#मनोरञ्जन

‘तेलभिसा’, ‘अग्निदहन’ र हलिउडको ‘ग्लाडिएटर २’ हलमा लागे

काठमाडौं । शुक्रबार देशब्यापी तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन् । दुई नेपाली फिल्म ‘अग्निदहन’ र ‘तेलभिसा’ रिलिज हुँदा हलिउडको प्रतीक्षित ‘ग्लाडिएटर २’ पनि हलमा लागेको छ ।

अग्निदहन’लाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । यो मल्टिस्टारर फिल्ममा प्रकाश घिमिरे, माओत्से गुरुङ, अनुपमा भण्डारी, प्रमिला तुलाचन लगायतको अभिनय छ ।

फिल्मले बोक्सीको नाममा महिलामाथि हुने हिंसाको कथा भन्छ । बोक्सी नभएर यो मानसिक स्वास्थ्य समस्या रहेको फिल्मको सन्देश छ । तपाईंलाई सामाजिक कथावस्तुका फिल्ममा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ । पीजी सर्टिफिकेट प्राप्त यो फिल्मको रनटाइम ९० मिनेट छ ।

तेलभिसा’लाई शंकर घिमिरेले निर्देशन गरेका हुन् । सुत्केरी बुहारी स्याहर्न नेपालबाट अमेरिका पुगेकी सासुले भोग्नुपर्ने अध्यागमन अवरोध लगायतको कथावस्तु यसमा छ । यो फिल्मलाई अमेरिका, अष्ट्रेलिया, युरोपेली मुलुकमा नेपाली समुदायले भोग्नुपर्ने समस्याको कथा भनिएको छ ।

यसमा विपिन कार्की, वर्षा राउत, ऋचा घिमिरे, बुद्धि तामाङको अभिनय छ । विपिनले यसमा दोहोरो भूमिका निर्वाह गरेका छन् । युनिभर्सल प्रमाणपत्र पाएको यो फिल्मको रनटाइम १५६ मिनेट छ ।

‘ग्लाडिएटर २’ राइट्ली स्कट निर्देशित प्रतीक्षित हलिउड फिल्म हो । सामाजिक र पारिवारिक कथावस्तुमा राखिएको फिल्मले लुसियस नामक पात्रको संघर्षको कथा भन्छ । रोमको नेतृत्व गर्ने अत्याचारी सम्राटहरूले आफ्नो घर कब्जा गरेपछि, लुसियस कोलोसियममा प्रवेश गर्न बाध्य छन् र रोमको महिमा फर्काउनको लागि अब उनले लडाइ लड्नुपर्छ ।

यो फिल्म सन् २००० को फिल्म ‘ग्लाडिएटर’को दोस्रो श्रृंखला हो । यसलाई ऐतिहासिक एक्सन फिल्मको जनरामा राखिएको छ ।

शुक्रबार कुन फिल्मको शो कति छ ?

शुक्रबारदेखि नेपाली हलमा ६ फिल्म प्रदर्शनरत छन् । प्रदर्शकले सोहीअनुसार शो विभाजन गरिरहेका छन् । ‘पूर्णबहादुरको सारंगी’ले २४० शो पाएको छ । ‘ह्रस्व दीर्घ’ले ८०, ‘तेल भिसा’ले १३५, ‘अग्निदहन’ले ५०, ‘ग्लाडिएटर २’ले ४५ र ‘भुलभुलैया ३’ले ४ शो पाएको छ ।

‘तेलभिसा’, ‘अग्निदहन’ र हलिउडको ‘ग्लाडिएटर २’ हलमा लागे

श्रीलंकन एयरलाइन्सले घटायो हवाई भाडा

Leave a comment

Your email address will not be published. Required fields are marked *