सन् २०२४ को गर्मी यो युगकै उच्च – Online Khabar
२८ पुस, काठमाडौं । पृथ्वीको सतह यति धेरै तात्दै गएको छ कि हर मौसम र वर्षमा चिन्ताजनक रेकर्ड दर्ज हुँदै गएको छ । विश्वको क्यालेन्डरमा सन् २०२४ यस्तो वर्ष रह्यो जो यो युगकै सबैभन्दा तातो वर्ष घोषित भयो ।
जलवायुको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय एजेन्सी कोपरनिकस केलाइमेट चेन्ज सर्भिसले तापक्रम सम्बन्धी एक रिपोर्ट सार्वजनिक गर्दै भनेको छ– सन् २०२४ को तापक्रम औद्योगिक युगकै उच्च भएको छ । विश्वको औसत तापक्रम पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी भएको छ ।
कोपरनिकसको यो घोषणाले जलवायु परिवर्तनका कारण संकट गहिरिंदै गएको संकेत गर्ने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी बताउँछन् ।
‘असारमा कञ्चनपुरको दोधारा चाँदनीमा भएको आरीघोप्टे वर्षा, साउनमा थामेको हिमबाढी, असोजमा काठमाडौं उपत्यकामा भएको रेकर्ड ब्रेक वर्षाका कारण निम्तिएको विपत्ति लगायतका घटनाहरु जलवायु परिवर्तनसँग अन्तर सम्बन्धित छन्,’ जोशी भन्छन्, ‘यसले ग्लोबल वार्मिङबाट नेपाल पनि संकटमा परेको देखाउँछ ।’
कोपरनिकसको ताजा रिपोर्ट अनुसार सन् २०२४ मा अत्यधिक गर्मी, बाढीपहिरो, खडेरी र डढेलोका घटना बढेका थिए । उदाहरणका लागि नेपालमै डढेलोले विगतका सबै रेकर्ड तोडेको थियो । क्यानडा र बोलिभियामा पनि डढेलोले रेकर्ड तोडेको थियो ।
यसैगरी उच्च तापमान र आद्रताले गम्भीर स्तरको गर्मीको स्थितिलाई बढावा दिएको थियो ।
रिपोर्टका अनुसार जुलाई २०२४ मा विश्वमा ४४ प्रतिशत क्षेत्रमा गम्भीरदेखि अति गम्भीर गर्मी थियोे । गर्मी बढाउन अल निनोको पनि योगदान थियोे ।
१.५ डिग्री सेल्सियस तापक्रम अधिक हुनुको अर्थ के हो ?
२२ जुलाई सन् २०२४ विश्वको औसत तापक्रम १७.१६ डिग्री सेल्सियस मापन भएको थियो । यो नै पृथ्वीमा हालसम्मकै सबैभन्दा गर्मी दिन हो
वैज्ञानिकका अनुसार १९ औं शताब्दी भन्दा अगाडिसम्म पृथ्वीको औसत तापक्रम करिब १३.७ डिग्री सेल्सियसदेखि १४ डिग्री सेल्सियसको बीच थियो । त्यतिबेला उद्योग कलकारखाना र मानवीय गतिविधि कम थिए । तर विश्वभर विकासले गति लिँदै गर्दा र उद्योग कलकारखाना, सवारी साधन तथा जनसंख्या बढ्दा प्रदूषण पनि बढाइरहेको छ । जसका कारण हरितगृह ग्याँस उत्सर्जनमा बढावा हुँदा जलवायु परिवर्तनका असर पनि बढिरहेका छन् ।
भारत र नेपालका मौसम विज्ञान विभागले पनि सन् २०२४ मा अत्यधिक गर्मी भएको जनाइसकेका छन् । नेपालको हालसम्मकै उच्च तापक्रम भने ४६.४ डिग्री सेल्सियस हो । यो तापक्रम सन् १९९५ को जुन १६ मा धनगढीमा रेकर्ड भएको थियो ।
नेपालमा सन् २०२४ को उच्च अधिकतम तापक्रम गत एप्रिल २० मा भैरहवामा मापन भएको थियो । त्यहाँ ४३.६ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड भएको थियो ।
नेपालमा अप्रिल, मे र जुन महिना बढी गर्मी हुने महिना हुन् । गत जुन महिनामा अत्यधिक गर्मी र तराईका जिल्लाहरुमा तातो हावाको लहर चल्दा विद्यालय नै बन्द गर्नुपरेको थियो ।
पहाडी जिल्ला काठमाडौंमै पनि अत्यधिक गर्मी महसुस भएको थियो । विगत ३० वर्षको तथ्यांकलाई आधार मान्दा जुन महिनामा काठमाडौंको सरदर अधिकतम् तापक्रम २९.४ डिग्री सेल्सियस हो ।
काठमाडौं उपत्यकामा सन् १९६८ देखि २०२० सम्मको जुन महिनाको औसत अधिकतम तापक्रम ०.०५ डिग्री सेल्सियसले वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविदहरु बताउँछन् । यसैगरी जुन महिनाको सबैभन्दा ताता दिनहरुको ट्रेण्ड पनि ०.०५ डिग्री सेल्सियसले बढेको छ ।
संयुक्त राष्ट्रसंघको मौसम विज्ञान एजेन्सी (डब्ल्यूएमओ)ले हालै एक प्रतिवेदन सार्वजनिक गर्दै विश्वको वार्षिक औसत तापक्रम १.५ डिग्री सेल्सियस भन्दा बढी हुने सम्भावना ८० प्रतिशतले बढेको जनाएको थियो ।
