सम्पूर्ण अन्न, प्रोटिन, डेरी उत्पादन, माछामासु, प्रशस्त झोलिलो खानेकुरा र पर्याप्त पानी खानुपर्छ ।

यो समयमा एकै पटक पेट चर्किने गरी खानु हुँदैन । बरु पटक-पटक खानेकुरा केही अन्तर राखेर खान सकिन्छ । रातको खानेकुरा धेरै ढिला खानु हुँदैन ।

चिकित्सकले सुझाएको यो समयमा क्याल्सियम, आइरन र भिटामिनको सप्लिमेन्टको सेवन अनिवार्य खानुपर्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *