आसन्न संकटमा गगन–विश्व पुस्ताको चुनौती
मुलुकको हरेक परिवर्तनको आन्दोलनमा अग्रणी भूमिकामा देखिएको कांग्रेस यतिबेला सरकार निर्माणमा भने पालैपालो दुई बामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रको ‘बैसाखी’ बनेको भन्ने आफ्नै कार्यकर्ताको आरोपबाट बाहिर निस्कन सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार निर्माण गर्न ‘राजी’ हुँदा गरिएको सम्झौतामा कांग्रेस नेता शेरबहादुर देउवाले यसपछि सरकारको नेतृत्व गर्ने भनिएको विषयको अवतरण कसरी होला त्यो त हेर्न बाँकी नै रह्यो ।
त्यही ‘सम्झौता पत्र’मा उल्लेख संविधान संशोधनको विषय भने सरकारले ‘बहस’ मै आजका मितिसम्म ल्याउन चाहेन । ओली नेतृत्वको सरकार निर्माण लगत्तै ‘कांग्रेस–एमाले’ कै नेता भ्रष्टाचार तथा अनियमितता केसमा पक्राउ पर्ने दरले सरकार परिवर्तनमै राजी भएको भन्ने आरोप प्रतिको ‘आशंका कम’ र संविधान संशोधन मार्फत राजनीतिक स्थिरताको खोजीकै निम्ति ‘एमाले–कांग्रेस’ एकै ठाउँमा विशिष्ट परिस्थितिमा उभिएर सरकार निर्माण भएको भन्ने ‘आशा ज्यादा’ सम्प्रेषित गरिएको थियो । तर, परिणाम आजका मितिसम्म त्यतातिर उन्मुख छैन ।
पुराना पार्टी र नेताबाट आज देशको ठूलै पंक्ति आजित छ । त्यसैको जगमा टेकेर पुराना भन्नासाथ सबै खराब भन्ने ‘भाष्य’ निर्माण गरिंदैछ । कांग्रेस नेता शेखर कोइरालाले झैं एकै शब्दमा ‘सरकार असफल’ भयो भनेर वा एमाले नेता शंकर पोखरेलले झैं केपी ओली सरकार ‘इतिहासमै सफल’ भनेर मात्र सरकारको मापन हुने स्थिति छैन ।
सरकार निर्माणताका गरिएका सम्झौताकै जगमा सरकारले काम प्रारम्भ गरेर सफलताको सिंढी निर्माण गर्ने दायित्व स्वयम् सरकारकै हो । लोकतान्त्रिक पद्धतिलाई ‘कांग्रेस–एमाले’ दुवै दलले अंगीकार गरे पनि भिन्न मूल्य र मान्यता तथा सैद्धान्तिक आधारमा यी दल चल्दै आएकाले यी दलको जनतामा स्थापित हुने मान्यता पनि फरक छ ।
विशिष्ट अवस्थामा भन्दै संसद्को ठूलो र दोस्रो दल मिलेर सरकार निर्माण गरेकैले पनि यो सरकारप्रति संविधान संशोधनका माध्यमबाट राजनीतिक स्थिरता, सुशासन र समृद्धिको अपेक्षा जनतामा रहेन नै भयो । तर, सरकारको काम कारबाही हेर्दा लाग्छ – सरकार यो विषय उन्मुख देखिंदैन ।
‘पुराना र नयाँ’ भन्ने ‘भाष्य’ निर्माण गरेर एकाथरी आफ्नो राजनीतिलाई मजबुत बनाउने प्रयत्नमा देखिन्छन् । आम मानिसलाई यतिबेला ‘नयाँ र पुराना’ भन्दा पनि ‘परिवर्तनको वेग’ बुझ्न सक्ने नेतृत्व चाहिएको हो । परिवर्तनको वेग बुझ्ने नेतृत्व निर्माण गर्दै ‘रवि र बालेन’ ले राजनीतिका माध्यमबाट र दुर्गा प्रसाईंले अराजक अभिव्यक्ति दिएर कब्जा गरेको मनोविज्ञानसँग त्यो मनोविज्ञानलाई रूपान्तरण गर्दै पार्टी पंक्तिमा जोड्ने अभियानमा कांग्रेसभित्र भने ‘गगन–विश्व’ देखिन्छन् ।
कांग्रेस पार्टीले ‘पार्टी’को रूपमा धारण गर्ने ‘विद्रोह’को आवाज बोल्नै पर्ने दायित्वसँगै ‘जोस र होस’ पुर्याउनुपर्ने ‘महामन्त्री’ नामको भूमिकामा समेत छन् उनीहरू । ‘धनराज’ माथि पनि गल्ती देखिए कारबाही रोकिनुहुन्न भन्ने ‘गगन’ को अभिव्यक्ति र बहालवाला मन्त्री कान्छाराम बारे ‘विश्वप्रकाश’को टिप्पणीले कांग्रेसजनप्रति ‘गगन–विश्व’ले भरोसा जगाएका छन् भने अन्य दलप्रति दबाब पनि ।
‘गगन–विश्व’ ले प्रतिनिधित्व गर्ने ‘पुस्ता’ सबै दलभित्र भयंकर धरापमा देखिन्छन् । पार्टी संस्थापनसँग नमिले ‘भूमिका खुम्चने’ र मिल्न गए देशैभरको ‘युवा मनोविज्ञान’बाट टाढिनुपर्ने खतराबीच ‘गगन–विश्व’ पुस्ताको राजनीति अगाडि बढ्दैछ । पार्टीभित्रको आन्तरिक राजनीतिक जोडघटाउ हेर्ने हो भने पनि डाक्टर शेखर कोइराला समूहबाट महामन्त्री लडेका ‘गगन’ र प्रकाशमान सिंह समूहबाट महामन्त्री ‘विश्व’ले ‘कोइराला र सिंह’ले प्राप्त गरेको मतभन्दा दोब्बर मत प्राप्त गरेका थिए ।
तसर्थ पनि यी दुई महामन्त्रीलाई मात्र नभई युवा नेताहरू प्रदीप पौडेल, जीवन परियार, नैनसिंह महरदेखि बद्री पाण्डे समेतले प्रतिनिधित्व गर्ने सबै दलका ‘युवा पुस्ता’ले पार्टीभित्र गुटमा रमाउने भन्दा पनि ‘स्टन्ट’कै आधारमा उत्तेजना फैलाएर ‘कथित जनमत’ निर्माण गर्न खोज्ने ‘रवि–दुर्गा’ ले कब्जा गर्न खोजेको मनोविज्ञान बुझेर ‘पार्टी र जनता’बीच आफूलाई प्रस्तुत गर्न सक्नुपर्दछ ।
‘जोस र होस’ दुवै पुर्याउन सकेनन् भने ‘गगन–विश्व’ पुस्ता पनि सबै दलभित्र ‘मिचिएर’ जाने खतरा उत्तिकै छ ।
साँच्चै पुराना नेता र पार्टीबाट देशैभर ठूलो पंक्ति आजित नै छ । सोही कारण पुराना नेता विरुद्ध ‘गगन–विश्व’ लड्छन् भन्ने आशा र भरोसा पनि छ यतिबेला । तसर्थ, युवा नेतालाई यतिबेला लड्नका लागि ‘उपदेश’ भन्दा पनि पार्टी र बाहिरबाट ‘भरोसा’ चाहिएको छ । उल्टै ‘गगन–विश्व’ पुस्ता लड्नै सक्दैनन् भन्ने भाष्य निर्माण गरिदिंदा ‘गगन–विश्व’ पुस्ता पनि ‘योगेश भट्टराई’ बन्ने खतरा देखिन्छ ।
‘गगन–विश्व’को पुस्ता न त पारिवारिक विरासतको लाभ लिएर राजनीतिमा उदाएको पुस्ता हो, न त कसैले कसैको लगानीमा नै स्थापित गरिदिएको पुस्ता । यो पुस्ता त आधापेट खाएर सडक संघर्षबाटै स्थापित मात्र नभई आफ्नै नेता गिरिजाप्रसाद कोइरालासँग समेत ‘पौंठेजोरी’ खेल्दा नेविसंघको सभापति पद मात्र नगुमाई ‘दरबारिया’ रहेको आरोप खेपेर पनि ‘गणतन्त्रका पक्षमा गगनभेदी नारा’ लगाएर पार्टीलाई नै गणतन्त्रमा लैजान समेत काविल पुस्ता हो ।
‘जोस र होस’ दुवै पुर्याउन सकेनन् भने ‘गगन–विश्व’ पुस्ता पनि सबै दलभित्र ‘मिचिएर’ जाने खतरा उत्तिकै छ । संस्थागत सम्बन्धका हिसाबले सभापतिसँग मिलेर संगठनका गतिविधिलाई अगाडि लैजानुपर्ने दायित्वसँगै पार्टी संस्थापन तथा पुराना नेतासँग टाढिंदै गएको पुस्ता समेतलाई पार्टीमा जोड्दै जानुपर्ने भूमिका पनि समयक्रमले यो पुस्तालाई दिएको छ ।
मन्त्रीमण्डलदेखि भूमि आयोगसम्म भाग खोजेर पनि अलोकप्रियताको जोखिमको छेउमै पर्न नचाहने डा. शेखरको भूमिकादेखि सरकारले राम्रो बाहेक नराम्रो काम गरेको नदेख्ने देउवासम्मको अभिव्यक्तिका बीच फरक ‘धार र धारणा’ निर्माण गर्न सक्दा मात्र पार्टीलाई बदल्न चाहने पक्षमा आफूलाई उभ्याएको ठहर्दछ भन्ने ‘गगन–विश्व’ पुस्ताले बुझेकै हुनुपर्दछ । यति जोखिम पनि उठाउन नचाहने हो भने यो पुस्ताले समयको वेग बुझ्नै सक्दैन ।