कोपरनिकसको रिपोर्ट अनुसार सन् २०२४ को औसत वैश्विक तापक्रम १८५०–१९०० को पूर्वऔद्योगिक समयभन्दा सरदर १.६ डिग्री सेल्सियसले बढेको छ । यसबाट थाहा हुन्छ कि तापक्रम वृद्धि दर औसतमा १.५ डिग्रीमा सीमित गर्ने पेरिस सम्झौता कार्यान्वयन भएको छैन ।
सन् २०२४ को जूनसम्म सबै महिना हालसम्मकै सबैभन्दा ताता दिन रहे, बाँकी महिनामा पनि गर्मीको पुराना रेकर्ड तोडिए । २२ जुलाई सन् २०२४ विश्वको औसत तापक्रम १७.१६ डिग्री सेल्सियस मापन भएको थियो । यो नै पृथ्वीमा हालसम्मकै सबैभन्दा गर्मी दिन हो ।
सन् २०२४ मा कार्बन डाइअक्साइडको स्तर ४२२ भाग प्रति मिलियन र मिथेनको स्तर १८९७ भाग प्रति अर्बसम्म पुगेको छ ।
कोपरनिकसको रिपोर्ट अनुसार सन् २०२४ मा युरोपका देशहरूमा औसत तापक्रम १०.६९ डिग्री सेल्सिसयस दर्ज भएको छ, जुन सन् १९९१–२०२० को औसतभन्दा १.४७ डिग्री सेल्सिसयसभन्दा बढी हो ।
यरोप, उत्तर एटलान्टिक, भारतीय महासागर र पश्चिमी प्रशान्त महासागरमा समुद्री सतहको तापक्रमले रेकर्ड तोडेको थियो । समुद्र सतको औसत तापक्रम २०.८७ डिग्री सेल्सियस पुगेको थियो । यसैगरी अन्टार्कटिकामा बरफको मात्रा पनि सन् २०२४ मा सबैभन्दा कम मापन भएको थियो ।
चेतावनी
कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसका निर्देशक कार्लो बुएम्टेम्पोले सन् २०२४ ले पृथ्वीको जीवन संकटमा पर्ने स्पष्ट संकेत गरेको भन्दै जलवायु परिवर्तन रोक्नका लागि स्पष्ट र निर्णायक कदम चाल्नुपर्ने बताएका छन् ।
यसैगरी युरोपेली आयोगका पर्यवेक्षक माउरो फकिनीले भनेकी छन्, ‘हामीसँग जलवायु परिवर्तनको प्रभाव कम गर्न अनुकूलनका लागि लगानी र मानवीय व्यवहारमै परिवर्तन गर्ने अवसर छ ।’
उनका अनुसार कोपरनिकसको रिपोर्टले विश्वमा जलवायु संकटको गाम्भिर्यतालाई उजागर गरेको छ र सबै देशलाई तत्काल कदम चाल्न घचघचाएको छ ।
किनकि जलवायु परिवर्तनको असरका कारण सन् २०२३ लाई पनि उछिन्दै सन् २०२४ सबैभन्दा बढी गर्मी वर्षको रुपमा दर्ज भइसकेको छ ।
नेपालमा हरेक वर्ष ०.०५६ डिग्री सेल्सियसको दरले तापक्रम वृद्धि हुँदै आएको जल तथा मौसम विज्ञान विभागले देशभरका मौसम मापन केन्द्रको तथ्यांक विश्लेषण गरी तयार पारेको प्रतिवेदनमा उल्लेख छ । तापक्रम वृद्धिदर अन्य स्थानको तुलनामा हिमाली क्षेत्रमा बढी छ । यसले हिउँ पग्लिने, हिमताल विष्फोट हुने घटना बढेका छन् । गत साउन ३२ गते सोलुखुम्बुको थामेमा गाउँ नै बगाउने गरी आएको हिमबाढी त्यसको एक उदाहरण हो ।
इसिमोडले हिमालय क्षेत्रमा हिउँ कम हुँदै गएकाले जल संकटको चेतावनी दिएको छ ।
तापक्रमको वृद्धिसँगै वर्षाको नियमित चक्रमा परिवर्तन आउँदा नेपाल थप संकटमा पर्दै आएको छ । तर सम्भावित संकटसँग जुध्न भइरहेका प्रयास अझै अपर्याप्त भएको विज्ञहरु बताउँछन् ।
जलवायुविद् डा. धर्मराज उप्रेती चिसोमा हुने अनुकूलन कार्यक्रम र बढी गर्मी/तातो भएमा लागू गर्ने अनुकूलन कार्यक्रम फरक हुनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘प्रत्येक प्रकोप र विपद्ले निम्त्याउने हानि नोक्सानी फरक–फरक हुने भएकाले राष्ट्रिय अनुकूलनका योजनामा सबै प्रकारका जलवायुजन्य विपद्का अलग–अलग कार्यक्रम राख्न ढिलो गर्नुहुन्न ।’
विश्वव्यापी रुपमा जलवायु परिवर्तन लगायतका कारण विपदका घटनाहरु वृद्धि हुँदै जाँदा आर्थिक, भौतिक तथा मानवीय क्षतिको दर बढ्छ । त्यसले खाद्य संकट र गरिबी बढाउँछ ।
त्यसैले विज्ञहरु प्राकृतिक विपदबाट हुने क्षतिबाट जोगिन पूर्वसूचना प्रणालीमा जोड दिन्छन् । विपदविदसमेत रहेका डा. उप्रेती भन्छन्, ‘विपदको घटनापछि उद्धार, राहत र पुनर्निर्माणमा लाग्ने भन्दा कम खर्च पूर्व तयारीमा लाग्छ । त्यसैले पूर्वसूचना प्रणाली चुस्त बनाउँदै विपदको पूर्वतयारी गर्नुपर्छ । त्यसबाट ठूलो क्षति रोक्न सकिन्छ ।’