रूस–युक्रेन युद्ध निर्णायक चरणमा पुग्यो
७ मंसिर, काठमाडौं । पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले रूस र युक्रेनबीचको युद्ध अब निर्णायक चरणमा पुगेको बताएका छन् ।
रूसले युक्रेनमा आणविक हतियार बोक्न सक्ने क्षेप्यास्त्र प्रहार गरेपछि उनको यस्तो प्रतिक्रिया आएको छ ।
‘यो युद्धमा एउटै हतियारको प्रयोगले यस्तो व्यापक चिन्ता र बहस बिरलै उत्पन्न भएको थियो’ उनले भने, ‘हिजोको विष्फोटको प्रतिध्वनि आज पनि जारी छ।’
डोनाल्ड टस्कले विश्वव्यापी द्वन्द्वको खतरा थप गम्भीर हुँदै गएको बताए ।
स्वीडेनका रक्षामन्त्री पल जोन्सनले युक्रेनका रक्षामन्त्रीसँग स्वीडेनको राजधानी स्कटहोममा भेट्दै यस बारे प्रतिक्रिया दिएका छन् । ‘पश्चिमी देशहरूलाई युक्रेनलाई सहयोग गर्न निरुत्साहित गर्ने प्रयासले काम गर्दैन,’ उनले भने ।
चीनले रूस र युक्रेन युद्धमा संलग्न सबै पक्षलाई शान्ति र संयम अपनाउन आग्रह गरेको छ ।
यसैबीच राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले दिएको चेतावनीलाई वासिङ्टनले बुझेको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले शुक्रबार जनाएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले भनेको छ, ‘वासिङ्टनको वर्तमान प्रशासनले यस घोषणालाई बुझ्नेछ भन्नेमा हामीलाई कुनै शङ्का छैन ।’
युक्रेनमा जारी द्वन्द्व ‘विश्वव्यापी’ युद्धको विशेषता भएको र पश्चिमा मुलुकहरूमाथि आक्रमण हुने सम्भावनालाई राष्ट्रपति पुटिनले सङ्केत गरेका छन् ।
पेस्कोभले यो सन्देश व्यापक, स्पष्ट र तार्किक भएको दाबी गरेका छन् ।
हालैका दिनहरूमा युक्रेनले पहिलो पटक रुसी भूमिमा अमेरिका र बेलायतले आपूर्ति गरेको क्षेप्यास्त्र प्रहार गरेको छ। यसले करिब तीन वर्ष लामो द्वन्द्वलाई थप चर्काएको संकेत मान्न सकिन्छ ।
युक्रेनलाई आफ्नो क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिने पश्चिमा देशहरू युद्धमा प्रत्यक्ष सहभागी भएको बुझ्नुपर्ने मस्कोले जनाएको छ ।
पेस्कोभले भने, ‘मुख्य सन्देश के हो भने क्षेप्यास्त्र उत्पादन गर्ने, युक्रेनलाई आपूर्ति गर्ने र पछि रूसी भूमिमा आक्रमण गर्ने पश्चिमा मुलुकहरूको ‘लापरबाहीपूर्ण’ निर्णय र कार्यहरू रूसी पक्षको प्रतिक्रियाबिना रहन सक्दैनन्।’
(एजेन्सीहरूको सहयोगमा)