सुशासनको सन्दर्भ कहालीलाग्दो छ । अर्थतन्त्र धरासायी उन्मुख छ । वैदेशिक ऋणको भार थपिंदो छ । आन्तरिक ऋण तथा बेरुजुको अंक बढेको बढेकै छ । सरकार स्वयम् आफैं विद्युत् प्राधिकरणलाई विद्युत्को बक्यौता उठाउन ज्यादा दबाब नदे भन्छ । कूटनीतिक हिसाबले दुई छिमेकी मुलुकलाई समेत सन्तुलनमा ल्याउन सरकार लगभग असफल प्रायः देखिन्छ ।
यस्तै मुलुकभर अराजक गतिविधि बढ्दै जाने संकेत देखिंदैछ । संविधान संशोधनका माध्यमबाट राजनीतिक स्थिरताका लागि निर्वाचन प्रणाली बदल्ने भनेर निर्माण भएको सरकारका काम त्यतातिर उन्मुख देखिंदैन ।
त्यसैगरी कानुन हातमा लिएर लोकतन्त्रका नाममा अराजक अभिव्यक्ति दिनेकै पछाडि जानेर वा नजानेर जनमत दौडँदैछ । सतहमा हेर्दा सामान्य झैं लागे पनि साँच्चै मुलुक यतिबेला असहज परिस्थितिमा छ । नेतृत्वको यस्तैबेला परीक्षण हुने हो । आजको ‘आँधी अघिको सन्नाटा’ को परिस्थिति चिर्ने नेतृत्वको खोजीको समय पनि हो, यो । तसर्थ, यही समय मुलुकले ‘गगन–विश्व’ पुस्ताको भूमिका खोजिरहेछ ।
सिंगै मुलुकको अभिभावकीय शक्तिका रूपमा बुझिंदै आएको कांग्रेसभित्रको युवा पुस्ताले राष्ट्रिय समस्याको पहिचान गरी ‘जोस र होस’को समिश्रणबाट कार्यसम्पादनको अपेक्षा मुलुकले राखेको छ । एउटा नगरको मेयरसँग ‘पौंठेजोरी’ खेल्ने प्रधानमन्त्री, सरकारको कार्यसम्पादन सन्तोषजनक नदेखिंदा पनि ‘अत्यन्त सुन्दर’ भनेर बनावटी अभिव्यक्ति दिइरहेका छन् कांग्रेस सभापति देउवा ।
यस्तै कानुन निर्माण गर्ने संसद्मा प्रभावकारी उपस्थिति देखाउन नसक्ने तर, ‘मन्त्रिमण्डलदेखि भूमि आयोग’सम्म भाग खोज्ने डाक्टर कोइराला, सत्तामा रहुञ्जेल चामत्कारिक नम्बरको दाबी गरेर सरकारलाई प्रभावकारी बनाउन नसक्ने तर, धकेलिएर विपक्षमा पुग्नासाथ ‘होस आएर हुनुपर्दछ’ सुशासन लगायतको ‘भाषण’ गर्ने प्रचण्ड आदिबाट अब अपेक्षा गर्ने ठाउँ साँघुरिएको छ ।
त्योभन्दा ज्यादा न्यायालयलाई स्वतन्त्रपूर्वक न्याय सम्पादन गर्नबाट रोक्न सडक आन्दोलन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीसँग त अपेक्षा झनै राख्न नपर्ने देखियो । कांग्रेस लगायत मूलधारका राजनीतिक दलका ‘उमेर र विचार’ले युवा पुस्ताले ‘सरकार र संगठन’मा वैचारिक हस्तक्षेप गर्न नसक्ने र उनीहरूलाई पार्टी तथा बाह्य फाँटबाट भरोसायोग्य मद्दत पनि प्राप्त नहुने हो भने न त पार्टी सच्चिन्छन् न त मुलुकले नै काँचुली फेर्नेछ ।
त्यो अवस्थामा मुलुक फेरि केही दशक ‘स्टन्ट’ गर्नेकै हातमा पुगेर ‘असफल राष्ट्र’ उन्मुख बन्नेछ । तसर्थ, यतिबेला हरेक दलका युवा नेतालाई मनोबल गिराउने भन्दा पनि भरोसायोग्य साथ चाहिएको छ । जसले ‘पार्टी र परिवार’बाट माथि उठेर राष्ट्रिय आवश्यकता पूरा गर्न सकोस् । सँगै त्यो अर्थात् ‘गगन–विश्व’ पुस्ताले पनि यतिबेलाको संकटलाई ‘चुनौती र अवसर’का रूपमा लिएर पार लगाउनेतर्फ आफूलाई अब्बल सावित गर्ने समय हो, यो ।